भारत–पाकिस्तानबीच परमाणु युद्धको जोखिम र यथार्थबीचको दूरी

अग्नि–५

तस्बिर स्रोत, Corbis via Getty Images

तस्बिरको क्याप्शन, परमाणु हमलाका निम्ति सक्षम भारतको अग्नि–५ क्षेप्यास्त्रले ५,००० किमि परसम्म प्रहार गर्न सक्छ
  • Author, सौतिक विस्वास
  • Role, भारत संवाददाता

भारत र पाकिस्तानबीचको हालैको द्वन्द्वमा कुनै चेतावनी वा 'रातो बटन' थिच्ने धम्की दिइएको थिएन।

तैपनि जबाफी सैन्य कारबाही, अप्रत्यक्ष सङ्केतहरू तथा अन्य देशहरूले मध्यस्थताका निम्ति तत्कालै देखाएको तदारुकताले स्थिति कति भयावह बन्न सक्थ्यो भन्ने स्मरण गरायो।

सन् २०१९ मा वैज्ञानिकहरूको एउटा समूहद्वारा गरिएको अध्ययनले सन् २०२५ मा भारतीय संसद्‌मा सम्भावित् आतङ्ककारी हमलापछिको तनावले भारत–पाकिस्तान परमाणु हतियारको प्रयोगतर्फ धकेलिन सक्ने डरलाग्दो स्थितिको परिकल्पना गरेको थियो।

त्यसको छ वर्षपछि यथार्थमै सङ्घर्षको स्थिति पैदा भयो। भलै त्यो अमेरिकी मध्यस्थतामा रोकिए पनि त्यसले पूर्ण स्तरको सङ्घर्षको भय उत्पन्न गरायो। यसले मानिसहरूलाई क्षेत्रीय शान्ति कसरी अस्थिर बन्न सक्छ भन्ने पनि स्मरण गरायो।

पछिल्लो सन्दर्भ र सङ्केत

सङ्कट चर्किँदै जाँदा पाकिस्तानले "मिश्रित सङ्केत" गर्‍यो। उसले एकातिर जबाफी सैन्य कारबाही चलायो भने अर्कातिर परमाणु हतियारसँग सम्बन्धित निकाय 'न्याश्नल कमान्ड अथोरिटी' (एनसीए) को बैठक राख्यो। पाकिस्तान त्यसबारे वास्तवमै गम्भीर थियो वा उक्त बैठक देखावटी मात्रै थियो भन्ने स्पष्ट छैन। त्यसपछि स्थिति सहज पार्न अमेरिकी विदेशमन्त्री मार्को रुबिओले हस्तक्षेप गरे।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले युद्धविराम मात्र गराएको नभई "परमाणु युद्ध" समेत टारेको बताएका छन्। सोमवार राष्ट्रका नाममा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले "परमाणु हतियारको 'ब्ल्याकमेल' असह्य भएको र आफ्नो देश त्यस्तो धम्कीले नडराउने" बताएका थिए।

"त्यसैका बलमा आतङ्ककारीहरूलाई संरक्षण गर्नेहरूले सटीक र निर्णायक हमलाको सामना गर्ने छन्," उनले अगाडि भने।

'स्टकहोम इन्टरन्याश्नल पीस रिसर्च इन्स्टिट्यूट' नामक थिङ्क ट्याङ्कका अनुसार भारत र पाकिस्तान हरेकसँग १७० वटाजति परमाणु हतियार छन्।

उक्त संस्थाले ज्यानुअरी २०२४ सम्मको समयमा विश्वभर १२,१२१ वटा परमाणु युद्धशीर्ष भएको आकलन गरेको छ। तीमध्ये ९,५८५ वटाजति सैन्य भण्डारणमा राखिएका र तीमध्ये पनि ३,९०४ वटा सक्रिय रूपमा तैनाथ अवस्था थिए।

उक्त सङ्ख्या अघिल्लो वर्षको तुलनामा ६० ले धेरै हो। अमेरिका र रुससँग कुल मिलाएर ८,००० भन्दा धेरै परमाणु हतियार छन्।

भारत

गस्ती गर्दै भारतीय सैनिक

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, सन् १९९८ मा परमाणु हतियारको परीक्षण गरिएको स्थानको गस्ती गर्दै भारतीय सैनिक

अमेरिकास्थित अल्बानी विश्वविद्यालयका सुरक्षा मामिला विज्ञ क्रिस्टोफर क्लारीका अनुसार भारत र पाकिस्तानका तैनाथ हतियारका ठूलो हिस्सा स्थलसेनासँग छ तर दुवै स्थल, वायु र जलसेनालाई परमाणु युद्धशीर्ष परिचालनमा उत्तिकै सक्षम बनाउने क्रममा छन्।

