चीन कोभिड: कोरोना भाइरस फेरि फैलिन थालेपछि सर्वसाधारणमा लकडाउन लाग्न सक्ने चिन्ता

तस्बिर स्रोत, Getty Images
चीनको राजधानी बेइजिङका अधिकांश बासिन्दाहरूलाई कोभिड परीक्षण गर्न अधिकारीहरूले उर्दी जारी गरेपछि पुनः लकडाउन हुने त्रासबीच मानिसहरू अत्यावश्यक सामग्रीको किनमेलमा जुटेका छन्।
भाइरस नियन्त्रणका लागि विश्वमै सबैभन्दा कडा नियम लागु गर्ने देशको परिचय बनाएको चीनमा अहिले पनि दशौँ लाख मानिसहरूले आंशिक वा पूर्ण लकडाउनका खेप्नुपरेको छ।
तर अझै कडा नीतिहरू लागु हुने डर राजधानीवासीमा छ।
आखिर चीनलाई त्रस्त बनाउनेगरी के भइरहेको छ?
चीनमा कसरी हुँदैछ परीक्षण
अधिकारीहरूले बेइजिङको सबैभन्दा धेरै जनसङ्ख्या भएको चाउयाङ इलाकामा सोमवारबाट व्यापक स्तरमा परीक्षण सुरु गरेका थिए।
यो परीक्षण अभियान शनिवारसम्म १२ वटा क्षेत्रमा विस्तार हुने बताइएको छ।
विगत एक सातामा कोभिड कति टाढासम्म फैलियो भनेर पत्ता लगाउन यो साता दशौँ लाख मानिसले तीन पटक परीक्षण गराउनुपर्ने भएको छ।
बेइजिङको जनसङ्ख्या दुई करोड १० लाख छ।
मानिसहरू किन चिन्तित
सर्वसाधारण मानिसमा सुरु गरिएको परीक्षणले यसअघि चीनको सबैभन्दा ठूलो सहरमा लागु गरिए जस्तै थप कडा मापदण्ड लागु हुने त्रास सिर्जना गरेको छ।
दुई करोड ५० लाख जनसङ्ख्या भएको शाङ्घाई सहरमा एप्रिल महिनाको सुरुबाटै कडा लकडाउन छ। त्यहाँ खानेकुराको अभाव भएको विवरणहरू आएका छन्।
मानिसहरू घरभित्रै सीमित भएका छन् र अधिकांश मानिस खानेकुरा र पानीको जोहो गर्न सङ्घर्षरत छन्। कतिपयले सरकारले पठाउने सागसब्जी, मासु र अण्डाको लागि लामो समय पर्खनुपरेको बताएका छन्।
त्यहाँ हजारौँ वृद्धवृद्धा पनि प्रभावित भएका छन्।

