अफ्रिकादेखि युरोपसम्म पढ्न जाँदै नेपाली, पाँच वर्षमा साढे ६ लाखभन्दा बढीलाई एनओसी

तस्बिर स्रोत, TU Public Relations Division
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
विगत पाँच वर्षको अवधिमा साढे छ लाखभन्दा बढी नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका पाइएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क अनुसार विसं २०७७ देखि २०८१ को फागुन ७ गतेसम्म ६ लाख ६८ हजार ९४३ जनाले एनओसी लिएका छन्।
भारतमा अध्ययनका निम्ति एनओसी लिएर अनि नलिईकन पनि नेपाली विद्यार्थीहरू जाने भएकाले त्यो सङ्ख्या अझ बढी हुन सक्ने जानकारहरू बताउँछन्।
अध्ययनका लागि नेपाली विद्यार्थीहरूले अनुमतिपत्र लिएका देशहरूमा जाम्बिआदेखि बोस्निआ एन्ड हर्जगोभिनासम्मका छन्।
धेरै जाने मुलुक कुनकुन?
विकसित मुलुकहरूका लागि अध्ययन अनुमतिपत्र धेरै विद्यार्थीहरूले लिएका तथ्याङ्कले देखाउँछ।
धेरै नेपाली विद्यार्थी जाने १० वटा मुलुकमा फ्रान्स, न्यूजील्यान्ड, संयुक्त अरब एमिरेट्स, भारत, दक्षिण कोरिया, अमेरिका, क्यानडा, यूके, जापान र अस्ट्रेलिया रहेका छन्।
पाँच वर्षको अवधिमा अस्ट्रेलियाका लागि मात्रै दुई लाख पाँच हजार ३९८ जनाले एनओसी लिएका छन्।
अस्ट्रेलियापछि जापान पढ्न जान एक लाख २३ हजार ५९४ जनाले अध्ययन अनुमतिपत्र लिएको तथ्याङ्क छ।
त्यसपछि यूकेका लागि ८८ हजार ३४३, क्यानडा ७६ हजार ६६३, संयुक्त राज्य अमेरिका ४० हजार ३४६, दक्षिण कोरिया ३१ हजार ९७३, भारत २४ हजार ९६३, यूएई १२ हजार ५४४, र न्यूजील्यान्डका लागि १० हजार ५०४ जनाले एनओसी लिएका मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
सो अवधिमा फ्रान्समा सात हजारभन्दा बढीले र जर्मनी, फिनल्यान्ड तथा डेनमार्कमा पाँच/पाँच हजारभन्दा धेरैले एनओसी लिएका देखिन्छ।
पाँच वर्षको अवधिमा दुई/दुई जनाले काजकिस्तान र जाम्बिआका लागि अध्ययन अनुमतिपत्र लिएका छन्।
मन्त्रालयका अनुसार भारतमा एनओसी नलिईकन कति नेपाली अध्ययनरत छन् भन्ने तथ्याङ्क चाहिँ सरकारसँग छैन।
"भारतमा पनि अध्ययनका लागि एनओसी दिने गरिन्छ। त्यो नलिईकन पनि जान सकिन्छ। हामीले के पायौँ भने ५० प्रतिशतले एनओसीले नलिईकन गएका रहेछन्," मन्त्रालयका सूचना अधिकारी नीलकण्ठ ढकालले हालै बीबीसी न्यूज नेपालीसँग भनेका थिए।
अधिकारीहरू के भन्छन्?

