शिक्षक-सरकार वार्ता 'सकारात्मक' तर अझै केही कुरा 'मिल्न बाँकी'

शिक्षकहरूको आन्दोलन

तस्बिर स्रोत, RSS

देशैभरिबाट राजधानी काठमाण्डूमा आएर विगत एक महिनादेखि आन्दोलनरत शिक्षकहरू र सरकारबीच वार्ता सुरु भए पनि हालसम्म ठोस उपलब्धि हासिल हुन नसकेको बुझिएको छ।

यद्यपि "वार्ता सकारात्मक रूपमा अघि बढिरहेको र चाँडै टुङ्गोमा पुग्ने" शिक्षामन्त्रीको भनाइ छ।

आन्दोलनरत शिक्षकहरूले चाहिँ "वार्ता, छलफल र आन्दोलनलाई सँगै लैजाने" बताएका छन्।

शिक्षकहरूका मागका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताधारी दलका नेताहरूसँग बुधवारको बैठकमा छलफल गरेको बताइएको छ।

उक्त बैठकमा सहभागी भएका सत्ताको नेतृत्वकर्ता नेकपा एमालेका नेता प्रदीपकुमार ज्ञवालीले बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बुधवार दिनभरिमा निकास निस्कने अपेक्षा गरिएको बताए।

उनले भने, "वार्ता सकारात्मक रूपमा अघि बढेको छ र मलाई विश्वास छ,आज दिनभरिमा सरकार र आन्दोलनरत शिक्षक महासङ्घबीच सहमति भएर भोलिदेखि सहज ढङ्गले पठनपाठन हुने वातावरण निर्माण हुन्छ।"

शिक्षकहरूको आन्दोलन लम्बिदै जाँदा एसईईको उत्तरपुस्तिका परीक्षण र नयाँ भर्ना प्रक्रिया अवरुद्ध हुन पुगेको छ।

त्यस्तै अझै आन्दोलन जारी रहे एक पटक सारिएको कक्षा १२ को परीक्षाको मिति पुन: सार्नु पर्ने अवस्था आउन सक्ने चिन्ताहरू व्यक्त भइरहेका छन्।

'वार्ता सकारात्मक'

शिक्षकहरूको आन्दोलन

तस्बिर स्रोत, RSS

आन्दोलनरत शिक्षकहरू र सरकारबीच मङ्गलवार बेलुका ढिलोगरी वार्ता सुरु भएको थियो।

अधिकारीहरूका अनुसार राति १० बजेतिर सकिएको वार्ता सकारात्मक रूपमा अघि बढेको छ। यद्यपि अझै पनि कतिपय विषयमा सहमति जुट्न सकेको छैन।

वार्तापछि सञ्चारमाध्यमहरूका प्रतिनिधिहरूलाई दिएको प्रतिक्रियामा शिक्षामन्त्री रघुजी पन्तले वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताएका थिए।

उनले भने, ""वार्ता सकारात्मक रूपले अगाडि बढेको छ। केही विषयलाई हामीले 'फाइनल' गर्न बाँकी छ। केही कामहरू बाँकी छन् त्यो भोली (बुधवार) हामी गर्छौँ। सकेसम्म छिटो यसलाई टुङ्ग्याउने पक्षमा हामी छौँ।"

वार्ता सुरु हुँदै गर्दा पन्तले बीबीसीसँगको कुराकानीमा मङ्गलवार नै "धेरै विषयहरू टुङ्गिएको" र शिक्षकहरूले "केही विषयहरू छलफल गरेर आउँछौँ" भनेकाले बुधवारै टुङ्गोमा पुग्ने अपेक्षा गरेको बताएका थिए।

उनले वार्तामा टुङ्गो लाग्न बाँकी विषयहरूबारे भने खुलाउन चाहेनन्।

वार्ताका क्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि छलफलका लागि उपस्थित भएको जनाइएको छ।

'माग सम्बोधन भए आन्दोलन टुङ्गिन्छ'

शिक्षक आन्दोलन

तस्बिर स्रोत, EPA

मङ्गलवार राति वार्तापछि सङ्क्षिप्त प्रतिक्रिया दिँदै आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्ता र आन्दोलन दुवै जारी हुने बताएका छन्।

उनले वार्तापछि सञ्चारकर्मीहरूसँग भने, "आन्दोलनले माग गरेका विषय सम्बोधन भए [वार्ता] टुङ्गिन्छ, भएन भने टुङ्गिँदैन।"

