हिमालमा सास फेर्न किन गाह्रो, जेननले के साँच्चै सगरमाथा आरोहीको क्षमता बढाउँछ

नेपालको हिमाली क्षेत्रमा पानी बसेर पिउँदै एक महिला पदयात्री

तस्बिर स्रोत, Getty Images

  • Author, प्रदीप बस्याल
  • Role, बीबीसी न्यूज नेपाली

चार ब्रिटिश आरोहीहरूले गत साता सगरमाथा आरोहण गरेपछि उनीहरूको सफलताको श्रेय 'जेनन ग्यास थेरपी' लाई दिइयो। उनीहरू लन्डनबाट हिँडेको चार दिन १८ घण्टामा पृथ्वीको सर्वोच्च शिखरमा पुगेका थिए।

सगरमाथा चढ्न सामान्यतया कैयौँ साता आधारशिविरमा बसेर त्यहाँको हावापानी र उचाइसँग अभ्यस्त हुनुपर्छ। तर जेनन ग्यास प्रयोग गरेको भनिएका ती पर्वतारोहीहरूले आधारशिविरमा बस्ने अनि तल्लो शिविरबाट माथि जाँदै फेरि तल ओर्लिई 'अक्लाइमटाइजेशन' अर्थात् अनुकूलन गर्ने 'झन्झट' गरेनन्।

त्यस प्रकारको कार्य "स्वच्छ" नभएको भन्दै पर्वतारोहणमा संलग्न शेर्पाहरू र नेपाल सरकारले पनि असन्तुष्टि व्यक्त गरेका छन्। पर्यटन विभागले त्यसबारे छानबिन थालिएको जनाएको छ।

के जेनन ग्यासले पर्वतारोहीहरूको क्षमता चमत्कार गरे जसरी अभिवृद्धि गरिदिन्छ त?

सगरमाथा चढ्न जेनन ग्यास प्रयोग गरिएको यो प्रसङ्गपछि हामीले केही विज्ञहरूसँग कुरा गरेर पर्वतारोहणसँग सम्बन्धित वैज्ञानिक पक्ष र अन्य सम्बन्धित विषयबारे यो सामग्री तयार पारेका छौँ।

उचाइ र अक्सिजनको सम्बन्ध कस्तो

रगतमा हुने 'रेड ब्लड सेल' (आरबीसी) भनिने कोषिकाहरूले शरीरका विभिन्न अङ्ग र प्रत्यङ्गमा अक्सिजन आपूर्ति गर्छन्। आरबीसीमा फलाम तत्त्वयुक्त 'हीमग्लोबिन' नामक पदार्थ हुन्छ, त्यसैसँग जोडिएर अक्सिजनका अणुहरू फोक्सोबाट शरीरभरि पुग्छन्।

तर उच्च भेगमा अक्सिजनको 'आंशिक चाप' कम हुन्छ। त्यसैले हिमाली भेगमा वा हिमालतिर जाँदा सास फेर्न गाह्रो हुने विज्ञहरू बताउँछन्।

"शरीरले अक्सिजनको न्यून चापसँग अनुकूल हुने समय पाएन भने बान्ता होला जस्तो, टाउको दुख्ने, थकाइ लाग्ने र स्याँस्याँ हुने र सास चाँडोचाँडो फेर्नुपर्ने हुन्छ। त्यसैलाई 'लेक लाग्ने' भनिन्छ," स्वाश्वप्रश्वास तथा 'क्रिटिकल केअर'मा विशेषज्ञता भएका चिकित्सक डा नवीन कैनी भन्छन्।

"नयाँ आरबीसीहरू हड्डीको मासीमा बन्छन् र ती कोषिकाहरू बन्ने प्रक्रियालाई 'इरिथ्रोपोइइसिस' भनिन्छ। आरबीसी र हीमग्लोबिन उत्पादन गर्ने प्रक्रियालाई 'इरिथ्रोपोइअटिन' नामक होर्मोनले नियन्त्रण गर्छ। रगतमा अक्सिजनको मात्रा कम हुँदा उक्त होर्मोन उत्पादन बढ्छ। तर त्यसका लागि समय लाग्छ र अहिलेको अहिल्यै हुँदैन।"

