'बिदा हैन, सबैतिर सुरक्षित आकाशबारे कुरा हुनुपर्छ'

तस्बिर स्रोत, RSS
सरकारले यती एअरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान दुर्घटनामा ज्यान गुमाउनेहरूको शोकमा सोमवार देशभरि सार्वजनिक बिदा दिएको छ। तर उक्त निर्णयको सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ।
धेरै फेसबुक तथा ट्विटर प्रयोगकर्ताहरूले शोक बिदालाई “भावनात्मक निर्णय”को सङ्ज्ञा दिएका छन्। त्यस्तै कतिपयले बिदा दिनुको साटो हवाई सुरक्षा जाँच तथा नियमनमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
राजनीतिकर्मी रञ्जु दर्शनाले आजको शोक बिदाजस्तै “पुराना, बिग्रेका विमानहरू बिदा गर्ने दिन मनाउन” सरकारलाई सल्लाह दिएकी छन्।
“अझै कति दुर्घटना, कति मानिसको ज्यान गुम्नुपर्ने हो नेपालको हवाई यात्रा सुरक्षित बनाउनको लागि?” उनले फेसबुकमार्फत् प्रश्न गरेकी छन्।
हवाईयात्रालाई सुरक्षित बनाउन नेपाल सरकारको ठूलो उद्देश्य हुनुपर्ने उनको धारणा छ।
उनले नयाँ सरकारमा समाविष्ट नयाँ दल र नेतृत्वप्रति आशा व्यक्त गर्दै हवाई क्षेत्रमा व्यापक सुधार र रूपान्तरणको आग्रह गरेकी छन्।
उस्तै मत राखेकी छन् पोलिटिकल लिटरेसी फर विमिनकी अध्यक्ष प्रकृति भट्टराईले। उनले शोक बिदाको औचित्यमाथि प्रश्न गर्दै भनेकी छन्: “आज हरेक कक्षा कोठा, कार्यालय, चिया पसल, चौतारामा असुरक्षित आकाशबारे कुरा हुनुपर्छ।
"यतिबेला बिदा हैन, झन् अनुसन्धान तीव्र हुनुपर्ने हो। सबै एअरलाइन्सका जहाजहरूमाथि छानबिन हुनुपर्ने हो। प्रत्येक जहाजको निरीक्षण हुनुपर्ने हो।"
भट्टराईले शोक बिदा र झण्डा झुकाउने निर्णय नभई समस्या समाधान गर्ने नेतृत्वको आवश्यकता रहेको मत राखेकी छन्।
दुर्घटनापछि आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाबारे छानबिन गर्न एउटा आयोग गठन गर्दै वायुसेवाहरूलाई आन्तरिक उडानमा रहेका विमानहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको थियो। उक्त कार्यको अनुगमनको जिम्मा नागरिक उड्डयन प्राधिकरणले पाएको छ।
उक्त दुर्घटनापछि यती एअरका बाँकी जहाजलाई सञ्चालन गर्नुअघि पुनः परीक्षण गर्न निर्देशन दिइएको क्यानका प्राधिकरणले प्रवक्ता जगन्नाथ निरौलाले बीबीसीलाई बताए।
"त्यसपछि हाम्रा केही जाँच सूचीहरू छन्, मङ्गलवार त्यो सरर्र हेरेर उडान गर्न दिन्छौँ," उनले भने।
शोकमा 'वर्गीय विभेद'
केहीले भने शोक बिदासमेत "वर्गीय" भएको आरोप लगाएका छन्।
पत्रकार विराट अनुपमले बिदालाई कम्युनिस्ट सरकारको "वर्गीय विभेद" अन्त्य गर्ने "ओपन फर्मूला"को सङ्ज्ञा दिँदै लेखेका छन्: “बहुसङ्ख्यक विपन्नले यात्रा गर्ने सडकमा हुने सवारी दुर्घटना बिदा हुँदैन। बहुसङ्ख्यक पैसावालाले यात्रा गर्ने आकाशमा हुने हवाईजहाज दुर्घटनामा बिदा हुन्छ। अनि बिदा दिने सरकारमा चाहिँ देशका दुई ठूला कम्युनिस्ट दलहरू छन्।“
अर्का ट्विटर प्रयोगकर्ता प्रमित आचार्यले “रोगव्याधि, महामारीभन्दा बढी सडक दुर्घटनाले मानिसको ज्यान लिने तथ्याङ्क भए पनि सरकार, मिडिया, निजी क्षेत्र तथा अन्य कसैले पनि सडक दुर्घटनालाई कहिल्यै गम्भीर मुद्दा वा समस्याका रूपमा नहेरेको” धारणा राखेका छन्।
उनले व्यङ्ग्यात्मक शैलीमा लेखेका छन्, "वर्ग बडो ठूलो कुरा हो।”
मिलन देवकोटाले लेखेकी छन्, "हवाईयात्रामा ज्यान गुमाउनेहरूको नाममा शोक बिदा तथा राष्ट्रिय झण्डा आधा झुकाउने। सडकयात्रामा ज्यान गुमाउनेहरूको नाममा मात्र श्रद्धाञ्जलिको वक्तव्य।"
उनले यसलाई सरकारको विभेदको रूपमा मानेकी छन्।
कार्टुनिस्ट रवि मिश्रले बिदाको साटो “यो समयमा दुर्घटनाका कारण र समाधान खोतल्न लगाउनुपर्ने” विचार राखेका छन्। उनले ट्विटरमा लेखेका छन्: “मान्छेलाई शोकै मनाउन सुविधाजनक समय चाहिन्न, सरकारजी!”