तस्बिर स्रोत, Getty Images
शाङ्घाईमा मार्च महिनामा कोभिड फैलिन थालेपछि अहिलेसम्म पाँच लाख जनामा कोरोनाभाइरस पुष्टि भइसकेको छ। तीमध्ये १०,००० भन्दा बढी वृद्धवृद्धा छन्।
मानिसहरूलाई बाहिर निस्किन नदिन लागु गरिएको प्रतिबन्धका कारण अत्तालिएर किनमेल गर्ने क्रममा लुटपाट भएको देखिने भिडिओहरू सामाजिक सञ्जालमा फैलिएका छन्।
अनलाइनमा राखिएका अन्य भिडिओमा स्थानीय बासिन्दाहरू खानेकुराका लागि सुरक्षाकर्मीसँग सङ्घर्ष गरिरहेको देखिन्छ।
यस्तै अवस्था आउन सक्ने डरले बेइजिङका बासिन्दाहरू खानेकुरा र अन्य सरसामानको जोहो गर्न सुपर मार्केटहरूमा ओइरिएका छन्।
बीबीसीका चीन संवाददाता स्टीभन मक्डोनलका अनुसार खाद्यान्न आपूर्तिकर्ताहरूले अत्यावश्यक वस्तुहरूको मौज्दात सामान्य अवस्थाको भन्दा पाँचगुणा बढीसम्म राखेका छन्।
"हामी आत्तिएका छौँ। नआत्तिन पनि सम्भव छैन," हातमा निस्सङ्क्रमण गर्ने प्रयोग गरिने सामग्री, साबुनसहित तरकारी, दूध र अन्य आधारभूत सामग्रीको झोला देखाउँदै एक स्थानीय वृद्धाले बीबीसीसँग भनिन्।
चीनमा कोभिड कति खराब अवस्थामा छ
मक्डोनलका अनुसार केही दिनअघिसम्म चाउयाङ इलाकाका ३५ लाख मानिसहरूमा परीक्षण गर्दा केही दर्जन मानिसमा नयाँ सङ्क्रमण पुष्टि भएको थियो।
उक्त ठाउँमा सङ्क्रमणको अवस्था शाङ्घाईको भन्दा फरक छ। शाङ्घाईमा दैनिक सङ्क्रमण दर घटे पनि सङ्क्रमणको समग्र अवस्था निरन्तर उच्च छ।
मङ्गलवार उक्त सहरमा ५२ जनाको निधन भएको थियो १६,००० जना नयाँ सङ्क्रमित थपिएका थिए।
बेइजिङका अधिकारीहरूले यहाँ कोभिड सङ्क्रमण नियन्त्रणमै रहेको र सहरमा लकडाउनको तयारी नभएको बताएका छन्।
सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि विभिन्न उपायहरू अवलम्बन गरेर अहिले बेइजिङले सरुवा रोगसम्बन्धी अनुसन्धान र सङ्क्रमणको सञ्जालको व्यवस्थापनमा राम्रो काम गरेको छ।

तस्बिर स्रोत, Getty Images
"सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि विभिन्न उपायहरू अवलम्बन गरेर अहिले बेइजिङले सरुवा रोगसम्बन्धी अनुसन्धान र सङ्क्रमणको सञ्जालको व्यवस्थापनमा राम्रो काम गरेको छ। सबै नयाँ सङ्क्रमणलाई नियन्त्रणमा ल्याइएको छ," सहरका प्रवक्ता सु हिजियाले भने।
तर सबै जना निश्चिन्त हुन सकेका छैनन्।
"मेरो विचारमा एक दुई हप्तामा बेइजिङ पनि शाङ्घाईजस्तै हुनेवाला छ। किनभने हामीलाई थाहा छ नि ओमिक्रोन भेरिअन्ट कति छिटो फैलिन्छ," शाङ्घाईस्थित अर्थशास्त्री एन्डी सीएले बीबीसीसँग भनिन्।
"अहिले उनीहरूले जे गरिरहेका छन् त्यो रोक्नका लागि पर्याप्त छैन। त्यसैले हामी अनुमान गर्न सक्छौँ की दुई हप्तामा बेइजिङ पनि शाङ्घाई जस्तै हुन्छ।"
चीनको शून्य कोभिड नीति के हो?
चीनको शून्य कोभिड नीतिले भाइरसलाई नियन्त्रण गर्ने वा सङ्क्रमण दर एकदमै न्यून राख्ने भन्दा पनि यसको पुन: उत्पादनलाई निर्मूल बनाउने लक्ष्य लिएको छ।
यसका लागि चीनले चिकित्सकीय र अन्य उपायहरू अवलम्बन गरिरहेको छ। तिनमा परीक्षण, पहिचान, आइसोलेशन, लकडाउन र खोप पर्छन्।
महामारीको प्रारम्भिक चरणमा यो शैली चिनियाँ मुख्य भूमिमा मात्र नभएर हङ्कङमा पनि अवलम्बन गरिएको थियो।
न्यूजील्यान्डजस्ता केही देशहरूले पनि यही शैली अपनाएका थिए।
तर अहिले विश्वका अधिकांश देशहरूले भाइरससँगसँगै जीवनयापन गर्ने बाटोहरू खोजिरहेका छन्।