"पाकिस्तानको तुलनामा सम्भवत: भारतसँग अधिक हवाई शक्ति छ। पाकिस्तानको जलसेनाबारे हामीलाई कमै थाहा छ तर उसको तुलनामा भारतीय जलसेनाको परमाणु बल अधिक सक्षम भएको अनुमान गर्न सकिन्छ," उनले बीबीसीसँग भने।

क्लारीका अनुसार त्यसो हुनुको एउटा कारण पाकिस्तानले भारतले जति 'समय र रकम' नखर्चिनु पनि हो। त्यसले भारतीय नौसेनाको परमाणु क्षमताको गुणात्मकतालाई स्पष्टै अघि पार्छ।

सन् १९९८ मा परमाणु हतियारको परीक्षण गरेदेखि पाकिस्तानले कहिल्यै पनि औपचारिक रूपमा आफ्नो परमाणु नीतिको घोषणा गरेको छैन।

त्यसविपरीत भारतले भने १९९८ मा पहिलो परीक्षण गरेदेखि नै "पहिले प्रयोग नगर्ने" नीति लिएको छ। तर उसले आफ्नो अडानलाई खुकुलो बनाउने सङ्केत भने देखाउँदै आएको छ। सन् २००३ मा भारतले निश्चित अवस्थामा पहिले प्रयोग गर्न सक्ने गरी रासयनिक र जैविक आक्रमणको प्रत्युत्तरमा परमाणु हतियार प्रयोग गर्न सक्ने अधिकार सुनिश्चित गर्‍यो।

सन् २०१६ मा तात्कालिन रक्षामन्त्री मनोहर पर्रिकरको एउटा वक्तव्यले थप अस्पष्टताको सिर्जना गर्‍यो। उनले परमाणु हतियारको प्रयोगसम्बन्धी नीतिका कारण दीर्घकालीन विश्वसनीयतामा प्रश्न उठ्ने भन्दै भारतले उक्त नीतिमा "बाँधिएको" महसुस गर्न नहुने बयान दिए। (पछि उनले त्यो आफ्नो निजी विचार रहेको बताए।)

पाकिस्तान

शाहीन–२

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, पाकिस्तानको जमिनबाट जमिनमा प्रहार गर्न सक्ने शाहीन–२ क्षेप्यास्त्र परमाणु युद्धशीर्षका निम्ति सक्षम छ

कार्नेगी इन्डमेन्ट फर इन्टर्न्याश्नल पीसका सादिआ तस्लीमका अनुसार आधिकारिक सिद्धान्त नहुँदैमा पाकिस्तानसँग त्यसको अभाव छ भन्ने होइन। आधिकारिक वक्तव्य, अन्तर्वार्ताहरू र परमाणु विकासक्रमहरूले त्यसको परिचालनको स्थितिबारे स्पष्ट सङ्केत गर्ने उनी बताउँछन्।

त्यस्तो हतियारको प्रयोगका निम्ति पाकिस्तानको सीमा के हो भन्ने स्पष्ट नभए पनि सन् २००१ मा 'रणनीतिक योजना विभाग' (एसीए) का तत्कालीन प्रमुख खालिद किद्वाईले चार वटा अवस्थाको चर्चा गरेका थिए। त्यसमा प्रमुख भूभागहरूको नोक्सानी, प्रमुख सैन्य सम्पत्तिहरूको विनाश, चरम आर्थिक विपत्ति र राजनीतिक अस्थिरताको स्थिति समाविष्ट थिए।

सन् २००२ मा तत्कालीन राष्ट्रपति परवेज मुसर्रफले "परमाणु हतियार केवल भारतविरुद्ध लक्षित भएको" र ''एउटा राज्यका रूपमा पाकिस्तानको अस्तित्व खतरामा पर्ने स्थिति आएमा" मात्र त्यसको प्रयोग गरिने स्पष्ट पारेका थिए।

अमेरिकाका भूतपूर्व विदेशमन्त्री माइक पोम्पेओले आफ्नो संस्मरणमा सन् २०१९ मा भारत–पाकिस्तानबीच उत्पन्न गतिरोधका क्रममा पाकिस्तानले परमाणु हतियारको प्रयोग गर्ने तयारी गरेको भन्दै चिन्तित बनेका एकजना नाम नखुलाइएका 'भारतीय समकक्षी'सँग कुरा गर्न अचानक राति आफूलाई उठाइएको उल्लेख गरेका छन्।

