हमास के हो, इजरेलमा अहिले के भएको हो र अरू प्रश्न

हमासका लडाकु

तस्बिर स्रोत, AFP

प्यालेस्टिनी लडाकु समूह हमासले इजेरलमाथि अभूतपूर्व हमला गरेको छ। उक्त समूहका लडाकुहरूले गाजा स्ट्रिपनजिकै इजरेली बस्तीहरूमा प्रवेश गरी सयौँ मानिसलाई मारिदिए भने थुप्रैलाई बन्धक बनाएर लगे।

मृतकमध्ये १० नेपालीसहित विदेशी नागरिकहरू पनि छन्।

उक्त घटनामा संलग्न व्यक्ति तथा स्थान र आवश्यक सन्दर्भबारे यहाँ चर्चा गरिएको छ जसबाट तपाईँलाई यो समाचार बुझ्न सहज हुने छ।

हमास के हो?

इजरेल तनाव

हमास एउटा प्यालेस्टिनी इस्लामवादी लडाकु समूह हो। गाजा स्ट्रिपमा अहिले त्यस समूहको सत्ता छ।

हमासले इजरेलको विनाशको शपथ लिएको छ र सन् २००७ मा गाजाको सत्ता हातमा लिएयता उसले कैयौँ पटक इजरेलसँग लडाइँ गरिसकेको छ।

ती लडाइँका क्रममा उसले इजरेलमाथि रकेटहरू प्रहार गरेको छ अथवा अरू समूहलाई पनि प्रहार गर्न लगाएको छ।

इजरेलले पनि लगातारजसो हमासविरुद्ध हवाई हमलाहरू गर्दै आएको छ र इजिप्टसँग मिलेर सन् २००७ यता गाजा स्ट्रिपमाथि नाकाबन्दी गरेको छ।

हमासले आक्रमण गर्न थालेपछि सुरक्षित ठाउँतिर जाँदै इजरेली सैनिकहरू

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, हमासले आक्रमण गर्न थालेपछि सुरक्षित ठाउँतिर जाँदै इजरेली सैनिकहरू

आफ्नो सुरक्षाका निम्ति त्यसो गरेको इजरेलको दाबी छ।

इजरेल, संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र यूकेका साथै विभिन्न मुलुक समग्रमा हमासलाई अथवा केही अवस्थामा उसको सैन्य सङ्गठनलाई आतङ्कवादी समूह ठान्छन्।

हमासलाई इरानले सघाउँदै आएको छ। उसले सो समूहलाई आर्थिक सहायता उपलब्ध गराउनुका साथै अस्त्र तथा प्रशिक्षण दिँदै आएको छ।

गाजा स्ट्रिप के हो?

नक्सा

गाजा स्ट्रिप ४१ किलोमिटर लम्बाइ र १० किलोमिटर चौडाइ भएको इजरेल, इजिप्ट र भूमध्यसागरबीचको भूभाग हो।

त्यहाँ २३ लाख व्यक्तिको बसोबास छ।

विश्वका धेरै जनघनत्व भएका ठाउँमध्ये गाजा स्ट्रिप पनि एक हो।

इजरेलले गाजाको आकाश (हवाई क्षेत्र) र समुद्री तटमा नियन्त्रण गर्छ र आफूसँग जोडिएको सीमानाका भएर को आउजाउ गर्न पाउँछ अनि के सामान ओसारपसार गर्न दिने हो भन्ने कुरा इजरेलको नियन्त्रणमा छ।

त्यसै गरी इजिप्टले पनि आफूसँग जोडिएको नाका भएर को आउजाउ गर्न पाउँछ भन्ने कुराको नियन्त्रण गर्छ।

इजरेल र हमासबीच किन लडाइँ भएको हो?

हमास र इजरेलबीच निरन्तर तनाव रहिआएको छ।

तर हमासले शनिवार बिना कुनै चेतावनी इजरेलभित्र आक्रमण गर्‍यो।

हमासले इजरेलमाथि हजारौँ रकेट प्रहार गर्‍यो भने उसका लडाकुहरूले सीमामा लगाइएको तारबार हटाए अनि इजरेली समुदायमाथि अतिक्रमण गरे, सयौँलाई मारिदिए र कैयौँलाई बन्धक बनाएर लगे।

गाजामा लडाकुहरूको अखडालाई लक्ष्य बनाएर इजरेलले तत्कालै हवाई हमलाहरू शुरू गर्‍यो।

यो हमला कति अभूतपूर्व हो?

