भारतमा माओवादी नेता बसवराजूलाई 'सिध्याउन' जीपीएसको सहयोग, नक्सलवादी आन्दोलनको भविष्यबारे प्रश्न

भारतमा नक्सलवादी विद्रोह गरिरहेको माओवादी सङ्गठनको सैन्य निकायका इन्चार्ज  बसवराजू उपनामले चिनिने नम्बल्ला केशव रावको चित्राङ्ककन

तस्बिर स्रोत, Dilleshwar Rao

तस्बिरको क्याप्शन, बसवराजू उपनामले चिनिने नम्बल्ला केशव रावको गत साता सुरक्षा कारबाहीमा मृत्यु भएको थियो
  • Author, आलोक पुतुल
  • Role, रायपुर, बीबीसी हिन्दीका लागि

भारतमा नक्सलवादी विद्रोह गरिरहेको माओवादी सैन्य आयोगका इन्चार्ज तथा पोलिटब्यूरो सदस्य बसवराजू उपनामले चिनिने नम्बल्ला केशव रावलाई भारतीय सुरक्षा बलले कसरी प्रविधिको पासोमा पारेर मारिदियो भन्नेबारे अहिले चर्चा भइरहेको छ। गत साता मध्यभारतको छत्तीसगढमा भएको कारबाहीमा उनीसहित २७ माओवादीको मृत्यु भएको थियो।

सन् २०१२ मा आधुनिक प्रविधिको बारेमा सोधिएको प्रश्नको उत्तर दिने क्रममा उनले भनेका थिए, "…जनयुद्धमा निर्णायक शक्ति प्रविधि होइन, जनता हुन्। शत्रुको आधुनिक प्रविधि या त नष्ट हुने छ या जनताको बाढीमा निष्क्रिय हुने छ।"

उनले आधुनिक प्रविधिको थप व्याख्या गर्दै माओवादीहरूविरुद्ध भूउपग्रह, जीपीएस र ड्रोनजस्ता प्रविधिको प्रयोग हुन सक्ने बताएका थिए। उक्त प्रश्नको उत्तर दिँदा बसवराजूले आधुनिक प्रविधिकै सहारामा उनको ज्यान लिइन सक्छ भन्ने कल्पना नगरेका पनि हुन सक्छन्।

ओडिशाबाट माओवादीले प्रकाशित गर्ने पत्रिका 'जनसङ्ग्राम'मा उनीसँगको प्रश्नोत्तर २०१२ को अगस्टमा प्रकाशित भएको थियो।

त्यसको करिब १३ वर्षपछि भारतीय सुरक्षा निकायले प्रविधिकै प्रयोग गरेर बसवराजू भूमिगत भएको वास्तविक ठाउँ पत्ता लगायो।

गत साता बुधवार भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले माओवादी प्रभावित क्षेत्र नारायणपुरमा भएको भिडन्तमा सीपीआई (माओवादी) प्रमुख बसवराजू मारिएको दाबी गरेका थिए।

बसवराजूलाई दुई घेरामा लगभग चार दर्जन मानिसले सुरक्षा प्रदान गरेका थिए। उनीहरूसम्म पुग्न भारतीय सुरक्षा निकायलाई सजिलो थिएन।

बसवराजूको सुरक्षाका लागि माओवादीहरूले उनी बस्ने स्थानवरिपरि तीन किलोमिटर क्षेत्रसम्म विस्फोटक पदार्थ बिछ्याउने गरेको दाबी पनि गरिने गरेको थियो।

हातमा बन्दुक बोकेर गस्ती गर्दै भारतीय सुरक्षाकर्मी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भारतमा दशकौँदेखि सुरक्षाकर्मीहरू र माओवादीबीच भिडन्त हुँदै आएको छ

कसरी पत्ता लाग्यो बसवराजू बसेको ठाउँ

भारतका गृहमन्त्री अमित शाह

तस्बिर स्रोत, Getty Images

बसवराजूको मृत्युपछि उनी कसरी मारिए भन्नेबारे फरकफरक दाबी सार्वजनिक भएका छन्। केही दिनदेखि उनको हत्याको बारेमा कैयौँ कथनहरू चर्चामा छन्। मान्छे अनुसारका दाबी सार्वजनिक भएका छन्।

