पोखरा विमान दुर्घटनाः यती एअरलाइन्सले अन्तिम समयमा 'अवतरण गर्ने दिशा फेरेको थियो'

विमानबाट देखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

तस्बिर स्रोत, Ashok Dahal/BBC

तस्बिरको क्याप्शन, फाइल तस्बिर - विमानबाट देखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
  • Author, अशोक दाहाल
  • Role, बीबीसी न्यूज नेपाली

आइतवार पोखरामा दुर्घटनाग्रस्त भएको यती एअरलाइन्सको विमानले धावनमार्गबाट १५ माइल (२४.५ किलोमिटर) नजिक पुगेपछि अवतरण गर्ने मोहडा परिवर्तन गरेको एक अधिकारीले बताएका छन्।

प्रशिक्षक पनि रहेका क्याप्टेन कमल केसीले आइतवार बिहान पनि काठमाण्डूबाट पोखराका लागि एउटा उडान गरिसकेका थिए।

दोस्रो उडानको नेतृत्व गरेका केसीले हालैबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान (डेमो फ्लाइट) पनि गरेको यती एअरलाइन्सले जनाएको छ।

पोखराकै तेर्सापट्टीका स्थानीय केसी नेतृत्वको उडानले अवतरणका लागि अनुमति पाइसकेको र त्यस बेलासम्म कुनै समस्या नदेखिएको अधिकारीहरूले बताए।

'विमान स्वाट्टै खस्यो'

अवतरणका लागि "क्लिअरन्स" पाइसकेको उक्त जहाज विमानस्थलाट आँखैले देखिने ठाउँमा आइपुगिसकेको थियो र १० देखि २० सेकेन्डभित्र धावनमार्गमा अवरण गर्ने अनुमान एअर ट्राफिक कन्ट्रोलको थियो।

Nepal Army
पोखरामा दुर्घटनाग्रस्त यती एअरलाइन्सको विमानबारे

हामीलाई के थाहा छ

  • ७२ जना यात्रु र चालकदलका सदस्य

  • १५.५ वर्षअघि निर्मित विमान

  • 9N-ANCविमानको दर्ता नम्बर

  • काठमाण्डूबाट पोखरा उडेको थियो

  • पोखरामाविमानस्थलनजिकै सेती खोँचमा दुर्घटनाग्रस्त

Source: Flightradar24

"विमान मोडिने बेलामा ल्यान्डिङ गिअर जब खुल्छ त्यतिबेला विमान 'स्टल' भए जस्तो देखिन्छ। विमान स्वाट्टै खस्यो," विमानस्थलका एअर ट्राफिक कन्ट्रोलरले नाम उल्लेख नगर्ने सर्तमा भने।

उड्डयन क्षेत्रमा 'स्टल' भन्नाले विमानले आफ्नो उचाइ कायम राख्न नसक्ने अवस्था बुझाउँछ।

"विमान कन्ट्रोल टावरबाट आँखाले छर्लङ्गै देखिने दूरीमा आइसकेको थियो," उनले थपे।

Hull occurrences in Nepal

पोखरा विमानस्थलका प्रवक्ता विष्णु अधिकारीका अनुसार आइतवार पोखराको मौसम पनि सफा थियो र उडानहरू पनि नियमित थिए।

"नयाँ विमानस्थलमा उडानहरूमा कुनै समस्या आएको थिएन। नियमित नै थिए। आज (आइतवार) मौसम पनि सफा थियो," उनले भने।

प्रत्यक्षदर्शीहरूले विमान होचो स्थानमा आइसकेपछि मोडिने क्रममा नियन्त्रण गुमाएको जस्तो देखिएको बीबीसीलाई बताएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, यती एअरलाइन्सको विमान खसेको ठाउँमा जे देखियो

पश्चिम मोहडाबाट अवतरणको क्रममा दुर्घटना

ज्यानुअरी १ बाट सञ्चालनमा आएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वी र पश्चिमी दुवैतर्फबाट विमानहरूले अवतरण गर्दै आएका थिए।

पूर्वतर्फबाट अवतरणका लागि रनवे ३० (थ्रीजीरो) र पश्चिमबाट अवतरणका लागि रनवे १२ (वनटू) प्रयोग गर्न विमानहरूलाई भनिने गरेको छ।

दुर्घटनास्थल

दुर्घटनामा परेको विमान 'भिजूअल फ्लाइट रुल्स' (भीएफआर) प्रविधिबाट अवतरण हुने क्रममा रहेको विमानस्थलका अधिकारीहरूले बताएका छन्।

भीएफआर सफा मौसममा पाइलटहरूले उडान र अवतरणका लागि प्रयोग गर्ने विधि हो।*

"पहिलो पटक जहाज सम्पर्कमा आउँदा एटीसीले रनवे थ्रीजीरोबाट ल्यान्ड गर्न अनुमति दिएको थियो। तर जहाज १५ माइलनजिकै आइसकेपछि विमानले रनवे वनटूबाट ल्यान्ड गर्ने अनुमति माग्यो," उनले भने।

"आफैँले निर्णय गरेर पश्चिमतर्फबाट अवतरण गर्न लागेको हो।"

पोखरा विमानस्थल कार्यालयका प्रवक्ता विष्णु अधिकारीले विमान दुर्घटनाको कारणबारे अध्ययनपछि मात्रै थाहा हुने बताए।

