के भारत-पाकिस्तान द्वन्द्वमा चीन 'विजेता' बन्न पुगेको हो?

चीन र पाकिस्तानको राष्ट्रिय झण्डा अगाडि उभिएर मुस्कुराउँदै पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ र चिनियाँ राष्ट्रपति सी जिन्पिङ हात मिलाउँदै

तस्बिर स्रोत, X/Shehbaz Sharif

तस्बिरको क्याप्शन, पाकिस्तानले भारतसँगको लडाइँमा आफूसँग भएका चीनमा निर्मित लडाकु विमानहरू पहिलो पटक प्रयोग गर्‍यो (फाइल तस्बिर)
  • Author, अनबरसन एथिराजन
  • Role, दक्षिण एशिया क्षेत्रीय सम्पादक

भारत र पाकिस्तानबीच चार दिन चलेको द्वन्द्व सङ्घर्षविरामसँगै टुङ्गियो र दुवै पक्षले आफू विजयी भएको दाबी गरे। तर अहिले प्रतिरक्षा सामग्री उत्पादन गर्ने चिनीयाँ उद्योग पनि यो द्वन्द्वमा असामान्य विजेताका रूपमा देखा पर्न सक्छ।

भारत र पाकिस्तानबीच ७ मेमा भारतले पहलगाममा २२ एप्रिलमा भएको २६ जनाको निर्मम हत्याको प्रतिक्रियाभन्दै पाकिस्तानभित्रका "आतङ्कवादी पूर्वाधार"मा हमला सुरु गरेपछि पछिल्लो द्वन्द्व झन चर्केको थियो।

भारतले 'अपरेशन सिन्दूर'का रूपमा आतङ्कवादी हमलाको जवाफ दिएपछि दुवै पक्षबाट जबाफी सैन्य प्रहारहरू भए।

त्यसमा ड्रोन, क्षेप्यास्त्र र लडाकु विमानहरू समावेश थिए। भारतले फ्रान्स र रुसमा निर्मित जेटहरू प्रयोग गरेको विवरण आएका छन् भने पाकिस्तानले आफ्नो जे-१० र जे-१७ विमानहरू खटाएको देखिन्छ जुन इस्लामाबादले बेइजिङसँगको सहकार्यमा उत्पादन गर्छ।

दुवै पक्षले आफ्ना जेटहरू सीमा पार नगरेको र टाढाबाट एक अर्कामाथि क्षेप्यास्त्र प्रहार गरेको बताएका छन्।

इस्लामाबादले उसको लडाकु विमानले भारतमा हालसालै ल्याइएको फ्रान्स-निर्मित राफेल लडाकु विमानहरूसहित कम्तीमा छ वटा भारतीय विमानहरू खसालिदिएको दाबी गरेको छ।

दिल्लीले ती दाबीहरूको जबाफ दिएको छैन।

भारतले के भनेको छ?

सन् २०२३ को २४ एप्रिलमा कोलकाताबाट झण्डै १७० किलोमिटर पश्चिममा रहेको कलैकुण्डस्थित वायुसेना स्टेसनमा संयुक्त 'एक्सरसाइज कोप इन्डिया २०२३' का क्रममा भारतीय वायु सैनिकहरू राफेल लडाकु विमानको छेउमा 

तस्बिर स्रोत, Getty Images

गत साता एकजना पत्रकारले ती दाबीहरूका बारेमा प्रश्न गर्दा भारतीय वायु सेना (आईएएफ) का एअर मार्सल एके भारतीले भनेका थिए: "क्षतिहरू लडाइँको एक हिस्सा हुन्।"

तर ती एअर मार्सल भारतीले पाकिस्तानले भारतीय जेट विमान खसालेको ठोस दाबीमा टिप्पणी गर्न अस्वीकार गरे।

"हामीले चयन गरेका उद्देश्यहरू हासिल गरेका छौँ र हाम्रा सबै पाइलटहरू घर फर्किएका छन्," उनले थपे।

