नेपालबाट भारतमा बढ्यो चियाको निर्यात, तीन महिनामा ५० प्रतिशत आम्दानी बृद्धि

चिया उद्योगमा कार्यरत महिलाहरू
तस्बिरको क्याप्शन, इलामस्थित एउटा चिया उद्योगमा कार्यरत महिला

यसपटक भारतमा नेपाली चियाको विक्री पोहोर साल भन्दा तीव्र गतिमा भइरहेको भन्दै व्यवसायीहरूले अहिलेकै परिस्थिति कायम रहे नेपालमा उत्पादन हुने झन्डै ७५ प्रतिशत सीटीसी चिया भारतमा निर्यात हुनसक्ने आशा व्यक्त गरेका छन्।

भन्सार विभागका अनुसार यो आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट भारतमा ६२ लाख ६१ हजार केजी भन्दा बढी सीटीसी चिया निर्यात भएको छ। त्यसबापत नेपालले १ अर्ब ६३ करोड रुपियाँ भन्दा बढी आम्दानी गरेको थियो।

अघिल्लो वर्ष तीन महिनाको अवधिमा ४७ लाख केजी सीटीसी चिया भारतलाई विक्री गर्दा नेपालले १ अर्ब १० करोड रुपियाँ जति आम्दानी गरेको थियो।

भारतमा चियाको उत्पादन यो साल घटेकाले नेपाली चियाको माग बढेको र त्यसले भारतीय बजारमा डेढ गुणा बढीसम्म मूल्य पाइरहेको अधिकारीहरू बताउँछन्।

तथ्याङ्कले के देखाउँछ?

नेपाली अधिकारीहरू चियाको माग बढ्दा उत्साहित देखिन्छन्

तस्बिर स्रोत, Ashok Dahal/BBC

तस्बिरको क्याप्शन, झापापछि नेपालमा सबैभन्दा धेरै चिया बगान इलाममा रहेको छ

नेपालमा झन्डै २४ हजार हेक्टरमा चिया खेती हुने गरेको छ। त्यसमध्ये सबैभन्दा धेरै उत्पादन झापा र इलाम जिल्लामा हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको एउटा तथ्याङ्कले देखाउँछ।

सीटीसी, अर्डक्स र ग्रीन टीसहित नेपालमा वर्षेनी २ करोड केजी भन्दा बढी चिया उत्पादन हुन्छ। त्यसको ठूलो हिस्सा भारतमा विक्री हुने गरेको छ।

अधिकारीहरू नेपालमा उत्पादित सीटीसी चियामध्ये लगभग ५० प्रतिशत र अर्थडक्स चियामध्ये लगभग ९० प्रतिशत भारतमा आपूर्ति हुने गरेको बताउँछन्।

अघिल्लो आर्थिक वर्षमा नेपालले १ करोड ३३ लाख केजी सीटीसी चिया भारतमा विक्री गरेको थियो। त्यसबापत नेपाली चिया निर्यातकर्ताहरूले ३ अर्ब ८ करोड रुपियाँ आम्दानी गरेका थिए।

उक्त अवधिमा झन्डै ३० हजार केजी ग्रीन टी नेपालबाट भारत पुगेको थियो। त्यसबापत नेपाली पक्षले झन्डै १२ करोड रुपियाँ आम्दानी गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ।

तर यस आर्थिक वर्षको पहिलो तीन महिनामा नै भारतीय बजारमा नेपाली चियाको माग उल्लेख्य रूपमा बढेको आँकडाहरूले देखाउँछ। पहिलो तीन महिनामा नेपालले १ अर्ब ६३ करोड रुपियाँ भन्दा बढीको ग्रीन टी र सीटीसी चिया भारतमा निर्यात गरेको थियो।

भन्सार विभागले असोज मसान्तसम्मको आँकडामा एक वर्षमा भएको कुल आम्दानीमध्ये झन्डै आधा तीन महिनामा नै भइसकेको विवरण राखेपछि यो वर्ष व्यापार अझ बढ्नसक्ने अधिकारी तथा व्यवसायीहरूले ठानिरहेका छन्।

इलामस्थित नेपालको सबैभन्दा पुरानो चिया बगान
तस्बिरको क्याप्शन, इलामस्थित नेपालको सबैभन्दा पुरानो चिया बगान

चिया बोर्डका अधिकारी र व्यवसायीहरू के भन्छन्?

