अनलाइन र सामाजिक सञ्जालबाट ठग्दै, क्रिप्टोकरेन्सी र जुवामा पैसा लगाउँदै

- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
प्रहरीले गत भदौ दोस्रो साता विभिन्न व्यक्तिबाट झन्डै एक करोड रुपैयाँ ठगी गरेको आरोपमा भक्तपुरमा बसोबास गर्ने एकजना २२ वर्षीय युवालाई पक्राउ गर्यो।
प्रहरीका अनुसार उनको ठगी अनौठो र अपत्यारिलो थियो। ती युवाले देखाएको प्रलोभनमा कैयौँ मानिस फसेका थिए र उनीहरूले लाखौँ रुपैयाँ गुमाइसकेका थिए।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ती युवाले सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपको दुरुपयोग गरेर मानिसहरूलाई ठगेका थिए।
उनले सुरुमा थाइल्यान्डमा बसोबास गर्ने एकजना नेपाली नागरिकको निधन भएको जानकारी विभिन्न व्यक्तिलाई पठाए।
मृतकको नाम एलेन अरबी श्रेष्ठ रहेको र "कार दुर्घटनामा परी मृत्यु भएको अनि उनको नाममा थाइल्यान्डस्थित सिआम कमर्सियल ब्याङ्कको खातामा ८ लाख ५० हजार अमेरिकी डलर रहेको" विवरण पीडितहरूलाई पठाइएको थियो।
मृत्यु भएका व्यक्तिको "उत्तराधिकारी कोही नभएकोले सो रकम ब्याङ्कबाट निकाल्न तपाईँको थर मिल्ने रहेछ, तपाईँलाई उत्तराधिकारी बनाई रकम निकालिदिन्छौ" भन्ने प्रलोभन ती युवाले देखाएका थिए।
प्रलोभनमा परेर कैयौँ व्यक्तिले "विभिन्न व्यक्तिहरूको नाममा रहेका ब्याङ्क खातामा पटकपटक गरी कुल ९९ लाख ६४ हजार ७०० सय रकम पठाएको" अनुसन्धानका क्रममा खुलेको थियो।
त्यसको एक महिनाअघि सिराहाको लाहानबाट एकजना २७ वर्षे पुरुषलाई पनि उस्तै प्रकृतिको ठगी गरेको आरोपमा प्रहरीले पक्रिएको थियो।
सिराहाका ती व्यक्तिले पनि फेसबुक र ह्वाट्स्एपको दुरुपयोग गरी कोभिडका कारण "विदेशमा मृत्यु भएको व्यक्तिको हकवाला बनाएर" मृतकको खातामा रहेको अमेरिकी डलर पठाइदिने प्रलोभनमा पीडितहरूलाई पारेका थिए।
उनले त्यस्तो प्रलोभनमा पारेर ५६ लाख रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुल्यो।
केही महिनाअघि काठमाण्डूमै बसोबास गर्ने एक जना १९ वर्षे युवक एवं अन्य चार पुरुषहरूले गरेको ठगी चाहिँ त्यो भन्दा अलि फरक प्रकृतिको थियो।
उनीहरूले सुरुमा फेसबुक र टेलिग्रामलगायतका एपका माध्यमबाट विभिन्न व्यक्तिलाई साथी बनाउँथे र अनलाइन व्यापारमा लगानी गर्दा दोबर कमाइ हुने लोभ देखाउँथे।
त्यसपछि विभिन्न व्यक्तिका ब्याङ्क खाता एवं मोबाइल वालेटमा रकम पठाउन लगाएर लाखौँ रूपैयाँ ठगी गर्थे।
तीमध्ये कतिपयले "घर बसीबसी यति कमाइ" भन्ने खालको विज्ञापन गरेर प्रलोभनमा पार्ने र जागिरका लागि सुरुमा "यति रकम बुझाउनु पर्छ" भनेर पनि ठूलो रकम ठगी गर्ने गरेको पाइएको प्रहरी अधिकारी बताउँछन्।
बढ्दो अनलाइन ठगी
अधिकारीहरूका अनुसार पछिल्लो समय साइबर ब्यूरोसहित विभिन्न प्रहरी कार्यालयहरूमा आएका ठगीसम्बन्धी उजुरीमा देखिएको मुख्य समानता भनेको त्यसको माध्यम 'अनलाइन' हुनु हो।
"अहिले आउने ठगीका उजुरीमा अनलाइनका माध्यमबाट हुनेको सङ्ख्या व्यापक हुन थालेको छ," नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थी भन्छन्।
उनका अनुसार ब्यूरोमा पर्ने उजुरी हेर्दा अनलाइनबाट हुने ठगीको सङ्ख्या बर्सेनि बढिरहेको छ।
प्रहरीमा मात्र होइन, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पनि अनलाइन र सामाजिक सञ्जालका माध्यमबाट भएका ठगीबारे उजुरी गर्ने क्रम बढेको छ।
विभागका सहायक सूचना अधिकारी गायत्र श्रेष्ठ भन्छन्, "अहिले अनलाइनका माध्यमबाट विभिन्न खाले ठगी भएको उजुरीहरू धेरै आइरहेका छन्।"
"विशेषगरी सामाजिक सञ्जालका माध्यमबाट ठगी भएको उजुरी धेरै आएको छ।"
कस्ता ठगी धेरै?

