परीक्षापछिको खिन्नताबाट जोगिने ६ जुक्ति

तस्बिर स्रोत, Getty Images
- Author, एन्ड्र्यू वेब
- Role, बीबीसी
परीक्षाको समय सकियो। अब तपाईँ मन लागेको कुरा गर्न सक्नुहुन्छ। तर तपाईँ किन निराश हुनुहुन्छ?
परीक्षापछिको खिन्नताबाट जोगाउन सहयोग गर्ने केही कदमबारे यहाँ चर्चा गरिएको छ।
चिन्ता नलिनुस्, शरीरको काम गर्ने तरिकालाई बदल्न सक्नुहुन्न
चिन्ता नलिनुहोस्, तपाईं एक्लै हुनुहुन्न। तनावको समयमा मस्तिष्कले 'कोर्टिजल' भन्ने 'स्टेरोइड होर्मोन' उत्पन्न गर्छ। यसलाई तनावको समयमा दिमागलाई सक्रिय बनाउने होर्मोनका रूपमा चिनिन्छ। यो होर्मोनले हाम्रो रक्तचाप र निद्राको चक्रलाई पनि नियमन गर्छ।
थोरै मात्रा कोर्टिजलले फाइदै गर्छ। तनावका बेला हामीलाई सक्रिय बनाइराख्न यसले 'अड्रेनलिन' उत्पादन गर्छ। तर परीक्षाको दबावजस्तो तनावको स्रोत हट्नासाथ शरीरले थाकेको महसुस गर्न सक्छ।
सरल शब्दमा भन्दा हाम्रो दैनिकीमा नाटकीय परिवर्तन आउँदा त्यसले हामीलाई "भय"को स्थितिमा पुर्याइदिन सक्छ र हामी निराश वा उदास हुन सक्छौँ।
परीक्षापछि एकोहोरो हुनु, दु:खी वा उदास हुनु एकदमै स्वाभाविक हो र उक्त भावलाई स्वीकार्नु नै राम्रो हुन्छ।

तस्बिर स्रोत, Getty Images
सामान्य अवस्थामा फर्किनका निम्ति यी ६ कदम
भएभरको समय परीक्षाको तयारीमा खर्चिइराखेका बेला परीक्षालगत्तैको स्वतन्त्रता आश्चर्यजनक तवरले धेरै महसुस हुन सक्छ।
पढाइमा केन्द्रित भएका बेला कसरत गर्ने वा स्वस्थ खानेकुरा खानेजस्ता राम्रा बानीहरू छुटेका हुन सक्छन्। तर परिक्षाकक्षबाट निस्कनासाथ मानिसहरूसँग घुलमिल भइहाल्ने, काम गर्ने वा जागिर खोज्ने दबावमा नपर्नुहोस्।
लयमा फर्किनका निम्ति यी ६ वटा कदमहरूलाई ध्यान दिनुहोस्।
१. अधुरो निद्रा पूरा गर्नुस्

तस्बिर स्रोत, Getty Images
परीक्षाका क्रममा तपाईँको शरीर र मस्तिष्कले कडा मेहनत गरेको हुन्छ। त्यसैले यो स्वयंलाई विश्राम दिने समय हो। किनकि स्थिर मनोदशा कायम राख्न निद्रा सबैभन्दा महत्त्वपूर्ण हुन्छ र यसको कमीले निद्रा नपुग्ने स्थिति पैदा हुन्छ, जसले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ।
यूनिभर्सिटी अफ शिकागोको एक अध्ययनले (हप्तामा १० घण्टाजतिको) छोटो अवधिको सुताइको कमीलाई केही केही मिनेटको 'न्याप' अर्थात् छोटो सुताइबाट ठीक पार्न सकिन्छ भन्ने निष्कर्ष निकालेको छ, तर दीर्घकालीन हितका निम्ति नियमित सुताइ नै धेरै राम्रो हुन्छ।
केही सोधकर्ताहरूको विचारमा सातामा २० घण्टाभन्दा अधिक सुताइको कमी भएको स्थितिमा त्यसको नकारात्मक प्रभावलाई तपाईँ उल्ट्याउन सक्नुहुन्न। त्यसैले परीक्षापछि पुरानै दिनचर्यामा फर्किन नभुल्नुहोस्।
तपाईँलाई साथीहरूसँग बाहिर जान मन पर्छ भने पनि ठिक छ, तर आराम पनि गर्नुहोस्।
केही मानिसहरू अन्यको तुलनामा दिनचर्यामा परिवर्तन हुँदा अधिक प्रभावित हुन्छन्। त्यसैले साथीहरूमाथि बाहिरफेर निस्कन दबाव नदिनुस्, उनीहरूलाई पूर्ववत् अवस्थामा फर्किन तपाईँलाई भन्दा लामो समय लाग्न सक्छ।
२. फेरबदल गर्नुहोस्