विदेश पढ्न जाने नेपाली विद्यार्थीको सङ्ख्या बढ्दै जानुमा आन्तरिक र बाह्य दुवै कारण रहेको शिक्षा मन्त्रालयस्थित अधिकारीहरू बताउँछन्।
बाह्य विश्वसँग नेपालीहरूको पहुँच बढ्दै जानु र शिक्षाको गुणस्तर तथा रोजगारीका अवसर लगायतका कारणले विदेश पढ्न जाने नेपाली विद्यार्थीहरूको सङ्ख्या बढ्न थालेको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाको तर्क छ।
विसं २०७७ सालमा ४० हजार ४७७ जनाले एनओसी लिएकामा २०८१ मा त्यसको दोबरभन्दा बढी अर्थात् ९२ हजार ६४८ जना नेपालीले वैदेशिक अध्ययन अनुमतिपत्र लिएको तथ्याङ्क छ।
"संसारको जुनसुकै कुनामा गएर पढ्दा वा काम गर्दा हामीलाई कुनै समस्या हुँदैन भन्ने एउटा आत्मविश्वास बढेर पनि हो," बीबीसी न्यूज नेपालीसँग उनले भने।
"अर्को कुरा महत्त्वकाङ्क्षा पनि बढ्दै गयो। सामाजिक, आर्थिक अवस्था अनि संसारमा मानिसहरूले त्यस्तो गरेका छन् म किन गर्न सक्दिनँ भन्ने खालको व्यग्रता पनि नेपाली युवाहरूमा बढेर गयो," सापकोटाले थपे।
रोजगारीका लागि जस्तै अध्ययनका निम्ति पनि नेपालीहरू विदेशतर्फ आकर्षित हुँदै जानुमा शैक्षिक नीति पनि जिम्मेवार रहेको स्वयं अधिकारीहरू पनि स्वीकार्छन्।
"विद्यार्थीका लागि लचिलो अध्ययन नीति हामीले ल्याउन सक्यौँ कि सकेनौँ भन्ने कुरा पनि महत्त्वपूर्ण हो," प्रवक्ता सापकोटाले भने।
उनका अनुसार त्यो भनेको कामसँगै सजिलै अध्ययन पनि गर्न सक्ने शैक्षिक वातावरण बनाउनु हो।
अर्कोतर्फ केही देशहरूमा धेरै नेपाली विद्यार्थीहरू अध्ययनका लागि जानुमा सम्बन्धित देशको सामाजिक, आर्थिक संरचना रहेको उनी बताउँछन्।
"त्यस्ता देशमा बढी विद्यार्थी गइरहेका देखिन्छन् जहाँ खुला समाज छ, जहाँ रोजगारीका अवसरहरू बढी छन्," सापकोटाले भने।
"गन्तव्य मुलुकहरूले समाजमा बस्नेदेखि काम गर्नका लागि लिएका खुला नीतिहरू जिम्मेवार छ।"
नेपाली विद्यार्थीहरूमार्फत् औसतमा वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी बाहिरिने गरेको उनी बताउँछन्।
जानकारहरू के छन्?
शिक्षा क्षेत्रका कतिपय जानकारका अनुसार एनओसी लिएर अध्ययन गर्न जानेभन्दा काम गर्न जाने नेपालीहरू बढी हुने गरेका छन्।
"पढाइको नाम लिएर जाने गरे पनि धेरै चाहिँ पैसा कमाउन नै जान्छन्। जागिर यहाँ छ भन्ने खालको दृष्टिकोण पनि नेताहरूले बनाइदिएनन्," शिक्षाविद् विद्यानाथ कोइरालाले बीबीसी न्यूज नेपालीसँग भने।
एक पूर्वशिक्षा सचिवका अनुसार एनओसी लिने नेपाली विद्यार्थीहरू चारथरीका हुने गरेका छन्।
"छात्रवृत्ति पाएर पढ्न जाने, आफैँले पैसा तिरेर पढ्न जाने, अध्ययनसँगै कमाउन जाने र अध्ययनको नाममा कमाउन जाने रहेका छन्," नाम उल्लेख नगर्न चाहेका ती पूर्वसचिवले बीबीसी न्यूज नेपालीसँग भने।
अफ्रिका अथवा युरोपका कतिपय ससाना देशमा पढ्नका लागि अनुमतिपत्र लिनेहरूको उद्देश्य अन्यत्र जाने हुने गरेको पनि जानकारहरू बताउँछन्।
"त्यस्ता देशमा पढ्नभन्दा पनि अर्को देशमा प्रवेशका निम्ति ट्रान्जिट पोइन्ट बनाउनका लागि कतिपय जाने रहेछन्," उनले थपे।

शिक्षाविद् कोइरालाका अनुसार नेपालसँग विद्यार्थीहरूलाई अडाइराख्ने नीति नहुँदा र विदेशी मुलुकहरूको तानिराख्ने नीति भएर उनीहरू विदेश गइरहेका हुन्।
"विश्वविद्यालयले लचिलो पनि बनाएनन् जसले गर्दा विद्यार्थीहरूले चाहेका कोर्स पनि पढ्न पाएनन्, पाएका कोर्सले उनीहरूलाई काम गरेनन्,"उनले भने।
युवाहरूले खोज्ने खालका अवसरका साथै उतै अडाइराख्ने नीति ती देशहरूले लिएका कोइरालाको तर्क छ।
"ऋणमा मोटर, घरलगायत पाउने भए। कमाउँदै खर्च चलाउँदै ऋण तिर्दै उनीहरू उतै बस्ने भए,"उनले अगाडि थपे।
चीन, भारतसहित कतिपय देशमा अवसरहरू सिर्जना हुँदै गएपछि कतिपय युवाहरू फर्कने गरेका पनि जानकारहरू बताउँछन्।
भविष्यमा नेपालले अवसरहरू सिर्जना गर्दै गयो भने विदेश गएका सबै नेपालीहरू नआए पनि कतिपय फर्कन सक्ने उनीहरूको आशा छ।
कोरियाका लागि एनओसी स्थगन
सरकारले हालै दक्षिण कोरियाका हकमा एनओसी दिन स्थगित गरेको छ।
सोलस्थित नेपाली दूतावासले भाषा पढ्न पुगेका नेपाली विद्यार्थीहरूले दुःख पाइरहेको भन्दै पत्राचार गरेको आधारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरियाली भाषा अध्ययनका लागि अनुमति दिने काम अहिलेलाई स्थगित गरिएको जनाएको थियो।
सो विषयमा दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेपश्चात् एनओसीलाई व्यवस्थित एवं नियमनका उपायबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न एउटा कार्यदलसमेत गठन गरेको छ।
कार्यदलले दिने सुझावका आधारमा आगामी निर्णय लिइने बताउँदै मन्त्रालयले 'डीटू' र 'डीफोर' भिसामा 'अन्डरग्र्याजुअट कोर्स' अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी स्थगित गरिएको उल्लेख गरेको छ।
सो सम्बन्धमा वैशाख २८ गते गरिएको निर्णयबारे ३० गते मन्त्रालयले सूचनामार्फत् जानकारी गराएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।