चिनियाँ लसुनलाई किन एक अमेरिकी सांसदले राष्ट्रिय सुरक्षा चुनौती देखे?

अमेरिकाले वर्षेनी झण्डै पाँच लाख केजी लसुन आयात गर्छ

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन, अमेरिकाले वर्षेनी झण्डै पाँच लाख केजी लसुन आयात गर्छ
  • Author, थियो लेगट
  • Role, व्यापार संवाददाता, बीबीसी

एकजना अमेरिकी सांसदले चीनबाट आयातित लसुनका कारण देशको राष्ट्रिय सुरक्षामा पर्ने असरबारे अनुसन्धान गर्न त्यहाँको सरकारसँग माग गरेका छन्।

रिपब्लिकन सांसद रिक स्कटले वाणिज्य मन्त्रीलाई चिनियाँ लसुन असुरक्षित रहेको भन्दै पत्र पठाएका हुन्।

उनले चीनमा अस्वस्थ तरिकाले लसुन उत्पादनमा गरिने दाबी गरेका छन्।

चीन विश्वमै सबैभन्दा धेरै ताजा र चिस्यान केन्द्रमा राखिएको लसुन निर्यात गर्ने देश हो र अमेरिका त्यसको प्रमुख उपभोक्ता।

तर दुई देशबीचको व्यापारमा कैयौँ वर्षदेखि विवाद देखा पर्दै आएको छ।

अमेरिकाले लागत भन्दा पनि सस्तो मूल्यमा “फोहोर जसरी” लसुन थुपार्ने गरेको आरोप चीनलाई लगाएको छ।

कस्ता चिन्ता?

लसुन

तस्बिर स्रोत, REUTERS

सन् १९९० को दशकको मध्यदेखि अमेरिकाले चीनबाट आयात हुने सामग्रीमा उच्च कर लगाउँदै आएको छ।

उसले अमेरिकी उत्पादनलाई बजारमा प्रतिस्पर्धा गर्न सहज होस् भनेर यस्तो गरिएको बताउने गरेको छ।

सन् २०१९ मा डोनल्ड ट्रम्पको प्रशासनले यस्तो शुल्क थप बढाएको थियो।

आफ्नो पत्रमा सिनेटर स्कटले करको सन्दर्भसमेत उल्लेख गर्दै जनस्वास्थ्यमा पर्ने असरबारे चर्चा गरेका छन्।

उनले “विदेशमा त्यसमाथि पनि कम्युनिस्ट देश चीनमा फलेको लसुनको गुणस्तर र सुरक्षाका कारण जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै गम्भीर चिन्ता” व्यक्त गरेका छन्।

उनले आफ्नो चिन्तापछाडि राम्रोसँग अभिलेख भएका विवरणहरू पनि रहेको उल्लेख गरेका छन्।

जसमा अनलाइनमा राखिएका भिडिओहरू, खानासम्बन्धी ब्लगहरू र वृत्तचित्रहरू समावेश छन् र त्यसमा ढलमा लसुन रोपिएको देखाइएको छ।

उनले अमेरिकाको वाणिज्य मन्त्रालयमार्फत अनुसन्धानको कदम चाल्न माग गरेका छन्।

निश्चित वस्तुको आयातबाट देशको सुरक्षामा पर्ने असरबारे अमेरिकी कानुनअनुसार अनुसन्धान गर्न उनको माग छ।

अध्ययनहरूले के भनेका छन्?

लसुन

सांसद रिक स्कटले अध्ययन गरिनुपर्ने विभिन्न प्रकारका लसुनहरूबारे समेत उल्लेख गरेका छन्। 

“सबै किसिमका लसुनहरू, पोटी छुट्ट्याइएका वा सिङ्गै, बोक्रा छोडाइएका वा नछोडाइएका, चिस्यान केन्द्रमा राखिएका वा नराखिएका, ताजा वा फ्रोजन, प्याक गरिएका वा राखिएका,” सबै खाले लसुनबारे अनुसन्धान हुनुपर्ने उनको माग छ।

उनले खाद्य सुरक्षा अस्तित्वको आपत्कालीन अवस्थासँग सम्बन्धित रहेको र त्यसले राष्ट्रिय सुरक्षा र जनस्वास्थ्यका साथै आर्थिक समृद्धिमा पनि गम्भीर खतरा पैदा गर्ने तर्क गरेका छन्।

वैज्ञानिक विषयहरूलाई चर्चामा ल्याउने र विस्तृतमा व्याख्या गर्ने क्युबेकस्थित म्याकगिल विश्वविद्यालयको साइन्स एन्ड सोसाइटीको कार्यालयले चीनमा लसुन फलाउन मलको रूपमा ढल प्रयोग गरिने “कुनै प्रमाण नभएको” बताएको छ।

सन् २०१७ मा उक्त विश्वविद्यालयले प्रकाशित गरेको लेखमा “त्यसबारे कुनै समस्या नरहेको” उल्लेख छ।

“मानव बिस्टा पनि मलका लागि जनावरको मलमूत्र जत्तिकै प्रभावकारी छ। बाली उत्पादन गर्ने खेतबारीमा मानिसको बिस्टा लगाइनु सुन्दा राम्रो लगाने पनि त्यो तपाईँले सोचेभन्दा सुरक्षित छ,” उक्त विश्वविद्यालयको एक लेखमा भनिएको छ। 

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।