हिन्दूवादी भाजपासँग किन सम्बन्ध बढाउन चाहन्छन् प्रचण्ड

तस्बिर स्रोत, @BJP4India
- Author, शरद केसी
- Role, बीबीसी न्यूज नेपाली
सत्ताधारी भारतीय जनता पार्टी (भाजपा)को निम्तोमा नेपालको सत्ताधारी नेकपा माओवादी केन्द्रका नेताहरू भारत भ्रमणमा जान लागेको पुष्टि माओवादी नेताहरूले गरेका छन्।
भाजपा अध्यक्ष जगत प्रकाश (जेपी) नड्डाले त्यो सूचना गत हप्ता दिल्लीमा सार्वजनिक गरेका समाचारहरू आएका थिए।
उनले विभिन्न १२ वटा देशका कूटनीतिक नियोग प्रमुखहरूसँगको अन्तर्क्रियामा त्यस्तो जानकारी गराएका समाचारहरूमा उल्लेख छ।
माओवादी विदेश विभागका उपप्रमुख राम कार्कीले त्यसबारे आफूलाई औपचारिक जानकारी नभएको बताउँदै ‘गाइँगुइँ हल्ला सुनेको’ बताए।
तर उपाध्यक्ष पम्फा भुसालले भाजपाको निम्तो आएको पुष्टि गरिन्। उनका अनुसार अध्यक्ष नड्डाको निम्ता भाजपा विदेश विभाग प्रमुखको पत्रमार्फत् आएको छ।
को-को कहिले जाँदै छन्?
भ्रमण तालिका अझै निश्चित हुन बाँकी रहेको बताउँदै उनले भनिन्, “साउनको तेस्रो हप्ता हुनसक्छ भन्ने छ।”
माओवादी नेताहरूले प्रतिनिधि मण्डलको नेतृत्व उपाध्यक्ष भुसालले नै गर्ने सम्भावना औँल्याएका छन्।
तर स्वयम् भुसालले भारत जाने नेताहरूबारे छलफल भइरहेको बताइन्। टोलीमा ५-६ जना नेताहरू हुनसक्ने उनको भनाइ छ।

तस्बिर स्रोत, @BJP4India
माओवादी कतिपय नेताहरूका अनुसार हालसम्म भारत जानेमा चक्रपाणि खनाल, रामेश्वर राय यादव र सत्या पहाडी लगायतका नेताहरूको नाम चर्चामा छन्।
एक माओवादी नेताले भने, “उहाँहरूको नाम करिब पक्का जस्तै छ। भाजपाले नै थप उच्च नेताहरूको अपेक्षा गरेमा वा पार्टीमा आउने प्रतिक्रियालाई लिएर इच्छा वा अनिच्छा देखाइएमा नाम थपघट वा हेरफेर हुन सक्छ।”
नेता यादवले पनि आफू हालै मात्र जिल्लाबाट फर्किएको र भ्रमणबारे औपचारिक जानकारी नभएको बताए।
भ्रमणको उद्देश्य र आशङ्का
भाजपाले पार्टीबारे जानकारी दिने कार्यक्रम चलाइरहेको छ। माओवादी केन्द्रकी उपाध्यक्ष भुसालले भनिन्, “भाजपाबारे बुझ्ने कार्यक्रम हो। विश्वकै सबैभन्दा धेरै सदस्य रहेको ठूलो पार्टी हो।”
त्यस क्रममा यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भाजपा मुख्यालयको भ्रमण गरिसकेका छन्।
भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले यसलाई सामान्य रूपमा लिनुपर्ने विचार राखे। उनले भने, “दुवै देशका सत्ताधारी दलले सम्बन्ध स्थापित र सुधार गर्न खोज्नु दुवै देशको हितमा हुन्छ, त्यो राम्रै हुन्छ।”


