हरेक वर्ष नागरिकता त्याग्ने नेपालीको सङ्ख्या किन बढिरहेको छ?

नेपाल नागरिकता
  • Author, अशोक दाहाल
  • Role, बीबीसी न्यूज नेपाली

पछिल्लो १० महिनामा मात्रै १,२२५ जनाले नेपाली नागरिकता त्याग गरेको गृह मन्त्रालयले जनाएको छ।

गत साउनमा सुरु भएको यो आर्थिक वर्षको १० महिनामा देशभरिका जिल्ला प्रशासन कार्यालयहरूबाट नागरिकता त्याग गर्नेहरूको सङ्ख्या अघिल्लो वर्षको भन्दा पाँच गुणाले बढी छ।

अघिल्लो आर्थिक वर्ष नेपाली नागरिकता त्याग गर्ने २३७ जना थिए।

पछिल्लो समय अन्य देशहरूमा बसाइ सराइका साथै वैदेशिक रोजगारी र अध्ययनका लागि गएर स्थायी बसोबास गर्ने नेपालीहरूको सङ्ख्या बढ्दै गएको छ।

अध्यागमन कार्यालयका अनुसार सन् २०२३ मा झन्डै ७१ हजार नेपालीहरूले स्थायी बसोबासको अनुमति पत्र (पीआर) लिएर नेपालबाट विदेश गएका थिए। नेपालीहरू पीआर लिएर १०९ वटा देशमा पुगेका एउटा सरकारी आँकडाले देखाएको छ।

नेपालीहरूसँग दक्षिण एशियाका भुटान, बाङ्ग्लादेश, पाकिस्तान र श्रीलङ्कासहित विभिन्न देशका पीआर छ
तस्बिरको क्याप्शन, नेपालीहरूसँग दक्षिण एशियाका भुटान, बाङ्ग्लादेश, पाकिस्तान र श्रीलङ्कासहित विभिन्न देशको पीआर छ

गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराई गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएपछि नेपाली नागरिकता त्याग गर्नेको सङ्ख्या बढेको बताउँछन्।

“गत वर्ष गैर आवासीय नेपाली नागरिकता थिएन। यो वर्षबाट दिन थालियो। एनआरएनले नागरिकता लिन पहिलेको नेपाली नागरिकता त्याग गर्नुपर्छ। त्यस कारण पनि नागरिकता त्याग गर्नेहरूको सङ्ख्या बढी देखिएको हो,” भट्टराईले भने।

“शत प्रतिशत त होइन। तर पछिल्लो पटक नेपाली नागरिकता त्याग्ने अधिकांशले एनआरएन नागरिकता लिएका छन्।”

नयाँ संविधान अनुसारको नागरिकता ऐन बनेपछि गत वर्ष असोज ३० गतेबाट नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको थियो।

कतिले लिए गैरआवासीय नेपाली नागरिकता

गैर आवासीय नागरिकताधारीहरू

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, गैरआवासीय नागरिकताधारीहरूले नेपाल आउँदा भिसा लगाउनु पर्ने गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका अधिकृत नारायण खत्रीका अनुसार विगत १० महिनामा २,५५४ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन्।

गृह मन्त्रालयले विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट नागरिकता त्याग गर्ने र गैरआवासीय नेपाली नागरिकता लिनेहरूको सङ्ख्या अद्यावधिक हुने क्रममा रहेकाले त्यस्तो सङ्ख्या अझै बढी हुनसक्ने जनाएको छ।

यसअघि गृह मन्त्रालयले सबैभन्दा धेरै गैरआवासीय नेपाली नागरिकता काठमाण्डूबाट जारी भएको जनाएको थियो। गैरआवासीय नेपालीहरूले आफ्नो पुरानो नेपाली नागरिकता जारी भएकै जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता लिनुपर्ने नियम छ।

नागरिकता त्याग गर्न पनि सम्बन्धित जिल्लामै प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था रहेको गृह मन्त्रालयका प्रवक्ता भट्टराई बताउँछन्।

नागरिकता त्याग गर्ने प्रक्रिया के छ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

तस्बिर स्रोत, MOHA

नेपाल नागरिकता नियमावलीमा नागरिकता त्याग सम्बन्धी कार्यविधि तोकिएको छ। जस अनुसार नेपालमा भएका नागरिकले जिल्ला प्रशासन कार्यालय र विदेशमा भएकाले नेपाली दूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिनुपर्ने व्यवस्था छ।

गृह मन्त्रालयका अनुसार अधिकांश नेपालीहरूले जिल्ला प्रशासन कार्यालयबाटै नागरिकता त्यागको प्रक्रिया अघि बढाउने गरेका छन्।

यस्तो निवेदनसँगै आफूले प्राप्त गरेको नेपाली नागरिकताको सक्कलप्रति पनि बुझाउनुपर्छ।

प्रमुख जिल्ला अधिकारीले नागरिकता त्याग सम्बन्धी सूचना दर्ता किताबमा राखेपछि नेपाली नागरिकता समाप्त हुने नियम छ।

किन धेरै नेपालीहरूले देश छोडिरहेका छन्?