त्यसैले पर्वतारोही र हिमाली भेगमा पदयात्रा गर्न जाने मानिसहरूले अक्सिजनको न्यून चाप हुँदा पनि सास फेर्न सक्ने हुन 'अक्लाइमटाइजेशन' अर्थात् अनुकूलन गर्नुपर्छ।

सगरमाथा क्षेत्रको खुम्बु आइसफलमा आरोहीहरू

तस्बिर स्रोत, Pradeep Bashyal/BBC

के जेनन ग्यासले सास फेर्न सजिलो बनाउँछ

पर्वतारोहीहरूले अक्सिजन कम हुने अवस्थामा पनि आफूलाई सास फेर्न सजिलो हुन्छ भनेर जेनन ग्यास प्रयोग गर्ने गरेको सुनिन्छ।

अहिले चर्चामा रहेका ब्रिटिश पर्वतारोहीहरूले नेपाल आउनुअघि 'जेनन ग्यास थेरपी' गरेर 'अक्लिमटाइजेशन'को चरण छल्न सफल भएको दाबी गरिएको छ।

सगरमाथाको शिखरमा ब्रिटेनको झण्डा फहराउँदै चार पर्वतारोही

तस्बिर स्रोत, Sandro Gromen-Hayes

तस्बिरको क्याप्शन, लन्डन छोडेको पाँच दिनभित्रै यी चार ब्रिटिश आरोही सगरमाथाको चुचुरोमा पुगे

"जेनन ग्यासले शरीरमा आरबीसी उत्पादन हुने प्रक्रियाको गतिलाई बढाइदिन्छ र त्यसका लागि 'हाइपोक्सिआ इन्ड्यूसबल फ्याटर' (एचआईएफ) नामक तत्त्वको मात्रा बढ्छ भन्ने ठानिन्छ। एचआईएफले इरिथ्रोपोइअटिन र हीमग्लोबिन दुवैको उत्पादन बढाइदिन्छ, त्यो प्रमाणित तथ्य हो," डा कैनी भन्छन्।

केही खेलाडीले आफ्नो शारीरिक क्षमता र स्फूर्ति बढाउन जेनन ग्यास लिने गरेको पाइएपछि 'वर्ल्ड एन्टि-डोपिङ एजन्सी' (डब्ल्यूएडीए)ले सन् २०१४ मा उक्त पदार्थलाई प्रतिबन्धित गर्‍यो। पर्वतारोहणमा भने उक्त ग्यासको प्रयोग हुने गरेको केही पर्वतारोहीहरू स्वीकार गर्छन्।

अहिले विवादास्पद बनेको अभियानसँग जोडिएका आरोहण अभियानका सञ्चालक लुकास फर्टन्बाख आफूले विगतदेखि नै पर्वतारोहणमा जेनन ग्यास प्रयोग गरेको बताउँछन्।

तर वैज्ञानिक अनुसन्धानबाट मानिसको शरीरमा जेननले इरिथ्रोपोइअटिन उत्पादन बढाइदिन्छ भन्ने पुष्टि हुन बाँकी रहेको विज्ञहरू बताउँछन्।

"जेननकै कारण शरीरमा त्यस्तो परिवर्तन हुन्छ भन्ने सिद्ध गर्ने स्पष्ट प्रमाण छैन। अनि सास फेर्दा जेनन ग्यास लिएकै कारण पर्वतारोहीहरूले सजिलै हिमाल चढ्न सक्ने गरी आफ्नो शारीरिक क्षमता बढाउन सकेका हुन् वा सक्छन् भन्ने विश्वासिलो प्रमाण अझै फेला परेको छैन," डा कैनी भन्छन्।

सगरमाथा आरोहीले कसरी गर्छन् अनुकूलन

वसन्त याम अर्थात् मार्चदेखि मे महिनाको अवधि सगरमाथा आरोहणका लागि उपयुक्त मानिन्छ।

