चीनले कसरी अमेरिकी प्रविधिका गोप्य कुरा थाहा पाउँछ

अमेरिकी प्रविधि

तस्बिर स्रोत, Getty Images

  • Author, निकोलस योङ
  • Role, बीबीसी न्यूज

अमेरिकी ऊर्जा कम्पनी जेनरल एनर्जी पावरका एक जना पूर्व कर्मचारी जङ साओचिनलाई गत महिना अमेरिकामा दुई वर्षका लागि जेल सजाय भयो।

अमेरिकी नागरिक जङ पक्राउ पर्नुपछाडिको कारणमा उनले आफ्ना रोजगारदाताबाट गोप्य व्यावसायिक सूचना चोरी गरेको भन्ने आरोप थियो।

अमेरिकी कानुन मन्त्रालयका अनुसार उनले उक्त ऊर्जा कम्पनीबाट चोरी गरेका गोप्य फाइलहरू गुप्त कोडको रूपमा आफ्नो इमेलमा पठाउँथे।

'स्टेग्नोग्राफी' भनिने सूचना चोरीको यो तरिकाले अर्कै विवरणहरू राखिएका फाइलमा कोडको रूपमा गोप्य तथ्याङ्क लुकाउने शैलीलाई बुझाउँछ।

जङमाथि कैयौँ पटक महत्त्वपूर्ण तथ्याङ्क चोरी गरेको आरोप थियो।

जेनरल एनर्जी (जीई) स्वास्थ्य, ऊर्जा र हवाई क्षेत्रमा चिनिएको व्यावसायिक घराना हो। यसले रेफ्रीजेरेटरदेखि विमानका इन्जिनसम्म बनाउँदै आएको छ।

जङले चोरेको भनिएको सूचना ग्यास र बाफबाट चल्ने टर्बाइनको नमुना र उत्पादनबारे थियो। दशौँ लाख डलर पर्ने ठानिएको यस्तो तथ्याङ्क उनले यस्तो चोरीमा संलग्न अर्का साझेदारलाई चीन पठाउँथे।

यसले अन्ततः चीन सरकार र चिनियाँ कम्पनी तथा विश्वविद्यालयहरूलाई फाइदा पुग्थ्यो।

जङ संलग्न भएको घटना अमेरिकी अधिकारीहरूले अभियोजन गरेका यस्तै प्रकृतिका धेरै घटनाहरूमध्येको एउटा मात्रै हो।

व्यापारिक गोप्य सूचनाहरूको चोरी

गत नोभेम्बरमा जासुस ठानिएका चिनियाँ नागरिक शु यान्जुनलाई जीई सहित अमेरिकी हवाई र उड्डयन कम्पनीहरूको व्यावसायिक गोप्यता चोरी गर्ने प्रयास गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइयो।

आफ्नो अर्थतन्त्र र भूराजनीतिक अवस्थितिको चुनौतीलाई बलियो बनाउन चीनले गरिरहेको सङ्घर्षको एउटा पाटो प्रविधिमा भइरहेका कामबारे सूचना लिने पनि हो। अमेरिकाले भने आफ्नो शक्तिको प्रतिस्पर्धी ठानिएको चीनलाई रोक्न सक्दो प्रयास गरिरहेको छ।

समय र पैसाको कम लगानीमा प्राप्त हुने भएकाले पनि व्यापारिक गोप्य सूचनाहरूको चोरी निकै आकर्षक हुने इकोनोमिष्ट इन्टेलिजेन्स युनिटका निक मार्रोले बीबीसीलाई बताए।

गत जुलाईमा लण्डनमा व्यावसायिक घरानाका नेतृत्वकर्ता र प्राज्ञहरूसँग अमेरिकी सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईका निर्देशक क्रिस्टोफर रेले चीनले पश्चिमा कम्पनीहरूको बौद्धिक सम्पत्ति “लुटपाट” गर्न चाहेको बताएका थिए।

महत्त्वपूर्ण उद्योगहरूमा आफ्नो दबदबा कायम राख्न र आफ्नो औद्योगिक विकासलाई गति दिन चीनले यस्तो लक्ष लिएको उनको आरोप थियो।