पछिल्लो समय नेपालमा अनलाइन जागिर वा अनलाइन व्यापारमा लगानी गर्ने बहानामा ठगी गर्ने क्रम बढेको साइबर ब्यूरोका प्रवक्ता अवस्थी बताउँछन्।
उनले भने, "घरै बसीबसी पैसा कमाउन सकिने लगानी गरौँ वा जागिर खाऔँ भनेर ठगी हुने क्रम बढी देखिएको छ।"
"त्यस्तो प्रलोभनमा सामान्य मानिसहरूदेखि पढेलेखेका र उच्च शिक्षा हासिल गरेकाहरू पनि परेको उजुरी आइरहेका छन्।"
गत आर्थिक वर्षमा मात्र ब्यूरोमा कुल २२ करोड रुपैयाँ बराबरको अनलाइन ठगीसम्बन्धी उजुरी परेको उनले बताए।
अवस्थीले भने, "त्यसमध्ये सबैभन्दा धेरै अनलाइनबाट लगानी वा अनलाइन जागिरसँग सम्बन्धित छन्। त्यस्ता कुल ५०८ वटा उजुरी परेका थिए।"
"त्यस्तो गतिविधिबाट १४ करोड ७५ लाख रुपैयाँभन्दा बढी रकम ठगिएको उजुरी आएका छन्।"
ब्यूरोका अनुसार दोस्रो नम्बरमा अनलाइन शपिङका बहानामा हुने ठगी देखिएको छ।
गत आर्थिक वर्षमा अनलाइन सपिङसँग सम्बन्धित कुल ४१२ वटा उजुरी परेका थिए भने त्यस्ता गतिविधिबाट करिब ९० लाख रुपैयाँ ठगीएको थियो।
त्यस्तै व्यक्तिगत समाजिक सञ्जाल खाताहरू ह्याक गरेर ठगी गरिएको विषयमा ब्यूरोमा गत वर्ष कुल १२६ वटा उजुरी परेका छन्। त्यस्तो कार्यबाट २ करोड १३ लाख रुपैयाँभन्दा बढी ठगी भएको छ।
सामाजिक सञ्जालका माध्यमबाट चिट्ठा परेको वा गिफ्ट पठाइदिएको भनेर ठगी भएको भन्दै ९५ वटा उजुरी परेका छन्।
त्यस्ता कार्यबाट करिब १ करोड ५६ लाख रुपैयाँभन्दा बढी रकम ठगिएको उजुरी आएको अवस्थीले बताए।
अनलाइनबाट ठग्दै, क्रिप्टोकरेन्सी र जुवामा लगाउँदै

तस्बिर स्रोत, Reuters
विभिन्न अनुसन्धानहरूबाट अनलाइनबाट हुने यस्तो ठगीमा संलग्न अधिकांश व्यक्तिहरूले नेपालभित्र विभिन्न व्यक्तिहरूका खातालाई रकम सङ्कलनको माध्यम बनाउने गरेको पाइएको प्रहरीले जनाएको छ।
त्यसरी खाता प्रयोग गरेबापत खातावालाई केही प्रतिशत रकम दिने गरिएको र एउटा खाताबाट अर्कोमा सार्दै रकम लिने गरिएको पाइएको अवस्थी बताउँछन्।
"एउटा खातामा पठायो त्यहाँबाट अर्कोमा पठायो अनि त्यसरी प्रयोग हुने खातावाललाई केही प्रतिशत रकम दिने गरिने रहेछ," उनले भने।
अन्तिममा त्यो रकमलाई विदेशमा रहेको व्यक्तिसम्म पुर्याउन हुन्डीको माध्यम प्रयोग गर्ने गरिएको कतिपय अवस्थामा पाइएको उनी बताउँछन्।
