ठूला नेता मारिएपछि के भारतले दशकौँदेखि जारी मा‌ओवादी विद्रोही विरुद्धको लडाइँ जित्दै छ?

मृतक पतिको तस्बिर देखाउँदै महिला

तस्बिर स्रोत, AFP via Getty Images

तस्बिरको क्याप्शन, विद्रोही भएको आशङ्कामा गतवर्ष मारिएका आफ्ना श्रीमान्‌को तस्बिर देखाउँदै छत्तिसगढकी महिला
  • Author, सुभोजित बागची
  • Role, विश्लेषक

गतसाता मध्य भारतको छत्तीसगढमा भएको सुरक्षा कारबाहीमा बसवराजू उपनामले चिनिने नम्बल्ला केशव राव सहित २६ जना माओवादी नेता तथा कार्यर्ता मारिएको भारत सरकारले बताएको छ।

भारतका गृहमन्त्री अमित शाहले उक्त घटनालाई तीन दशकमा भएको माओवादीहरूको विरुद्धको "सबैभन्दा निर्णायक प्रहार" भनेका छन्। दुई पक्षबीच मुठभेडका क्रममा एक जना प्रहरी पनि मारिएका बताइएको छ।

बसवराजूको मृत्यु भारतीय प्रशासनका लागि प्राविधिक जीत भन्दा पनि ठूलो उपलब्धि हो। यो घटनाले बस्तर क्षेत्रमा माओवादीको रक्षापङ्कतिको 'अन्तिम किल्ला तोड्न' प्रशासन सफल भएको सङ्केत गर्छ।

यो जङ्गली भूमिमा सन् १९८०को दशकदेखि माओवादी विद्रोहीहरूले आफ्नो नियन्त्रण कायम राखेका थिए।

नेपालसँगको सीमावर्ती पश्चिम बङ्गाल स्थित नक्सलबारीमा सन् १९६७ मा भएको विद्रोहपछि नक्सलवादी भनेर चिनिने माओवादीहरू भारतमा गोलबद्ध हुन थालेका थिए। उनीहरूले मध्य र पूर्वी भारतका झारखण्ड देखि महाराष्ट्रसम्मका क्षेत्रमा "रेड करिडोर" नै बनाएका थिए। उनीहरूको सञ्जाल देशको एक तिहाइ जिल्लाहरूमा फैलिएको छ।

भारतमा माओवादी लडाकुहरू

तस्बिर स्रोत, AFP via Getty Images

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले उक्त विद्रोहलाई भारतको सबैभन्दा ठूलो "आन्तरिक सुरक्षा चुनौती" भनेका थिए।

सन् २००० यता उक्त सशस्त्र विद्रोहले १२,००० मानिसहरूको ज्यान लिएको दक्षिण एशियाली आतङ्कवाद सम्बन्धी एक संस्थाको अभिलेख छ। यी विद्रोहीहरू ग्रामीण क्षेत्रका गरिब जनता र आदिवासी जनजातिलाई राज्यले बेवास्ता गरेको भन्दै उनीहरूको अधिकारका पक्षमा लड्ने दाबी गर्छन्।

सन् २००४ मा दुई वटा समूह एक भएर भारतीय कम्युनिस्ट पार्टी सीपीआई (माओवादी) बनेपछि यो विद्रोहले औपचारिक स्वरूप लिएको थियो। यो पार्टीले आफ्नो वैचारिक दर्शनको मूल सन् १९४६ मा तेलङ्गनामा भएको किसान आन्दोलनसँग जोडिएको बताउने गरेको छ।

भूतपूर्व माओवादी लडाकु भन्छन्, 'हाम्रो पीडा कसले बुझ्छ र");