भारतले पाकिस्तानमा रहेको प्रतिबन्धित लश्कर-ए-तयबा र जैश–ए–मोहम्मद आतङ्कवादी सङ्गठनहरूको मुख्यालयलाई निसानामा पार्दा कम्तीमा "१०० आतङ्ककारीहरू" मारिएको जनाएको छ।

हवाई युद्धका क्रममा खासमा के भयो भन्ने कुराको यथार्थ विवरण अझै बाहिर आएको छैन।

केही सञ्चारमाध्यमहरूले पञ्जाब राज्य र भारत प्रशासित कश्मीरमा एकै समयमा विमान दुर्घटना भएका विवरणहरू सार्वजनिक गरे तापनि भारत सरकारले ती खबरहरूमा टिप्पणी गरेको छैन।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै रोएटर्स समाचार संस्थाको एक रिपोर्टले पाकिस्तानले सम्भवतः भारतीय लडाकु विमानहरू विरुद्ध आकाशबाट आकाशमै प्रहार गर्ने क्षेप्यास्त्रहरू प्रहार गर्न चीनमा निर्मित जे-१० विमान प्रयोग गरेको जनाएको छ।

चीनमा उत्साह

पाकिस्तानले चिनियाँ अस्त्र प्रणालीहरूमा अत्यधिक भर परेर जित हासिल भएको दाबी गरेको देखिएपछि केही विज्ञहरूले त्यसलाई बेइजिङको रक्षा उद्योगको लागि उत्साहजनक अवस्थाका रूपमा हेरेका छन्।

अन्य कतिपय भने उक्त दाबीसँग असहमत छन्।

कतिपय विज्ञहरू यसलाई चिनियाँ हतियार उद्योगको लागि यो एआईमा आधारित चिनियाँ च्याटबोट डीपसीकले उक्त क्षेत्रमा हलचल ल्याइदिएजस्तै "डीपसीक मुमेन्ट" भनेका छन्।

उनले यस वर्षको ज्यानुअरीलाई सम्झँदै त्यसबेला एक चिनियाँ एआई स्टार्टअपको कम लगानीको आफ्नो प्रविधिले ठूला र स्थापित अमेरिकी कम्पनीहरूलाई चिन्तित पारेको अवस्थासँग तुलना गरे।

सन् २०२४ को २१ मार्चमा इस्लामाबादमा पाकिस्तानको राष्ट्रिय दिवस परेड अघिको पूर्वाभ्यासमा पाकिस्तानी वायुसेनाका जे-१०सी लडाकु विमानहरूले प्रदर्शन गर्दै।

तस्बिर स्रोत, AFP

"हवाई लडाईँ चिनियाँ अस्त्र उद्योगको लागि एउटा ठूलो विज्ञापन थियो। अहिलेसम्म चीनले लडाइँमा आफ्ना प्रणालीहरू परीक्षण गर्ने कुनै अवसर पाएको थिएन," चिनियाँ जनमुक्ति सेनाका सेवा निवृत्त वरिष्ठ कर्णेल झाउ बोले बीबीसीसँग भने।

बेइजिङस्थित ती विश्लेषकले हवाई द्वन्द्वको नतिजाले "चीनसँग रहेका केही प्रणालीहरू अन्यजस्तै वा त्योभन्दा राम्रो" भनेर देखाएको बताउँछन्।

भारत-पाकिस्तान द्वन्द्वमा आफ्ना लडाकु विमानको प्रदर्शनका खबरपछि गत साता जे-१० जस्ता लडाकु विमान निर्माण गर्ने चिनियाँ एभिक छेन्दु एयरक्राफ्ट कम्पनीको शेयर ४० प्रतिशत सम्मले बढ्यो।

के चीनको अस्त्रशक्ति उम्दा हो?

