नयाँ नोटहरू तपाईँको हातसम्म यसरी आइपुग्छन्

- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
लामो रस्साकस्सीपछि केन्द्रीय ब्याङ्कका नयाँ गभर्नरमा विश्वनाथ पौडेल नियुक्त भएसँगै रु. ५० र १,००० दरका नयाँ नोट छाप्ने प्रक्रिया अगाडि बढाउने अधिकारीहरूले बताएका छन्।
नेपाल राष्ट्र ब्याङ्कले आवश्यकताअनुसार समयसमयमा नयाँ नोट ल्याउने प्रचलन रहिआएको छ। नेपालले हाल पाँच रुपैयाँदेखि १,००० दरका कागजका नोटहरू विभिन्न देशमा छपाउँदै आएको छ।
हामी यहाँ नेपाली नयाँ नोटहरू छाप्नेदेखि प्रयोगमा ल्याइने प्रक्रियासम्मको चर्चा गर्दै छौँ।
छाप्ने आधार के?

तस्बिर स्रोत, NRB
जानकारहरूका अनुसार नोट छाप्न कुनै पनि देश स्वतन्त्र र सार्वभौम हुन्छ। त्यसका निम्ति सम्बन्धित मुलुकले कसैको अनुमति लिनुपर्दैन।
"अर्थतन्त्रको आवश्यकताअनुसार कुनै पनि देशको केन्द्रीय ब्याङ्कले नोट छाप्न सक्छ," नेपाल राष्ट्र ब्याङ्कका उपनिर्देशक तथा सहायक सूचना अधिकारी भागवत् आचार्यले बीबीसी न्यूज नेपालीसँग भने।
"भुक्तानी प्रक्रिया र कारोबारलाई सहज बनाउनका निम्ति नोट आवश्यक पर्छ र सोहीअनुरूप नोट बाहिर ल्याउने हो।"
राष्ट्र ब्याङ्कका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार दुईतीन वटा पक्षलाई हेरेर नयाँ मुद्रा छाप्ने गरिन्छ।
"विकासका लागि आउँदो वर्ष कति रकम आवश्यकता पर्छ भन्ने कुरा सरकारसँग पनि उसले जानकारी लिन्छ। चलनचल्तीमा कति नोट छन् र कति बजारबाट झिक्छौँ भन्ने आधारमा छाप्ने योजना बनाइन्छ," बीबीसी न्यूज नेपालीसँग उनले भने।
छपाइ प्रक्रिया कस्तो?

तस्बिर स्रोत, NRB
उपनिर्देशक आचार्यका अनुसार सामान्यतया दुईतीन वर्षका लागि कति नोट चाहिन्छ भन्ने निर्धारण गरेर नेपाली नोटहरू छपाउने गरिएको छ।
यदि पुरानै डिजाइनमा नोट छपाउनु छ र छपाइका निम्ति आन्तरिक सुरक्षाका विषय परिवर्तन गर्नु छ भने सञ्चालक समितिले निर्णय गरेर प्रक्रिया अगाडि बढाउँछ।
"तर नोटमा भएका चित्र अथवा नोटकै दर परिवर्तन गर्नुपरेमा अथवा आकार परिवर्तन गर्नुपरेमा त्यसको स्वीकृति सरकारले दिनुपर्छ। सरकारबाट स्वीकृति लिएर ब्याङ्कले प्रक्रिया अगाडि बढाउँछ," उनले भने।
पूर्वगभर्नर क्षेत्रीका अनुसार नोट छाप्ने विदेशी कम्पनीहरूको सूची बनाइएको हुन्छ।
"पहिला नै जानकारी गराएर उनीहरूले बिड गरेअनुसार प्रिक्वालिफिकेशन सूचीमा राखिएको हुन्छ। तिनै कम्पनीमध्ये सस्तो र भनिएको समयमा दिन सक्नेलाई नोट छाप्न दिइन्छ। यो प्रक्रियामा डेढदुई वर्षसम्म लाग्छ," उनले अगाडि थपे।
राष्ट्र ब्याङ्कका उपनिर्देशक आचार्यका अनुसार चाहिने जति नोटहरू एकै पटक छापिँदैनन्।
