ब्रिटेनमा पुराना मोबाइलबाट सुन र अन्य बहुमूल्य धातु निकाल्ने प्रविधि

सुन

तस्बिर स्रोत, Getty Images

ब्रिटेनको सिक्का निर्माता रोयल मिन्टले पुराना मोबाइल फोन र ल्यापटप कम्प्युटरबाट सुन र अन्य बहुमूल्य धातु निकाल्ने प्रविधिको विश्वकै पहिलो प्रयोगको योजना सार्वजनिक गरेको हो।

काम नलाग्ने पुराना विद्युतीय उपकरणहरूमध्ये २० प्रतिशत मात्रै पुर्नप्रयोग हुने आकलन गरिन्छ।

रोयल मिन्टका प्रमुख कार्यकारी एन जेस्सोपले यो प्रविधिले "विश्वको सबैभन्दा ठूलो वातावरणीय चुनौतीमध्ये एकलाई समाधान गर्न प्रभाव पार्ने" बताएका छन्।

रोयल मिन्टले क्यानडाको एक्सिर नामक नयाँ कम्पनीसँग पुराना विद्युतीय उपकरणको सर्किट बोर्डमा प्रयोग भएका ९९ प्रतिशतसम्म सुन निकाल्ने सहमतिमा हस्ताक्षर गरेको छ।

सो प्रविधिमा प्रयोग हुने रसायनले बहुमूल्य धातुहरूलाई क्षणभरमै सर्किट बोर्डबाट निकाल्ने बताइएको छ।

अध्ययनकर्ताहरूले सन् २०२१ मा फ्याँकिएका विद्युतीय फोहोर पाँच करोड ७० लाख टनभन्दा बढी भएको आकलन गरेका छन्।

रोयल मिन्टले यस विषयमा केही नगरिए सन् २०३० सम्म यस्तो फोहोर सात करोड ४० लाख टन पुग्ने बताएको छ। यो सङ्ख्या सन् २०२० को आँकडाभन्दा झन्डै दोबर हो।

पुराना मोबाइल

तस्बिर स्रोत, Royal Society of Chemistry

ती उपकरणलाई पगालेर नभई सामान्य तापक्रममै बहुमूल्य धातु निकाल्ने योजना रोयल मिन्टको छ।

परीक्षण प्रयोगमा ९९९.९ प्रतिशत शुद्ध सुन निकालिएको छ भने यो प्रविधि पूर्ण रूपमा विकास हुँदा त्यस्ता उपकरणबाट पलेडियम, चाँदी र तामा पनि छुट्टाउन सकिने बताइएको छ।

जोस्सेपले विद्युतीय फोहोर कम गर्न, बहुमूल्य धातु संरक्षण गर्न र नयाँ सीपको विकास गर्न यो प्रविधिको ठूलो प्रभाव पर्न सक्ने बताएकी छन्।

रोयल मिन्टका प्रमुख विकास अधिकृत सीन मिलार्डले यो प्रविधिको रसायनशास्त्रलाई "क्रान्तिकारी" बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कम्प्युटर र मोबाइलको प्रकाशले बुढ्यौली चाँडै