अन्य कतिपय विज्ञहरू चिनियाँ अस्त्र प्रणालीको श्रेष्ठता घोषणा गर्नु अहिले निकै हतारको काम हुने ठान्छन्।

लन्डनको किङ्स कलेजका प्राध्यापक वाल्टर लाड्विगका अनुसार चिनियाँ जेटहरूले खासमा भारतीय वायुसेना (आईएएफ)का विमानहरू र त्यसमा पनि राफेललाई दबाबमा पारेका थिए वा थिएनन् भन्ने कुरा अझै प्रस्ट हुन बाँकी छ।

"कुनै मानक सैन्य सिद्धान्तमा तपाईँले जमिनको लक्ष्यमा प्रहार गर्नुअघि शत्रुको वायु प्रतिरक्षालाई दबाउनुहुनेछ र हवाई श्रेष्ठता प्राप्त गर्नुहुनेछ। तर आईएएफको मिसन प्रस्ट रूपमा कुनै पनि पाकिस्तानी सैन्य प्रतिशोधलाई नउक्साउनु रहेको देखिन्छ," उनले भने।

लाड्विगका अनुसार पूरै पाकिस्तानी हवाई प्रतिरक्षा उच्च सतर्कताको अवस्थामा रहेको र उनीहरूका जेट पहिले नै आकाशमा रहेको तथ्यका बाबजुद भारतीय पाइलटहरूलाई उडान गर्न निर्देशन दिइएको थियो।

आईएएफले उक्त मिसनको वा त्यसको हवाई सञ्चालन रणनीतिको बारे कुनै जानकारी दिएको छैन।

बेइजिङले समेत जे-१० ले राफेलसहित भारतीय लडाकु विमानहरू खसालेको भन्ने विवरणमा कुनै टिप्पणी गरेको छैन।

तर जे-१० ले पश्चिमा अस्त्र प्रणाली खसालेको अपुष्ट विवरणहरूले चिनियाँ सामाजिक सञ्जालमा खुसीयाली र विजय भाव मच्चिएको देखाउँछ।

इन्टरन्याश्नल टिम फर द स्टडी अफ सेक्युरिटी इन भेरोनामा चीन अनुसन्धानकर्ताका रूपमा कार्यरत कार्लोटा रिनाउडोका अनुसार उपलब्ध जानकारीका आधारमा निष्कर्षमा पुग्न गाह्रो भए तापनि चिनियाँ सामाजिक सञ्जाल राष्ट्रवादी सन्देशहरूले भरिएको बताउँछिन्।

"यतिखेर वास्तविकता भन्दा धारणा धेरै महत्त्वपूर्ण छ। हामीले यदि त्यसरी हेर्ने हो भने मुख्य विजेता खासमा चीन नै हो," उनले भनिन्।

चीनका लागि पाकिस्तान एक रणनीतिक र आर्थिक साझेदार हो। बेइजिङले आफ्नो चीन-पाकिस्तान आर्थिक करिडोरको हिस्साको रूपमा पाकिस्तानमा पूर्वाधार निर्माण गर्न ५० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गरिरहेको छ।

पाकिस्तान कमजोर हुँदा चीनको हित हुँदैन।

चीनको भूमिका

पाकिस्तानी सुरक्षा विशेषज्ञ इम्तियाज गुल भर्खरको भारत-पाकिस्तान द्वन्द्वमा चीनका कारण महत्त्वपूर्ण अन्तर उत्पन्न भएको ठान्छन्। "त्यो देखेर भारतीय योजनाकारहरू तीनछक्क परे। सम्भवतः उनीहरूले आधुनिक युद्धमा पाकिस्तान र चीनबीच कति गहिरो सहकार्य छ भन्ने बुझेका थिएनन्," उनी भन्छन्।