तस्बिर स्रोत, Getty Images
तपाईँ व्यस्त रहन मन पराउने मानिस हो भने उदास हुनबाट बच्नका निम्ति तपाईँले पढाइका निम्ति छुट्याउँदै आएको समयलाई कामद्वारा प्रतिस्थापित गर्न सक्नुहुन्छ।
चाहे त्यो सानै किन नहोस्, हाम्रो मस्तिष्कले विविधता रुचाउँछ।
त्यसैले केही नयाँ गर्नुहोस्। कतै घुम्न जानुहोस् वा कोठा मिलाउनेजस्तो सामान्य कार्य गर्नुहोस्।
छुटेका टेलिभिजन कार्यक्रमहरू हेरेर वा टिकटकमै भुल्न पनि सकियो, तर त्यसैको बानी नलागोस् भन्ने कुरालाई ध्यान दिनुहोस्।
आराम गर्नु र झ्याउँ मानेर बस्नुबीच सानो अन्तर छ। झ्याउँ मानेर बसिराख्नुभयो भने त्यसले तपाईँलाई आगामी योजना बनाउनेतर्फ कुनै सहयोग गर्दैन।
तपाईँ चाहेअनुसार साहसिक कार्य गर्न वा आराम गर्न सक्नुहुन्छ, तर बेलाबेला यिनीहरूलाई तलमाथि पारिराख्ने कुरालाई सुनिश्चित गर्नुहोस्।
३. परीक्षासम्बन्धी सामग्रीहरूलाई सकेसम्म छिटो हटाउनुहोस्

तस्बिर स्रोत, Getty Images
परीक्षासम्बन्धी सामग्रीले भरिएको आफ्नो कोठालाई परीक्षापूर्वको स्थितिमा फर्काउनुहोस्। यसले तपाईँलाई मानसिक रूपमा सहज हुन मद्दत गर्छ।
बिहान उठ्दा सफा टेबल देख्नुभयो भने तपाईँको दिमागले अब गर्न बाँकी केही छैन भन्ने बुझ्छ र पछि फेरि सफा गरिराख्नुपर्ने झन्झटबाट पनि मुक्त हुन सकिन्छ।
सबै पठन सामग्रीहरू नथुपार्नुहोस्। चाहिने राख्नुहोस्, नचाहिने हटाउनुहोस्। पछि तपाईँलाई नयाँ नोटहरूका निम्ति ठाउँ चाहिन सक्छ।
सुझाव : परीक्षासँग बिलकुलै असम्बन्धित पुस्तक पढ्नुहोस्, त्यसले परीक्षाको मनोदशालाई बदल्न मद्दत गर्छ।
४. उत्सव मनाउनुहोस्

तस्बिर स्रोत, Getty Images
परीक्षासँगै अहिलेलाई तपाईँको काम सकियो।
सबैभन्दा महत्त्वपूर्ण कुरा त्यसलाई स्वीकार गर्नु हो। परीक्षामा आफूले गरेका राम्रा कुरालाई मनमा राख्नुहोस्, पछि फर्केर सपार्न नसकिने कुरामा नघोत्लिइराख्नुहोस्।
भलै तपाईँलाई अत्यन्तै मन पर्ने विषय नहुन सक्छ, तर परीक्षामा सामेल हुनु नै पनि एक किसिमको जित नै हो।
नतिजाबारे तपाईँ पर्खन मात्रै सक्नुहुन्छ। त्यसलै नतिजाका बारेमा चिन्तित भइराख्नुको अर्थ छैन। त्यसैले तपाईँ आरामको लायक हुनुहुन्छ र परीक्षामा सामेल भएकोमा गर्व गर्न सक्नुहुन्छ।
बाहिरफेर निस्केर मिठो खाना खाएर रमाइलो गर्नुहोस्। परीक्षाका कारण छुटेका आफ्नो मन पर्ने काम वा बानीलाई समय दिनुहोस् वा साथीहरूसँग समय बिताउनुहोस्।
५. सहज हुनुहोस् तर तयारी नत्याग्नुहोस्

तस्बिर स्रोत, Getty Images
अर्को शब्दमा भन्नुपर्दा आउँदै गरेको नतिजाबारे भयभित नहुनुहोस्, तर यसबारे सोच्न पनि नछाड्नुहोस्।
तपाईँले तुरुन्तै जागिर खानुपर्छ वा अर्को विषय पढ्न थालिहाल्नुपर्छ भन्ने छैन। हरेकलाई आराम गर्ने र फुर्सदको आनन्द लिने हक छ।
आफू के गर्न चाहन्छु भन्ने कुरा थाहा पाउनु राम्रो कुरा हो। खास गरी कतै निवेदन दिनुपर्ने समयसीमाले पछ्याएको स्थितिमा यो निकै महत्त्वपूर्ण भइदिन्छ। तर ठूलो कार्य सुरु गर्नुअघि आराम गर्न धेरै आवश्यक छ भन्ने कुरा भुल्न हुँदैन।
याद गर्नुहोस् : आराम गर्ने अनि ठिक हुने, पुर्नताजगीपश्चात् मात्रै अघि बढ्ने।
६. परीक्षा राम्रो भएको थिएन भने पनि चिन्तित नहुनुस्