"प्रहरीले उनका एक साथी नक्सलवादीको मोबाइल फोन निगरानी गर्‍यो। जीपीएसको सहयोगमा हाम्रा सैनिकहरूले भारतको सबैभन्दा खतरनाक माओवादी बसवराजू र उनका साथीहरू बसेको ठाउँ पत्ता लगाए। त्यसपछि जे भयो त्यो सबैलाई थाहा छ," छत्तीसगढका एक वरिष्ठ प्रहरी अधिकारीले नाम नखुलाउने सर्तमा बीबीसीसँग भने।

बसवराजूको मृत्युपछि छत्तीसगढमा 'के भारतमा माओवादको अन्त्यको आरम्भ भएको हो'? भन्ने प्रश्नबारे चर्चा भइरहेको छ।

राज्यका मुख्यमन्त्री विष्णु देव साईले बिहीवार पत्रकारहरूसँग कुरा गर्दै उनी मारिनुलाई ठूलो उपलब्धि भनेका थिए।

"बसवराजूको टाउकोमा तीन करोड रुपैयाँ इनाम थियो। महासचिव पदको माओवादीलाई निष्क्रिय पारिएको तीन दशकपछिको यो पहिलो घटना हो। यो ठूलो सफलता हो र यसले निश्चित रूपमा नक्सलवादलाई ठूलो धक्का दिएको छ। नक्सलवादको मेरुदण्ड भाँचिएको छ," उनले भने।

५० वर्षअघि मारिएका थिए अर्का महासचिव

जोहर उपनामले चिनिने सुब्रत दत्त

तस्बिर स्रोत, CG Khabar

तस्बिरको क्याप्शन, जोहर उपनामले चिनिने सुब्रत दत्त

भारतमा माओवादीका शीर्ष नेता मारिएको यो पहिलो घटना चाहिँ होइन।

सन् १९७२ को जुलाई २८ मा नक्सलवादी आन्दोलनका संस्थापकमध्येका एक चारु मजुमदारको प्रहरी हिरासतमा मृत्यु भएको थियो।

त्यसपछि उक्त सङ्गठनले ठूलो चुनौतीको सामना गर्‍यो।

त्यही समयमा बङ्गाल र अन्य राज्यहरूमा कैयौँ नक्सलवादी सङ्गठनका सदस्यहरू प्रहरीसँगको भिडन्तमा मारिएका थिए।

सन् १९७५ को नोभेम्बर २९ मा बिहार राज्यस्थित भोजपुरको बाबु बाँध क्षेत्रमा प्रहरीले जोहर उपनामले चिनिने सुब्रत दत्तलाई मारिदिएको थियो। उनी सङ्गठनका महासचिव थिए।

त्यसको करिब ५० वर्ष बितिसक्दा भारतमा नक्सलवादी सङ्गठनको नामसँगै यसको शैली पनि परिवर्तन भएको छ।

विभिन्न दस्ताबेजहरूका अनुसार ५० वर्षअघि जोहरको मृत्यु हुँदा पनि आन्दोलनको अनिश्चितताबारे प्रश्न उठेको थियो।

तर त्यतिबेलाका प्रश्न र उत्तरहरू स्पष्ट रूपमा फरक थिए। आज "सबैभन्दा ठूलो आन्तरिक चुनौती" घोषित नक्सलवादी आन्दोलनले सामना गरिरहेका प्रश्नहरू उस्तै हुन सक्छन्, तर उत्तरहरू धेरै परिवर्तन भएका छन्।

गत वर्ष माओवादीविरुद्ध सञ्चालित कारबाहीमा २८७ लडाकुको (अधिकांश छत्तीसगढमा) मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ। सन् १९६० को दशकदेखि अहिलेसम्म १०,००० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको ठानिन्छ।

भूतपूर्व माओवादी लडाकु भन्छन्, 'हाम्रो पीडा कसले बुझ्छ र");