उनले ठूला देखि भर्खरै सुरु हुन लागेका र औषधी देखि 'आर्टिफिसियल इन्टेलिजेन्स 'जस्ता सबै खाले कम्पनीहरूमा उसले जासुसी गरिरहेको हुनसक्ने भन्दै व्यवसायीहरूलाई सचेत गराएका थिए।

उक्त समय चिनियाँ विदेश मन्त्रालयका तत्कालीन प्रवक्ता जाउ लिजिएनले रेले चीन विरुद्ध “हिलो छ्यापेको र शीतयुद्धकालीन मानसिकता पालेको” आरोप लगाएका थिए।

'चीन हाम्रो हैसियत गिराउन चाहन्छ'

जङबारे न्याय मन्त्रालयको वक्तव्यमा एफबीआईका एलन कोलर जुनियरले चीनले “अमेरिकी कौशल”लाई निशाना बनाएको र विश्व नेताको अमेरिकी “हैसियत गिराउन चाहेको” आरोप लगाएका थिए।

जङ 'टर्बाइन सिलिङ' प्रविधिमा विशेषज्ञता भएका इन्जिनियर थिए उनले धेरै वटा त्यससम्बन्धी कम्पनीमा काम गरिसकेका छन्। यसरी  'टर्बाइनहरूलाई 'सिल गर्ने कार्यले तिनको आयु बढाउनुका साथै काम गर्ने क्षमता पनि थप गर्छ।

विमानमा प्रयोग हुने ग्यास टर्बाइन चीनको उड्डयन उद्योगको सबैभन्दा महत्त्वपूर्ण हिस्सा हो।

विदेशी प्रविधिमा आफ्नो निर्भरता घटाउँदै त्यसलाई अन्त्य गर्न चीनले लिएका १० वटा लक्ष्य मध्ये हवाई र अन्तरिक्षसम्बन्धी उपकरणहरू पनि हुन्।

तर चिनियाँ औद्योगिक जासुसीले अन्य क्षेत्रलाई पनि निशाना बनाइरहेको छ।

'सिलिकन भ्याली'को एउटा परामर्शदाता कम्पनीका संस्थापक रे वाङ यसमा औषधीको विकास र सूक्ष्म प्रविधि समेत पर्ने बताउँछन्।

चीन

तस्बिर स्रोत, Getty Images

फर्च्युन १०० कम्पनीको अनुसन्धान विकास हेर्ने पूर्व प्रमुखको एउटा अनुभव सुनाउँदै वाङले भने “सबैभन्दा विश्वास गरेर” उनका सन्तानसँगै हुर्काएका व्यक्ति अन्तिममा चिनियाँ कम्युनिस्ट पार्टीका तलबी भएको पत्ता लाग्यो।

“उनले मनलाई भनेका छन् कि जासुसहरू जताततै छन्,” वाङले सुनाए।

यसअघि पनि जापान, दक्षिण कोरिया, ताइवान र सिङ्गापुरबाट हुने औद्योगिक जासुसी प्रमुख चिन्ताको विषय थियो।

जब स्थानीय कम्पनीहरूले नवीन कुराहरूको उत्पादन सुरु गर्छन् उनीहरूले त्यसको बौद्धिक सम्पत्ति जोगाउन चाहन्छन्। त्यसपछि मात्रै सरकारले यस्ता विषयलाई गम्भीर रूपमा लिएर कानुनहरू बनाउन सुरु गर्छ।

“पछिल्लो दशकहरूमा चिनियाँ कम्पनीहरू सिर्जनात्मक बन्दै गएका छन् र आन्तरिक बौद्धिक सम्पत्तिको अधिकार संरक्षणका लागि फटाफट कानुनहरू बनाइएका छन्,” मार्रोले भने।

चीनले विदेशी कम्पनीहरूले प्रदान गरेका प्रविधिमा पनि विशेषज्ञता बढाउँदै लगेको छ। विशेषगरी चिनियाँ बजारमा पहुँचका लागि गरिने आदानप्रदानबाट चीनले विदेशी प्रविधिका सामग्री बनाइरहेको छ। चीन सरकारले भने आफ्नो देशमाथि लाग्दै आएका आरोपको खण्डन गर्दै आइरहेको छ। 