लगभग सोही समयमा पाकिस्तानका सञ्चारमाध्यमहरूले भारतलाई कडा चेतावनी दिइरहेका एक जना वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै लेखेका थिए, "मलाई तपाईँहरूलाई 'न्याश्नल कमान्ड अथोरिटी' भनेको के हो र यसले के गर्छ भन्ने थाहा छ भन्ने लाग्छ। मैले हामी तपाईँहरूलाई चकित पार्छौँ भनेको थिएँ। त्यसको प्रतीक्षा गर्नुस्...तपाईँहरूले क्षेत्रीय सुरक्षा र शान्तिमा कस्तो असर पर्छ भन्ने थाहै नपाईकन युद्धको बाटो रोज्नुभयो।"

सन् १९९९ को कार्गिल युद्धका क्रममा तत्कालीन पाकिस्तानी विदेश सचिव शम्शद अहमदले आफ्नो भूमिको रक्षाका निम्ति "कुनै पनि हतियार प्रयोग नहिचकिचाउने" चेतावनी दिएका थिए। त्यसको वर्षौँपछि एक अमेरिकी अधिकारी ब्रूस रेइडलले पाकिस्तानले परमाणु हतियारको सम्भावित परिचालनको तयारी गरेकोबारे गुप्तचरमार्फत् सङ्केत पाएको खुलासा गरे।

कति यथार्थपरक

तर त्यस्ता दाबीहरूमा दुवै पक्षलाई सन्देह छ।

पाकिस्तानका निम्ति भारतका पूर्वउच्चायुक्त अजय बिसरियाले आफ्नो संस्मरणमा परमाणु हमलाको जोखिम र सन् २०१९ को द्वन्द्वलाई मत्थर पार्न अमेरिकाले खेलेको भूमिकाबारे पोम्पेओले बढाइचढाइ गरेको उल्लेख गरेका छन्। पाकिस्तानी विश्लेषकहरू पनि कार्गिल घटनाका क्रममा "भारतीय हवाई सेना यता छिर्दैन" भन्ने पाकिस्तानलाई थाहा भइसकेकाले परमाणु हमलाको चेतावनी दिनुपर्ने कारणसम्म पनि नभएको तर्क गर्छन्।

"रणनीतिक हिसाबले गरिने सङ्केतहरूले कुनै पनि द्वन्द्व गम्भीर स्थितिमा परिणत हुन सक्छ भन्ने दर्शाउँछन्। परमाणु हतियारका कारण भारत र पाकिस्तानका हकमा स्थिति अझै गम्भीर बन्न जान्छ। तर त्यसको अर्थ दुवै पक्षले सक्रिय रूपमा परमाणु हतियारको प्रयोग गर्ने धम्की दिइरहेका छन् भन्ने चाहिँ होइन," लाहोर बसोबास गर्ने रक्षा विश्लेषक एजाज हाइदरले बीबीसीसँग भने।

तर दुर्घटनावश पनि आणविक हमला हुन सक्छ। "मानवीय त्रुटि, ह्याकर वा आतङ्ककारीहरूद्वारा, कम्प्युटर प्रणाली गोलमाल हुँदा, भूउपग्रहबाट प्राप्त हुने गलत तथ्याङ्क तथा अस्थिर नेतृत्वका कारण पनि त्यसो हुन सक्छ," वैज्ञानिकहरूको एउटा समूहद्वारा सन् २०१९ मा तयार पारिएको एउटा महत्त्वपूर्ण शोधपत्रका मूल लेखक तथा रुट्गर्स विश्वविद्यालयका प्राध्यापक एलन रोबोकले बीबीसीसँग भने।

सन् २०२२ को मार्चमा भारतबाट दुर्घटनावश परमाणु युद्धशीर्षका निम्ति सक्षम एउटा क्रूज क्षेप्यास्त्र प्रहार भयो। दुर्घटनाग्रस्त हुनुअघि उक्त क्षेप्यास्त्रले पाकिस्तानी भूमिमा १२४ किमिको दूरी तय गर्‍यो र त्यसले सर्वसाधारणको धनमालमा क्षति पुर्‍याएको विवरणहरू आए। त्यसको दुई दिनसम्म भारत सैन्य हटलाइनको प्रयोग गर्न र सार्वजनिक वक्तव्य दिन विफल रहेको पाकिस्तानले आरोप लगायो। विज्ञहरूका अनुसार अत्यधिक तनावका समयमा उक्त घटना भएको भए निकै नोक्सान हुन सक्थ्यो। (महिनौँपछि भारतले उक्त घटनामा जिम्मेवार वायुसेनाका तीन जना अधिकारीहरूलाई बर्खास्त गर्‍यो।)

