चालकरहित ट्रकहरूले फेर्न खोज्दै छन् चीनको ढुवानी उद्योगको भविष्य

तस्बिर स्रोत, BBC/Rachel Yu
- Author, स्टिभन म्याक्डोनल
- Role, चीन संवाददाता
चीनको राजधानी बेइजिङ र तिआन्जिन बन्दरगाहबीचको सडकमा एउटा रोचक दृश्य छ। भारी लरीहरू आफैँ बाटो पहिचान गरेर सडकमा गुड्छन्।
सरकारको सुरक्षा नियमअनुसार एकजना चालक ड्राइभरको सिटमा बसेका हुन्छन्। तर यी लरीहरूलाई खासमा ती ड्राइभरको आवश्यकता चाहिँ पर्दैन।
धेरै विश्लेषकहरूका अनुसार ती मानव चालकहरू बस्नैपर्ने आवश्यकता पनि अब लामो समय रहन्न।
हाल ३२ वर्षका सुरक्षा चालक हुओ काङ्तिएन जब ट्रकबाट आफ्नो हात हटाउँछन् त्यसपछिको अवस्था लोभलाग्दो र चिन्ताजनक दुवै हुन्छ।
यात्राको आरम्भमा उनले लरीलाई आफ्नै नियन्त्रणमा चलाउँछन्। निश्चित दूरी पार गरेपछि उनले केही बटनहरू दबाउँछन् र शक्तिशाली गाडी तिआन्जिनको सडकमा गति लिएर आफैँ कुद्न सुरु गर्छ।
"आफैँ चल्ने ट्रक चलाउँदा सुरुमा त मलाई डर लागेको थियो," हुओ भन्छन्। "तर लामो समय यसको निगरानी र परीक्षण गरेपछि मलाई यिनीहरू सुरक्षित र गज्जब छन् भन्ने लाग्छ।"
खाली सडकमा ओरालो लाग्दा र कर बुझाइने गेटहरूमा उकालो चढ्दा पनि ट्रक आफैँ गुडिरहन्छ। कर बुझाउने 'टोल गेट'मा हुओले ट्रकका केही बटनहरू दबाउँछन् र ट्रक केहीबेर आफैँ चलाउँछन्।
"मेरो काम सुरक्षा चालकको मात्रै हो। आपत्कालीन अवस्थामा मैले गाडीको नियन्त्रण आफैँसँग लिनुपर्छ," उनी सुनाउँछन्।
लरीलाई स्वचालित प्रणालीबाट चल्न छोडिदिँदा चालकको तनाव र थकान पनि कम हुने उनी बताउँछन्। हात खुट्टा तन्काउने सुविधा पनि पाइने उनको अनुभव छ। यसले चालकको काम पट्यारलाग्दो नभई अझै रोचक बनाएको उनको बुझाई छ।
प्रविधिले एक दिन उनलाई जागिरबाटै विस्थापित गरिदिने हो कि भन्ने प्रश्नमा उनी यसबारे आफूलाई खासै थाहा नभएको बताउँछन्। त्यो उनको कूटनीतिक जबाफ हो।
पारवहनको भविष्य

तस्बिर स्रोत, BBC/Joyce Liu
पोनी एआईका चालकरहित लरीहरू अहिले परीक्षणका लागि यो खण्डमा मात्रै चलिरहेका छन्। कम्पनीका उपाध्यक्ष लि हेङ्ग्यू यो सुरुआत मात्रै भएको बताउँछन्।
"चालकबिनै सञ्चालन हुने भएका कारण भविष्यमा पारवहनको क्षमता अझै धेरै बढ्छ," उनले बीबीसीसँग भने।
"उदाहरणका लागि श्रमिकहरूका लागि हुने खर्च घट्छ र विषम वातावरण तथा लामो समय चलाउनुपर्ने अवस्थाको सामना गर्न सहज हुन्छ।"
यी सबै कुराका पछाडि खर्च जोगाउने उद्देश्य रहेको प्राध्यापक तथा उद्यम सम्बन्धी विज्ञ याङ रुइग्याङ बताउँछन्।
उनीसँग चीन र अमेरिका दुवै देशमा चालकरहित सवारी चलाउने प्रविधिमा काम गरेको अनुभव छ।
"सञ्चालन खर्च घटाउने कुनै पनि उपाय कम्पनीले अपनाउन चाहन्छ। त्यस कारण पूर्ण स्वचालित चालकरहित कारमा लगानी गर्न उनीहरू इच्छुक छन्," उनले बीबीसीसँग भने।
उनका अनुसार यसको उद्देश्य चालकका लागि हुने खर्च घटाएर शून्य बनाउने हो।
चिन्ता