"टेन्डरका आधारमा कुनै कम्पनीले एउटा दरका र अर्को कम्पनीले अर्को दरका नोट छापिरहेको हुन सक्छ। त्यसो भएर एकैचोटि छापिएर आउँछन् भन्ने हुँदैन। नोट छाप्ने र ल्याउने प्रक्रिया चलिरहन्छ," उनले थपे।
उनका अनुसार संस्कृतिविद्, भाषाविद्, पुरातत्त्वविद् र प्रकृतिविद्को प्रतिनिधित्व रहने गरी राष्ट्र ब्याङ्कमा एक नोट डिजाइन समिति बनाइएको छ। सोही समितिले नेपाली नोटहरूको डिजाइन गर्छ।
कारोबारमा कुनै असर नपरोस् भनेर सामान्यतया सवा तीन वर्षका लागि पुग्ने मुद्रा ढुकुटीमा राख्ने गरिएको आचार्य बताउँछन्।
"सवा तीन वर्ष भनेकोमा कहिलेकाहीँ दुई वर्षमा पनि झरेको हुन सक्छ भने कहिलेकाहीँ चार वर्षका लागि पुग्ने पनि हुन सक्छ," उनले स्पष्ट पारे।
नेपालमा नोट छाप्ने पूर्वाधार छैन। हाल चलनचल्तीमा रहेका सात प्रकारका नोटमध्ये पाँच प्रकारका पछिल्लो समय चीनमा छापिएका छन्। विगत ११ वर्षयता चीनमा पनि नेपाली नोटको छपाइ हुँदै आएको छ।
अधिकारीहरूका अनुसार हाल रु. ५० र रु १०० बाहेक सबै दरका नोट चीनको चाइना ब्याङ्क नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनले छाप्दै आएको छ भने रु. ५० का नोट फ्रान्समा र रु. १०० का नोट यूकेमा छापिँदै आएका छन्।
नेपालमा चलनचल्तीका सिक्का बनाउन छोडेको पनि १४ वर्षभन्दा बढी समय भइसकेको अधिकारीहरू बताउँछन्।
उनीहरूका अनुसार विगतमा सिक्का बनाउँदै आएको केन्द्रीय ब्याङ्कको टक्सार विभागले हाल असर्फी, स्मारिका सिक्का र पदकहरू मात्रै बनाउने गरेको छ। एक र दुई रुपैयाँ दरका नोटहरू पनि दश वर्षअघि छापिन बन्द भइसकेको छ।
खर्च कति लाग्छ?

अधिकारीहरूका अनुसार कम्पनीले गर्ने बोलकबोलको दर र नोटका सुरक्षा विशेषतामा छपाइ खर्च निर्भर गर्छ।
"मुख्य कुरा नै सुरक्षा हो। जुन नोटमा सिक्युरटी फिचर [सुरक्षा विशेषता] बढी हुन्छ, त्यसको छपाइ खर्च त्यति नै बढी हुने गर्छ," पूर्वगभर्नर क्षेत्रीले भने।
उपनिर्देशक एवं सहायक सूचना अधिकारी आचार्यका अनुसार हालसम्म प्रतिनोट/सिक्का छपाइमा साढे दुईदेखि सात रुपैयाँसम्म खर्च हुँदै आएको छ।
"मुद्रा व्यवस्थापन विभागले मलाई जानकारी गराएअनुसार अहिलेसम्म प्रतिनोट सात रुपैयाँभन्दा बढी छपाइ खर्च हामीलाई लागेको छैन," उनले भने।
अधिकारीहरूका अनुसार कागजी नोटको तुलनामा एक र दुई रुपैयाँको सिक्का बनाउनमा बढी खर्च लाग्ने गरेको छ।
"सिक्काहरूमा अङ्कित मूल्यभन्दा छपाइ खर्च बढी हुने कुरा सत्य हो," आचार्यले थपे।
अङ्कित मूल्यभन्दा छपाइ खर्च नै बढी हुने भएर केही समयदेखि एक र दुई रुपैयाँ दरका नोटहरू पनि छाप्न छोडिएको पूर्वगभर्नर क्षेत्री बताउँछन्।
प्रयोगमा कसरी आउँछ?