तस्बिर स्रोत, Getty Images
कहिलेकाहीँ सोचेजस्तो हुँदैन। तपाईँ अनुत्तीर्ण हुनुभयो वा चाहेको कलेजमा भर्ना हुन सक्नुभएन भने पनि त्यो समाप्ति होइन। तपाईँ मात्रै एक्लो पनि होइन।
नयाँ केही थाल्नुअघि लामो सास फेर्नुहोस् र ठिक हुनुहोस्।
अघि बढ्नका निम्ति धेरै विकल्पहरू छन् र फेरि सुरुवात गर्न लाज मान्नु पर्दैन।
याद राख्नुहोस्, कुनै पनि दुइटा यात्रा एकैजस्तो हुँदैन र तपाईँले चाहनासाथ नयाँ यात्रा थाल्न सक्नुहुन्छ।
परीक्षा सकिनासाथ आफ्नो ख्याल राख्ने कुरा निकै महत्त्वपूर्ण हुन्छ। फुर्सदको समयमा आराम, काम र खेलकुदबीच सन्तुलन कायम राख्न नबिर्सनुहोस्।

नतिजाको दिन
डेभिड पट्वइन लिभरपूल जोन मोर्स विश्वविद्यालयमा शिक्षा र प्रारम्भिक बाल्यकाल अध्ययन विषयमा प्राध्यापन गर्छन्।
उनी भन्छन्, "सबै त होइनन् तर धेरैजसो विद्यार्थीहरू आफ्ना आमाबाबु (वा आफन्त)ले शिर झुकाउन नपरे हुन्थ्यो भनेर चिन्तित हुन्छन्। अपेक्षित नतिजा नल्याएको खण्डमा आफूलाई कमजोर ठानिने छ भन्ठान्छन्।"
"नतिजाप्रतिको दबावबाट मुक्त हुन मद्दत गर्नु साँच्चै महत्त्वपूर्ण हुन्छ। आमाबाबु वा शुभचिन्तकहरूले आफ्ना केटाकेटीलाई 'हामी तिमीलाई माया गर्छौँ, तिमी मूल्यवान् छौ र जेजस्तो छौ, त्यसको सम्मान गर्छौँ' भन्नुपर्छ। शैक्षिक उपलब्धिले त्यसलाई फरक पार्दैन भन्ने बुझाउनुपर्छ।"
"यो कुरामा तपाईँ स्पष्ट हुनुहोला, तर तपाईँको बच्चा स्पष्ट नभएको हुन सक्छ। नतिजा आएपछि पनि यो कुरा उनीहरूलाई फेरि दोहोर्याएर भन्नुहोस्।"

तस्बिर स्रोत, Getty Images
आफ्नी छोरीको नतिजालाई लिएर लौरा चिन्तित छिन्।
उनी भन्छिन्, "म शान्त भएर उनलाई अन्य विकल्पमा सघाउन प्रयास गर्ने योजनामा छु।"
"मैले उसका निम्ति एउटा सानो उपहार ल्याइदिएकी छु र उसका बुवाले उसलाई विशेष खाना खुवाउने भनेका छन्। परीक्षाको नतिजा जेसुकै आए पनि उनलाई यी कुराहरू दिइने छ।"
सहायता चाहिएमा...
तपाईँ जुन विषयमा चिन्तित हुनुहुन्छ, त्यसबारे कसैलाई भन्न सक्नुहुन्छ। तपाईँले साथी, बाबुआमा, अभिभावक, शिक्षक वा अन्य भरपर्दो वयस्क मानिसलाई सुनाउन सक्नुहुन्छ।
तपाईँ मानसिक रूपमा सङ्घर्ष गर्दै हुनुहुन्छ भने सकेसम्म चिकित्सककहाँ जानुहोस्।
त्यो सहयोग खोज्ने उपयुक्त स्थान हुन सक्छ। चिकित्सकले तपाईँका निम्ति उपलब्ध हुन सक्ने सहायताको बारेमा बताउने छन्, विभिन्न उपचार पद्धति सुझाउने छन् र तपाईँको स्थिति जाँच्न नियमित परीक्षण गर्ने छन्।
'बीबीसी बाइटसाइज'बाट
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।