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दीपक खनालले बीबीसीसँग भने, “अहिलेसम्मको तथ्याङ्क हेर्‍यो भने भारतमा चियाको निर्यात मात्राको हिसाबले ३० प्रतिशत भन्दा बढी बढेको छ। पैसाको दृष्टिकोणले ५० प्रतिशत भन्दा बढीले बढेको आँकडाले देखाउँछ। यो चियाको व्यापारमा अत्यन्तै सुन्दर दृश्य हो।”

खनालका अनुसार भारतमा चियाको उत्पादन घटेका कारण यसपाली चियाको माग बढेको हो।

उनले थपे, “विगतका वर्षमा हामीसँग चिया किन्न उनीहरूले पर्खिने, हेर्ने र सोच्ने गर्थे। यसपाली तपाईँहरूको चिया कति छ, हामी लैजान्छौँ भनेपछि दररेटमा पनि हामी फाइदामा छौँ।”

चिया व्यवसायीहरू असारयता भारतमा निर्यात हुने चियाको मूल्य डेढ गुणा भन्दा बढीले बढेको बताउँछन्।

चिया सहकारी सङ्घ लिमिटेड नेपालका अध्यक्ष हर्कबहादुर तामाङ भन्छन्, “पहिला ९० देखि सय रुपियाँ प्रतिकेजी पर्ने चिया औसतमा १६०-६५ रुपियाँ भयो। अब छठ पछाडि दर रेट कस्तो हुन्छ थाहा छैन।”

इलामको जस्बिरेस्थित चिया बगान
तस्बिरको क्याप्शन, नेपालको अर्ग्यानिक चिया अमेरिका र युरोपमा पनि निर्यात हुने गरेको छ

नेपालबाट गइरहेको सीटीसी चियाबाट भारतीय व्यवसायीहरूले एक केजीमा नै ५० रुपियाँ भन्दा बढी नाफा गरिरहेको उल्लेख गर्दै उनले यो पाली अर्थडक्स चियामा भने धेरै मूल्य नबढेको बताए।

तामाङका अनुसार मंसिर मसान्तसम्म नेपालबाट सवा सय करोड केजी सीटीसी चिया भारतमा निर्यात हुनसक्ने अवस्था छ।

उनले भने, “नेपालमा मोटामोटी २ करोड केजी सीटीसी चिया उत्पादन हुन्छ। त्यसको ५० प्रतिशत भारतमा जान्थ्यो। मूल्य पनि बढेकाले यो वर्ष १ करोड ५० लाख केजी भारतमा जान्छ जस्तो लाग्छ।”

नेपालले भारतमा कति चिया बेच्छ?

चिया

तस्बिर स्रोत, Getty Images

अघिल्लो वर्ष नेपालले १ करोड ३३ लाख केजी सीटीसी चिया भारतमा आपूर्ति गरेको थियो।

नेपालबाट विदेशमा निर्यात हुने प्रमुख १० उत्पादनहरूमा चिया पर्छ। अघिल्लो वर्ष नेपालले चियाबाट ३ अर्ब ६१ करोड रुपियाँ भन्दा बढी आम्दानी गरेको थियो।

भारतबाहेक चीन, अमेरिका र कतिपय युरोपेली देशहरू नेपाली चियाका मूख्य बजारहरू हुन्।

नेपालबाट भारत पुग्ने सीटीसी चियाको अधिकांश हिस्सा स्थानीय बजारमा नै आपूर्ति हुने व्यवसायीहरू बताउँछन्।

नेपालबाट निर्यात हुने अर्थडक्स चिया भने दार्जिलिङ चियाका रूपमा प्याकेजिङ गरेर भारतबाट तेस्रो देशमा समेत निर्यात हुने व्यवसायी र अधिकारीहरू बताउँछन्।

नेपालबाट तयारी अवस्थाको चिया नै भारतीय बजारमा पठाइने भएको भएपनि कतिपय अवस्थामा गैर कानुनी रूपमा हरियो पत्ती विक्री गर्ने गरेका समेत विवरणहरू आउने गरेका छन्।

इलामस्थित चिया बगान

भारतीय टी बोर्डका अनुसार नेपालबाट निर्यात हुने चियाका लागि भारतमा भन्सार लाग्दैन। त्यस्तो निर्यातका लागि भारतले ५ प्रतिशत एकीकृत वस्तु र सेवा कर लिने गरेको पाइन्छ।

बेला बेलामा भारतीय निकायहरूले नेपालको चियाको गुणस्तरलाई लिएर प्रश्नहरू उठाउने गरेको पाइन्छ।

उनीहरूले उत्पत्तिको प्रमाणपत्र साथै नेपालबाट निर्यात हुने चियाहरूमा विषादी नमिसिएको सुनिश्चित गर्न भारतको प्रयोगशालाबाट परीक्षण गराउनुपर्ने मागसमेत भारतीय अधिकारीहरूले राख्ने गरेको पाइन्छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सन् २०२४ को जुलाईसम्म अघिल्लो वर्षको यही अवधिको तुलनामा चिया उत्पादन करिब १४ प्रतिशतले घटेको छ। त्यसका कारण चियाको मूल्य ३० प्रतिशतले वृद्धि भएको छ।

नेपालसँग सिमाना जोडिएको पश्चिम बङ्गालमा झन्डै २१ प्रतिशतले उत्पादन घटेको र त्यसको मुख्य कारण खराब मौसम रहेको टी एशोसीएसन अफ इन्डियाले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।