बर्ड फ्लू भारतमा फैलिन थालेपछि नेपालमा पनि चिन्ता

तस्बिर स्रोत, Press Association
नेपालको पशुसेवा विभागले भारतसँगको सीमावर्ती क्षेत्रका कुखुरापालक किसान तथा व्यवसायीहरूलाई बर्ड फ्लूबारे सचेत रहन र उच्च सतर्कता अपनाउन आह्वान गरेको छ।
भारतमा केही समययता पालिएका पक्षीहरूमा बर्ड फ्लू पुष्टि हुने क्रम बढेपछि विभागले नेपालमा पनि अनुगमन तथा निरीक्षण बढाएको हो।
तर "आजको दिन"मा नेपालभित्रै चाहिँ कतै पनि बर्ड फ्लू नरहेको विभागका महानिर्देशक उमेश दाहालले बीबीसीलाई बताएका छन्।
भारतका नौ राज्यमा बर्ड फ्लू
गत तीन महिनामा भारतका विभिन्न नौ राज्यमा बर्ड फ्लू फैलिएका कारण त्यहाँको सरकारले उच्च जोखम भएका क्षेत्रहरूमा 'सर्भिलन्स' वा अनुगमन/निरीक्षण बढाउन आह्वान गरेको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार ज्यानुअरीयता झारखण्ड, पन्जाब, तेलाङ्गाना तथा नेपालको सीमा जोडिएको बिहारमा पनि बर्ड फ्लू पुष्टि भएको छ। ती स्थानमा सङ्क्रमण रोक्न हजारौँ कुखुरा नष्ट गरिएको विवरण आएको छ।
"नेपाल, भारत, बाङ्ग्लादेशजस्ता देशमा अतिसङ्क्रामक भनिने एच५एन१ (H5N1) स्ट्रेनको बर्ड फ्लू देखा पर्ने गरेका छन्। अहिले पनि भारतमा सोही स्ट्रेनको देखा परेको रिपोर्टिङ भएको छ," दाहालले भने।
उनका अनुसार विश्व पशुस्वास्थ्य सङ्गठनको नीतिअनुरूप प्रत्येक देशले बर्ड फ्लूजस्ता पक्षीहरूमा फैलिने सङ्क्रमणबारे तत्काल र निरन्तर रिपोर्टिङ गरिरहेका हुन्छन्। "हामीले देशभित्र निरन्तर अनुगमन गरिरहेको जस्तै अन्यत्रको अवस्था पनि लगातार नियालिरहेका हुन्छौँ," उनले भने।

