भारतमा किन घट्दै छ केसर खेती?

तस्बिर स्रोत, Getty Images
- Author, प्रीति गुप्ता
- Role, बीबीसी न्यूज
भारत प्रशासित कश्मीरमा हिउँले ढाकिएका अनौठा पहाडहरूको फेदमा पाम्पोर नामको सानो नगर छ।
भव्य भूअवस्थितिमा रहेको पाम्पोर केसर उत्पादनका लागि भारतको सबैभन्दा मुख्य ठाउँ हो। मसलाको रूपमा प्रयोग हुने केसर यति मूल्यवान् छ कि यसलाई ‘रातो सुन’ पनि भन्ने गरिन्छ।
‘क्रोकस’ नामको एक प्रकारको वनस्पतिबाट बन्ने केसर प्रतिकिलोग्राम करिब १,५०० अमेरिकी डलर अर्थात् करिब दुई लाख नेपाली रुपैयाँसम्ममा बिक्री हुन्छ।
क्रोकसका बिरुवाहरूमा फूल फुल्दा अक्टोबर र नोभेम्बर महिनामा यो गाउँ वरपरका खेतहरू बैजनी रङ्गमा परिणत हुन्छन्।
शरद् ऋतु लागेसँगै यसको फूल काट्ने जटिल काम सुरु हुन्छ। यो काम किन पनि जटिल छ भने स्टिग्मा भनिने फूलसँगै गढेका राता रेसाहरूलाई फूलबाट हटाइन्छ। ती रेसाहरू सुकेपछि त्यसैलाई केसर भनिन्छ।
शताब्दीयौँदेखि केसर खेती गर्दै आएको कश्मीरमा भारतको करिब ९०% केसर उत्पादन हुन्छ।

तस्बिर स्रोत, Getty Images
मोनिस मिरको परिवारले चार पुस्तादेखि केसर खेती गर्दै आएको छ।
एक किलोग्राम केसर बनाउनका लागि दुई लाखदेखि तीन लाख ओटा फूल लाग्ने उनी बताउँछन्। केसर खेतीको काम पोटीजस्ता फूलका बीउ रोपेदेखि सुरु हुन्छ।
"यो एक अत्यधिक परिश्रम लाग्ने उद्योग हो। यसमा पोटी रोप्ने, फूल काट्ने, बिस्तारै फूलबाट राता स्टिग्माहरू हटाएर फूल छुट्ट्याउनेदेखि अन्तिम व्यापारसम्म दशकौँ अनुभव भएका दक्ष कामदारहरूले निकै सावधानीसाथ काम गर्नुपर्छ," उनी प्रस्ट्याउँछन्।
मिरका अनुसार पछिल्ला वर्षहरूमा उनको खेतीमा उत्पादन घट्दै गइरहेको छ। कुनै समय यसको मौसममा तीन देखि पाँच पटकसम्म फुल्ने केसर, अहिले दुई वा तीन पटकभन्दा फुल्दैन।
अनियमित वर्षा र तापमानमा भएको वृद्धिका कारण क्रोकस बोटका लागि संवेदनशील मानिने समयमा माटो धेरै सुक्खा हुने गरेको उनी बताउँछन्। केसर खेतीबारे अध्ययन गरेका वैज्ञानिकहरू खेतीको अवस्था थप जटिल भएको मिरको निष्कर्षमा सहमत देखिन्छन्।
जलवायु परिवर्तनको असर

तस्बिर स्रोत, SAMEER YARDI
"जलवायु परिवर्तन वास्तविक हो र यसले केसर खेतीलाई विनाश गरिरहेको छ," शेर-ए-कश्मीर कृषि विज्ञान तथा प्रविधि विश्वविद्यालयका केसर अनुसन्धान केन्द्रका प्रमुख डा बशीर अल्ली भन्छन्।
"वर्षा र हिमपात अनियमित र अनिश्चित बनेको छ। आजभन्दा १० वर्ष अघिसम्म मज्जाले केसर उत्पादन हुने ठाउँमा अहिले उत्पादन हुन छोडेको छ।"
भारत प्रशासित कश्मीरमा केसरको मात्रै खेती गरिने जमिनको मात्रा पनि घटेको छ। सन् १९९६ मा करिब ५,७०० हेक्टर जमिनमा यो मात्रै खेती गरिन्थ्यो भने सन् २०२० मा यो मात्रा घटेर १,१२० हेक्टरमा सीमित भएको छ।
मौसममा आएको परिवर्तनसँगै केसर खेती हुने ठाउँहरूमा बस्ती विस्तार हुनु, सिँचाइ र किसानहरूका लागि प्रशिक्षणमा लगानीको अभावले केसरको खेती घटेको मिर बताउँछन्।
उत्पादकत्व बढाउने प्रयास
केशर खेतीमा संलग्न किसानहरूको उत्थानका लागि डाक्टर अल्ली प्रतिकूल मौसममा पनि हुर्कन सक्ने किसिमका बिरुवाहरू उत्पादन गर्ने प्रयासमा छन्।
उनले 'म्यूटेशन ब्रीडिङ' भनिने उत्परिवर्तित प्रजनन प्रविधि प्रयोग गरिरहेका छन् जसमा बीउलाई विकिरणमा राखेर बिरुवाको डीएनएमा असर पुर्याइन्छ। यसको परिणामस्वरूप उत्परिवर्तित हुने जीनहरूले बिरुवाहरूलाई प्रतिकूल मौसमी परिस्थितिहरूमा पनि हुर्कन र फल दिन सक्षम बनाउने अपेक्षा उनको छ।
यसको नतिजा "उत्साहजनक" रहेको डा अल्ली सुनाउँछन्।
आफ्नो खेतबारीको उत्पादकत्व कसरी बढाउन सकिन्छ भन्नेबारे पनि उनले कृषकहरूलाई सल्लाह दिइरहेका छन्।
उदाहरणका लागि डा अल्लीले किसानहरूलाई केसरसँगै कागजी बदाम खेती गर्न प्रोत्साहन दिइरहेका छन्। बदामका बोटले केसरलाई छाया दिनुका साथै माटोको तापक्रम कम राख्न सहयोग पुर्याउँछ।
तर कतिपयले केसर उत्पादनमा अझ 'क्रान्तिकारी' विधिहरू पनि अपनाइरहेका छन्।

