बिटकोइन बेचेर नाफा कमाउँदै भुटान, नेपालले क्रिप्टोकरेन्सी चल्न दिने सम्भावना कति

तस्बिर स्रोत, Reuters
- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
बिटकोइनको मूल्य अहिलेसम्मकै उच्च भएको बेला भुटानले ठूलो परिणाममा आफूसँग भएको उक्त क्रिप्टोकरेन्सी बेचेर फाइदा लिएपछि नेपालमा पनि त्यसबारे चासो देखिएको छ। नेपालमा भने क्रिप्टोकरेन्सी माइनिङ र कारोबार दुवै गैरकानुनी छन्।
क्रिप्टोकरेन्सीसम्बन्धी जानकारीहरू राख्ने विभिन्न वेबसाइटका अनुसार बुधबार रातिदेखि बिहीवार दिउँसो यो समाचार तयार पार्दासम्म बिटकोइनको मूल्य हालसम्मकै उच्च ९७,००० अमेरिकी डलरभन्दा माथि पुगेको देखिएको छ।
नेपालमा भने पूर्णरूपमा प्रतिबन्धित क्रिप्टोकरेन्सीलाई "सीमित कारोबार"का लागि पनि तत्काल खुला गर्ने पक्षमा आफू नरहेको राष्ट्र ब्याङ्कले जनाएको छ।
एक पूर्वब्याङ्कर तथा नेपालको सबैभन्दा ठूलो मोबाइल वालेट सेवा कम्पनीका अध्यक्षले चाहिँ "नयाँ प्रविधि र क्रिप्टोकरेन्सीबाट हुने लाभ र हानि थाहा पाउन पनि" आंशिक रूपमा खुला गर्नुपर्ने सुझाव दिएका छन्।
बिटकोइनको भाउ बढ्नुको कारण

तस्बिर स्रोत, Reuters
बिटकोइनको मूल्य अहिलेसम्मकै उच्चतम बिन्दुमा पुग्नुको मुख्य कारण संयुक्त राज्य अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति निर्वाचित हुनुलाई लिइएको छ। पहिले बिटकोइनविरोधी ट्रम्प यसपालिको निर्वाचन अभियानमा क्रिप्टोकरेन्सीका पक्षमा उभिए।
क्रिप्टोकरेन्सीको निरन्तर वकालत गर्दै आएका धनाढ्य व्यापारी इलोन मस्कलाई पनि आफ्नो प्रशासनमा ट्रम्पले महत्त्वपूर्ण जिम्मेवारी दिने घोषणा गरिसकेका छन्।
ट्रम्पले चुनावी अभियानमा क्रिप्टोकरेन्सी पक्षधरहरूमाझ अमेरिकालाई "विश्वको क्रिप्टो राजधानी" बनाउने वाचा पनि गरेका छन्।
ट्रम्पको सोही वाचाका कारण उनले चुनाव जितेसँगै बिटकोइनको भाउ व्यापक बढ्न थालेको धेरैको विश्लेषण छ।
भुटानसँग हजारौँ बिटकोइन
बिटकोइनसँग जोडिएका खबरहरूमा नेपालको छिमेकी तथा एउटा सानो हिमाली देश भुटान केही दिनदेखि चर्चामा छ। त्यसको कारण भुटानले हालै ३ करोड ५० लाख अमेरिकी डलर बराबर मूल्यका ३६७ वटा बिटकोइन बिक्री गर्नु हो।

तस्बिर स्रोत, Reuters
एउटा प्रमुख क्रिप्टोकरेन्सी एक्स्चेन्ज 'बाइनान्स'मार्फत् उसले ती बिटकोइनहरू बिक्री गरेको गत शुक्रवार याहू फाइनान्सले जनाएको थियो। भुटानले एउटा बिटकोइनको मूल्य ९०,००० डलर पुगेका बेला त्यति परिणाममा बिटकोइन बिक्री गरेको थियो। त्यो पछिल्ला साताहरूमा उसले गरेको दोस्रो ठूलो कारोबार थियो। त्यसअघि भुटानले बिटकोइनको मूल्य ७०,००० डलर पुग्दा ६ करोड ६० लाख डलर बराबरको बिटकोइन बेचेको थियो।
बाइनान्सले बुधवार प्रकाशित गरेको एउटा सामग्रीअनुसार भुटानसँग अझै पनि १ अर्ब १० करोड अमेरिकी डलर मूल्य बराबरको बिटकोइन भण्डार छ। बाइनान्सले लेखेको छ, "यो रकमले उक्त देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को प्रतिनिधित्व गर्छ।" बाइनान्सले बिटकोइनको कारोबारलाई नियमित रूपमा 'ट्र्याक' गर्ने 'ब्लकचेन' विश्लेषक कम्पनी 'अर्खम इन्टेलिजन्स'लाई उद्धृत गर्दै उक्त विवरण सार्वजनिक गरेको हो।
याहू फाइनान्सका अनुसार उक्त हिमाली मुलुकको सरकार अझै पनि धेरै बिटकोइन स्वामित्व भएकामध्येमा पर्छ। भुटानसँग अहिले पनि १२,२०६ वटा बिटकोइन छन् र त्यहाँको सरकारी संस्था ड्रुक होल्डिङ एन्ड इन्भेस्टमन्टले तिनको व्यवस्थापन गर्छ।
नेपालमा क्रिप्टोकरेन्सी
कानुनी रूपमा प्रतिबन्धित भए पनि नेपालमा लुकीछिपी क्रिप्टोकरेन्सीको कारोबार भइरहेको अधिकारीहरू बताउँछन्। भीपीएन प्रयोग गरेर कारोबार गरिरहेका कारण नेपालबाट कारोबार भए पनि पत्ता लगाउन कठिन हुन्छ।
नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार विदेशमा बस्ने नेपाली र विदेशीहरूको सहयोग र संलग्नतामा नेपालमा रहेर क्रिप्टोकरेन्सीको कारोबार हुने गरेको पाइएको छ।

