'राजावादी'को आन्दोलनका क्रममा निशानामा परेको राजाकै पालामा खुलेको 'सञ्चो' कारखाना

तस्बिर स्रोत, Facebook/HPPCL
आगो लगाइएपछि क्षतिग्रस्त बनेको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी पुन: सञ्चालन गरी उत्पादन सुरु गर्न 'आवश्यक काम थालिसकिएको' सम्बद्ध अधिकारीहरूले बताएका छन्। यद्यपि उद्योग पूर्ण रूपमा सञ्चालनमा आउन लाग्ने समय अहिले नै यकिन नभएको उनीहरूको भनाइ छ।
राजसंस्था पक्षधरहरूको प्रदर्शनले हिंसात्मक स्वरूप ग्रहण गर्दा गत शुक्रवार कोटेश्वर नजिक रहेको सरकारी स्वामित्वको उक्त कम्पनीमा आगो लगाइएको थियो।
आगलागीका कारण कम्पनीको प्रयोगशाला, उत्पादनमा प्रयोग हुने स्वचालित मशिनहरू, सवारीसाधन र भवनसमेत जलेको अधिकारीहरूले बताएका छन्।

तस्बिर स्रोत, EPA
उनीहरूका अनुसार प्रारम्भिक अनुमानमा करौडौँको क्षति भएको ठानिएको उक्त कारखानाबाट अहिले उत्पादन बन्द छ।
क्षतिको विवरणको सङ्कलन गर्ने र त्यसलाई यकिन गर्ने कार्य जारी रहेको र सोमवारसम्ममा प्रारम्भिक विवरण सार्वजनिक गर्न सकिने अधिकारीहरूले बताएका छन्।
सरकारी स्वामित्वको उक्त उद्योगले उत्पादन गरेको जडिबुटीयुक्त तेल 'सञ्चो'लाई नेपालको स्वदेशी उत्पादनको एउटा सफल उदाहरणका रूपमा हेरिन्छ।
जडिबुटीजन्य र सुगन्धित तेलहरू निर्यातसमेत गर्ने उक्त कम्पनीमा भएको विध्वंसले 'सञ्चो'को उत्पादन र वितरण पुरानै अवस्थामा फर्केला कि नफर्केला भन्ने संशय धेरैले व्यक्त गरिरहेका छन्।

तस्बिर स्रोत, Facebook/HPPCL
कम्पनीकी महाप्रबन्धक डा संगीता यादवले चाहिँ चाँडै नै नियमित उत्पादन सुरु हुने र त्यसका लागि आवश्यक कदम चालिएको बताइन्।
उनले आइतवार बीबीसीसँग भनिन्, "केही वर्षअघि मात्र जडान भएको हाम्रो स्वचालित मशिन र प्रयोगशाला पूर्णरूपमा क्षतिग्रस्त भए पनि भाग्यवश हाम्रो पुरानो म्यानुअल मशिन जस्ताको तस्तै छ। त्यसैले केही दिनमै हामी उत्पादन सुरु गर्नेगरी काम गरिरहेका छौँ।"
"कम्पनीलाई आक्रमणका कारण ठूलो मार परेको छ तर यो कम्पनी फेरि उठ्छ। हामी यसलाई यसै बन्द हुन दिँदैनौँ।"
उनले स्वचालित मशिनले काम नगरेका बेलामा पहिले पनि म्यानुअल मशिन चलाउने गरिएकाले त्यसलाई सामान्य रूपमा नै चलाउन सकिने बताइन्।
"हाम्रो शाखा कार्यालयमा पनि मशिन छन् र त्यहाँबाट पनि उत्पादन गर्न सकिन्छ। त्यो हामीले थालिसकेका छौँ।"
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको वेबसाइटमा राखिएको विवरणअनुसार सुनसरी, बारा र कैलालीमा उसका शाखाहरू रहेका छन्। हालै मात्र जाजरकोटमा पनि अर्को शाखा उद्घाटन भएको थियो।

तस्बिर स्रोत, Facebook/HPPCL
प्रयोगशाला खोजिँदै
अधिकारीहरूका अनुसार कम्पनीले मुख्य रूपमा जडिबुटीजन्य तेल उत्पादन गर्ने गर्छ। प्रयोगकर्ताले सामान्यतया रुघाखोकी, टाउको र शरीर दुखाइका बेला प्रयोग गर्ने गरेको लोकप्रिय उत्पादन 'सञ्चो' पनि त्यस्तै तेलबाट बन्छ।
उत्पादनहरूको परीक्षण गर्ने प्रयोगशाला आगलागीका कारण नष्ट भएकाले व्यवस्थापनका लागि पहल गरिरहेको कम्पनीका अध्यक्ष रहेका वन तथा वातावरण मन्त्रालयका सहसचिव डा बुद्धिसागर पौडेलले बताए।
उनले भने, "सञ्चोको झोलको प्याकिङ गर्नुअघि त्यसको गुणस्तर प्रयोगशालामा जाँच गर्नुपर्ने हुन्छ। त्यसका लागि हामीले अहिले वातावरण विभागको प्रयोगशाला प्रयोग गर्ने भनेर मौखिक कुराकानी गरिसकेका छौँ। त्यहाँ भएन भने पनि अन्यत्र प्रयोगशालाहरू छन्। त्यसका लागि पहल जारी छ।"
उनले 'सञ्चो' तेलको माग धेरै भएको तर बजारमा अभाव खट्किन नदिनेगरी काम थालिएको पनि बताए।
पौडेलले भने, "अहिले हामीसँग मौज्दात पनि बाँकी छ, त्यसलाई बजार पठाउँदै जान्छौँ र केही समयमै म्यानुअल मशिन चलाउँछौँ। हाम्रो फर्मुला त्यही हो। सिसी पनि छन् र बाँकी सिसीका लागि बोलपत्र आह्वान भइसकेको छ। अलिकति उत्पादनको मात्रा कम हुन्छ तर चाँडै चल्छ। बजारमा अभाव नहुनेगरी हामी उत्पादन गर्छौँ।"