विदेशमा नोटहरू छपाइ गराएर ल्याइसकेपछि प्रयोगका लागि पनि निश्चित प्रक्रियाबाट गुज्रिनुपर्छ।
नयाँ नोटहरू निष्कासन गरेर राष्ट्र ब्याङ्कले प्रयोगमा ल्याइएको जानकारी नगराउन्जेल त्यो कागजसरह नै हुने पूर्वगभर्नर क्षेत्री बताउँछन्।
राष्ट्र ब्याङ्कले छपाएर ल्याएका नोट चलनचल्तीमा ल्याउनुअघि राजपत्रमा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ।
पूर्वकायममुकायम गभर्नर कृष्णबहादुर मानन्धरका अनुसार नोट चलाउनुअघि ब्याङ्कले नोटको मूल्याङ्कनबराबरको धरौटी राख्नुपर्ने हुन्छ।
ब्याङ्कहरूमा धितो राखेर ऋण लिएजस्तै उसले नोट बजारमा पठाउँदा सुरक्षण गर्नुपर्ने व्यवस्था हुन्छ।
राष्ट्र ब्याङ्क ऐनले सुरक्षण राखेर मात्रै नोट निष्कासन गर्न सक्ने अधिकार केन्द्रीय ब्याङ्कलाई प्रदान गरेको छ।
सुनचाँदी, विदेशी मुद्रा, विदेशी धितोपत्रका साथै सिक्का र नेपाल सरकारको ऋणपत्रलाई समेत धरौटीका रूपमा राख्न पाइने मानन्धर बताउँछन्।
"ब्याङ्कले नोट निष्कासन गर्दा सुरक्षण राखेर मात्र निष्कासन गर्ने छ र यस्तो निष्कासित नोटको दायित्व सुरक्षणबापत राखिएको सम्पत्तिको मूल्य बराबर हुने छ," राष्ट्र ब्याङ्क ऐनको दफा ५२ मा उल्लेख छ।
सुरक्षणबापत राखिने सम्पत्तिको कम्तीमा ५० प्रतिशत सुन, चाँदी, विदेशी मुद्रा, विदेशी धितोपत्र र विदेशी विनिमय अधिकारपत्र र अरू बाँकी सिक्का, नेपाल सरकारले निष्कासन गरेको ऋणपत्र र प्रतिज्ञापत्र वा विनिमयपत्र राख्न सकिने व्यवस्था छ।
केन्द्रीय ब्याङ्कको मुद्रा व्यवस्थापन विभागका अनुसार हाल राष्ट्र ब्याङ्कसँग ११ खर्ब रुपैयाँबराबरको धितो राख्न सक्ने क्षमता छ।
तीमध्ये उसले ८०० अर्ब रुपैयाँबराबरका नोट बजारमा निष्कासन गर्न सक्ने अनुमति सञ्चालक समितिबाट पाएको छ।
उपनिर्देशक आचार्यका अनुसार राष्ट्र ब्याङ्कले अहिले ७५५ अर्ब रुपैयाँबराबारका नोटहरू बजारमा निष्कासन गरेको छ।
आयु कति हुन्छ?
नोटको आयु कति हुन्छ भन्ने कुरा यकिन भन्न नसकिने जानकारहरू बताउँछन्।
"नोटको आयु ठ्याक्कै यति हुन्छ भन्ने हुँदैन। तर सामान्यतया दुई वर्षसम्म आयु रहेको देखिन्छ," राष्ट्र गभर्नरका सहायक सूचना अधिकारी आचार्यले भने।
राष्ट्र ब्याङ्ककै तथ्याङ्कअनुसार पछिल्ला वर्षहरूमा डिजिटल भुक्तानी बढ्दै गएको देखिन्छ।
"विद्युतीय भुक्तानीलाई बढाउँदै लगेमा नोटको आयु पनि बढ्छ र व्यवस्थापनमा लाग्ने खर्च पनि घट्दै जान्छ," आचार्यले थपे।
कुनै नोट कति वर्षसम्म टिक्छ भन्ने कुरा तिनको प्रयोग र जतन गर्ने कुरामा निर्भर गर्ने उनीहरूको तर्क छ।
धेरै जतनका साथ प्रयोग गर्ने बानी नहुँदा पनि नेपाली नोटहरू छिटै फोहोर हुने र खुइलिने गरेका पूर्वगभर्नर क्षेत्री बताउँछन्।
उपनिर्देशक आचार्य पनि त्यसमा सहमत देखिन्छन्। "रङ्ग लगाइदिनेने, कोचेर राख्नेजस्ता प्रवृत्तिले गर्दा पनि नोटहरू छिटै थोत्रा हुने गर्छन्।"
थोत्रा भएका नोटहरू बजारबाट झिकाएर राष्ट्र ब्याङ्कले धुलाइ गरी फेरि प्रयोगमा पठाउने अभ्यास पनि रहिआएको छ।
"तर कामै नलाग्ने भएपछि अर्थ मन्त्रालयसहितको रोहबरमा जलाउने गरिन्छ भने पछिल्लो समय थोत्रा नोटका ब्रिकेट पनि बनाउन थालिएको छ," क्षेत्रीले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।