राष्ट्र ब्याङ्कको वित्तीय जानकारी एकाइले साइबर माध्यमबाट हुने ठगी तथा गलत क्रियाकलापबारे अध्ययन गरेर तयार पारेको "रणनीतिक विश्लेषण प्रतिवेदन"ले पनि साइबर ठगीबाट सङ्कलित रकम व्यवस्थापनमा क्रिप्टोकरेन्सी प्रयोग भएको सङ्केत गरेको छ।
त्यसमा भनिएको छ, "अनलाइन ठगीमा प्रयोग भइरहेको भनेर उजुरी गरिएका सन्दिग्ध खाताहरू अनलाइन बेटिङ र क्रिप्टोकरेन्सी लेनदेनमा सम्बन्धित देखिन्छन्।"
त्यसमा ठगीको रकमलाई क्रिप्टोकरेन्सी र अनलाइन बेडिङका माध्यममा परिवर्तन गर्ने गरिएको बारम्बार पाइएको उल्लेख छ।
नेपालमा क्रिप्टोकरेन्सीको कारोबारलाई अवैध घोषणा गर्दै राष्ट्र ब्याङ्कले त्यसमा लगानी नगर्न र गरेमा कानुनी कारबाही हुने चेतावनी दिँदै आएको छ। त्यस्ता गतिविधिको निरन्तर नेपालका कानुन कार्यान्वयन गर्ने निकायहरूले निगरानी गरिरहेको पनि अधिकारीहरू बताउँछन्।
प्रहरीले केही वर्षदेखि कैयौँ मानिसहरूलाई क्रिप्टोकरेन्सी कारोबारको आरोपमा पक्राउ गरेको छ र कतिपय व्यक्तिहरूलाई कारबाही पनि भएको छ।
'केही खुकुलो नीति लिनु आवश्यक'
सरकारले कानुनी रूपमा अवैध बनाए पनि भित्रभित्र कारोबार भइरहेको र विशेषगरी धेरै युवाले त्यसमा चासो देखाएकाले क्रिप्टोकरेन्सीको किन्न वा राख्न पाउने गरी खुला गर्नुपर्ने कतिपयको धारणा रहेको छ।
उनीहरू छिमेकी देश भारतको उदाहरण दिँदै त्यहाँ व्यक्तिले क्रिप्टोकरेन्सी कारोबार गर्न पाउने तर त्यसको कारोबारमा उच्च कर लगाएकाले नेपालले पनि त्यस्तै गर्न सक्ने बताउँछन्।
भारतमा क्रिप्टोकरेन्सीको आम्दानीमा ३० प्रतिशत कर लाग्ने विभिन्न विवरणले देखाउँछन् तर त्यहाँ पनि कानुनी रूपमा त्यसलाई भुक्तानीको माध्यमका रूपमा स्वीकार गरिएको छैन।

तस्बिर स्रोत, Reuters
नेपालको एउटा प्रमुख मोबाइल वालेट सेवा चलाउने इसेवा कम्पनीको सञ्चालक समितिका अध्यक्ष समेत रहेका पूर्वब्याङ्कर पर्शुराम कुँवर क्षत्री भन्छन्, "भित्रभित्र कारोबार हुनुभन्दा बरु कानुनी बनाएर कर लगाएमा पारदर्शी हुन्छ भन्ने तर्कलाई म पनि समर्थन गर्छु।"
"कुनै पनि खोला कति गहिरो छ भनेर थाहा पाउन एउटा खुट्टा बिस्तारै अघि बढाइन्छ नि! त्यसै गरी यो संसार के हो भन्ने बुझ्नका लागि पनि हामीले निजी क्षेत्रका मानिसहरूलाई धेरै कडा कर लगाएर आंशिक रूपमा कारोबार गर्न दिनुपर्छ।"
यद्यपि उनी भुटानको जस्तो सरकारले नै यसमा लगानी गर्नुपर्छ भन्ने मान्यतामा भने विश्वास गर्दैनन्।
क्षत्रीले भने, "यो एकदमै उतारचढाव हुने क्षेत्र हो। केही महिनाअघिको तुलनामा अहिले दोबरभन्दा पनि बढी मूल्य पुग्यो। यस्तो संसारमा अन्य कुनै पनि सम्पत्तिमा हुँदैन। त्यसैले सरकारले यस्तो अनिश्चित क्षेत्रमा लगानी गर्नु हुन्न भन्ने मलाई लाग्छ।"
नखोल्ने पक्षमा राष्ट्र ब्याङ्क

