धेरैतिर घरजग्गा कारोबार घट्यो, तर केही जिल्लामा बढ्यो

काठमाण्डू उपत्यकामा खेतमा काम गर्दै एक महिला

तस्बिर स्रोत, EPA

  • Author, गनी अन्सारी
  • Role, बीबीसी न्यूज नेपाली

नेपालमा विगत केही महिनाहरूमा घरजग्गा कारोबारले अपेक्षित गति लिन नसकेको भन्दै व्यवसायीहरूले निराशा व्यक्त गरेका छन्।

तर खास गरी तराईका केही जिल्लामा तुलनात्मक रूपमा घरजग्गा कारोबार धेरै भएको पाइएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले देखाउँछ।

विगतमा देशका अन्य ठाउँमा भन्दा धेरै घरजग्गा कारोबार हुने गरेको काठमाण्डू उपत्यकामा समेत कारोबार सन्तोषजनक नरहेको व्यवसायीहरू बताउँछन्। चालु आर्थिक वर्ष २०८१/२०८२ को माघमा पुस महिनाको तुलनामा घरजग्गा कारोबारमा कमी आएको विभागको तथ्याङ्क छ।

विभागका अनुसार गत पुसमा ४८, १५६ वटा लिखत पारित भएकामा माघमा भने ४६,०६९ वटा पारित भएको छ।

पुस महिनाको तुलनामा माघ महिनामा ३७ करोड ९७ लाख रुपैयाँले राजस्व सङ्कलन घटेको विभागले जनाएको छ।

भरतपुरस्थित मालपोत कार्यालयका कर्मचारीलाई झ्यालबाहिरबाट हेर्दै एक सेवाग्राही

तस्बिर स्रोत, Keshav Koirala / BBC

तस्बिरको क्याप्शन, भरतपुरस्थित मालपोत कार्यालयका कर्मचारीलाई झ्यालबाहिरबाट हेर्दै एक सेवाग्राही (फाइल तस्बिर)

केही जिल्लामा किन बढ्यो जग्गा किनबेच?

चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको विभागको तथ्याङ्कअनुसार सबैभन्दा धेरै घरजग्गा कारोबार भएका जिल्लामध्ये शीर्ष पाँचमा तराईका जिल्ला रहेका छन्। सो अवधिमा सुनसरी, मोरङ, झापा, धनुषा र सप्तरीमा सबैभन्दा धेरै लिखत पारित भएको विभागले जनाएको छ।

सबैभन्दा धेरै भूमि सुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीले ९,४०४ वटा लिखत पारित गरेको तथ्याङ्कमा उल्लेख छ। त्यसपछि मालपोत कार्यालय बेलबारी, मालपोत कार्यालय बेलबारी, मोरङले ७,६३० र भूमि सुधार तथा मालपोत कार्यालय भद्रपुर, झापाले ७,६१२ वटा लिखत पारित गरेको छ।

सो अवधिमा भूमि सुधार तथा मालपोत कार्यालय जनकपुरधाम, धनुषाले ७,१६४ र राजविराज, सप्तरी कार्यालयले ६,८२५ वटा लिखत पारित गरेको विभागले जनाएको छ। भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा ४,९५५ वटा लिखत पारित गरेकोमा त्यसभन्दा बढी मलङ्गवा, सर्लाही कार्यालयले ५,३०९ वटा लिखत पारित गरेको तथ्याङ्क छ।

काठमाण्डू उपत्यकाको पश्चिमी भेगमा भिरालो क्षेत्रमा कित्ताकाट गरिएको जग्गा

तस्बिर स्रोत, Keshav Koirala / BBC

तस्बिरको क्याप्शन, धेरै किनबेच नभए पनि काठमाण्डू उपत्यकाका विभिन्न स्थानमा जग्गा कित्ताकाट भएको पाइन्छ

"ती जिल्लाहरूमा तुलनात्मक रूपमा मन्दी खासै नदेखिएको अवस्था छ," अन्यत्र घट्दा तराईका केही जिल्लामा कारोबार बढ्नुको एउटा कारणबारे भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक तथा प्रवक्ता वेदप्रसाद अर्यालले बीबीसी न्यूज नेपालीसँग भने।

"कोशीपारि झापा, मोरङ र सुनसरीतिर कारोबार खासै घटेको देखिँदैन। के छ भन्दाखेरि पहाडी क्षेत्रबाट तराई र 'कोर एरिया' तिर बसाइँसराइ गरेको देखिन्छ।"

"त्यस हिसाबले तराईतिर कारोबार बढ्दो छ भने काठमाण्डूतिर बढेको देखिँदैन।"

बाराको सिमराको कृषि, व्यवासायिक तथा आवास क्षेत्र तस्बिरको एउटै फ्रेमभित्र
तस्बिरको क्याप्शन, बाराको सिमराको कृषि, व्यवासायिक तथा आवास क्षेत्र तस्बिरको एउटै फ्रेमभित्र

घरजग्गा व्यवसायीहरू के भन्छन्?