त्यस्तै ठगीका मुख्य अभियुक्तहरू विदेशमा बस्ने र उनीहरूले दिने कमिसनको रकम नेपाली साझेदारलाई क्रिप्टोकरेन्सीका माध्यमबाट दिने गरेको पनि पाइएको छ।
कतिपय नेपाली अभियुक्तले ठगीको रकमबाट विभिन्न एपमार्फत् क्रिप्टोकरेन्सी खरिद गरेको अनि अनलाइन जुवामा रकम हालेको पनि पाइएको उनले बताए।
थाइल्यान्डमा मृत्यु भएका व्यक्तिको उत्तराधिकारी बनाएर ठूलो रकम पठाइदिने भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको आरोपमा गत भदौमा पक्राउ परेका २२ वर्षे युवाले पनि त्यसरी ठगेको रकम क्रिप्टोकरेन्सीमा प्रयोग गरेको पाइएको थियो।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा ती युवाले प्रयोग गर्ने एपलको 'आईफोन-१४ प्रो' फोनमा 'बाइनान्स' एप डाउनलोड भएको पाइएको थियो।
प्रहरीले जारी गरेको एउटा विज्ञप्तिमा पनि त्यसबारे खुलाइएको छ।
त्यसमा भनिएको छ, " पक्राउ परेको व्यक्तिको साथबाट बरामद भएको … एपल कम्पनीको आईफोन-१४ प्रोम्याक्समा बाइनान्स एप डाउनलोड गरी बाइनान्स आईडी: एनपीट्रेड११ र एनपीट्रेड५९ मार्फत् बिटक्वाइन ३.६५६४९६९५ (नेपाली ३ करोड रुपैयाँभन्दा बढी) बराबरको कारोबार गर्ने कुरा खुल्न आएको ।"
यद्यपि ती युवाले अर्को एक व्यक्तिको खातामा पनि रकम जम्मा गरेर ह्वाट्सएपमार्फत् त्यसको जानकारी दिएको प्रहरीले पाएको थियो र ती व्यक्तिलाई नै ठगीको मुख्य नाइके भएको ठानेको थियो।
प्रहरीका अनुसार केही अघि पक्राउ परेका अर्का १९ वर्षे युवकले पनि "अनलाइन व्यापारमा लगानी गर्दा दोबर आम्दानी हुने" प्रलोभन देखाएर ठगी गरेको रकम बिटकोइनमै लगाएको भेटिएको थियो।
त्यस्तै अन्य कतिपय युवाहरूले भने ठगी गरेर पाएको रकमलाई अनलाइनमा खेलिने जुवामा पनि प्रयोग गरेको भेटिएको अधिकारीहरू बताउँछन्। त्यस्ता घटनाहरू प्रहरीले प्रकाशित गरेका कैयौँ विवरणहरूमा पनि उल्लेख भएको पाइन्छ।

तस्बिर स्रोत, Nepal Police Mirror
मुख्य अभियुक्त पत्ता लगाउन कठिन

अनलाइनबाट हुने ठगीमा त्यसका मुख्य अभियुक्तहरू पत्ता लगाउन कठिन हुने गरेको प्रहरी तथा वाणिज्य विभागका अधिकारीहरू बताउँछन्।
अनलाइन शपिङका नाममा भएको ठगीबारे उजुरी धेरै परेको विभागका सहायक सूचना अधिकारी श्रेष्ठ भन्छन्, "ठगी गरिसकेकपछि त्यस्तो व्यक्तिले वेबसाइट नै बन्द गर्दा रहेछन् अनि सामाजिक सञ्जालका पेजहरू पनि निष्क्रिय पार्ने रहेछन्।"
