भेडीखर्कमा मान्छे, भेडाबाख्रा र कुकुर ६ महिना सँगसँगै

तस्बिर स्रोत, NARSINGH THAPA
- Author, कृष्णमाया उपाध्याय
- Role, जुम्ला
जुम्लामा भेडा बाख्रा र खसी बोकाको व्यवसाय गर्न पशु पालकले चैतदेखि कार्तिक महिनासम्म भेडी खर्क अर्थात् पाटन क्षेत्रमै अस्थायी बसोबास गर्ने गरेका छन्।
उच्च भेगमा पर्ने ठूला पाटनमा भेडा बाख्राहरूका लागि आहारा प्रशस्त हुने भएकाले आफूलाई आवश्यक पर्ने खाद्यान्न घरबाट बोकेर उतै लैजाने र आवश्यक परे मात्रै घर फर्किने गरेको जुम्लाको तातोपानी गाउँपालिका-७ का अमर कुँवरले बताए।
उनले एक सयभन्दा बढी भेडा बाख्रा पालेका छन्। आफू मात्रै नभई गाउँबाट पाँचदेखि १० जनाको समूह मिलेर भेडा बाख्रा पाटन लैजाने गरेको उनको भनाइ छ।
पाटनमा महिनौँ बिताउनुपर्ने भएकाले उनीहरू पाल र भेडाकै ऊनबाट बनाइने फेरुवाको प्रयोग गरेर वासस्थान बनाउँछन्।
झन्डै सात महिनासम्म पाटन तिरै बस्नुपर्ने भएपछि लगेको अन्न पुग्दैन। त्यस्तो अवस्थामा उनीहरू चामल, दाल, पिठो लगायतका खाद्यान्न लिन पालैपालो गाउँ जान्छन्।
आफूहरू समूहमै भेडीखर्क जाने गरे पनि जङ्गली जनावरको जोखिम पनि रहन्छ। त्यसैले भेडा बाख्रा जोगाउन आफूसँगै कुकुरहरू पनि लैजाने गरेको उनीहरू बताउँछन्।
कुँवर भन्छन्, "एक सय जति भेडा बाख्राको लागि कम्तीमा एउटा कुकुर अनिवार्य पाल्ने गरिन्छ। पाटनमा जाँदा एक हजार भेडा बराबर १० वटा कुकुर लग्ने गरेका छौँ।"
कुकुरले दिने सुरक्षा-सङ्केत
ती कुकुरले सुरक्षाको निम्ति गोठालो बसेकाहरूलाई जनाउ दिन्छन्।
कुँवर भन्छन्, “बाघ, भालु, स्याल जस्ता जङ्गली जनावर भेडाको बथान नजिक आउन लागेमा कुकुरहरू भुक्न थाल्छन्, त्यो सङ्केत पाएर हामी चनाखो हुन्छौँ अनि भेडालाई सुरक्षित ठाउँमा लैजान्छौँ।”
वर्ष भरी गरेको दुखको दाँजोमा भेडा व्यवसायबाट आम्दानी गर्न चाहिँ कठिन हुने कुँवरको अनुभव छ।
जुम्लाको पातरासी गाउँपालिका-७ पटमारा गाउँका एक सय ८० घरपरिवारले व्यावसायिक भेडा पालन गर्दै आएको उक्त गाउँका किसान टेकबहादुर बुढाले जानकारी दिए।
“छ महिना पाटनमा र छ महिना घर नजिकको आफ्नो जग्गामा अस्थायी बास बनाएर बस्ने गरेका छौँ। राति कुकुर छोड्ने गर्छौँ। जङ्गली जनावर आउँदा मान्छे भन्दा पनि कुकुरले छिटो थाहा पाउँछन् र भुकेर हामीलाई जनाउ दिन्छन्,” हेरचाह गर्दा अपनाइने उपायबारे बुढाले सुनाए।
पालेको भेडाको मासु खाँदा...

तस्बिर स्रोत, KRISHNA MAYA UPADHYAYA/BBC
गोठालो बस्न जानेहरूले पाटनमा चामलसँगै दाल तरकारी पनि लग्छन्। तर दाल वा तरकारी सकिएपछि उनी चराउन लगेका खसी बोका र भेडा काटेरै मासु खाने गर्छन्।
“गाउँका पाँचदेखि १० जना मानिसका भेडाहरू सँगसँगै राख्छौँ। तरकारी सकिएपछि हप्ता दिनको फरकमा त्यही भेडा काटेर खाने गर्छौँ,” बुढाले बताए।
भेडा चराउने पाटनबाट घर पुग्न दुई दिन हिँड्नुपर्ने तर घर जान नपाउँदा त्यसो गरिने उनको भनाइ छ।
उनीहरूको अर्को पनि चलन छ। अमर कुँवरका अनुसार पाटन पुगेको दिन र पाटनबाट घर फर्किने दिन अनिवार्य खसी काट्ने गरिन्छ।
उनी भन्छन्, “रमाइलो गर्न हामी त्यसो गर्छौँ। पाटन क्षेत्रमा बस्दाको दुख पीर बिर्सन सजिलो हुन्छ।”
सोलार बोकेर पाटनमा
तातोपानी गाउँपालिका-७ सर्मी गाउँकी लालमाया डाँगीले पनि एक सय भन्दा बढी भेडा बाख्रा पालेकी छन्। पाटन जानेहरूको परिवारका सदस्यसँग सम्पर्क गर्न गाह्रो हुने गरेको उनको अनुभव छ।
“पाटनमा बत्ती हुँदैन, घरबाट चार्ज गरेर लगेको मोबाइलको ब्याट्री कति दिन टिक्छ र? चार्ज हुँदासम्म पनि कतिपय ठाउँमा नेटवर्क नहुँदा मोबाइल सम्पर्क नै हुँदैन," भोगेको समस्या उनले सुनाइन्।
कतिपयले भने मोबाइल फोन चार्ज गर्न सजिलो होस् भनेर सोलार प्यानल बोकेर पाटन लैजाने गर्छन्। टेकबहादुर बुढाले भने, “पाटनमा घाम लाग्दा भने मोबाइल चार्ज गर्न पाइन्छ।”

तस्बिर स्रोत, NARSINGH THAPA
दशैँमा २७ करोड रुपैयाँ आम्दानी
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार दशैँ र तिहारका बेला मात्र भेडा, खसी, बोकाबाट जुम्लामा पशु पालक किसानले २७ करोड रुपैयाँ भन्दा धेरै आम्दानी गर्छन्।
पशु विकास अधिकृत ज्ञानेन्द्रसिंह बुढ्थापाले भने, "पहिला पहिला तिब्बतबाट च्याङ्ग्रा ल्याइन्थ्यो, २०६० सालयता दशैँमा ल्याउन छोडिएको छ।"
उनका अनुसार वार्षिक रूपमा एकजना किसानले दुई लाखदेखि १० लाख रुपैयाँ सम्म आम्दानी गर्छन्।
पशु सेवा कार्यालयको आँकडा अनुसार जुम्लामा ८५ हजार भेडा र ४७ हजार हाराहारीमा बाख्रा पालन हुँदै आएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।