तस्बिर स्रोत, NRB
राष्ट्र ब्याङ्कका अधिकारीहरूले चाहिँ नेपालमा क्रिप्टोकरेन्सी खुला गर्नेबारे आफूहरूले अहिलेसम्म कुनै पनि सोच नबनाएको बताएका छन्।
राष्ट्र ब्याङ्कका सहप्रवक्ता डिल्लीराम पोखरेलले भने, "क्रिप्टोकरेन्सीलाई खोल्ने कुनै पनि योजना छैन। तत्काल यो खुल्दा पनि खुल्दैन।"
उनले राष्ट्र ब्याङ्कको पुरानै धारणा दोहोर्याउँदै भने, "यो एकदमै उतारचढावपूर्ण र अनिश्चित हो। मुद्रा भनेको त स्थिर हुन्छ, क्रिप्टोकरेन्सी अस्थिर हुन्छ।"
"त्यसैले यसलाई स्थिर मुद्रा भन्न सकिएन। एकखाले सट्टेबाजी हो भन्दा पनि हुन्छ। मानिसहरूले फाइदाका लागि लगानी गर्ने र कतै भुक्तानीको माध्यमका रूपमा पनि प्रयोग भएको छ।"
उनले सर्वसाधारणलाई क्रिप्टोकरेन्सीमा लगानी नगर्न आग्रह गरे।
डिजिटल मुद्रा ल्याउने योजना के हुँदै छ
नेपाल राष्ट्रका अधिकारीहरूले सन् २०२६ भित्र परीक्षणका रूपमा नेपालमा डिजिटल मुद्रा ल्याउनका लागि अध्ययन जारी रहेको बताएका छन्।
पोखरेलले भने, "केन्द्रीय ब्याङ्क डिजिटल मुद्रा (सीबीडीसी) परीक्षणका रूपमा सुरु गर्नेबारे हाम्रो भुक्तानी प्रणाली विभागअन्तर्गत एउटा विभाग नै बनाएर अध्ययन गरिरहेका छौँ।"
"हाम्रो लक्ष्य सन् २०२६ सम्ममा नेपालमा परीक्षणका रूपमा सीबीडीसी सुरु गर्ने भन्ने हो। त्यसबेला परीक्षण गर्दा उपयुक्त देखियो भने त्यो बजारमा चलनचल्तीमा जान सक्छ।"
राष्ट्र ब्याङ्कले हालसम्म सीबीडीसीबारे दुइटा अध्ययन गरेर प्रतिवेदनहरू सार्वजनिक गरिसकेको छ।
त्यसमा एउटा नेपालमा त्यसको सम्भाव्यतासँग केन्द्रित छ भने अर्को दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) राष्ट्रका केन्द्रीय ब्याङ्कका प्रतिनिधिहरूको संलग्नतामा भएको तुलनात्मक अध्ययनसँग सम्बन्धित छ।
क्रिप्टोकरेन्सी र सीबीडीसीमा फरक

तस्बिर स्रोत, Reuters
क्रिप्टोकरेन्सी र सीबीडीसी दुवै 'ब्लकचेन'मा आधारित डिजिटल वा भर्चूअल मुद्राहरू हुन्।
तर सीबीडीसीलाई कुनै पनि देशको केन्द्रीय ब्याङ्कले जारी गर्छ र त्यसको नियमन, अनुगमन एवं देशमा चल्तीमा रहेको मुद्रासँग त्यसको मूल्य समानता कायम गर्ने काम गर्छ।
क्रिप्टोकरेन्सी भने निजी क्षेत्रबाट सञ्चालित हुन्छ वा व्यक्तिले पनि चलाएको हुन सक्छ। त्यसको नियमन बजारद्वारा स्वचालित रूपमा हुन्छ भन्ने मान्यता राखिन्छ। सीबीडीसीको मूल्य स्थिर र समान खालको हुन्छ किनकी कुनै पनि देशको केन्द्रीय ब्याङ्कले त्यसलाई चलनचल्तीको मुद्राको भाउसँग समान बनाएर राख्ने नियममा बाँधेको हुन्छ।
क्रिप्टोकरेन्सीको मूल्य भने छोटो समयमै व्यापक रूपमा घटबढ हुने र मानिसहरूले केही समयमै धेरै कमाउने वा गुमाउने हुनसक्छ।
मूल्य उतारचढाव हुने भएकाले लगानीकर्ताहरूले ठूलो मात्रामा क्रिप्टोकरेन्सी किनेर राख्ने र बजार भाउ बढेका बेला बेच्ने गर्न सक्छन्।
सीबीडीसी भने अहिले चल्तीमा रहेको मुद्राजस्तै नियमित चलनचल्तीमा हुन्छ र त्यसलाई भण्डारण गर्न मानिसहरूले खोज्दैनन्। यद्यपि हामीले ब्याङ्कमा बचत गरे जस्तो बचत गर्न भने सकिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।