"उनीहरूले दिएको फोन नम्बर पनि बन्द भइसकेको हुन्छ र दिइएको ठेगानामा केही पनि हुँदैन। त्यस्तो अवस्थामा ठगी गर्नेलाई पत्ता लगाउन समस्या हुने गरेको छ।"
यद्यपि कतिपय प्रहरीसम्म पुगेका उजुरीका हकमा प्रहरीले बन्द गरिएका वेबसाइट वा सामाजिक सञ्जालका लिङ्कहरूलाई विभिन्न प्राविधिक माध्यम तथा सामाजिक सञ्जालकै सहयोगमा पत्ता लगाएको उदाहरणहरू पनि भएको अधिकारीहरू बताउँछन्।
त्यस्तो अवस्थामा पनि ठगीको उद्देश्यले खोलिएका वेबसाइटहरू एवं सामाजिक सञ्जालका लिङ्कहरू विदेशबाट चलाउने गरेको भेटिँदा मुख्य व्यक्तिलाई पत्ता लगाउन कठिन हुने अवस्थी बताउँछन्।
टेलिग्रामका कारण चुनौती
अवस्थीले दिएको जानकारी अनुसार पछिल्ला दिनहरूमा नेपालमा टेलिग्राम एपका माध्यमबाट ठगी गर्ने क्रम बढेको छ।
उनले भने, "अनलाइन लगानी र अनलाइन जागिरसम्बन्धी धेरै ठगी टेलिग्रामका माध्यमबाट भएको छ। त्यस्ता ठगीका लागि कुराकानी पनि सोही एपबाट भएको देखिन्छ।"
"सुरुमा टेलिग्राममा कुराकानी हुने र त्यसपछि कामका लागि भन्दै अर्को वेबसाइटको लिङ्क दिने अनि त्यसमा भर्चुअल रूपमा रकम बढेको जस्तो पनि देखाउने र नगद चाहिँ नेपालमै रहेका विभिन्न ब्याङ्क खाताहरूमा हाल्न लगाउने गरेको पाइएको छ।"
तर टेलिग्रामको 'एड्मिन'बारे पत्ता लगाउन अन्य एपमा भन्दा कठिन भएको उनी बताउँछन्।
उनले भने, "फेसबुक, यूट्यूब वा अन्य सामाजिक सञ्जालका हकमा हामीले लेखेर पठाएपछि त्यस्तो आपराधिक कार्य गर्न प्रयोग भएको प्रोफाइल वा लिङ्कबारे जानकारी पाउन सकिन्छ तर टेलिग्राममा त्यस्तो मेकानिजम नै छैन।"
"टेलिग्राममलाई हामीले लेख्दा पनि उसले केही जानकारी नदिएकाले समस्या भएको छ।"
टेलिग्रामले अन्य सामाजिक सञ्जाल वा एपहरूले जस्तो सहजै जानकारी नदिने भएकाले ठगीमा संलग्न हुनेले त्यसको फाइदा उठाइरहेको अधिकारीहरू बताउँछन्।
अवस्थीका अनुसार ब्यूरोले हालै मात्र पनि टेलिग्रामका माध्यमबाट पठाइने र ठगीका लागि प्रयोग गरिएका १७ वटा वेबसाइटहरूलाई नेपालमा नचल्ने बनाइदिन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ।
"एउटा बन्द गर्न लगायो अर्कै फेरि बनाइहाल्छन्," उनले भने, "त्यसले पनि निकै चुनौती थपेको छ।"
ठगी गर्नेलाई कस्तो कारबाही हुन्छ?

