कोभिडः २० दिनभित्र दुई पटक कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि

कोभिड परीक्षण

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, स्पेनकी स्वास्थ्यकर्मीलाई पहिलो पटक डेल्टा र त्यसलगत्तै ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण भएको पुष्टि भएको छ

स्पेनमा एक ३१ वर्षे महिलालाई २० दिनभित्र दुई पटक कोरोनाभाइरस सङ्क्रमण भएको अनुसन्धानकर्ताहरूले बताएका छन्। उनी स्वास्थ्यकर्मी हुन्।

अनुसन्धानकर्ताहरूका अनुसार त्यति छोटो अवधिमा कोभिड दोहोरिएको त्यो नै जानकारीमा आएको पहिलो घटना हो।

परीक्षणबाट उनलाई कोरोनाभाइरसका दुई भिन्न भेरिअन्टबाट सङ्क्रमण भएको थियो। डिसेम्बर महिनाको अन्त्यतिर डेल्टा र ज्यानुअरीमा ओमिक्रोन भेरिअन्टले उनलाई कोभिड गराएको पुष्टि भएको थियो।

अनुसन्धानकर्ताहरूका अनुसार यसबाट पहिला कोभिड भएको तथा पूरा मात्रा खोप लगाएको छ भने पनि फेरि कोभिड हुन सक्ने देखिन्छ।

यूकेमा ९० दिनको फरकमा फेरि कोभिड पुष्टि भए मात्र त्यसलाई पुनः सङ्क्रमण भएको मानिन्छ।

त्यसका आधारमा एप्रिल महिनाको आरम्भसम्म झन्डै नौ लाख मानिसलाई दोहोर्‍याएर कोभिड भएको हुनसक्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

यद्यपि पूर्ण 'जीनोम सीक्वन्सिङ' बाट मात्र भिन्न प्रकारका कोरोनाभाइरसबाट सङ्क्रमण भएको पत्ता लाग्ने भएकाले त्यस्तो सङ्ख्या निर्क्योल गर्न कठिन छ।

अनि कोभिड पुष्टि भएकामध्ये एकदमै थोरै बिरामीबाट सङ्कलित नमुना मात्र भेरिअन्ट छुट्ट्याउन आनुवंशिक परीक्षणका लागि पठाइन्छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, चौध महिनासम्म कोभिड

कोभिड दोहोरिएको कसरी पत्ता लाग्यो

पीसीआर परीक्षणमा कोरोनाभाइरस पुष्टि भएपछि पनि ती स्पेनी महिलामा कुनै लक्षण देखिएको थिएन। तर तीन साताभित्र उनलाई खोकी लाग्यो र ज्वरो आयो। त्यसपछि उनले फेरि परीक्षण गराइन्।

परीक्षणको नतिजाको थप विश्लेषण गर्दा उनलाई भिन्न प्रकारका कोरोनाभाइरसबाट सङ्क्रमण भएको देखियो।

त्यसबारे अनुसन्धान गरेकी डा. जेम्मा रेसियोले एउटा वैज्ञानिक सम्मेलनमा बोल्दै ओमिक्रोन भेरिअन्टले "अन्य भेरिअन्टको सङ्क्रमण वा खोपले प्रदान गरेको प्रतिरोधात्मक शक्ति छल्न सक्ने" स्पष्ट पारिन्।

"अर्थात् अरू भेरिअन्टबाट पहिला भएको सङ्क्रमण र खोप दुवैले ओमिक्रोन भएकालाई गम्भीर रोग र अस्पताल भर्ना हुनबाट आंशिक रूपमा जोगाएको देखिन्छ," उनले भनिन्।