प्रतिरोधात्मक क्षमता बढेको मलेरिया परजीवी दक्षिण पूर्वी एशियामा फैलिँदै

तस्बिर स्रोत, Getty Images
प्रमुख औषधीहरूलाई प्रतिरोध गर्न सक्ने मलेरियाका परजीवीहरू दक्षिण एशियामा तीव्र रूपमा फैलिएको ब्रिटेन र थाइल्याण्डका शोधकर्ताहरूले जनाएका छन्।
त्यस्ता परजीवी कम्बोडियाबाट लाओस, थाइल्याण्ड र भियतनाम हुँदै फैलिएको हो।
ती मुलुकहरूमा मलेरियाका आधा बिरामीलाई पहिलो छनौटको औषधी काम नगरेको बताइएको छ।
शोधकर्ताहरूले त्यस्तो प्रतिरोध अफ्रिकामा फैलिन सक्ने बताएका छन्। तर यसको सम्भावना भने पहिले भनिए जस्तो गम्भीर नहुने सक्ने विज्ञहरू बताउँछन।
के भइरहेको छ?
मलेरियाको उपचार आर्टेमिसिनिन र पिपेराक्युन नामका दुईवटा औषधीको सम्मिश्रणबाट गरिन्छ। त्यो सम्मिश्रण सन् २००८ मा कम्बोडियामा प्रयोग गरिएको थियो।
तर सन् २०१३ सम्ममा कम्बोडियाको पश्चिमी क्षेत्रमा उक्त औषधीविरुद्ध मलेरियाका परजीवीमा प्रतिरोधी क्षमता विकाश भइसकेको पाइएको थियो।
हालसालै सम्पन्न अध्ययनमा दक्षिण पूर्वी एशियाका बिरामीहरूको रगतको नमुना विश्लेषण गरिएको थियो।
मलेरिया परजीवीको डिएनए परीक्षणले प्रतिरोधी क्षमता बढ्दै गएको देखाएको छ।
कतिपय क्षेत्रमा ८० प्रतिशत मलेरिया परजीवी औषधीको प्रतिरोध गर्नसक्ने भइसकेका छन्।

तस्बिर स्रोत, Science Photo Library
मलेरियाको उपचार नहुने अवस्था सृजना हुँदै गएको हो?
होइन।
एउटा जर्नलमा प्रकाशित अध्ययनले स्वाभाविक रूपमा गरिने उपचारबाट आधा बिरामी निको नभएको बताएको छ।
उनीहरूलाई निको पार्न वैकल्पिक औषधिहरू प्रयोग गरिएको थियो।
यसले के परिवर्तन गर्छ?
उक्त परिणामले मेकोङ्ग नदीको आसपासमा रहेका देशहरूमा बस्ने मानिसहरूको दैनिकीमा भने खासै परिवर्तन ल्याउने छैन।
मलेरियासँग जुझ्नु भनेको सङ्क्रमण पछि उपयुक्त उपचार प्राप्त गर्नु मात्र होइन।
त्यहाँ उक्त रोग फैलाउने लामखुट्टेहरूलाई नियन्त्रण गर्ने प्रयास रोकिने छैन।
तर रोगीलाई आवश्यक पर्ने औषधीहरू भने परिवर्तन गरिनुपर्ने शोधकर्ताहरू बताउँछन्।
मलेरिया कत्तिको घातक रोग हो?
विश्वव्यापी रूपमा मलेरिया प्रत्येक वर्ष करिब २१ करोड ९० लाख मानिसलाई लाग्छ।
जाडो हुने, काम्ने, ज्वरो आउने र अत्यधिक मात्रामा पसिना आउनु मलेरियाका लक्षण हुन्।
उपचार हुन नसकेको अवस्थामा श्वासप्रश्वाससम्बन्धी समस्या र शरीरका अङ्ग नै काम नगर्न सक्ने अवस्था हुन्छ।
मलेरियाका कारण प्रत्येक वर्ष करिब चार लाख ३५ हजार जनाको मृत्यु हुने गरेको छ।
त्यसमा सबैभन्दा बढी पाँच वर्षभन्दा मुनिका बालबालिका पर्ने गरेका छन्।