तस्बिर स्रोत, Facebook/HPPCL
राजाकै पालामा खुलेको कम्पनी
नेपालमा राजसंस्था पुनर्स्थापना गर्नुपर्ने माग गर्दै भएको आन्दोलन हिंसात्मक बन्दा आगजनीको सिकार भएको जडिबुटी कारखाना चार दशक भन्दाअघि राजाकै शासनकालमा खुलेको थियो।
सरकारी प्रतिवेदनहरूमा उल्लेख भएअनुसार विसं २०३७ साल पुस १७ गते उक्त कम्पनी स्थापना भएको हो।
त्यसबेला नेपालमा निर्दलीय पञ्चायती व्यवस्था कायम थियो। पञ्चायतकालमा शासनसत्तामा राजाकै भूमिका प्रमुख हुने गर्थ्यो।
सार्वजनिक संस्थाहरूसम्बन्धी अर्थ मन्त्रालयले वार्षिक रूपमा निकाल्ने प्रतिवेदनमा उल्लेख भएअनुसार जडिबुटी कारखाना कम्पनी ऐन अन्तर्गत स्थापना भएको थियो।
अहिले यो कम्पनी वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको छ।

तस्बिर स्रोत, HPPCL
विगतमा नाफा, गत वर्ष घाटा
विगतमा लामो समयसम्मा नाफामा रहेको जडिबुटी कम्पनीलाई नेपालका सफल सार्वजनिक संस्थाहरूमध्ये एक मानिन्थ्यो।
तर गत आर्थिक वर्षमा उक्त कम्पनी पनि घाटामा गएको अर्थ मन्त्रालयको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा-२०८१ प्रतिवेदनमा उल्लेख छ।
उक्त प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा जडिबुटी कम्पनीको घाटा २ करोड ८४ लाख रुपैयाँ देखिएको छ।
कम्पनी घाटामा जानुको कारणबारे महाप्रबन्धक यादवले भनिन्, "कहिलेकहीँ बजार तलमाथि भइरहेको हुन्छ। हामीले सञ्चो मात्र बनाउने होइन। हामीले इसेन्सिअल आयलको पनि उत्पादन गर्छौँ। त्यसको हामी नेपालमा सबैभन्दा ठूलो उत्पादक हौँ। विदेशमा माग भएन भने नेपालबाट त्यस्तो तेल निर्यात गर्नेहरूले माग गर्दैनन्। त्यस्ता कारणले पनि गत वर्ष त्यस्तो भएको हो।"

तस्बिर स्रोत, HPPCL
उनले कम्पनीका उत्पादनहरू नेपालमा मात्र नभएर विदेशमा पनि बिक्री भइरहेको बताइन्।
यादवका अनुसार विगत चार वर्षदेखि कम्पनीले युरोपेली मुलुक स्वीडेनमा आफ्ना उत्पादन निर्यात गरिरहेको छ।
त्यसबाहेक अनौपचारिक रूपमा नेपालीहरू रहेका सबैजसो देशमा आफ्ना उत्पादन पुग्ने गरेको यादवको भनाइ छ।
कम्पनीले पुरानो मशिनबाट उत्पादन गर्ने अवस्था चाँडै बने पनि पुन: स्वचालित मशिनहरू र प्रयोगशाला बनाएर चलाउन आन्तरिक बजेटले सम्भव नभएको यादवले बताइन्।
उनले भनिन्, "शनिवार मन्त्रीज्यूहरू आएर पनि हेर्नुभयो। आइतवार मैले मन्त्रीज्यूलाई भेटेर ब्रिफ पनि गरेँ। उहाँहरूले स्वदेशी उत्पादनको पर्याय बनेको 'सञ्चो' बनाउने कम्पनीलाई जसरी पनि चलाउने भन्नु भएको छ। त्यसै अनुसार बजेट व्यवस्थापन हुने आश्वासन दिनुभएकाले हामी आशावादी छौँ। चाँडै स्वचालित मशिन पनि जडान हुनेछ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।