कतिपय घरजग्गा व्यवसायीले पछिल्लो समय देशका अधिकांश भागमा देखिएको कारोबारलाई "निराशाजनक" भनेका छन्।

कारोबार बढ्न नसक्नुमा देशको आर्थिक अवस्थादेखि कतिपय मानिसले नेपालमा सम्पत्ति बेचेर विदेशमै किन्ने गरेका प्रवृत्तिसम्मलाई उनीहरू कारण ठान्छन्।

"अहिले नयाँ प्लटिङ खासै भइरहेको छैन। पुराना प्लटिङहरूकै अलिअलि कारोबार भइरहेको अवस्था हो," हालको अवस्थाबारे एकजना घरजग्गा व्यवसायी केदार दाहालले बीबीसी न्यूज नेपालीसँग भने।

"एक त अहिले आर्थिक मन्दी छ। अर्कोतर्फ नेपालमा भएका सम्पत्ति बेचेर विदेशमै किन्ने प्रवृत्ति पनि देखियो," उनले अगाडि थपे।

अर्का घरजग्गा व्यवसायी श्रीकृष्ण राउत विशेष पछिल्ला चार महिनायता घरजग्जा व्यवसाय झन् निराशाजनक देखिएको दाबी गर्छन्। "सहकारी संस्थाहरू बन्दप्रायः छन्, शेअर बजारको अवस्था डामाडोल छ भने जनतामा एक किसिमको निराशा छ," उनले बीबीसी न्यूज नेपालीसँग भने।

अमेरिका, युरोपेली देशहरूमा पढ्न गएका थुप्रै विद्यार्थीहरू स्थायी बसोबास अनुमति पाएपछि स्वदेश नफर्किने प्रवृत्ति देखिएको छ। "त्यस्ता विद्यार्थीहरूले नेपालमा लगानी गर्नुको साटो उतै घरजग्गा किन्न थालेर पनि नेपालमा घरजग्गा लगानीमा पहिला जस्तो आकर्षण नदेखिएको अवस्था छ," राउतले थपे।

तर अधिकारीहरू त्यसमा सहमत देखिँदैनन्। "विदेशमा कमाएर यहाँ किनेका पनि छन्, कोहीकोही चाहिँ उतै बसोबास अनुमति पाएर बेचेर पनि गएका छन्। त्यो भएर धेरै मानिस बेचेर जान थालेकाले यो अवस्था आएको हो भन्न मिल्दैन," विभागका प्रवक्ता अर्यालले स्पष्ट पारे।

भूमि व्यवस्थापन विभाग

अर्कोतर्फ सरकारले घरजग्गा व्यवासय उकास्ने कदम नचालेसम्म सुधार आउने सङ्केत आफूले नपाएको व्यवसायी राउत तर्क गर्छन्। "मालपोत कार्यालयहरूमा कित्ताकाटका लागि सहजीकरण गर्ने, व्यवसायीहरूलाई सहुलियतमा ऋण दिने व्यवस्था मिलाउने, घरजग्गा कारोबारमा लाभकर घटाउने जस्ता काम सरकारले गरिदिनुपर्ने हुन्छ," राउत भन्छन्।

काठमाण्डू उपत्यकामा कित्ताकाट खुले पनि व्यावहारिक रूपमा अझै झन्झटिलो हुने गरेकाले कारोबारमा उत्साह थपिन नसकिएको कतिपय व्यवसायीको दाबी छ।

तर सरकारी अधिकारीहरू कित्ताकाट गराउनका निम्ति त्यस्तो कुनै झन्झटिलो प्रक्रिया नभएको बताउँछन्।

अधिकारीहरू के भन्छन्

भूमि व्यवस्था तथा अभिलेख विभाग

पछिल्ला महिनाहरूमा घरजग्गा कारोबारमा उल्लेख्य वृद्धि नभए पनि व्यवसायीहरूले भन्ने गरे जस्तो निराशाजनक नै नभएको अधिकारीहरूको दाबी छ।

"घरजग्गा कारोबार चरमबिन्दुमा पुगेर पनि अहिलेको अवस्था देखिएको हुन सक्छ। कारोबार अपेक्षित रूपमा नबढेको भए पनि निराशाजनक नै भन्न मिल्दैन," भूमि व्यवस्था तथा अभिलेख विभागका प्रवक्ता अर्यालले भने।

विगतको तुलनामा पछिल्लो समयमा घरजग्गा कारोबारको प्रवृत्तिमा परिवर्तन पनि आएको उनी सुनाउँछन्।

"पहिलापहिला धेरैजसो घरजग्गा कारोबार सहरी क्षेत्रमा केन्द्रित हुने गरेको पाइन्थ्यो। तर अहिले सहरोन्मुख क्षेत्रमा बढी कारोबार हुन थालेको देखिन्छ," प्रवक्ता अर्यालले भने।

उच्च मूल्य हुने गरेकाले पनि धेरै मानिसले सहरी क्षेत्रमा घरजग्गा किन्न नसकेको उनी स्वीकार्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।