यद्यपि चीनमा मात्रै नभएर विश्वभरि नै लरीजस्ता ठूला सवारी साधनलाई चालक बिनै सडकमा गुड्ने अनुमति पाउन कैयौँ व्यवधानहरू छन्। त्यसमाथि सर्वसाधारणको चिन्ता पनि आफ्नै ठाउँमा छ।
चीनमा एउटा कार स्वचालित प्रणालीमा राखिएको समयमा भएको दुर्घटनामा विश्वविद्यालयमा अध्ययनरत तीनजना विद्यार्थीको ज्यान गएपछि यस्तो प्रविधिमाथि ठूलो धक्का पुगेको छ।
एक जना विश्लेषक चिम ली चिनियाँ सर्वसाधारणहरू यस्ता प्रविधिबारे अझैसम्म शङ्कालु रहेको बताउँछन्।
"हालैको कार दुर्घटनाले चीनमा आक्रोश जन्माएको छ। अहिले चालकरहित ट्रकहरू निश्चित गन्तव्यमा मात्रै चलिरहे पनि सर्वसाधारणमाझ यस्तो प्रविधिको छवि राम्रो छैन र नीति निर्माताहरूले पनि आलोचनात्मक चेतबाटै सोच्छन्। अर्कोतर्फ बजारको धारणा पनि त्यस्तै छ," उनी भन्छन्।
प्राध्यापक याङ पनि लरीका चालकहरूले तत्कालै ठूलो मात्रामा जागिर गुमाउने सम्भावना नरहेको बताउँछन्।
पूर्वी चीनको एन्वे प्रान्तस्थित ८० लाख जनसङ्ख्या रहेको हुफे सहरमा दैनिक सयौँ चालक रहित डेलिभरी भ्यानहरू गुडिरहेका छन्। तीनका वरिपरि मान्छेले चलाउने स्कुटर र कारहरू पनि उत्तिकै चल्छन्।
कुनै समय देशकै सबैभन्दा गरिब सहर रहेको यस ठाउँमा चीन सरकारले नयाँ प्रविधिलाई अवसर दिएर भविष्यमा चिनिने ठाउँ बनाउन खोजिरहेको छ।
एउटा स्वचालित सवारी कम्पनी रिनो डट एआईका अध्यक्ष ग्यारी वाङ चालकरहित डेलिभरी भ्यानका लागि आफूहरूले अनुकूल बजार पाएको बताउँछन्।
यस्ता भ्यानहरूले ठूला पार्सल कम्पनीबाट स्थानीय बजारसम्म सामान पुर्याउँछन्। त्यहाँबाट स्कुटरमा मानिसहरूका घरघरसम्म सामान पुर्याइन्छ।
"हामी कुरिअरहरूलाई सामुदायिक क्षेत्रहरूभित्रै बसेर पिकअप र ड्रप अफ गर्न अनुमति दिइरहेका छौँ जबकि स्वचालित भ्यानहरूले दोहोरिने, लामो दूरीको यात्राका काम गर्छन्। यसले सम्पूर्ण प्रणालीको दक्षता बढाउँछ," उनले भने।
चीनबाहिर पनि आँखा

तस्बिर स्रोत, BBC/Joyce Liu
रिनो अन्य देशहरूसँग पनि संवादमा छ। र उक्त कम्पनीले यस वर्षको अन्त्यमा सबैभन्दा छिटो अस्ट्रेलियामा आफ्ना सवारी साधनहरूको प्रयोग हुने बताएको छ।
त्यसबेला एक सुपर मार्केट चेनले उनीहरूको चालकविहीन डेलिभरी सवारी साधनहरू प्रयोग गर्न थाल्नेछ।
हाल उनीहरूले चीनका सडक पहुँच भएका ५० भन्दा बढी सहरहरूमा ५०० भन्दा बढी भ्यानहरू चलाइरहेका बताउँछन्।
यद्यपि हेफेई सहर सबैभन्दा परिष्कृत खालको छ।
रिनो बाहेक यस सहरले अब अन्य चालकविहीन डेलिभरी भ्यान कम्पनीहरूलाई पनि सञ्चालन गर्न अनुमति दिएको छ।
ग्यारी हुआङ यसपछाडि धेरै कारणहरूको सम्मिश्रण रहेको बताउँछन्।
"सरकारले प्रोत्साहन गरेपछि स्थानीय प्रयोग बढ्यो, त्यसले अनुभव प्रदान गर्दै परिष्कृत नियमहरू बनाएपछि अन्ततः व्यापक कार्यान्वयनलाई अनुमति दिइयो।"
अनि तपाईँ तिनलाई सडकमा लेनहरू परिवर्तन गर्दै, मोडिनु अघि सङ्केत गर्दै, रातो बत्तीमा गाडी रोक्दै र अन्य ट्राफिकबाट बच्दै गरेको देख्नुहुन्छ।
कुरिअर कम्पनीहरूका लागि सङ्ख्याले त्यसपछाडिको कथा बताउँछ।