ह्याकिङको सम्झौता एउटा ‘ठट्टा हो’

ह्याकिङ

तस्बिर स्रोत, Reuters

'ह्याकिङ' नियन्त्रणका लागि विशेष प्रयासहरू पनि भइरहेका छन्।

सन् २०१५ मा अमेरिका र चीनले 'साइबर' को माध्यमबाट हुने बौद्धिक सम्पत्ति, व्यापारिक गोप्य जानकारी लगायत व्यावसायिक फाइदाका लागि सूचनाहरू चोरी नगर्ने एउटा सम्झौता गरे।

तर त्यसको अर्को वर्ष अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीले चीनलाई सम्झौता उल्लङ्घन गरेको आरोप लगायो। सम्झौताका बाबजुद पनि सरकारी र व्यावसायिक सूचनाहरू 'ह्याक' गर्ने प्रयासहरूमा “नाटकीय” कमी नआएको यो एजेन्सीको दाबी छ।

यसको कार्यान्वयन उल्लेख्य नभएको दाबी गर्दै वाङ यो सम्झौता एउटा ठट्टा भएको बताउँछन्।

यद्यपि सिङ्गापुरस्थित न्याशनल युनिभर्सिटीका लिम ताइ वेई यस्तो परिस्थितिबारे हालसम्म “निर्विवाद र निश्चित” अध्ययन नभएको बताउँछन्।

“कतिपयले अमेरिका विरुद्ध चिनियाँ साइबर जासुसीमा केही कमी आएको र त्यो फेरि पुरानै स्तरमा फर्किसकेको ठान्छन् अरू कतिपयले चाहिँ अमेरिका र चीनबीचको सम्बन्ध बिग्रिएका कारण सम्झौता असफल भएको विश्वास गर्छन्,” उनले भने।

यसैबीच अमेरिकाले 'सेमिकन्डक्टर' उद्योगमा चीनको प्रगतिलाई प्रत्यक्ष रोक्ने प्रयास गरिरहेको छ। स्मार्टफोन देखि युद्धमा प्रयोग हुने हतियारसम्म प्रयोग हुने यस्ता उपकरणहरूले राष्ट्रिय सुरक्षा चुनौती हुने अमेरिकी भनाई छ।

चीनलाई रोक्न नयाँ अमेरिकी नीति

अक्टोबरमा वासिङ्टनले अहिलेसम्मकै सबैभन्दा ठूलो निर्यात नियन्त्रण नियम घोषणा गर्‍यो जसअनुसार अमेरिकी प्रविधि अथवा सफ्टवेयर प्रयोग भएका 'चिप्स' हरू विश्वको जुनसुकै देशमा बने पनि चीन निर्यात गर्न कम्पनीहरूले इजाजत लिनुपर्ने भयो।

वासिङ्टनको यो नियमले निश्चित चिनियाँ कम्पनीहरूमा अमेरिकी नागरिक र ग्रीन कार्डधारीहरूलाई काम गर्न रोक लगायो। ग्रीन कार्ड भएका मानिसहरूले अमेरिकामा स्थायी बसोबास गर्न र काम गर्न पाउने अधिकार पाउँछन्।

यस्ता खाले उपायले चीनको प्राविधिक अग्रतामा केही कमी आए पनि उसको प्रविधि आपूर्ति प्रणालीमा अमेरिका र अन्य विदेशी उत्पादनहरू हटाउने प्रयासमा थप सहयोग पुग्ने मार्रो बताउँछन्।

“चीनले वर्षौँदेखि यस्तो प्रयास गरिरहेको छ तर सफलता खासै हात पारेको छैन। नियन्त्रणको अमेरिकी नीतिले अब यो झन जरुरी रहेको देखाएको छ,” उनले भने।

चीनले पनि आफ्नो राष्ट्रिय सुरक्षा मजबुत बनाउँदै लगेका कारण विश्वका दुई ठूला अर्थतन्त्रबीचको प्राविधिक कटुता थप तीव्र हुँदै जान सक्ने देखिन्छ।

तर यसको फाइदा अमेरिकाले अझै बढी लिन सक्ने वाङ बताउँछन्।