दुर्घटनास्थल

तस्बिर स्रोत, RSS

नयाँ विमानस्थलको प्राविधिक पक्ष जिम्मेवार रहे वा नरहेकोबारे सोधिएको प्रश्नमा पोखरा विमानस्थल कार्यालयका प्रवक्ताले विमान दुर्घटनाको कारणबारे अध्ययनपछि मात्रै थाहा हुने बताए।

"यसबारे हामीले अहिले नै केही भन्न सक्दैनौँ। अध्ययनपछि मात्रै थाहा होला," उनले भने।

पोखरामा भएको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले पाँच-सदस्यीय जाँच आयोग गठन गरेको छ। साथै हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिइसकेको छ।

Yeti airlines crash 2004-2023

नयाँ विमानस्थल

सेती नदीनजिकै रहेको यो विमानस्थल नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा तयार भए पनि यसबाट हालसम्म अन्तर्राष्ट्रिय उडानहरू भने हुन सकेका छैनन्।

यो विमानस्थलसँग प्रतिघण्टा झन्डै ६०० यात्रुहरू व्यवस्थापनको क्षमता रहेको अधिकारीहरूले बताएका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

यो विमानस्थलमा एक पटकमा तीनवटा अन्तर्राष्ट्रिय विमान र ठूलासाना चार-चारवटा गरेर आठवटा आन्तरिक सेवाका विमान रहन सक्ने विमानस्थल आयोजना प्रमुखले यसअघि बीबीसीसँग बताएका थिए।

झन्डै २,५०० मिटर लामो धावनमार्ग रहेको विमानस्थललाई ठूला विमानहरूतर्फ एअरबस ए३२०, बोइङ ७३७-७०० सिरीज वा बोइङ ७५७-२०० जस्ता न्यारोबडी विमानका उडानका लागि अनुकूल मानिएको छ।

रेड लाइन

पोखरा विमान दुर्घटनापछि सरकारले गर्‍यो यी निर्णय

  • यती एअरलाइन्सको विमान दुर्घटनाको शोकमा माघ २ गते सोमवार सार्वजनिक बिदा घोषणा
  • पोखरामा भएको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच-सदस्यीय जाँच आयोग गठन
  • हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन, अनुगमनको जिम्मा नागरिक उड्डयन प्राधिकरणलाई
रेड लाइन

विमानमा को थिए

नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा ६८ यात्रुमध्ये ५३ जना नेपाली र अरू विदेशी नागरिक थिए।

यती एअरलाइन्सका अनुसार विमानमा भएका ७२ जनामध्ये ३७ पुरुष र २५ महिला थिए। यात्रुमध्ये तीन बालक र तीन शिशु थिए।

दुर्घटनास्थल

तस्बिर स्रोत, KRISHNAMANI BARAL

हालसम्म एक शिशुको मृत्यु भएको प्राधिकरणले पुष्टि गरेको छ।

  • नेपाली: ५३ यात्रु
  • भारतीय: ५ जना
  • रुसी: ४ जना
  • कोरियाली: २ जना
  • आइरिश: १ जना
  • अस्ट्रेलियाली: १ जना
  • आर्जेन्टिनी: १ जना
  • फ्रान्सेली: १ जना

दुर्घटनाको कारण थाहा भइसकेको छैन।

सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार आइतवार साँझ ६ बजेसम्म मृतकमध्ये २४ जनाको सनाखत भएको छ।

उनका अनुसार अस्पताल लगिएका शवको पोस्टमोर्टम परीक्षण सोमवार सुरु हुनेछ।

रेड लाइन

नेपालमा भएका केही विमान दुर्घटना

  • मे २०२२ - पोखराबाट जोमसोमका लागि उडेको एअरको यात्रुवाहक ट्विनअटर 9NAET विमान दुर्घटनामा पर्दा २२ जनाको मृत्यु
  • एप्रिल २०१९ - सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु
  • फेब्रुअरी २०१९ - एअर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु
  • सेप्टेम्बर २०१८ - गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्यूड एअरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त, एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु
  • मार्च २०१८ - बाङ्ग्लादेशबाट नेपाल आएको यूएस-बाङ्ग्ला एअरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त, ५१ जनाको मृत्यु
  • फेब्रुअरी २०१६ - पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त, २३ जनाको मृत्यु
  • मे २०१५ - भूकम्पपछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त; छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु
  • जुन २०१५ - सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु
  • मार्च २०१५ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किश एअरको विमान धावन मार्गबाट चिप्लिँदा चार दिन विमानस्थल बन्द
  • फेब्रुअरी २०१४ - पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु
  • सेप्टेम्बर २०१२ - काठमाण्डूबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त, विमानमा रहेका सबै १९ जनाको मृत्यु
  • मे २०१२ - भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु
  • सेप्टेम्बर २०११ - हिमालको दृश्यावलोकन अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाण्डूनजिकै कोतडाँडामा दुर्घटनाग्रस्त; नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु
  • डिसेम्बर २०१० - लामीडाँडाबाट काठमाण्डू उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यको मृत्यु
  • अगस्ट २०१० - काठमाण्डूबाट लुक्लातर्फ उडेको विमान दुर्घटनामा पर्दा १४ जनाको मृत्यु
  • अक्टोबर २००८ - लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटनामा १८ जनाको मृत्यु, एक जना घाइते
  • सेप्टेम्बर २००६ - सङ्खुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु, मृत्यु हुनेमा वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के
रेड लाइन

यो पनि हेर्नुहोस्