राजसंस्था समर्थकको प्रदर्शन हिंसात्मक बन्दा पूर्वराजामाथि कारबाही माग, राजावादीको प्रतिवाद

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
राजसंस्था समर्थकहरूले शुक्रवार आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दा भएको मानवीय र भौतिक क्षतिका लागि पूर्वराजा ज्ञानेन्द्र शाहलाई जिम्मेवार बनाउनुपर्ने माग गणतन्त्र पक्षधर दल र नेताहरूले अघि सारेका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले शुक्रवार भएका हिंसात्मक घटना "ज्ञानेन्द्र शाहको योजनामा" भएको आरोप लगाएको छ।
सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूले पनि तोडफोड र सञ्चारकर्मीको ज्यान जाने गरी भएको आगजनीको घटना पूर्वराजाको निर्देशनमा भएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले पूर्वराजालाई पक्राउ गर्न माग गर्दै चलाएको 'अरेस्ट ज्ञानेन्द्र शाह' अभियान यसअघि ट्वीटर भनिने एक्समा ट्रेन्डिङ छ।
पूर्वराजालाई महानगरको जरिबाना

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
शुक्रवारको प्रदर्शनलाई लिएर पूर्वराजामाथि कारबाहीको माग भइरहँदा काठमाण्डू महानगरपालिकाले ज्ञानेन्द्र शाहलाई करिब आठ लाख रुपैयाँ जरिबाना तोकेको छ।
राजसंस्था समर्थकहरूको प्रदर्शनका क्रममा सडक तथा सडकपेटीमा फोहोरमैला गरेको, रेलिङ भाँचेको, आगो निभाउन गएको दमकलमा तोडफोड गरेको लगायतका विभिन्न शीर्षकमा जरिबाना तोकेर नगर प्रहरीले पूर्वराजालाई पत्र पठाएको हो।
नगर प्रहरी प्रमुख राजु पाण्डेले पूर्व राजाले जरिबाना नतिरे कारबाही हुने बताए।
"स्थानीय सरकारले तोकेको जरिबाना नतिरे कानुनअनुसार कारबाही हुन्छ," पाण्डेले बीबीसी न्यूज नेपालीसँग भने।
महानगरले विभिन्न शीर्षकमा ७ साल ९३ हजार जरिबाना तोकेको नगर प्रहरीले जनाएको छ।
'पूर्वराजाको निर्देशनमा दुर्गा प्रसाई अघि सरे'

तस्बिर स्रोत, Durga Prasai
सरकारले शुक्रवारको प्रदर्शन आयोजक समितिमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा महामन्त्री धवलशमशेर राणा र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित कैयौँलाई पक्राउ गरिएको जनाएको छ।
राजसंस्था पुनर्स्थापना पक्षधरहरूले गठन गरेको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई नजरबन्दमा राखिएको बताएका छन्।
प्रहरीले घटनापछि फरार रहेका प्रदर्शनका 'जनकमान्डर' दुर्गा प्रसाईको खोजी भइरहेको बताएको छ।
राजसंस्था पक्षधरहरूको प्रदर्शनस्थलमा प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि तीनकुनेबाट तितरबितर भएको भिडले एउटा घरमा आगजनी गर्दा घरको माथिल्लो तल्लाबाट प्रहरी र प्रदर्शनकारीबीच भइरहेको झडपको दृश्य कैद गरिरहेका एकजना टेलिभिजनकर्मीको जलेर मृत्यु भएको थियो।
प्रदर्शनकारीहरूले सञ्चारमाध्यम, सुपर मार्केट र कैयौँ निजी घर तथा व्यवसायमाथि तोडफोड गर्नुका साथै जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी र दर्जनभन्दा बढी सरकारी गाडीमा आगजनी गरेको गृह मन्त्रालयले जनाएको छ।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिवार जारी गरेको विज्ञप्तिमा भनेका छन्, "शुक्रवार यस्ता हिंसात्मक एवं आपराधिक कार्य गर्न/गराउन उक्साउने योजनाकार तथा प्रदर्शनका आयोजकलाई सम्पूर्ण घटनाप्रति जबाफदेही बनाउन र अझ गम्भीर अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछौँ।"
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रवारको घटना "पछाडि ज्ञानेन्द्र शाह नै" रहेको प्रतिक्रिया दिएका छन्।
"यही नै समय हो सरकारले कडा कदम चालोस्। अपराधीहरू सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याओस् र ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिँदैन," प्रचण्डले शनिवार भनेका छन्।
माओवादी उपाध्यक्ष सापकोटाको पनि प्रदर्शनका कमान्डर प्रसाईले नै आफूले बिहीवार पूर्वराजसँग भेटेको कुरा सार्वजनिक गरेका कारण "पूर्वराजाको योजनामा" शुक्रवारको घटना भएको देखिने दाबी छ।
'पूर्वराजाको सुविधाबारे बहस'