तस्बिर स्रोत, SAMEER YARDI
पाम्पोरबाट १,४०० माइल दक्षिणको पुणेमा १३ वर्षसम्म सफ्टवेअर इन्जिनियरको काम गरेका शैलेश मोदक सन् २०१६ मा जागिर छोडेर केसर खेतीमा लागे।
जागिरबाट सन्तुष्ट हुन नसकेका उनले सबैभन्दा पहिले मौरीपालन गरे।
"मेरा कर्मचारीहरूलाई दिनहुँ मौरीले टोक्यो। मौरीलाई ओसार्न यातायातको पनि समस्या भइरहेको थियो," उनी भन्छन्। त्यसपछि उनी केसर खेतीमा लागे।
ढुवानीका लागि प्रयोग हुने कन्टेनरमा क्रोकसका बिरुवा सफलतापूर्वक उब्जाउने उनको प्रयास सफल भयो।
उनले क्रोकसका बिरुवाहरूका लागि कन्टेनरमा वातानुकूलित राख्ने प्रणाली जडान गरे अनि कन्टेनरका कोठाभित्रको तापमान, आर्द्रता लगायतका आवश्यक तत्त्वहरूको निरन्तर अनुगमन गरे।
उनको खेतीमा बिरुवाहरू खुला माटोको सट्टा आर्द्रता र पोषक तत्त्वहरूयुक्त ट्युबहरूमा हुर्काइन्छ।
मोडकले बिरुवाहरूको अवस्था टाढै बसेर आफ्नै फोनबाट हेर्न सकिने सफ्टवेअर पनि विकास गरे।
"कृषिको सबैभन्दा ठूलो चुनौती जलवायुमा अत्यधिक निर्भरता हो," उनी भन्छन्।
"जलवायु परिवर्तनले बाली असफल हुन थाल्यो। त्यसैले मैले हाइड्रोपोनिक्सको प्रविधि प्रयोग गर्ने निर्णय गरेँ, त्यसमा माटोबिना खेती गर्न सकिन्छ।"
गत वर्ष उनले आधा कन्टेनरमा मात्रै केसर लगाउँदा त्यसले ७०० ग्राम उत्पादन गर्यो।
उनले यो वर्ष पूरै कन्टेनरमा केसर लगाएका छन्।
"हामी परीक्षणकै चरणमा छौँ। केसर बढ्न सक्ने वातावरण सिर्जना गर्न सिक्दै छौँ," उनी भन्छन्।
उता पाम्पोरमा डा अल्लीले वर्षको केही समय ढाकिएको ठाउँभित्र क्रोकस हुर्काउने परीक्षण गरिरहेका छन्।
माटोबाट सावधानीपूर्वक बीउ उखेलेर ढाकिएको ठाउँमा सारिन्छ अनि तीन महिनापछि फूल टिप्ने समय सुरु हुने बेलातिर बाहिर खेतबारीमा रोपिन्छ।
केही किसानहरूले यो तरिका बिरुवाहरू बचाउने र उत्पादकत्व बढाउने राम्रो विधि भएको बताएका छन्।
"प्लास्टिकको भाँडोमा केसर कसरी बढ्छ भन्नेमा मलाई सुरुमा शङ्का लागेको थियो," कश्मीरका केसर किसान अब्दुल मजीद वानी भन्छन्।
"तर यो सफल भएको छ। गुणस्तर बिग्रिएको छैन र बाहिर खेती गरिएको केसरभन्दा धेरै राम्रो छ।"
यद्यपि, यसरी केसर फलाउन धेरै काम गर्नुपर्ने भएकाले अरू किसानहरूले यो विधिलाई भरपर्दो मानेका छैनन्।
अर्का केसर किसान इरशाद अहमदले सन् २०२१ र सन् २०२२ मा ढाकिएका ठाउँमा बेर्नाहरू सार्दा फल नलागेको बताए। "मेरा लागि यो समयको बरबादी मात्रै हो," उनी भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।