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
सरकारको प्रतिक्रिया के?
यस्ता आलोचना र सुझावहरूबारे गृह मन्त्रालय जानकार रहेको तर यस विषयमा कुनै समीक्षा भइनसकेको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए।
“यो निकै ठूलो दुर्घटना भएकाले दुःख व्यक्त गर्न बिदा दिइएको हो। यद्यपि सरकारले अत्यावश्यक सेवामा रोक लगाएको छैन,” पोखरेलले बीबीसीसँग भने।
बिदाका कारण सुरक्षा, स्वास्थ्य, सुरक्षा, खानेपानी, बिजुलीलगायत अत्यावश्यक सेवा तथा सुविधाहरू प्रभावित नभएको उनको दाबी छ।
यद्यपि यस्ता अप्रत्याशित बिदाले देशको अर्थतन्त्रमा व्यापक असर गर्ने विज्ञहरू बताउँछन्।

तस्बिर स्रोत, RSS
अर्थतन्त्रमा कस्तो प्रभाव?
अनावश्यक बिदा हुँदा विशेषगरी सार्वजनिक क्षेत्रको अर्थतन्त्रमा प्रतिदिन करिब १८ अर्ब रुपैयाँजतिको हानि हुने प्राध्यापक डा. अच्युत वाग्लेले बीबीसीसँग बताए।
"देशमा झन्डै ३६ लाख मानिसले सक्रिय रूपमा काम गर्ने आकलन छ। बिदा हुँदा अधिकांश मानिसले काम गर्दैनन् र उत्पादकत्व शून्य हुन्छ। त्यसको देखिने असर आर्थिक पाटोमा पर्छ। परोक्ष असरको त हिसाब गर्नै गाह्रो हुन्छ," उनले भने।
शोक बिदा "क्षणिक आवेग तथा भावनात्मक निर्णयको परिणाम" भएको उनको बुझाइ छ।
“भावनात्मक निर्णय लागु हुनु हुँदैन। किनकि यसले पीडित परिवारको पीडा मेट्न कुनै योगदान पुर्याउँदैन। बरु कर्मचारीहरू बिदामा बस्दा उद्धारदेखि राहत दिने कार्यहरू प्रभावित हुनसक्छन्,” डा. वाग्लेले बताए।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
पूर्वनिर्धारित कार्यक्रम स्थगित हुनुदेखि राजस्व सङ्कलनमा समेत असर पर्ने तर दुर्घटनासम्बन्धी छानबिन र पीडित परिवारलाई राहत नहुने भएकाले शोक बिदा अनावश्यक भएको उनको ठहर छ।
“दुर्घटना भएपछि उद्धार तथा राहतमा पो ध्यान दिने हो। शोकमा परेकालाई सघाउने हो। केके न गरेझैँ बिदा दिएर सरकारको जिम्मेवारी पूरा हुन्छ? बिदाको विरोध गर्दा असंवेदनशील भएको आरोप लाग्ला। सार्वजनिक बिदाको यो संस्कार बिलकुलै अनावश्यक हो,” वाग्लेले ट्वीट गरेका छन्।