हालसालै प्रधानमन्त्रीका रूपमा भारत जाँदा प्रचण्डले महाकालेश्वर मन्दिरमा गरेका पूजा अर्चनाले चर्को बहस निम्त्याएको थियो। भारतबाट आएको लगत्तै उनले पशुपतिनाथको पनि दर्शन गरे।
प्रचण्डका ती गतिविधि माओवादीभित्रै आलोचनाको विषय बनेको थियो। आलोचक एक नेता लेखनाथ न्यौपानेले ‘लुकेको कुनै उद्देश्य छैन भने छिमेकी देशका सत्तारुढ दलले एक अर्कालाई निम्ता दिने, भ्रमण गराउने, अनुभव साझेदारी गर्ने कुरा सामान्य र औपचारिक भएको’ टिप्पणी गरे।
तर व्यङ्ग्यात्मक शैलीमा उनले भने, “अलिकति हाम्रो वर्गीय रङ्ग उड्दै जाँदा पनि त्यो वातावरण बन्यो होला।”
प्रचण्ड परिवर्तन हुँदै?
महाकालेश्वको दर्शन र त्यहाँको जल पशुपतिनाथमा चढाएको भन्दै उनले त्यो कुरा भाजपासँग सहकार्य गर्दा यहाँको जनमत र चुनावलाई सकारात्मक प्रभाव पार्न सकिन्छ भन्ने मनोविज्ञानसँग सम्बन्धित रहेको बुझाइ सुनाए।
“त्यो घोषित नीति र सिद्धान्त विपरीतको गतिविधि हो, किन भने द्वन्द्वात्मक भौतिकवाद र दर्शन मान्ने पार्टी हो, तर अनि सामान्य आस्थाको मात्र कुरा रहेन, पुण्य प्राप्त हुन्छ भन्ने विश्वासमा गएको बुझिहालियो”, नेता न्यौपानेको भनाइ छ।

पूर्व राजदूत उपाध्यायले प्रचण्डका गतिविधिप्रति लक्षित गर्दै परिवर्तन भइरहेको टिप्पणी गरे।
“नेपालमा धर्म अफिम हो भन्दै धर्म नमान्ने स्कुलिङ अझै छ तर भारतमा महाकालेश्वर मन्दिरको डेकोरम (प्रचलन) पछ्याउँदै मजाले पीताम्बर लगाएर, निधारमा चन्दन घसेर, हात जोडेर पूजा पाठमा संलग्न भए, पछि पशुपति दर्शन गरे”, उपाध्याय भन्छन्, “धर्म, अधर्म अनि आध्यात्मिक चेतनाको प्रस्फुटनलाई त म राम्रै मान्छु, स्कुलिङ जे भए पनि व्यवहारिक रहेछन् भन्ने पनि पर्यो होला।”


माओवादीका नेताहरू अहिले पनि चिनियाँ कम्युनिस्ट पार्टीसँग सहकार्यमा देखिन्छन्। नेताहरू पनि बारम्बार चीन भ्रमणमा गइरहेको पाइन्छ।
तर पूर्व राजदूत उपाध्याय कहिले दक्षिण त कहिले उत्तरतिर ढल्किँदा समस्या हुने बताउँछन्। उनी भन्छन्, “कूटनीतिमा परिपक्वता र गाम्भीर्य जरुरी हुन्छ, सम दूरीमा राख्न सक्नु पर्छ।”
माओवादी र हिन्दूवादीबीच कस्तो सम्बन्ध?
सशस्त्र विद्रोहको पृष्ठभूमिका कतिपय कट्टर माओवादी नेताहरू चिनियाँ कम्युनिस्ट पार्टीले समेत माओवादी सिद्धान्त परित्याग गर्दै गएको ठान्ने गर्छन्।
सिद्धान्तत: कम्युनिस्ट पार्टीहरूले वर्ग विश्लेषण गर्ने र कसले कुन वर्गको प्रतिनिधित्व गर्छ भन्ने आधारमा ऊसँगको सम्बन्ध निर्धारण गर्ने गर्छन्।
यस्तो दल नेकपा माओवादी केन्द्रको नजरमा हिन्दूवादी दल भाजपा सहकार्य गर्न लायकको दल हो?