त्यही बेला विश्वको सर्वोच्च शिखरमा पर्वतारोहीको चाप देखिन्छ। झन्डै ५,३०० मिटरको उचाइमा अवस्थित आधारशिविर 'टेन्टको सहर' जस्तै बन्छ।

पर्वतारोहण अभियानको तयारीका लागि शेर्पाहरू एक महिनाअगाडिदेखि जुट्छन्। सामान्य आरोहीहरू चाहिँ डेढदेखि दुई महिना सगरमाथाको आधारशिविरमा बस्छन्।

अधिकांश पर्वतारोहीहरू १० दिनको पदयात्रा गरेर आधारशिविरसम्म जान्छन्। त्यसलाई उचाइसँग अनुकूलन हुने प्रक्रियाकै अङ्ग मानिन्छ।

सगरमाथाको आधारशिविर

तस्बिर स्रोत, Reuters

अनुकूलन निकै संवेदनशील शारीरिक प्रक्रिया भएकाले त्यसका लागि पर्याप्त समय चाहिन्छ। 'हाइ अल्टिट्यूड मेडिसिन'मा विशेषज्ञता भएका डा निमा नाम्ग्याल शेर्पाका अनुसार ३,००० मिटरभन्दा माथिको भेगमा एकैदिन १,००० मिटरभन्दा माथि जानु हुँदैन र पर्याप्त विश्राम लिनुपर्छ।

"सगरमाथा चढ्नको लागि त लाखौँ रुपैयाँ खर्च गरेर आधारशिविरमा हप्तौँ बिताउने भनेकै त्यही उचाइसँग अनुकूलन हुन हो। त्यो कति महत्त्वपूर्ण हुन्छ भन्ने त्यसबाटै बुझिन्छ," डा शेर्पा भन्छन्। उनी आफैँ पनि सगरमाथा आरोही हुन्।

"त्यति मात्रैले चुचुरो पुग्ने तयारी पूरा नहुने भएर क्याम्प २, क्याम्प ३ सम्मै पुगेर त्यहाँ रात बिताएर आधारशिविर फर्केर फेरि चढ्न जाने गरिन्छ।"

समुचित अनुकूलन हुन नसक्दा बेलाबेलामा 'लेक लागेर' पर्वतारोहीहरूको मृत्यु हुने गरेको छ।

तर अनुकूलनको प्रक्रिया व्यक्तिपिच्छे फरक हुने भएकाले सबैलाई एउटै सूत्र लागु हुन्छ भन्ने नभएको विज्ञहरू बताउँछन्।

"अनुकूलनका लागि बाधक मुख्य पक्ष भनेको हुने वायुमण्डल कम मात्रामा अक्सिजन हुनु हो। हिमालमा एक वा अर्को कारणले आरोहीहरूले ज्यान गुमाउने वा घाइते हुने भए पनि त्यसको मुख्य कारण अक्सिजनसँगै सम्बन्धित हुन्छ," डा शेर्पा भन्छन्।

"समुद्री सतहमा हाम्रो शरीरले पाउने अक्सिजनसँग तुलना गर्दा आधारशिविर पुग्दा त्यसको मात्रा ५० प्रतिशत वा अझै कम भइसकेको हुन्छ। त्यति कम अक्सिजनमा शरीरलाई अभ्यस्त बनाउनु आरोहण तयारीको सबैभन्दा मुख्य पाटो हो।"

वैज्ञानिक अनुसन्धानहरूले सगरमाथाको चुचुरोमा समुद्री सतहमा शरीरले पाउने अक्सिजनको तुलनामा २० देखि ३० प्रतिशत हाराहारीमा पुग्ने देखाएका छन्। त्यसैले बोतलमा राखिने अतिरिक्त अक्सिजन लिँदै आरोहीहरू उकालो लाग्छन्।

मौसमी पूर्वानुमानहरूको मूल्याङ्कन गर्दै चुचुरो पुग्ने उपयुक्त दिन अर्थात् 'वेदर विन्डो'को पहिचान गरेर चुचुरो पुग्ने लक्ष्यको झन्डै चारदेखि पाँच दिनअघि आधारशिविरबाट आरोहीहरू अगाडि बढ्छन्।