हाम्रा अन्तर्राष्ट्रिय सम्पादक जेरमी बोवन लेख्छन् - हमासले गाजाबाट सुरु गरेको यो सबैभन्दा महत्त्वाकाङ्क्षी कारबाही हो र इजरेलले एक पुस्ताको भन्दा बढी समयभित्र झेलेको यो सबैभन्दा गम्भीर सीमापार हमला हो।

लडाकुहरूले गाजा र इजरेललाई छुट्ट्याउने तारबारहरू धेरै ठाउँमा काटिदिए।

मध्यपूर्वमा ठूलो युद्ध निम्त्याउने गरी इजिप्ट र सिरियाले सन् १९७३ मा अचानक आक्रमण गरेको ५० वर्ष पुगेको एक दिनपछि यो अभूतपूर्व आक्रमण भएको हो।

हमासको नेतृत्वका लागि अहिलेसम्म त्यसको सान्दर्भिकता सकिएको छैन।

अल-अक्सा मस्जिद र टेम्पल माउन्ट

तस्बिर स्रोत, Getty Images

के यो इजरेली गुप्तचरको विफलता हो?

इजरेलको घरेलु गुप्तचर निकाय सीन बेट र उसको बाह्य गुप्तचर निकाय मोसाद तथा इजरेली रक्षा बलहरूको शक्ति एवं संयुक्त प्रयासबीच कसैले यस्तो हुन्छ भन्ने आकलन गर्न नसक्नु अनौठो हो। यदि आकलन गरिएको भए पनि ती निकाय उपयुक्त कदम चाल्न विफल भए।

इजरेलको गुप्तचर निकायलाई मध्यपूर्वको सबैभन्दा शक्तिशाली र स्रोतसाधन सम्पन्न गुप्तचर निकाय मानिन्छ।

प्यालेस्टाइनको लडाकु समूहसहित उसका गुप्तचर र सुराकीहरू लेबनन, सिरिया र अन्यत्र छन्।

गाजा र इजरेलबीचको तनावपूर्ण सीमा तारबारनजिकै क्यामरा, भुइँमा हुने गतिविधि थाहा पाउने सेन्सर र नियमित सैनिक गस्तीको कडा सुरक्षा बन्दोबस्त छ।

सीमामा लगाइएको बारमाथिको धारिलो तारलाई यस पटकको हमलामा देखिए जस्तो घुसपैठ रोक्नका लागि खडा गरिएको ‘बुद्धिमानी अवरोध’ का रूपमा कतिपयले लिएका छन्।

तर हमासका विद्रोहीहरूले त्यसलाई पार गरेका छन् र तारहरू काटेर वा समुद्रको बाटो हुँदै वा प्याराग्लाइडिङ गरेर इजरेलभित्र प्रवेश गरे।

प्यालेस्टाइन के हो र यी घटनासँग उसको के सरोकार छ?

वेस्ट ब्याङ्क र गाजा प्यालेस्टिनी भूभागको रूपमा चिनिन्छ। साथै ईस्ट जेरुसलेम र इजरेल बनेको सबै भूभाग रोमनकालदेखि प्यालेस्टाइनको रूपमा चिनिन्छ।

बाइबलमा उल्लेख गरिएअनुसार ती भूभाग यहुदी अधिराज्यहरू हुन् जसलाई यहुदीहरूले आफ्नो प्राचीन मातृभूमिका रूपमा हेर्छन्।

सन् १९४८ मा इजरेल एउटा राज्यको रूपमा घोषणा भयो। यद्यपि इजरेललाई देशको रूपमा मान्यता नदिएकाहरूले अझै त्यो भूमिलाई प्यालेस्टाइन नै भन्ने गरेका छन्।

प्यालेस्टिनीहरूले वेस्ट ब्याङ्क, गाजा र ईस्ट जेरुसलेमलाई समग्रतामा बुझाउन प्यालेस्टाइन नाम प्रयोग गर्छन्।

अब के होला?

हमासका कमान्डर मोहम्मद डेफले प्यालेस्टिनी र अरू अरबहरूलाई “इजरेली कब्जा अन्त्य गर्न” का लागि आफ्नो कारबाहीमा सहभागी हुन आह्वान गरेका छन्।

तर हाम्रा जेरुसलेम संवाददाता योल्यान्ड नेलका अनुसार वेस्ट ब्याङ्क र ईस्ट जेरुसलेममा रहेका वा अन्यत्र रहेका प्यालेस्टिनीहरूले हमास कमान्डरको यो आह्वानलाई सुन्छन् वा सुन्दैनन् भन्ने सबैभन्दा ठूलो प्रश्न रहेको छ।

निःसन्देह इजरेलले एउटा सम्भावित युद्ध देखेको छ जुन विभिन्न मोर्चाबाट सुरु हुन सक्छ।

लेबननको शक्तिशाली लडाकु समूह हिज्बुल्लाह त्यसमा संलग्न भयो भने नराम्रो अवस्था आउन सक्छ।

इजरेली सेनाले सङ्गठनभित्र व्यापक सुदृढीकरणको निर्देशन दिएको छ।

साथै गाजामा हवाई आक्रमण तीव्र पारेको इजरेलले स्थल कारबाही गर्ने योजना बनाइरहेको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्रामट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।