तस्बिर स्रोत, @BJP4India
“सिद्धान्त र वर्ग विश्लेषणको कोणबाट हामीले भाजपासँग सहकार्य गर्ने कुनै गुन्जाइस हुँदैन”, नेता लेखनाथ न्यौपाने भन्छन्, “तर छिमेकी सत्तारुढ पार्टीसँग छुवाछुतकै तहमा व्यवहार गर्ने भन्न हुँदैन, यसलाई विशुद्ध व्यवहारमा सीमित गर्नुपर्छ जस्तो लाग्छ।”
तर लेखक तथा माओवादीका पूर्व नेता ऋषिराज बराल प्रचण्डको दलले माओवादको आदर्श छोडिसकेको भन्दै भाजपा मुख्यालय भ्रमण योजना अस्वाभाविक नभएको टिप्पणी गरे।
‘भारतीय सत्तालाई सिधै भन्दा उसलाई सञ्चालन र नेतृत्व गर्ने भाजपालाई खुसी पार्दा लाभ हुने बुझाइ’ नेपाली नेताहरूमा देखिएको उनको भनाइ छ।
भाजपाको चरित्र र नेपाली दलको व्यवहार
उनले भने, “अहिले आफ्नो कुर्सीको आयु लम्ब्याउन र शान्ति प्रक्रिया छिटोभन्दा छिटो टुङ्ग्याउन भारतको सहयोग मिलोस् भन्ने प्रचण्डको उद्देश्य देखिन्छ।”
प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा गएका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाजपाको मुख्यालय भ्रमण गरेका थिए।
विपक्षी दलका नेतालाई नभेटेको र प्रधानमन्त्री पहिलो पटक कुनै दलको कार्यालयमा गएको भन्दै उनको आलोचना भएको थियो।
भाजपाले भारतलाई हिन्दू राष्ट्र बनाउने खोजिरहेको भन्दै अन्य दलहरूले आलोचना गर्दै आएका छन्।

तस्बिर स्रोत, @BJP4India
भारतमा संसदीय अभ्यासमा रहेका वामपन्थी पार्टीहरूले समेत निश्चित सीमामा राखेर भाजपासँग सम्बन्ध राखेको उल्लेख गर्ने लेखक बरालका दृष्टिमा भाजपा ‘अति फासिवादी, हिन्दूवादी र अल्पसङ्ख्यक तथा फरक धारणा राख्नेहरूमाथि दमन गरिरहेको’ पार्टी हो।
उनी भन्छन्, “त्यसैले एउटा माओवादको आवरण र इतिहास बोकेको पार्टीले भाजपा नेतृत्वको सत्ताले भारतीय जनतामाथि गरेको दुर्व्यवहार, असमानता वा निरङ्कुशताको कोणबाट पनि हेर्नु त पर्ने हो, तर माओवादको सामान्य मूल्य छोडिसकेपछि कुनै अर्थ रहेन।”
हिन्दूत्वको अगुवाइ गर्दै प्रचण्ड?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको अमेरिका भ्रमणका बेला त्यहाँ एउटा पक्षबाट भारतमा उनको शासकीय व्यवहारसँग जोडेर उनलाई अमेरिकामा गरिएको स्वागतमाथि प्रश्न उठाएको पाइएको थियो।
पछिल्ला गतिविधिलाई लिएर कतिपयले हिन्दूवादी मोदी र उनको दलसँग प्रचण्डले सहकार्य बढाउन चाहेको ठानिरहेका छन्।
त्यसबाट नेपालमा हिन्दू राष्ट्रका पक्षपातीलाई उत्साहित तुल्याउने एक थरीको विश्लेषण पाइन्छ।
लेखक ऋषिराज बराल त प्रचण्डले हिन्दूत्वको मुद्दा बोक्न खोजेको ठम्याइमा छन्।

तस्बिर स्रोत, RSS
“तिमीहरूले भनेको हिन्दूत्वको प्रतिनिधित्व म आफैले गरिहाल्छु, किन अरूलाई समाउँछौ, भनेर आश्वस्त पार्ने सिवाय प्रचण्डको अरू स्वार्थ छैन”, उनले ठहर सुनाए।
तर माओवादी नेता न्यौपानेले पछिल्ला घटनालाई जोडेर अहिल्यै त्यो निचोडमा पुग्न नसकिने बताउँछन्।
उनी भन्छन्, “अहिले नै त्यो एउटा शृङ्खलाको रूपमा विकास भइसक्यो भन्न अलिक हतार हुन्छ। त्यता तिर जाँदा पनि परिपक्व आधार निर्माण गरिसकेको स्थिति होइन।”