मनसुन लम्बिने अनुमान, अब हुने वर्षाले बालीनालीमा कस्तो असर गर्छ

पानी पर्दा छाता ओढेर हिँड्दै गरेका एक युवक

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

  • Author, प्रदीप बस्याल
  • Role, बीबीसी न्यूज नेपाली

मनसुन पुनः सक्रिय हुने गरी विकसित नयाँ प्रणालीका कारण नेपालका विभिन्न स्थानमा मङ्गलवारदेखि शनिवारसम्म उल्लेख्य वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

मनसुन सकिन केही साता बाँकी छँदै यो वर्ष सरदरभन्दा बढी वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। नेपालमा मनसुनको अवधिमा सरदर १,४७९.७ मिलिमिटर वर्षा हुन्छ। विभागको तथ्याङ्कअनुसार असोज ७ गतेसम्म १५१२.१२ मिलिमिटर पानी परिसकेको छ।

नेपालबाट मनसुन प्रायः अक्टोबर २ (असोज १६) मा बाहिरिन्छ। तर केही विज्ञहरूले यसपालि मनसुन केही दिनले लम्बिन सक्ने सङ्केत देखिएको बताएका छन्।

तर विभागकी मौसमविद् विनु महर्जन मनसुन कति दिनले लम्बिन्छ भन्न सक्ने स्थिति नभएको ठान्छिन्। "कहिलेकाहीँ यही बेला माथिल्लो वायुमण्डलमा सिर्जना हुने पश्चिमी वायुको प्रणालीले मनसुनलाई अझ सक्रिय पार्ने सम्भावना समेत रहन्छ," उनले भनिन्।

यस वर्ष पर्याप्त वर्षा भएका कारण राम्रो रोपाइँ भएको कृषि अधिकारीहरूले बताएका छन्। तर बाली भित्र्याउने बेला पानी पर्ने चिन्तामा सर्वसाधारण किसानमा देखिन्छ।

"अहिलेसम्म यो वर्ष धान उत्पादन बढ्ने आधार देखिएको छ। तर भण्डारण नगर्दासम्म त्यसबारे स्पष्ट भन्न सकिन्न। सामान्य वर्षा हुँदा बाली भित्र्याउन ठूलो असर परिहाल्दैन," कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने।

मनसुन लम्बिने सङ्केत

काठमाण्डूमा वर्षा हुँदा सडकमा सवारीसाधन

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

मनसुन भारतको राजस्थानतिरबाट बाहिरिन थाल्छ। त्यो क्रम सुरु भएपछि नेपालमा मनसुन बाहिरिने मिति अनुमान गर्दै आइएको छ।

विज्ञहरूका अनुसार एक साता ढिलो गरी राजस्थानका केही स्थानबाट सोमवार मनसुन बाहिरिन थालेको छ। त्यसकै आधारमा नेपालमा पनि मनसुन बाहिरिने मिति सर्ने अर्थात् समग्र मनसुन केही दिनले लम्बिने अनुमान गरिएको हो।

"भारतबाट मनसुन फर्किने क्रम सुरु भइसक्यो। पश्चिमबाट त्यस्तो क्रम सुरु भए पनि नेपालमा पनि सुदूरपश्चिम, लुम्बिनी, गण्डकी हुँदै कोशीबाट बाहिरिने हो," मौसमविद् विनु महर्जनले भनिन्। यद्यपि सेप्टेम्बरपछि मनसुन खासै बलियो नहुने ठानिन्छ।

मनसुन सकिएपछि प्रायः दक्षिणपश्चिम दिशामा रहेको अरब सागरमा विकसित हुने चक्रवातसँग सम्बन्धित मौसमी प्रणालीले पनि वर्षा गराउन सक्ने मौसमविद्हरू बताउँछन्। त्यस्तो वर्षा निकै ठूलो पनि हुन सक्छ।

तर विगतमा मनसुन सकिएपछि एक महिनाको सेरोफेरोमा त्यस्तो प्रणालीको प्रभाव देखा पर्ने गरेको त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम केन्द्रीय विभागका प्रमुख दीपक अर्याल बताउँछन्।