विभिन्न सञ्चारमाध्यममा सरकारी स्रोतहरूको हवाला दिँदै पूर्वराजाका कतिपय सुविधा खोसिने र राहदानी रोक्का राखिने समाचारहरू आएका छन्। बीबीसीले ती सूचनाको स्वतन्त्र पुष्टि गर्न सकेको छैन।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौताले सरकारको निर्णयबाट दिइएको सुविधा सरकारले चाहेमा फिर्ता लिनसक्ने बताए।
"राज्यकै विरुद्धमा, प्रणाली र लोकतन्त्रकै विरुद्धमा र संविधानकै विरुद्धमा त्यस्तो खालको गतिविधि गर्ने अराजकता मच्चाउने, यस्तो योजना बनाउने र षड्यन्त्र गर्ने व्यक्ति वा संस्थालाई राज्यले सुविधा दिनुपर्छ भन्ने कुरा सैद्धान्तिक रूपमा पनि मेल खाँदैन," उनी भन्छन्।
बर्तौलाले एमालेले यसबारे आधिकारिक धारणा भने तय नगरेको बताए।
लोकतन्त्रले कुनै पनि विचारका आधारमा राजनीतिक प्रदर्शन गर्ने छुट भए पनि शुक्रवारको घटना राजनीतिक प्रवृत्तिको नदेखिएको बताए।
"तल मैदानमा कोको संलग्न भए तत्-तत् व्यक्तिहरू जिम्मेवार हुने कुरा भयो। मुख्यतया त यसमा पूर्वराजा ज्ञानेन्द्र नै हुन्, उनैका कारणबाट यी सबै घटना भएका हुन्। उनैले वारेस दिएर दुर्गा प्रसाईलाई मैदानमा खटाएका हुन्," उनले थपे।
"त्यसकारण वारेस दिएर खटाइएका पात्र मात्रै यसमा जिम्मेवार बन्दैनन्। जसले वारेस दिए तीनलाई पनि यो घटनामा जघन्य फौजदारी कसुरमा कारबाहीको दायरामा पूर्वराजालाई ल्याइनुपर्छ।"
शुक्रवारको भौतिक तथा मानवीय क्षतिमा पूर्वराजालाई उन्मुक्ति दिन नहुने बर्तौलाको तर्क छ।
'नेतृत्व जबाफदेही हुनुपर्छ'

तस्बिर स्रोत, RSS
नेपाली कांग्रेसले पूर्वराजाका समर्थकहरूले आयोजना गरेको प्रदर्शनका क्रममा भड्किएको हिंसाबारे पार्टीको आधिकारिक धारणा तय गर्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आह्वान गरेको छ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले शुक्रवारको घटनामा जिम्मेवार जोकोहीलाई पनि कारबाही हुनुपर्ने बताए।
"जुन ढङ्गको गतिविधि राजावादीले सञ्चालन गरेका छन् र यसको नेतृत्व जसले गरेको छ त्यो चाहिँ जबाफदेही हुनुपर्छ," परियारले भने।
"यसको नेतृत्व चाहे पूर्वराजाले गरेको हो या दुर्गा प्रसाईको हो वा नवराज सुवेदीको हो अथवा राप्रपाले गरेको हो जिम्मेवारी लिन तयार हुनुपर्छ।"
परियारले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकार लोकतन्त्रले दिएको भए पनि हिंसात्मक गतिविधिमा कानुनी कारबाही हुनुपर्ने बताए।
पूर्वराजाका कतिपय सुविधा कटौती हुनुपर्नेबारे भएको बहसबारे पार्टीमा छलफल नभई आफूले कुनै प्रतिक्रिया नदिने परियारले बताए।
सरकारले के भन्यो