हिमाली भेगमै जन्मेहुर्केका शेर्पा समुदायका मानिसमा अक्सिजनको मात्रा कम हुने उच्च भूभागमा अनुकूलन गर्ने विशेष क्षमता भएको अध्ययनहरूले देखाएका छन्। रक्तकोष वा हीमग्लोबिनको मात्रा बढी हुने नभई उनीहरूमा अक्सिजन ग्रहण गर्ने क्षमता बढी हुन्छ।

के सगरमाथा छिटो चढ्ने उपाय छ

छोटो समयमा समुद्र सतहदेखि सगरमाथाको शिखरसम्म यात्रा पुगेको दाबी गर्ने युक्रेनी नागरिक एन्ड्रू उशाकोफ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अमेरिकामा बस्ने युक्रेनी नागरिक एन्ड्रू उशाकोफले समुद्र सतह छोडेको चार दिनभित्र आफू सगरमाथाको शिखरमा पुगेको दाबी गरेका छन्

यसै याममा युक्रेनी मूलका अमेरिकी आरोही एन्ड्रू उशाकोफ न्यूयोर्कको समुद्री सतहदेखि सगरमाथा चुचुरोसम्म तीन दिन २३ घण्टा सात मिनेटमा पुगेको दाबी उनको आरोहण कम्पनी 'एलिट एक्स्पिड'ले गरेको छ। तर त्यसको स्वतन्त्र पुष्टि हुन बाँकी नै छ।

उशाकोभले कम अक्सिजन हुने अवस्थामा अभ्यस्त हुन विशेष तयारी गरेको दाबी गरिएको छ। उनले ४०० घण्टाभन्दा बढी समय अक्सिजन कम भएको 'हाइपोक्सिक टेन्ट' बसेको दाबी गरेका छन्।

"उनी व्यावसायिक 'एथ्लिट' समेत नहुनुले यो कीर्तिमान झनै लोभलाग्दो बनेको छ," एलिट एक्स्पिडले भनेको छ।

विगत केही वर्षदेखि चलनमा आएको 'नोर्मोब्यारिक हाइपोक्सिआ ट्रेनिङ'ले व्यस्त दिनचर्याबीच एक-दुई साता मात्र सगरमाथा क्षेत्रमा बिताएर चुचुरोमा पुग्न सकिने दाबी केही कम्पनीहरूले गरेको देखिन्छ।

तर डा निमा नाम्ग्याल शेर्पा त्यो त्यति सहज नहुने चेतावनी दिन्छन्।

"जेनन ग्यासको प्रयोगका सम्बन्धमा यस आरोहण निकै सूक्ष्म रूपमा केलाउँदै वैज्ञानिक मूल्याङ्कनको तयारी गरिएको छ। व्यावसायिक रूपमा त्यो सबैलाई सहजै उपयोगी भइहाल्ने खालको नहुन सक्छ," डा शेर्पा भन्छन्।

"व्यापक रूपमा प्रयोग आयो भने सीमित ज्ञान घातक हुने अवस्था पनि बन्न सक्छ।"

तर कतिपय छुट्टै वैज्ञानिक अनुसन्धानका लागि विगतमा समेत यस्तो आरोहण हुने गरेको बताइन्छ। यस पटकको विवादित आरोहणलाई लिएर सरकारले कस्तो निर्णय लिन्छ भनेर हेर्ने काम बाँकी नै छ।

तर जेनन ग्यासको प्रयोग वा 'नर्मोब्यारिक हाइपोक्सिआ ट्रेनिङ' तत्काल सबैले अनुसरण गर्ने विधि भने नहुनेमा विज्ञहरू एकमत देखिन्छन्।

शेर्पा आरोही र पथप्रदर्शकलाई कस्तो असर पर्ला

आरोहण अभ्यासका क्रममा शेर्पा तथा आरोहीहरू

तस्बिर स्रोत, Reuters

नेपालको पर्वतारोहण क्षेत्रका एक अगुवाले यस प्रकारका प्रयास विगत दुई दशकअघि पनि भएको र अहिले प्रविधि उन्नत हुँदै जाँदा आरोहणका लागि खर्च हुने अवधि छोटिएको बताउँछन्। विश्व पर्वतारोहण महासङ्घका वरिष्ठ उपाध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नयाँ प्रविधिलाई रोक्न पनि नसकिने र पूरै खुला छाड्न पनि नमिल्ने जटिल अवस्था यतिखेर नेपालसामु छ।