अनलाइनका माध्यमबाट हुने ठगीलाई प्रहरीले विद्युतीय माध्यमबाट भएको ठगीका रूपमा व्याख्या गरेर मुलुकी अपराध संहिता अनुसार कानुनी कारबाही अघि बढाउने गरेको छ।
अपराध संहिताको दफा २४९ मा "कसैले ठगी गर्न वा गराउन हुँदैन" भनिएको छ।
उक्त दफा अनुसार "कसैले कसैलाई कुनै कुराको विश्वास दिलाएकोमा सो बमोजिम नगरी वा फकाई, झुक्याई वा अन्य कुनै किसिमले धोका दिई कुनै काम गरी वा गर्नबाट रोकी त्यस्तो व्यक्ति वा अन्य कसैलाई बेइमानीपूर्वक कुनै किसिमको हानि नोक्सानी वा क्षति पुऱ्याएमा वा आफ्नो वा अरु कसैको लागि कुनै लाभ प्राप्त गरेमा" त्यसलाई ठगी गरेको मानिन्छ।
उक्त कानुनमा ठगीबाट पीडित व्यक्तिले ठगी गर्ने व्यक्तिबाट कुनै लिखत गराएको रहेछ भने त्यस विषयमा लिखत बमोजिम हुने व्यवस्था छ।
लिखत नगराएका हकमा भने "भ्रष्टाचार हुनेबाहेक नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा भएको कुनै संस्थालाई ठगी गरेमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना"को व्यवस्था त्यसमा गरिएको छ।
उक्त कानुनमा भनिएको छ, "आफ्नो नाम, दर्जा, पदवी, योग्यता ढाँटी ठगी गरेमा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना तथा अन्य कुनै किसिमले ठगी गरेमा सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिबाना एवं बालबालिका, होस ठेगानमा नरहेको व्यक्ति, असहाय, असहाय, निरक्षर वा पचहत्तर वर्ष माथिको व्यक्तिलाई ठगी गरेकोमा थप एक वर्षसम्म कैद सजाय हुनेछ।"
उपभोक्ता संरक्षण ऐन, २०७५ मा पनि "अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न नहुने" व्यवस्था गरिएको छ।
अनलाइनका माध्यमबाट हुने ठगीलाई पनि वाणिज्य विभागले सोही व्यवस्था अनुसार कारबाही अघि बढाउने गरेको अधिकारीहरू बताउँछन्। त्यस्तो कार्य गर्नेलाई जरिबानाको व्यवस्था उक्त ऐनमा गरिएको छ।
उपभोक्तालाई सचेत बन्न आग्रह

तस्बिर स्रोत, Getty Images
अधिकारीहरू विशेषगरी अनलाइनबाट हुने ठगी रोक्नका लागि सबैभन्दा पहिले आम प्रयोगकर्ता र उपभोक्ता नै सचेत हुनुपर्ने बताउँछन्।
अवस्थी भन्छन्, "कहिल्यै र कहीँ पनि सजिलै पैसा कमाइ हुँदैन त्यसैले कसैले घरै बसेर लाखौँ कमाइ हुन्छ भन्दा पत्याउनु भएन। त्यसका लागि प्रयोगकर्ता नै सजग हुनुपर्यो।"
त्यस्तै "कसैले कुनै सामान पठाउँछु भनेर ठगी गर्न सक्ने भएकाले सामान नपाइकन भुक्तानी नगर्न" पनि उनी आग्रह गर्छन्।
विभागका श्रेष्ठले पनि उपभोक्तालाई त्यस्तै आग्रह गर्दै भने, "कसैले सस्तोमा वा राम्रो सामान दिन्छ भन्दैमा रकम भुक्तानी गर्नु भन्दा सामान पाएपछि त्यसको जाँच गरेर मात्र रकम भुक्तानी गर्ने गर्दा ठगीनबाट बच्न सकिन्छ।"
एकजना उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ भने उपभोक्ता सचेत भएर मात्र ठगी रोकिने अवस्था नभएको बताउछन्।
उनी भन्छन्, "कानुन कार्यान्वयन गर्ने निकायहरूले प्रभावकारी रूपमा काम गरेका छैनन् र उनीहरूले सधैँ जनशक्ति अभावको कुरा देखाउँछन्।"
"नेपालमा अवस्था कस्तो छ भने कोही ठगीयो भने उजुरी गर्न जाँदा अझ झन्झट र दु:ख पाउने अवस्था छ त्यसले गर्दा पनि मानिसहरूले ठगिएको अवस्थामा समेत उजुरी गर्दैनन्।"
उनी सरकारले उजुरी गर्ने र उजुरी गरिसकेपछि त्यसलाई स्वत: मुद्दा अघि बढ्ने व्यवस्था नगरेसम्म अवस्था सुधार नहुने बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।