पाकिस्तानसँग दुईवटा मामिलामा मात्र कुराकानी गर्ने मोदीको भनाइ

तस्बिर स्रोत, ANI
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानसँग उनको सरकारले केवल दुईवटा मामिलामा मात्र संवाद गर्ने बताएका छन्।
शनिवार दुई देशबीच संघर्षविरामको सहमति भएपश्चात् मोदीले पहिलो सार्वजनिक सम्बोधन गर्ने क्रममा सोमवार राति त्यसो भनेका हुन्।
एप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाममा आतङ्कवादीहरूले २६ जना पर्यटकको ज्यान लिएपछि बढेको तनावका माझ भारतले मे ७ मा पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीरमा सैन्य कारबाही गरेको थियो।
त्यसपछि करिब चार दिनसम्म दुई पक्षबीच आक्रमण र प्रत्याक्रमणका विवरण आएका थिए।
कुन मुद्दामा कुराकानी?
सोमवार आफ्नो सम्बोधनमा मोदीले अहिलेको युग युद्धको युग नभएको तर आतङ्कवादको पनि युग नभएको बताए।
"प्रत्येक आतङ्कवादको विरुद्ध शून्य सहनशीलता नै राम्रो संसारको ग्यारेन्टी हो। पाकिस्तानी सेना, पाकिस्तानको सरकार जुन आतङ्कवादलाई मलजल गर्दैछन् त्यसले एक दिन पाकिस्तानलाई नै समाप्त गरिदिनेछ," उनले भने।
पाकिस्तानसँगको संवादबारे भारतको घोषित नीति नै रहेको पनि उनले बताए।
"यदि पाकिस्तानसँग कुराकानी हुन्छ भने त्यो आतङ्कवादबारे हुन्छ। पाकिस्तानसँग कुराकानी हुन्छ भने पाकिस्तान अधिनस्थ कश्मीरबारे कुराकानी हुन्छ," उनले सम्भावित संवादका दुई विषय प्रस्ट पारे।
सङ्घर्ष 'केवल स्थगित'
भारतीय प्रधानमन्त्रीले पाकिस्तानका 'सैन्य तथा आतङ्कवादी ठेगाना'हरू विरुद्धको भारतीय कारबाही 'केवल स्थगित' गरिएको बताएका छन्।
"अपरेशन सिन्दूर अन्तर्गतका भारतीय सैन्य कारबाही अहिले केवल स्थगित भएको छ। आउने दिनमा पाकिस्तानका प्रत्येक कदमलाई यिनै कसीमा नापिने छन्," उनले भने।
चार दिनको सङ्घर्षपश्चात् शनिवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुई देशबीच संघर्षविरामको सहमति भएको घोषणा गरेका थिए।
केही बेरपछि पाकिस्तानले पनि संघर्षविराम भएको भन्दै राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएको थियो।
भारतले आफ्नो सैन्य कारबाही रोकिएको बताएको थियो। भारतले अमेरिकाको नाम भने लिएको थिएन।

तस्बिर स्रोत, Getty Images
प्रधानमन्त्री मोदीले आफ्नो सम्बोधनमा भारतले 'न्यूक्लियर ब्ल्याकमेलिङ्' वा परमाणु अस्त्र प्रयोगको धम्की नसहने पनि बताए।
दक्षिण एसियाका छिमेकी देश भारत र पाकिस्तान दुवै परमाणु शक्ति सम्पन्न छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले सोमवार भारत र पाकिस्तान बीचको तनावबारे बोल्दै दुवै देश परमाणु शक्ति सम्पन्न भएकाले उनीहरूबीचको टकराब खतरनाक साबित हुन सक्ने उल्लेख गरेका थिए।
जितको दाबी
मे १० मा दुवै देशका सैन्य कारबाही रोकिएपछि भारत र पाकिस्तानका सेनाले आ-आफ्नो जितको दाबी गरेका छन्।
भारतीय सेनाले उनीहरूको हमलामा पाकिस्तानमा रहेका एक सयभन्दा धेरै आतङ्कवादी मारिएका अनि कैयन् आतङ्कवादी शिविर नष्ट गरिएको तथा कैयन् हवाई सैन्य अखडा ध्वस्त गरिएको भनेको छ।
पाकिस्तानले चाहिँ वायु सेना तथा हवाई अड्डा लगायत भारतका २६ सैन्य प्रतिष्ठानहरूमा निसाना दागिएको बताएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।