उनले बुधवार पनि आन्दोलन जारी रहने बताएका थिए र राजधानी काठमाण्डूमा बुधवार पनि शिक्षकहरूले प्रदर्शन गरेका छन्।

शिक्षकहरूले सरकारसमक्ष विभिन्न मागहरू राखेको बताएका छन्। त्यस्ता मागहरूमा विद्यालयहरूमा कार्यरत कर्मचारी र शिशु कक्षाका शिक्षकहरूको तलब, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता र ग्रेड समायोजनलगायत छन्।

त्यस्तै शिक्षकहरूको मर्यादाक्रमको विषय र शिक्षकहरूले उपचारमा छुट पाउनु पर्नेसम्मका माग उनीहरूले राखेका छन्। शिक्षा ऐन तत्काल जारी हुनु पर्ने पनि शिक्षकहरूको माग छ।

यद्यपि शिक्षकहरूले अहिले आंशिक अर्थात् मन्त्रिपरिषद्‌बाट पूरा हुने मागहरू सम्बोधन भए पनि आन्दोलको शैली परिवर्तन गर्न सकिने अडान राखेको बताएका छन्।

महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले अहिलेसम्मका वार्ताहरूमा आफूहरूले मन्त्रीस्तरीय निर्णयबाट पूरा हुने, मन्त्रिपरिषद्‌बाट पूरा हुने र संसद्‌बाटै कानुन बनाएर पूरा हुने मागहरू स्पष्ट पारेको बताइन्।

उनले भनिन्, "हिजो (मङ्गलवार)को वार्तामा मन्त्रिपरिषद्‌बाट पूरा गर्न सकिने मागहरूबारे छलफल भयो तर त्यसमा सहमति जुटिसकेको अवस्था छैन। आज (बुधवार) त्यसबारे फेरि छलफल हुँदैछ।"

"ती मागहरूबारे पनि सहमति जुट्यो र यति समयभित्र शिक्षा ऐन जारी हुन्छ भन्ने प्रतिबद्धता दलका नेताहरूबाट आयो र त्यसमा हामी विश्वस्त हुन सक्यौँ भने मात्र यो आन्दोलनको स्वरूप परिवर्तन हुन्छ भनेर हामीले भनेका छौँ।"

पराजुलीले शिक्षकहरूले बुधवारको वार्ताबाट त्यस्तो आधार तय हुने अपेक्षा गरेको पनि बताइन्।

शिक्षक महासङ्घका एक जना प्रतिनिधि विष्णु भण्डारीले मङ्गलवार बीबीसीसँग महासङ्घको आन्तरिक छलफलले सरकार आफ्ना मागमा लचिलो भइ प्रस्तुत भए आन्दोलनको स्वरूपलाई बदल्न सकिने निर्णय गरेको बताएका थिए।

कक्षा १२ को परीक्षा फेरि सर्ने चिन्ता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा एक पटक सारिसकेको छ

तस्बिर स्रोत, NEB

तस्बिरको क्याप्शन, शिक्षक आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा एक पटक सारिसकेको छ

धेरैले शिक्षक आन्दोलन लम्बिँदै गएमा कक्षा १२ को एक पटक सरेको परीक्षा पुन: सर्नसक्ने चिन्ता व्यक्त गरिरहेका छन्।

वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षकहरूको आन्दोलनका कारण वैशाख २१ गतेदेखि सञ्चालन गर्ने गरी तालिका परिवर्तन गरिएको थियो।

यद्यपि अझै पनि शिक्षकहरू र सरकारबीच कुरा नमिलेकाले परीक्षा सर्न सक्ने चिन्ता व्यक्त भएको हो।

शिक्षामन्त्री पन्तले चाहिँ मङ्गलवारको वार्तापछि परीक्षा सार्ने पक्षमा आफूहरू नरहेको बताएका छन्।

उनले सञ्चारकर्मीहरूलाई भने, "परीक्षा गर्ने लाइनमा छौँ हामी।"

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी नीलकण्ठ ढकालका अनुसार बुधवार दिउँसो २ बजे शिक्षक र सरकारबीच पुन: वार्ता हुने भनिएको छ।

यद्यपि बुधवारको वार्ताबाट पनि निष्कर्ष निस्कन्छ कि निस्कँदैन भन्ने अझै टुङ्गो लाग्न नसकेको दुवै पक्षको भनाइ छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।