अमेरिकाले ब्याज घटाउँदा नेपालमा सुनको भाउ किन बढ्छ

तस्बिर स्रोत, Reuters
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
यो साता सुनको भाउ निकै बढ्यो।
मङ्गलवार एक तोला सुनको मूल्य एक लाख २३ हजार रुपैयाँ पुगेको सुनको भाउ बुधवार एक लाख २३ हजार पाँच सय पुगेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ।
अमेरिकी केन्द्रीय ब्याङ्कले ब्याजदर घटाउने योजना बनाएको भन्दै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको विश्लेषकहरूको अनुमान छ।
त्यसैको परिणामस्वरूप नेपालमा पनि सुनको भाउले उच्च मूल्यको नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ।
अमेरिकी नीतिको प्रभाव कसरी पर्छ?
यो साता अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ रेकर्ड स्तरमा पुग्दै प्रति आउन्स २१२० अमेरिकी डलर नाघेको थियो।
अहिले निरन्तर सुनको भाउ उकालो लाग्नुमा खासगरि अमेरिकी नीति तथा विश्वका विभिन्न भागमा जारी अशान्ति कारक रहेको विश्लेषण गरिएको छ।
अमेरिकी नीतिको हकमा कोभिडको समयपछि त्यहाँ बढेको महँगी वा मुद्रास्फीतिसँग जुझ्न फेडरल रिजर्भले ब्याज दर बढाइदिएको थियो।
“अब अहिले त्यहाँ मूल्यवृद्धि घटेको छ। त्यसैले ब्याज दर घट्ने अनुमान गरिएका छन्,” नेपाल राष्ट्रब्याङ्कका पूर्व डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरले भने।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले अमेरिकी केन्द्रीय ब्याङ्कले जुन महिनातिर ब्याज दर घटाउन लागेका विवरण निरन्तर दिइरहेका छन्।
तर अमेरिकामा ब्याजदर घट्दा सुनको भाउ चाहिँ कसरी बढ्छ?

“अन्तर्राष्ट्रिय वित्तको नियम के हो भने जुन देशको ब्याज घट्छ त्यसको मुद्राको आकर्षण पनि घट्छ। अनि सुन र डलरको सदावहार सम्बन्ध कस्तो रहँदै आएको छ भने जबजब डलरको आकर्षण कम हुन्छ तबतब सुनप्रति लगानीकर्ता झुम्मिन्छन् र त्यसको भाउ बढ्छ। अहिले भइरहेको पनि त्यही हो,” मानन्धरले थप प्रस्ट पार्दै बताए।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन र बिटक्वाइनको भाउ सँगसँगै बढिरहनुमा पनि यही कारण हुनसक्छ।
“अमेरिकाको फेडरल रिजर्भले ब्याज घटाउने भनिएको छ। जसकारण त्यहाँका ब्याङ्कमा राखिएका पैसा झिकेर लगानीकर्ताहरूले सुन तथा बिटक्वाइनमा लगानी गरेको देखियो। त्यसैले दुवैको भाउ रेकर्डस्तरमा बढिरहेको छ,” बज्राचार्यले भने।
नेपालमा आन्तरिक बजारमा सुनको भाउ चाहिँ अन्तर्राष्ट्रिय बजारमा उसको भाउलाई डलरको विनिमय दरले गुणन गरेर अनि त्यसमा भन्सार शुल्क तथा सञ्चालन खर्च जोडेर तय गरिन्छ।
सुनको भाउ अकासिनुको अर्को कारण चाहिँ मध्यपूर्वमा चर्किएको अशान्ति पनि रहेको व्यवसायीहरू बताउँछन्।
अशान्ति र अस्थिरताको माझमा लगानीकर्ताहरूले सुनलाई भरपर्दो माध्यम मान्ने गर्छन्।
“इजरेल र हमासको युद्ध हुँदा पनि हामीकहाँ सुनको भाउ तोलाको १ लाख सात हजारबाट १ लाख १५/१६ हजार रुपैयाँ पुगेको थियो। त्यसले पनि असर पार्छ नै,” बज्राचार्यले भने।
उसोभए सुनको भाउ अझै कति बढ्ला त? यसको जबाफ स्पष्ट दिन सकिँदैन तर अमेरिकी फेडरल रिजर्भबाट आइरहेका सङ्केतका माझ अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले प्रति आउन्स तीन हजार डलर सम्म पुग्न सक्ने प्रक्षेपण गरिरहेको बज्राचार्यले बताए।
आन्तरिक माग ‘५० प्रतिशतले खस्कियो’
सुनको भाउ वेपत्ता बढ्दै गर्दा त्यसले आन्तरिक बजारमा भने गम्भीर प्रभाव पारिसकेको व्यवसायीहरूले बताएका छन्।
“सुनको माग निकै घटिसकेको छ। फागुनमा बिहेको लगनको समयमा पनि दिनको १५-२० किलोग्रामको कारोबार पनि भएका छैनन् जबकी यतिखेर दिनको ४०-५० किलोग्राम हुनुपर्थ्यो,” सुनचाँदी व्यवसायी महासङ्घका महासचिव धर्मसुन्दर बज्राचार्यले भने।
“माग ५० प्रतिशतले घटिसकेको छ। बिहेको याम सकिएपछि त दैनिक कारोबार ५-१० किलोग्राम मात्र हुने देखिन्छ।”
ग्राहकहरूले नयाँ सुन किनेर गहना बनाउनुको साटो पुरानो मासेर नयाँ गहना बनाउने क्रम बढेको उनी बताउँछन्।

तस्बिर स्रोत, Reuters
अहिले नेपाल राष्ट्रब्याङ्कले एक दिनमा २० किलोग्रामसम्म सुन आयात गर्न अनुमति दिँदै आएको छ।
भन्सार विभागले दिएको पछिल्लो आँकडामा पनि सुनको आयात घटेको देखिन्छ।
साउनदेखि माघसम्मको सात महिनामा साढे १२ अर्ब रुपैयाँ बराबरका कुल १५ सय किलोग्राम सुन आयात भएको देखिन्छ। एक किलोग्राममा भन्सार शुल्क करिब १२ लाख रुपैयाँ तिर्नुपर्छ।
नेपाल राष्ट्रब्याङ्कले जारी गरेको पुस मसान्तसम्मको विवरणमा चाहिँ सुन आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ६० प्रतिशतले घटेको देखिन्छ।
पछिल्ला वर्षहरूमा अवैध सुन बरामद भएका घटना चाहिँ बढ्दो छ।
नेपाल प्रहरीले बीबीसीलाई उपलब्ध गराएको विवरणअनुसार विक्रम सम्वत् २०७०/७१ देखि २०७९/८० सम्ममा ६०६ किलोग्राम अवैध सुन बरामद गरिएको छ।
अवैध सुनचाहिँ छिमेकी देशमा तस्करी गर्नका निम्ति हुने गरेको कतिपयले बताउने गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।