"यस्तो शैलीलाई प्रोत्साहन दिँदा हाम्रो रोजगारी नै कम हुन्छ। पर्यटकहरूको बसाइ निकै छोटिन्छ। असर त परिहाल्छ," शेर्पा भन्छन्। "तर नयाँ उपायलाई निरुत्साहित गर्न पनि भएन।"

जेनन ग्यासले साँच्चै आरोहीहरूको क्षमता अभिवृद्धि गराउँछ भन्ने देखियो र त्यसको उपलब्धता सहज भयो भने सगरमाथा चढ्न चाहनेहरूको सङ्ख्या ह्वात्तै बढ्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन।

"त्यस्तो भएमा त्यसलाई कुन रूपले व्यवस्थापन गर्ने भन्ने चुनौती उत्पन्न हुन्छ। तर सबैभन्दा चिन्ताको कुरा चाहिँ सगरमाथा आरोहणका लागि कम्तीमा दुई महिना नेपालमा बिताउनेको समय दुई-तीन सातामा झर्ने छ।"

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पा यसको सबैभन्दा ठूलो मार रोजगारी वा अर्थतन्त्रसँग भन्दा पनि पर्वतारोहण क्षेत्रको मूल्यमान्यतामा पर्ने देख्छन्।

विज्ञान तथा प्रविधिका सबै कुरा पर्वतारोहणसँग जोड्न नमिल्ने उनको धारणा छ। "खेलका रूपमा पर्वतारोहण भनेको आफ्नो शरीर कति अनुकूल हुँदै जान्छ भन्ने स्वयं ठम्याउँदै आफ्नो हिसाबले चढ्ने हो," उनी भन्छन्।

जेनन प्रयोग गरेर सगरमाथा चढ्दा नेपाल सरकारले मान्यता देला कि नदेला

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भवन

नेपाल सरकारका अधिकारीहरूले यतिखेर आफूहरूले थालेको छानबिनमा ब्रिटिश टोलीले गरेको आरोहण र जेनन ग्यासको प्रयोग प्रचलित कानुनबमोजिम भए नभएकोबारे स्पष्ट हुन खोजिरहेको बताउँछन्।

"प्रचलित कानुनको प्रतिकूल हुने गरी भएको रहेछ भने हामी छानबिन गरेर प्रमाणपत्र नदिनेसम्मका कार्यहरू गर्न सक्छौँ," पर्यटन विभागको पर्वतारोहण हेर्ने निर्देशक हिमाल गौतमले बीबीसीसँग भने।

नेपालको पर्वतारोहणसम्बन्धी नियमावलीले कुनै आरोहीले कीर्तिमान बनाउने गरी हिमाल चढिरहेको भए त्यसबारे पहिल्यै सरकारलाई जानकारी गराउनुपर्ने उल्लेख गरेको छ।

"तर हामीसँग आरोहण अनुमतिपत्र माग गर्दाको बखत र पछि पनि छोटो समयमै जेनन ग्यास प्रयोग गरेका आरोहीहरू सगरमाथा चढ्दै हुनुहुन्छ भन्ने जानकारी गराइएको थिएन," निर्देशक गौतम भन्छन्।

नेपाली अधिकारीहरू पर्वतारोहण खेलकुदलै विधा भएकाले त्यसमा 'फेअर प्ले' हुनुपर्ने धारणा राख्छन्।

खेलकुदमा शारीरिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित विभिन्न रासायनिक पदार्थ वा औषधि दुरुपयोग गर्ने प्रवृत्ति नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय निकाय 'वर्ल्ड एन्टि-डोपिङ एजेन्सी' (डब्ल्यूएडीए)ले जेननलाई प्रतिबन्धित पदार्थको सूचीमा राखेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।