तस्बिर स्रोत, Getty Images
तर डेल्टाजस्ता थप सङ्क्रामक भेरिअन्टहरू आएपछि चिनियाँ नीतिमा जटिलता देखा पर्यो।
बीबीसी चिनियाँ सेवाका सम्पादक होवार्ड झाङ भन्छन्, "अर्थतन्त्रमा नकारात्मक असर र व्यापक सार्वजनिक असन्तुष्टिबीच चीनको केन्द्रीय सरकार शून्य कोभिड नीतिमै अडिग रहन प्रतिबद्ध देखिएको छ।"
"धेरै विज्ञहरूले यो नीति असफल भएको प्रमाणस्वरूप चीनमा लकडाउन हुने सहरहरूको बढ्दो सङ्ख्यालाई प्रस्तुत गरेका छन्। केहीले राजनीतिक कारण राष्ट्रपति सी जिन्पिङ यो नीतिमा अडिग रहेको बताएका छन्।"
यसले कसरी विश्वको अर्थतन्त्रमा प्रभाव पार्छ
सम्पत्ति व्यवस्थापनसम्बन्धी कम्पनी नोमुराका अनुसार अहिले ४६ वटा चिनियाँ सहर पूर्ण वा आंशिक लकडाउनमा छन्।
यसले ती सहरहरूमा उत्पादन र उपभोक्तालाई असर गर्न सक्छ।
शाङ्घाईको लकडाउनका कारण परिवहन प्रभावित भएपछि विश्वकै सबैभन्दा ठूलो बन्दरगाहमा कन्टेनरहरू थुप्रिन पुगे।
आपूर्ति सञ्जालसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने संस्था 'प्रोजेक्ट४४'का अनुसार कन्टेनरहरू सामान ट्रकमा हालेर चिनियाँ मुख्य भूमिका गन्तव्यहरूमा पठाउन औसत १२ दिन कुर्नुपरेको थियो।
गत वर्ष चिनियाँ निर्यातको २७ प्रतिशत त्यही बन्दरगाहबाट बाहिरिएको थियो।
अन्यत्र सामान आपूर्ति गर्ने चीन महत्त्वपूर्ण देश भएका कारण पनि यसको असर अझै व्यापक भएको थियो।
क्यापिटल इकोनमिक्सका अर्थविद् एरिअन कर्टिस प्रतिबन्धहरूका कारण व्यापार थप प्रभावित भए त्यसको सबैभन्दा बढी घाटा एशियाका उदीयमान अर्थतन्त्र भएका देशहरूमा पर्ने बताउँछिन्।

तस्बिर स्रोत, Getty Images
उनका अनुसार उत्पादन उद्योगका लागि आवश्यक सामग्रीमा चीनसँगको उच्च परनिर्भरताको कारण कम्बोडिया र भियतनाम उच्च जोखिममा परेका छन्।
विद्युतीय उद्योगका लागि आपूर्ति शृङ्खलामा अमेरिका र जापानजस्ता विकसित देशहरू पनि चीनमा निर्भर रहने गरेका छन्।
अर्थविद् कर्टिस अहिले थोरै मात्र असर देखिए पनि चीनमा थप लकडाउन भए विश्वभरि हुने आपूर्तिमै गिरावट आउन सक्ने जोखिम रहेको बताउँछिन्।
अन्तर्राष्ट्रिय मुद्रा कोषले चीनको लकडाउनको असर युक्रेन युद्धको भन्दा खराब हुनसक्ने हालै बताएको थियो।
गत वर्ष ६.१ प्रतिशत वृद्धि हासिल गरेको विश्वअर्थतन्त्रले यो वर्ष ४.४ प्रतिशत वृद्धि हासिल हुने प्रक्षेपण गरिएको थियो।
तर मुद्रा कोषले प्रक्षेपण घटाउँदै ३.६ प्रतिशतमा सीमित हुने जनाएको छ।
गत वर्ष ६.५ प्रतिशत वृद्धि हासिल गरेको एशिया क्षेत्रको वृद्धि पनि तीन महिनाअघिबाट केही घटेर ४.९ प्रतिशतमा सीमित हुने बताइएको छ।
यो पनि हेर्नुहोस्