अर्कोतर्फ सानो क्षेत्रमा वाष्पीकरणका कारण हुने वर्षा ठूलो हुँदैन र त्यसको अवधि समेत छोटो हुन्छ।

बालीनालीमा कस्तो प्रभाव

धान निफन्दै एक महिला

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, यस वर्ष समयमै रोपाइँ भएकोले धान उत्पादन बढ्ने अनुमान गरिएको छ (फाइल तस्बिर)

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्षा याममा सुरुदेखि नै पर्याप्त पानी परेका कारण धान रोप्न योग्य ९८.४ प्रतिशत ठाउँमा रोपाइँ भएको छ। "यो विगतका तुलनामा क्षेत्रफल बढेको अवस्था हो। यो वर्ष मलको अभाव पनि भएन," प्रवक्ता केसीले भने।

नेपालमा विगतका वर्षहरूमा वार्षिक औसत ५५-५६ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको थियो।

"विगतमा प्रतिहेक्टर ३.८ देखि ३.९ मेट्रिक टन धान उत्पादन हुने गरेकामा अहिले त्यसलाई नाघ्छ भन्ने हाम्रो आशा छ। किनकि धान रोपाइँमा यो वर्ष अन्य ठूला विपद् वा रोग लगाउने कीराको असर पनि देखिएको छैन।"

असारको सुरुतिरै रोपिएको गरिएको 'अगौटे धान' असोजको तेस्रो साताबाट पाक्न थाल्छ। त्यसैले मनसुन लम्बिँदा वा ठूलो वर्षा हुने अवस्थामा भित्र्याउन तयार हुन लागेको बालीमा प्रभाव पर्न सक्छ। हिउँदे तरकारी लगाउनका लागि समेत लम्बिँदो वर्षाले समस्या पर्न सक्ने बताइन्छ।

"तर असारको अन्तिममा वा साउनमा लगाइएको धानलाई भने यस्तो पानीले राम्रो गर्छ। त्यस्तो बाली भित्र्याउने काम कात्तिकसम्म पुग्छ।"

बैतडीको पाटनमा पहेँलपुर धानबाली

तस्बिर स्रोत, RSS

नेपालको मनसुनी प्रवृत्ति

सामान्यतया जुन १ तारिखतिर भारतको केरला तटमा आइपुग्ने मनसुन त्यसपछि पश्चिमतर्फ फैलिन थाल्छ। यस वर्ष नेपालमा जुन १० मा मनसुन भित्रिएको थियो।

सामान्य गतिमा भित्रिने र बाहिरिने अवस्थामा नेपालमा मनसुनको अवधि ११२ दिनको हुन्छ।

नेपालमा मनसुन कहिले भित्रिन्छ र बाहिरिन्छ?

सालआरम्भअन्त्य
२०१२जुन १६सेप्टेम्बर २८
२०१३जुन १४अक्टोबर १९
२०१४जुन २०अक्टोबर ७
२०१५जुन १३अक्टोबर ३
२०१६जुन १५अक्टोबर १२
२०१७जुन १२अक्टोबर १६
२०१८जुन ८अक्टोबर ५
२०१९जुन २०अक्टोबर १२
२०२०जुन १२अक्टोबर १६
२०२१जुन ११अक्टोबर ११
२०२२जुन ५अक्टोबर १६
२०२३जुन १४अक्टोबर १५
२०२४जुन १०
स्रोत: DHM, Nepal

तर नेपालमा सन् १९७९ मा सबैभन्दा कम अवधिको ७३ दिने मनसुन देखा परेको थियो। त्यति बेला जुन २४ मा भित्रिएर सेप्टेम्बर ४ मा मनसुन बाहिरिएको थियो।

सबैभन्दा लामो अवधिको मनसुन भने सन् २००८ मा १३० दिन देखिँदा मनसुन जुन १० मा भित्रिएर अक्टोबर १० मा बाहिरिएको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।