पोल्ट्री व्यवसायीहरू पनि भारतमा बर्ड फ्लू फैलिएका कारण आफूहरू चिन्तित भएको बताउँछन्।
"सङ्क्रमण फैलिएमा कुखुरापालक तथा व्यवसायीहरूले ठूलो क्षति बेहोर्नुपर्छ। त्यसैले अहिले हामीले किसान एवं व्यवसायीहरूलाई जागरुक बनाइराखेका छौँ। हाम्रा व्यवसायीहरू नै कतिपय नाकामा गएर सुरक्षाकर्मीहरूलाई घच्घच्याउने काम गरिराखेका छन्," नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष नारायणहरि खत्रीले भने।
नेपालमा के छ अवस्था
नेपालमा अहिले बर्ड फ्लू फैलिएको अवस्था नभए पनि फागुनको पहिलो साता सुनसरी जिल्लाको कोशी गाउँपालिकाको एउटा वडामा उक्त भाइरस फेला परेको विभागका महानिर्देशकले बताए।
"तर हामीले तदारुकताका साथ काम गरेर तत्कालै त्यहाँको सङ्क्रमण नियन्त्रण गरियो। त्यहाँ सङ्क्रमण अन्त्य भएपछि पनि हामीले सीमावर्ती जिल्लाका सुरक्षा संयन्त्रसहित सबैलाई उच्च सतर्कतामा राखिरहेका छौँ," महानिर्देशक दाहालले भने।
ती क्षेत्रका स्वस्थ्य कुखुराहरूको नमुना निरन्तर परीक्षण गरिने गरेको भन्दै उनले हरेक जिल्लामा बर्ड फ्लूसँग जुझ्न प्रमुख जिल्ला अधिकारीकै अगुवाइमा टोलीहरू रहने गरेको पनि बताए।
सीमापारि भारतबाट बर्ड फ्लू नभित्रियोस् भनेर पनि काम गरिएको उनले बताए।
"पोल्ट्री क्षेत्रमा नेपाल आत्मनिर्भर भएकाले भारतबाट खासै मासु वा अण्डा ल्याउनुपर्ने आवश्यकता छैन। तर पनि सीमाक्षेत्रमा रहेका हाम्रा २१ वटा पशु क्वारन्टीन चेकपोस्टले काम गरिरहेका छन्।"
विगतको पीडादायी सम्झना
विगतका वर्षहरूमा नेपालमा बेलाबखत बर्ड फ्लूको प्रकोप फैलिएको छ।
"यो रोग हामीकहाँ पहिले झापामा २०६५/६६ सालमा देखियो र त्यसपछि ठाउँठाउँमा फाट्टफुट्ट देखिने गरेको छ," महानिर्देशक दाहालले भने।
उनका अनुसार सत्तरी सालतिर चाहिँ खास गरी भक्तपुरमा सङ्कट नै घोषणा गर्नुपर्ने गरीकन बर्ड फ्लूको प्रकोप फैलिएको थियो।
"त्यतिखेर पूरै उपत्यका नै सङ्कटग्रस्त जस्तो भएको थियो। बर्ड फ्लू निर्मूल गर्न त्यतिखेर कुखुरा, चल्ला र अण्डा नष्ट गर्दा व्यवसायी तथा किसानका पचासौँ करोड रुपैयाँ नोक्सान भएको थियो," पोल्ट्री महासङ्घका उपाध्यक्ष नारायणहरि खत्रीले भने।
बर्ड फ्लू देखा परेका ठाउँमा स्वस्थ पक्षीहरू नष्ट गरिने हुँदा ठूलो क्षति हुने गरेको देखिन्छ।
"बर्ड फ्लू भएको रिपोर्टिङ गरेपछि सरकारी अधिकारीहरूले नष्ट गरेका हकमा ७५ प्रतिशत रकम क्षतिपूर्ति पाइन्छ। बाँकी रिपोर्टिङ नभएको बेला भएका क्षति वा किसान आफैँले नष्ट गरेको हो भने कुनै क्षतिपूर्ति पाइँदैन," खत्रीले भने।
पोल्ट्री व्यवसायको अर्थतन्त्रमा योगदान
कुखुरा, चल्ला, अण्डा र कुखुराको दाना सबैमा नेपाल लगभग आत्मनिर्भर रहेको सरकारी निकाय एवं व्यवसायीहरूले बताएका छन्। उनीहरूका अनुसार यसमा प्रत्यक्ष र अप्रत्यक्ष गरी चारदेखि पाँच लाख मानिस आबद्ध छन्।
यो क्षेत्रले देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा करिब तीन प्रतिशतको योगदान दिने गरेको महानिर्देशक दाहालले बताए।
अहिले नेपालको जीडीपी ५७ खर्ब रुपैयाँ पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्कले देखाउँछ। त्यसको तीन प्रतिशत भनेको झन्डै एक खर्ब ७० अर्ब रुपैयाँ हुन आउँछ।
"दाना बनाउने कच्चा पदार्थ अनि 'लेयर्स'को माउ कुखुराबाहेक बाँकी कुरामा हामी आत्मनिर्भर नै छौँ," खत्रीले बताए। 'लेयर' अण्डा उत्पादनका लागि पालिने विशेष खालको पोथी कुखुरा हो।
के हो बर्ड फ्लू?
बर्ड फ्लू वा एभिअन इन्फ्लुएन्जा चरा तथा अन्य केही पशुमा भाइरसबाट हुने सङ्क्रमण हो। घरपालुवा तथा जङ्गली चराहरूमा यो बेलाबेला प्रकोपको रूपमा देखा पर्ने गर्छ।
यसको कारकमध्ये मुख्य एच५एन१ (H5N1) भाइरस हो जुन् सुरुमा सन् १९९०को दशकमा चीनमा देखा परेको थियो।
मानिसलाई यसको सङ्क्रमण दुर्लभै हुने गर्छ। खास गरी सङ्क्रमित कुखुरा वा अन्य चराचुरुङ्गीबाटै भारइस सर्ने गर्छ।
बर्ड फ्लू भएर मरेका वा जिउँदै चरासँगको सम्पर्कमा आएका वा सङ्क्रमित वातावरणमा भएका संसर्गबाट मानिसहरूमा यो सर्छ।

तस्बिर स्रोत, Reuters
सन् २०२३ यता मानिसहरूमा बर्ड फ्लू देखा परेका ९५४ वटा पुष्टि भएका मामिला रहेको र तीमध्ये करिब आधाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भनेको छ। मानिसबाट मानिसमा सरेको पुष्टि भएका घटना छैनन्।
यसै वर्षको ज्यानुअरीमा अमेरिकाको लुइजियानामा एक व्यक्तिको निधन भएको त्यहाँको स्वास्थ्य विभागले जनाएको थियो।
नेपालमा पनि सन् २०१९ मा बर्ड फ्लूबाट एक जनाको ज्यान गएको घटना भएको अधिकारीहरूले बताएका छन्।
बर्ड फ्लू आफूलाई नसरोस् भन्नेमा खास गरी कुखुरापालक किसान, ओसारपसारमा संलग्न मानिसहरू तथा व्यवसायी सजग हुनुपर्ने विज्ञहरू बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।