त्यति हुँदा हुँदै पनि भारत र पाकिस्तानबीच परमाणु हमलाको खतरा "तुलनात्मक रूपमा कमै रहेको" क्लारी बताउँछन्।

"सीमामा ठूलो स्तरको स्थलयुद्ध नहुँदासम्म परमाणु हतियार प्रयोगको खतरा तुलनात्मक रूपमा कम र व्यवस्थापन गर्न सकिने किसिमको रहन्छ," उनी भन्छन्।

"स्थलगत लडाईँका क्रममा दुस्मनले आफ्ना क्षेत्रहरूमाथि कब्जा जमाउन सक्ने भयको परिस्थिति सिर्जना भएमा त्यसले 'परमाणु हतियारको प्रयोग गर वा त्यसलाई गुमाऊ' भन्नेतर्फ धकेल्न सक्छ।"

सन् १९९८ मा पाकिस्तानले दक्षिण–पश्चिम बलुचिस्तानमा परमाणु परीक्षण गरेपछि टुप्पोमा सेतो बनेको च्यागाइको डाँडो

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, सन् १९९८ मा पाकिस्तानले दक्षिण–पश्चिम बलुचिस्तानमा परमाणु परीक्षण गरेपछि टुप्पोमा सेतो बनेको च्यागाइको डाँडो

स्ट्यान्फर्ड विश्वविद्यालयको हूभर इन्स्टिट्यूशनका वरिष्ठ शोधकर्ता सुमिल गाङ्गुलीको ठम्याइमा "हिरोसिमा घटनाले गर्दा न भारत, न नै पाकिस्तान यसको पहिलो प्रयोगकर्ताका रूपमा चिनिन चाहन्छन्।"

"त्यसका अलावा पहिले परमाणु हतियार प्रयोग गर्ने पक्षले उल्लेख्य रूपमा जबाफी कारबाही तथा असह्य क्षतिको स्थितिको सामना गर्नुपर्ने हुन सक्छ," गाङ्गुलीले बीबीसीसँग भने।

तर यसो भनिरहँदा भारत र पाकिस्तान दुवैले परमाणु अस्त्रको स्थिति भने बलियो बनाइरहेको देखिन्छ।

'फेडेरेशन अफ अमेरिकन साइन्टिस्ट्स'को न्युक्लिअर इन्फर्मेशन प्रोजेक्ट'द्वारा गरिएको 'द न्युक्लिअर नोटबुक' नामको शोधपत्रले वितरण प्रणालीको विकास, चार वटा 'प्लूटोनिअम रियाक्टरहरू' र बढ्दो युरेनिअम सम्वर्द्धनका कारण सन् २०२० को अन्त्यसम्ममा पाकिस्तानसँग दुई सय वटाजति युद्धशीर्षहरू हुन सक्ने प्रक्षेपण गरेको थियो।

त्यस्तै विखण्डनीय सामग्रीसम्बन्धी एउटा अन्तर्राष्ट्रिय संस्थाले सन् २०२३ को आरम्भसम्ममा भारतसँग ६४० किलो हतियारयोग्य 'प्लूटोनिअम' हुने र त्यो १३० देखि २१० वटाजति परमाणु युद्धशीर्षका निम्ति पर्याप्त हुने जनाएको थियो।

बारम्बार उत्पन्न सङ्कट र चरम स्थितिको नजिकै पुगेर पनि दुवै पक्ष अहिलेसम्म परमाणु सङ्घर्षको भयावह स्थितिबाट जोगिँदै आएका छन्। इस्लामाबादका विश्लेषक उमर फारूक लेख्छन्, "निरोधको स्थिति कायमै छ। पाकिस्तानीहरूले परम्परागत हमलाको जबाफ परम्परागत हमलाबाटै दिने काम मात्रै गरेका छन्।"

तथापि परमाणु हमलाको उपस्थितिले खतरा कायमै छ। नेतृत्वकर्ता जतिसुकै अनुभवी वा संयमित नियतको भए पनि उक्त खतरालाई कहिल्यै पूर्णत: अस्वीकार गर्न सकिँदैन।

"परमाणु अस्त्रको प्रयोगको कुरा आउँदा असह्य स्तरको खतरा पनि कायमै रहन्छ," गैरनाफामुखी संस्था 'आर्म्स कन्ट्रोल एन्ड नन–प्रलिफेरेशन'का वरिष्ठ नीति निर्देशक जोन एराथले बीबीसीसँग भने।

"भारत र पाकिस्तानका सरकारहरूले विगतमा त्यस्तो स्थिति भोगिसकेकाले जोखिम कम छ। तर परमाणु अस्त्रका हकमा सानो जोखिम पनि निकै ठूलो हुन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।