विज्ञहरूका अनुसार यो महिना भएको लडाइँमा चिनियाँ जेटहरूको क्षमता कस्तो देखियो भन्ने कुरामा पश्चिमा देशहरूले उत्सुकतापूर्वक विश्लेषण गरे। किनभने अन्तर्राष्ट्रिय अस्त्र व्यापारमा त्यसको व्यापक प्रभाव पर्न सक्छ। अस्त्र निर्यात गर्ने देशमध्ये संयुक्त राज्य अमेरिका सबैभन्दा अग्र स्थानमा छ भने चीन चौथो स्थानमा छ।

चीनले प्रायःजसो म्यान्मार र पाकिस्तानजस्ता विकासोन्मुख देशहरूलाई अस्त्र बेच्छ। पहिला चिनियाँ अस्त्रशस्त्रहरू 'कम गुणस्तरका हुने र तिनमा प्राविधिक समस्या हुने' भनेर आलोचना हुने गर्थ्यो।

विवरणहरूका अनुसार सन् २०२२ मा बर्मेली सेनाले प्राविधिक समस्या देखा परेको भन्दै आफ्ना कैयौँ जेएफ-१७ (JF-17) लडाकु विमान प्रयोग गर्न छोड्यो। ती जेटहरू चीन र पाकिस्तानले संयुक्त रूपमा बनाएका थिए।

नाइजिरियाको सेनाले पनि चीनमा बनेका एफ-७ (F-7) लडाकु विमानमा कैयौँ प्राविधिक गडबडी देखा परेको जनायो।

भारतले गुमाएका लडाकु विमान

पाकिस्तानले पहिलो पटक भारतको लडाकु विमान ध्वस्त पारिदिएको होइन।

सन् २०१९ मा भारतीय सेनाले पाकिस्तानका केही स्थानमा यसपालिको जस्तै गरी आतङ्ककारीहरूका संरचना भएको भन्दै हवाई हमला गरेको थियो। त्यसपछि भएको छोटो लडाइँमा पाकिस्तानले रुसमा निर्मित भारतको मिग-२१ (MiG-21) जेट आफ्नो भूमिमा खसालिदिएको थियो।

उक्त लडाकु विमानका चालकलाई पाकिस्तानी सेनाले केही दिनपछि मुक्त गरेको थियो।

भारतीय पक्षले भने पाकिस्तानी लडाकु विमानहरूलाई आकाशबाट खसालेर ती विमानचालक आफैँ जेटबाट हाम फालेको दाबी गरेको थियो। तर पाकिस्तानले त्यस्तो दाबीको खण्डन गर्दै आएको छ।

भारतको योजनाबद्ध आक्रमण

गत साता पाकिस्तानी सेनाले भारतीय लडाकु विमानहरू खसालिदिएको विवरण आएको भए पनि ल्याड्विगजस्ता विज्ञहरू भारत मे १० मा सबेरै पाकिस्तानी भूमिभित्र कैयौँ ठाउँमा हमला गर्न सफल भएको औँल्याउँछन्। उनीहरूका अनुसार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यो तथ्यलाई खासै वास्ता गरेको देखिएन।

भारतीय सेनाले योजनाबद्ध आक्रमणका क्रममा पाकिस्तानका ११ वटा सैन्य शिविरमा आफूले क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। भारतले लक्ष्य बनाएका ठाउँमध्ये रावलपिन्डीबाहिर अवस्थित पाकिस्तानी सेनाको मुख्यालयनजिकै रहेको नुर खान हवाई शिविर पनि थियो। सामरिक महत्त्वको उक्त संवेदनशील स्थानमा हमला हुँदा पाकिस्तान स्तब्ध भयो।

कराचीभन्दा १४० किलोमिटर दक्षिणमा अवस्थित भोलारी सहर भारतीय निसानामा परेको सबैभन्दा टाढाको ठाउँ हो।

ल्याड्विगका अनुसार यसपालि भारतीय वायुसेनाले मानक प्रक्रिया अनुसरण गर्दै हवाई कारबाही गर्‍यो – पहिला पाकिस्तानको हवाई प्रतिरक्षा र रेडार प्रणालीलाई निसाना बनाएर र त्यसपछि मात्र जमिनमा भएका अरू ठाउँमा हमला गरेर।