अन्हुई प्रान्तका लागि रिनोका क्षेत्रीय निर्देशक झाङ किचेनका अनुसार यसरी डेलिभरीहरू छिटो मात्र हुँदैनन् बरु कम्पनीहरूले कैयौँ दिनसम्म चल्ने गरी तीनवटा स्वचालित विद्युतीय डेलिभरी भ्यानहरू भाडामा लिन सक्छन्। जुन एक चालकले लिने खर्चबिनै कैयौँ दिन चल्छन्।
उनी आफ्नो उद्योगमा परिवर्तनको गतिबाट छक्क परेकी छिन्।
भारी र लामो दूरीको लरीहरू पाँच वर्षभित्र निश्चित परिस्थितिहरूमा नियमित रूपमा सडकमा आफैँ चल्न थालेमा पनि उनी अचम्मित हुनेछैनन्।
प्राध्यापक याङ यसमा सहमत छन्। "राजमार्गमा बिना अवरोध चल्ने भारी ट्रकहरू कम्तीमा पाँच वर्ष टाढा छन्।"
के साँच्चै यो यति चाँडै हुन सक्छ भनेर सोधिँदा उनको जवाफ थियो: "यो सम्भव हुनेमा म लगभग ढुक्क छु। खासमा यो हुने कुरामा म विश्वस्त छु।"
महत्त्वपूर्ण चुनौतिहरू
यस उद्योगको भित्री ज्ञान भएका मानिसहरूका अनुसार चालकविहीन लरीहरूको लागि सबैभन्दा तत्कालका आवश्यकता भनेका सम्भवतः खुला-कट खानी वा बन्दरगाहहरूजस्ता बन्द औद्योगिक क्षेत्रहरू बाहेक दुर्गम, कठोर भू-भागमा चरम वातावरणीय अवस्थाका ठाउँहरूमा छन्।
यद्यपि महत्त्वपूर्ण प्राविधिक चुनौतीहरू बाँकी नै छन्।
भारी लरीहरूलाई मानिसलेझैँ टाढासम्म ट्र्याक गर्न राम्रो क्यामेरा चाहिन्छ जसले गर्दा बाटोमा धेरै टाढा खतराहरू पत्ता लगाउन सकिन्छ।
धेरै कठिन सडक मार्गमा अतिरिक्त सेन्सरहरू राख्नुपर्ने हुन सक्छ। अन्य अवरोधहरूमा चरम मौसमी अवस्था वा धेरै व्यस्त ट्राफिकको बीचमा अचानक, अप्रत्याशित खतराहरू उत्पन्न हुन सक्छन्।
सबैभन्दा मुख्य कुरा भारी लरीहरूका हकमा प्रविधि अझै सस्तो छैन।
त्यसबाहेक यी सवारी साधनहरू अहिले उत्पादन लाइनबाट सिधै स्वचालित सवारी साधनका रूपमा आएका नभई पुरानो शैलीका परिमार्जित लरीहरू हुन्।
प्रविधिलाई मानिसहरू स्वीकार्लान्?
चीन नयाँ प्रविधिको च्याम्पियन बन्न चाहन्छ।
तर यो घातक दुर्घटनाहरूको सम्भावनाको कारणले मात्र नभईकन चिनियाँ मानिसहरूले यस परिवर्तनलाई कसरी हेर्न सक्छन् भन्ने कारणले पनि सावधान हुनुपर्छ।
"यो केवल नियमहरू पूरा गर्ने कुरा मात्र होइन। यो केवल सार्वजनिक छवि निर्माण गर्ने कुरा मात्र होइन," चिम ली भन्छन्।
"तर समयसँगै जनताले यस प्रविधिको फाइदा देख्नेछन्। यसले सामानहरू किन्नको लागि आफ्नो लागत कसरी घटाउनेछ भनेर जान्नेछन् वा यसलाई सम्भावित रूपमा विनाश गर्ने, कार दुर्घटना निम्त्याउने वा रोजगारीका अवसरहरू हटाउने प्रविधिको रूपमा हेर्नुको सट्टा समाजमा सुधार भइरहेको कल्पना गर्ने तरिकाको रूपमा हेर्नेछन्।"
प्राध्यापक याङ अर्को समस्या देख्छन्।
"हामी मानिसहरूले अर्को मानव चालकले गल्ती गरेको सहन सक्छौँ तर स्वचालित ट्रकहरूका लागि हाम्रो सहनशीलता धेरै कम छ। मेसिनहरूले गल्ती गर्नु हुँदैन। त्यसैले हामीले प्रणाली अत्यन्तै भरपर्दो छ भनी सुनिश्चित गर्नुपर्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।