चामलबारे ठट्टा गर्दा जापानी कृषिमन्त्रीले गुमाउनुपर्‍यो पद

जापानी मन्त्री टाकु इटो

तस्बिर स्रोत, Reuters

  • Author, मारिको ओई
  • Role, व्यापार संवाददाता

जापानका कृषिमन्त्रीले आफूले कहिल्यै चामल किन्नु नपरेको र आफ्ना समर्थकहरूले सधैँ आफूलाई "पुग्ने" गरी चामल कोसेली दिने गरेको बताउँदा उनले आफ्नो ठट्टा सुनेर मानिसहरू रमाउलान् भन्ने ठानेको हुनुपर्छ।

तर टाकु इटोको टिप्पणीले सर्वत्र आलोचना जन्मायो। त्यसपछि उनी पदबाट राजीनामा गर्न बाध्य भए।

जापानले केही दशकदेखि जीवनयापनको खर्च चर्को रूपमा बढिरहने समस्याको सामना गरिरहेको छ। जसको असर मानिसहरूले सबैभन्दा धेरै उपभोग गर्ने खानेकुरा चामलमा परिरहेको छ।

चामलको मूल्य गत वर्ष दोब्बरले बढ्यो र देशमा धानका आयातित प्रजातिहरू लगभग छैनन् भने पनि हुन्छ।

आफ्नो अभिव्यक्तिबारे इटोले माफी मागेका छन्। विपक्षी पार्टीले अविश्वासको प्रस्ताव ल्याउने धम्की दिएपछि उनले राजीनामा दिए।

उनको बहिर्गमनले अल्पमतका प्रधानमन्त्री सिगेरु इशिबाको सरकारमाथि धक्का पुगेको छ।

जापानमा चामलको महत्त्व

चामलको विषय जापानमा ठूलो बन्न सक्छ। यसको अभावले विगतमा पनि राजनीतिक असन्तुष्टि जन्माएको थियो। चामलको मूल्य बढेसँगै भड्किएका हिंसाले सन् १९१८ मा जापानमा सरकार नै गिराएको इतिहास छ।

त्यसकारण इशिबा नेतृत्वको सरकारको लोकप्रियता घटेको देखिनुमा चामलको बढ्दो मूल्य पनि रहेकोमा कुनै अचम्म मान्नु पर्ने देखिँदैन।

"राजनीतिज्ञहरू सामान किन्न पसलमा जाँदैनन् त्यसकारण उनीहरूलाई थाहै हुन्न," योकोहामाका ३१ वर्षीय मेमोरी हिगुचीले बीबीसीसँग बताइन्।

हिगुचीकी पहिलो सन्तान सात महिनाकी छन्। उनी र ठोस खानेकुरा खान सुरु गरेकी उनकी ति छोरी दुवैलाई चामल महत्त्वपूर्ण छ।

"उनले राम्रोसँग खान पाउन भन्ने म चाहन्छु। त्यसकरण यदि मूल्य बढिरह्यो भने म र मेरा श्रीमान्‌ले खाने भातको मात्रा घटाउनु पर्छ।"

महँगो गल्ती?

पसलमा चामलको मुल्य हेर्दै कृषक

तस्बिर स्रोत, Getty Images

इबाराकी विश्वविद्यालयका कृषि अर्थशास्त्री कुनिओ निशिकावा यो माग र आपूर्तिको सामान्य विषय भएको बताउँछन्।

सरकारी आकलन मेल नखाँदा समस्या आएको उनको बुझाई छ।

सन् १९९५ सम्म कृषि सहकारीहरूसँग नजिक रहेर काम गरेको सरकारले उत्पादित धानमा आफ्नो नियन्त्रण कायम राखेको थियो। त्यही वर्ष यस्तो कानुन खारेज भयो। तर पनि कृषि मन्त्रालयले मागको अनुमान प्रकाशित गर्ने गरेको छ जसकारण कृषकहरूले आवश्यक भन्दा धेरै धान उत्पादन गर्दैनन्।

तर प्राध्यापक निशिकावाका अनुसार यस्तो अनुमान सन् २०२३ र २०२४ मा मिल्न गएन। उनीहरूले ६८ लाख टन माग हुने आकलन गरेका थिए। तर वास्तविक माग ७० लाख टन भयो।

माग बढ्नुको कारण जापान घुम्न जाने पर्यटकहरूको सङ्ख्यामा भएको वृद्धि र महामारी पछि घर बाहिर खाना खाने मानिसहरूको सङ्ख्या बढ्नु हो।

यद्यपि वास्तविक उत्पादन आकलन भन्दा पनि कम रहेको प्राध्यापक निशिकावा बताउँछन्।

"विदेशी पर्यटकहरूको वृद्धि, अन्य खानेकुरा भन्दा भात सस्तो हुनु लगायतका कारण चामलको माग बढेको सत्य हो," कृषि मन्त्रालयका एक जना प्रवक्ताले बीबीसीसँग भने।

"तर अस्वाभाविक उच्च तापक्रमका कारण चामलको उत्पादन घटेको मात्रै छैन कि गुणस्तर पनि घटेको छ।"

धान उत्पादनमा छैन नाफा

बच्चालाई भात खुवाउँदै जापानी महिला

तस्बिर स्रोत, Memori Higuchi

पुस्तौँ देखि धान खेती गरिरहेको परिवारका जापानका एक जना कृषक यसबाट राम्रो आम्दानी नहुने बताउँछन्।