तस्बिर स्रोत, RSS
गृहमन्त्री रमेश लेखकले शुक्रवारको घटनामा क्षति भएका स्थानहरूको अनुगमनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै तोडफोड र आगजनीका घटना "आपराधिक चरित्र"का देखिएको बताए।
"छानी-छानी गणतन्त्रवादी विचार राख्ने नेता र पार्टी कार्यालयमा आक्रमण भएको छ, मानिस घरभित्र छ भन्ने थाहा पाउँदा पाउँदै बाहिरबाट आगो लगाइएको छ," उनले भने।
"कानुनबमोजिम अनुसन्धान गरेर कारबाही हुन्छ।"
सरकारले शुक्रवार नै राजावादी प्रदर्शनमा भएको भौतिक तथा मानवीय क्षतिबारे छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएपछि शनिवार बिहानै गृहमन्त्री लेखक क्षति भएका स्थानको अनुगमनमा पुगेका थिए।
पूर्वराजालाई 'बदनाम नगर्न' चेतावनी

तस्बिर स्रोत, Rabindra Mishra
राजसंस्था पुनर्स्थापना पक्षधरहरूले गठन गरेको संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले शनिवार एउटा विज्ञप्ति जारी गर्दै शुक्रवारको घटनासँग जोडेर पूर्वराजालाई बदनाम नगर्न चेतावनी दिएका छन्।
"श्री ५ महाराजाधिराजलाई समेत बदनाम गराउने र घटनामा संलग्नता देखाउने उद्देश्यले नजरबन्द गर्ने वा पक्राउ गर्ने भन्ने तयारी भइरहेको समाचारहरू बाहिर आएको छ," उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
त्यस्तो कदमको प्रतिवाद गर्ने चेतावनी पनि दिँदै सुवेदीले शुक्रवारको प्रदर्शन कसैको इसारामा नभएको दाबी गरेका छन्।
"जनताद्वारा गरिने जनआन्दोलन कुनै पनि नेताको इसारामा चल्दैन, जनचाहना र जनविद्रोहबाट उत्पन्न हुने आन्दोलनको अगुवाइ र नेतृत्व जनताले नै गर्छन्।"
राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रवारको घटनापछि भइरहेका प्रतिक्रिया र कदमबारे आधिकारिक धारणा सार्वजनिक गर्न पार्टीको बैठक राखेको छ।
राप्रपाका महामन्त्री शरदराज पाठकले पूर्वराजाबारे भइरहेका टिप्पणी पार्टीमा छलफलको विषय बनाइने बताए।
"यो विषय पार्टीमा छलफलको विषय बन्छ। पार्टीमा छलफलपछि हामी आधिकारिक धारणा तय गर्छौँ," उनले भने।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रवारको घटनासँग पूर्वराजालाई जोड्नु अनुपयुक्त हुने टिप्पणी गरेका छन्।
"हिजोको घटनालाई अतिरञ्जित ढङ्गबाट बढाईचढाई प्रतिशोध लिन वा भ्रष्ट व्यवस्था र भ्रष्ट शासकका ज्यादती लुकाउन सकिन्छ भन्ने कसैले नसोचे पनि हुन्छ," थापाले एक्समा लेखेका छन्।
"हिजोको घटना वा कुनै समूहले गर्ने कार्यसँग राजालाई जोड्नु वा राजा र राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई बदनाम गर्नु अनुपयुक्त छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।