पाकिस्तानी सेनासँग चीनबाट ल्याइएको एचक्यू ९ (HQ 9) हवाई प्रतिरक्षा प्रणाली भए पनि भारतीय जेटहरूले कैयौँ क्षेप्यास्त्र, गोलीगट्ठा र ड्रोन प्रहार गरे।

"ती हमलाहरू सटिक र निश्चित लक्ष्यमा गरिए जस्तो देखिन्छ। खाडलहरू [विमानस्थलका] धावनमार्गको बीचमा थिए, निसाना बनाउन सबैभन्दा उपयुक्त ठाउँमा। लडाइँ लम्बिएको भए ती संरचनाहरू फेरि बनाउन र सञ्चालनमा ल्याउन कति समय लाग्थ्यो भन्ने कुरा म भन्न सक्दिनँ," ल्याड्विग भन्छन्।

तर उनी यो कारबाहीबारे विस्तृत जानकारी दिन नमानेर भारतीय सेनाले "चर्चा परिचर्चामा नियन्त्रण गुमाएको" ठान्छन्।

भारतीय हवाई हमलाको जबाफ दिन आफ्नो सेनाले भारतीय सेनाका विभिन्न हवाई शिविरमा क्षेप्यास्त्र प्रहार गरेको अनि लडाकु विमानबाट हमला गरेको पाकिस्तानले जनाएको छ। तर दिल्लीले त्यस्ता आक्रमणका कारण आफ्ना सैन्य उपकरणमा कुनै क्षति नपुगेको र कोही पनि हताहत नभएको दाबी गरेको छ।

भारतका लागि जनाउघण्टी

परिस्थिति प्रतिकूल बन्दै गएको देखेर अमेरिका र उसका साझेदार राष्ट्रहरूले हस्तक्षेप गर्दै दुवै देशलाई लडाइँ रोक्न दबाव दिए।

तर विज्ञहरू अहिलेको पूरै घटनाक्रम भारतका लागि जनाउघण्टी भएको ठान्छन्।

भर्खरै उत्पन्न भएर सेलाएको भारत-पाकिस्तान द्वन्द्वबारे बेइजिङले टिप्पणी नगर्ला तर ऊ चिनीयाँ उत्पादनका अ स्त्रशस्त्र पश्चिमा देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न तयार भएको देखाउन चाहन्छ।

चीनले पाकिस्तानलाई आपूर्ति गरेका जेटहरू केही पुराना मोडलका हुन् भन्ने कुरा भारतलाई थाहा छ। बेइजिङले अझ उन्नत र रेडारलाई छल्न सक्षम जे-२० (J-20) फाइटर जेट प्रयोग गर्न थालिसकेको छ।

भारत र चीनबीच हिमालय क्षेत्रमा निकै लामो समयदेखि सीमा विवाद चल्दै आएको छ। सन् १९६२ मा सीमामा भएको छोटो युद्धमा भारत पराजित भएको थियो। लद्दाख क्षेत्रमा जुन २०२० मा दुई देशका सैनिकहरूबीच झडप भएको थियो।

विज्ञहरूका अनुसार भारतलाई प्रतिरक्षाका लागि आवश्यक सामग्री उत्पादन गर्ने स्वदेशी उद्योगमा लगानी बढाउनुपर्छ र विदेशबाट अस्त्रशस्त्र किन्ने प्रक्रियालाई तीव्रता दिनुपर्छ भन्ने थाहा छ।

अहिले भने भारत-पाकिस्तान द्वन्द्वमा 'चीनमा निर्मित लडाकु विमान सफल भएको' दाबीका कारण चीनको प्रतिरक्षात्मक सामग्री उत्पादन गर्ने उद्योग प्रसन्न देखिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।