पहिले पहिले सरकारले कृषकहरूलाई अनुदान दिने गरेको भए पनि अहिले सरकारले राम्रो मूल्य नदिँदा धान उत्पादनको खर्च उठाउनै चुनौती रहेको उनको भनाई छ।

कृषि मन्त्रालयका अनुसार अहिले धान भन्दा गहुँ र भटमास खेती गर्ने कृषकहरूलाई सरकारले अनुदान दिने गरेको छ।

गत वर्षसम्म जापानमा चामलको माग घट्दो क्रममा रहेका कारण युवा कृषकहरूले भातका लागि प्रयोग हुने भन्दा जनावरलाई खुवाउन माग हुने किसिमका धानको उत्पादन रोज्न थालेका थिए।

अघिल्लो वर्षसम्म सस्तो मूल्यमा चामल बेच्न बाध्य भएको बताउने सिनिया ताबुची अहिले चामलको भाउ बढ्दा अचम्ममा छन्। अहिले ६० किलो चामलको मूल्य ४० हजार देखि ५० हजार जापानी येन पर्छ।

रेस्टुराँ र पसलेहरूका लागि मूल्य बढ्नु नराम्रो समाचार भए पनि किसानहरूका लागि यो सुखद समाचार हो।

सर्वसाधारणको आक्रोश

तर मूल्यवृद्धिसँगै मानिसहरूमा आक्रोश पनि बढेको छ। सरकारले मूल्य घटाउने प्रयास स्वरूप गत मार्चमा आफूसँग सञ्चित केही चामल लिलाम बिक्री गरेको थियो।

कैयौँ देशहरूसँग असाधारण परिस्थितिमा आवश्यक पर्ने अत्यावश्यक सामग्रीको रणनीतिक सञ्चिति रहने गरेको छ। त्यसमा तेल, ग्यास लगायतका सामान पर्छन्। तर एशियाली देशहरूमा धान वा चामलको पनि सञ्चिति राख्ने गरिन्छ।

पछिल्ला वर्षहरूमा प्राकृतिक प्रकोपका समयमा मात्रै जापानको सञ्चित भण्डारण खोलिएको थियो।

"सरकारले मूल्य नियन्त्रणका लागि तत्कालीन चामलको भण्डारण नखोल्ने बताएपछि हामीलाई धोका महसुस भयो," ताबुची बताउँछन्।

सरकारले सञ्चित भण्डारबाट चामल बिक्री गरे पनि मूल्य भने घटेन।

बढ्दो मूल्यले थपेका चुनौती

जापानी भातको परिकार

तस्बिर स्रोत, Getty Images

दक्षिण पूर्व एशियामा पनि चामलको मूल्य बढिरहेको छ। विश्वभरि उत्पादन हुने धानको ३० प्रतिशत हिस्सा यही क्षेत्रमा उत्पादन हुने गरेको छ। तर आर्थिक, राजनीतिक र जलवायु परिवर्तन जस्ता कारणले पछिल्ला वर्षहरूमा चामलको अभाव भएको छ।

जापानमा चामल अभावको समस्या चर्को बनेपछि यो देशले करिब २५ वर्षपछि कोरियाबाट पनि आयात सुरु गर्‍यो।

प्रधानमन्त्री इशिबाले वासिङ्टनसँग व्यापार सम्झौताबारे छलफल गर्ने क्रममा चामल आयातबारे पनि कुरा गर्ने सङ्केत गरेका छन्।

तर हिगुची जस्ता चामल किनेर खानेहरू जापानीहरूले देश बाहिरबाट आयात गरिएको चामल मन पराउँदैनन्।

"हामीले लामो समयदेखि स्थानीय उपभोगका लागि स्थानीय उत्पादन नै हुनुपर्छ भनिरहेका छौँ," उनी भन्छिन्।

"जापानी कृषकहरूलाई पनि नाफा हुने र उपभोक्ताहरूले पनि देशमै फलेको धानको चामल किन्दा सुरक्षित महसुस गर्नुपर्छ।"

तर यो कुरामा कृषकहरूको एकमत चाहिँ छैन।

सरकारले कृषि क्षेत्रलाई संरक्षण गरेको ताबुची बताउँछन्।

"कैयौँ ज्येष्ठ कृषकहरूले सस्तोमा धान बेचेका हुन सक्छन् किनभने उनीहरूलाई पेन्सन वा अरू सुविधा हुनसक्छ। तर युवा पुस्ता यसबाट पैसा आर्जन गर्न सफल भएका छन्। सरकारले सबै किसानको नाफा सुनिश्चित गर्नु हुँदैन नाफा बनाउन नसक्ने असफल हुन्छन्," उनी भन्छन्।

तर ५९ वर्षका कृषक कोसुके कासाहारा आफ्नो जस्तो ग्रामीण क्षेत्रमा धान रोप्न छोडेको अवस्थामा उक्त क्षेत्र काम नलाग्ने हुनसक्ने बताउँछन्।

उनी सरकारले अहिलेको बजार मूल्य भन्दा केही कममा कृषकहरूको उत्पादन खरिद तर्ने सुनिश्चितता गर्नुपर्ने बताउँछन्। जसले किसानहरूलाई फाइदा हुने उनको तर्क छ।

अनि इटोले जे भोगे त्यसले यो विषय राजनीतिज्ञहरूका लागि संवेदनशील छ भन्ने देखाएको छ।

जापानमा आगामी बर्खामा राष्ट्रिय निर्वाचन हुँदै छ। अनि विशेषगरी मतदानमा धेरै सहभागिता जनाउने पाका उपभोक्ता र कृषकहरूलाई फकाउनु अझै महत्त्वपूर्ण हुनसक्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।