काठमाण्डू

तस्बिर स्रोत, RSS

नेपालमा श्रम र आप्रवासनको अध्ययन गर्दै आएका जीवन बानियाँ नेपालबाट बर्सेनि ठूलो सङ्ख्यामा मानिसहरू बाहिरिने क्रम तत्काल रोकिने सम्भावना नदेखिएको बताउँछन्।

“जुन तरिकाले हाम्रो बजेट बनिरहेको छ। आर्थिक वृद्धि नै ४ अङ्क हाराहारीको मात्रै छ। ऋण र अनुदानमा हाम्रा परियोजना निर्भर छन् त्यस कारण केही समय लाग्छ एक दशकमा पनि गाह्रै होला जस्तो लाग्छ मलाई,” सोसल साइन्स बहाको सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटीका उपनिर्देशक बानियाँ भन्छन्।

नेपालले वार्षिक एक लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राख्ने गरेको भए पनि अन्तर्राष्ट्रिय श्रम सङ्गठनको एक अध्ययनले वार्षिक पाँच लाख युवाहरू श्रम बजारमा आउने गरेको देखाएको छ।

“हामीसँग जति युवाहरू श्रम बजारमा छन् त्यति रोजगारी हाम्रो श्रम बजारमा नहुनु नै प्रमुख कारण हो,” युवाहरू बिदेसिनुको कारणबारे बानियाँ भन्छन्।

बानियाँका अनुसार नेपालमा रोजगारी भए पनि जीविकोपार्जनका लागि पर्याप्त नभएका कारण पनि मानिसहरू विदेशिनेक्रम देखिन्छ।

“कतिपय ठाउँमा तलब कम हुँदा पनि सामाजिक सुरक्षा राम्रो हुँदा मानिसहरू बिदेसिने क्रम अलि कम हुन्छ। तर हाम्रोमा त्यसको पनि अभाव छ,” उनी भन्छन्।

नेपाली समाजले विदेशमा जाने कुरालाई पछिल्लो समय सामाजिक प्रतिष्ठाको विषय पनि बनाएको बानियाँको भनाई छ।

“पछिल्लो समय युरोप, अमेरिका र अस्ट्रेलिया जाने विषय सामाजिक प्रतिष्ठाको विषय बनेर आयो त्यसलाई परिवारले पनि प्रतिष्ठा ठान्ने अवस्था भयो,” उनी भन्छन्।

“हामीले गरेको अध्ययनहरूमा छिमेकबाट पनि गएको छ, साथी पनि गएको छ त्यसकारण म पनि जानुपर्छ भनेर पनि मानिसहरू विदेश गइरहेको देखिन्छ।”

अस्थायी बसोबासको अनुमतिपत्रसहित विदेश गएका मानिसहरूको सङ्ख्या

आप्रवासनबारे अध्ययन गरिरहेका बानियाँ 'नेपालमै केही हुन्छ भन्ने आशा मानिसहरूले गुमाउँदै गएका कारण पनि बिदेसिने क्रम बढेको' बताउँछन्।

गन्तव्य देशहरूको नीतिमा पनि यसले फरक पार्ने विज्ञहरूको भनाई छ। नेपालबाट स्थायी बसोबासका लागि खाडी राष्ट्र, चीन, कोरिया भन्दा युरोप, अमेरिका, क्यानडा र अस्ट्रेलिया जाने क्रम धेरै देखिएको बानियाँ बताउँछन्।

“गन्तव्य देशहरूमा सिर्जना हुने अवसर, भिसा नीतिले पनि भूमिका खेल्छ,” उनी भन्छन्।

नेपालका जिम्मेवार निकायहरूले मानिसहरू देश छोडेर बाहिरिने क्रम रोक्नका लागि आवश्यक रणनीतिहरू बनाउन नसकेको बानियाँको भनाई छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।