अमेरिकामा दुर्घटनाग्रस्त विमानको 'ब्ल्याक बक्स' भेटियो, घटनाबारे उठे यस्ता प्रश्न

तस्बिर स्रोत, Getty Images
अनुसन्धानकर्ताहरूले संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीमा घातक दुर्घटनामा परेको यात्रुवाहक विमानको 'ब्ल्याक बक्स' भनिने फ्लाइट डेटा रेकर्डर फेला पारेको बीबीसीको अमेरिकी साझेदार सीबीएसले जनाएको छ।
स्थानीय समयानुसार बुधवार राति वाशिङ्टनस्थित विमानस्थलमा अवतरण गर्न लागेको अमेरिकी एअरलाइन्सको यात्रुवाहक विमान आकाशमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो।
उक्त विमानमा यात्रा गरिरहेका चालक दलका सदस्यसहित ६४ जना र सैन्य हेलिकप्टरमा रहेका तीन जना कोही पनि जीवित नरहेको ठानिएको छ। हाललाई दुर्घटनास्थलमा भइरहेको खोजी कार्य स्थगित गरिएको अधिकारीहरूले बताएका छन्।
दुर्घटनापछि उठेका प्रश्न

तस्बिर स्रोत, Reuters
उक्त दुर्घटनापछि विमानस्थलमा कर्मचारी अभाव तथा विमान अवतरण गर्दै गर्दा दुर्घटनाका सम्भावित अवस्थालाई बेवास्ता गरिएको भन्दै विभिन्न प्रश्न उठेका छन्।
सीबीएसले उद्धृत गरेका स्रोतहरूका अनुसार हेलिकप्टर र जहाजका लागि सामान्यतया दुई एअर ट्राफिक कन्ट्रोलरहरू तोकिएका हुन्छन्।
तर उक्त दुर्घटना भएका बेला वाशिङ्टनस्थित विमानस्थलमा एक मात्र एअर ट्राफिक कन्ट्रोलर रहेको पाइएको छ।
फेडरल एभिएशन एड्मिनिस्ट्रेशन (एफएए) ले आफ्नो प्रारम्भिक प्रतिवेदनमा सुरुमा न्यूयोर्क टाइम्सले उजागर गरेको एअर ट्राफिक कन्ट्रोलरहरूको सङ्ख्या "सामान्य नभएको" जनाएको छ।
वाशिङ्टनको आकाश विश्वका सबैभन्दा नियन्त्रित हवाई क्षेत्रमध्ये एकमा पर्छ।
अनुसन्धान जारी

तस्बिर स्रोत, Reuters
अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएका छन्।
यातायात सुरक्षासम्बन्धी अमेरिकी राष्ट्रिय निकाय एनटीएसबीले दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन ३० दिनभित्र आउने बताएको छ।
उक्त निकायका अधिकारीहरूले आफूहरूसँग "धेरै जानकारी रहेको तर... त्यसलाई प्रमाणित गर्न केही समय लाग्ने" बताएका छन्।
विमानको फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्डरले उडानमा भएको गल्तीबारे अनुसन्धानकर्तालाई सङ्केतहरू दिन सक्छन्।
दुर्घटनास्थलनजिकै रहेको एनटीएसबीको प्रयोगशालामा ब्ल्याक बक्स लगिने छ र त्यसको जाँच हुने छ।
खोजी कार्य स्थगित

तस्बिर स्रोत, Getty Images
गोताखोरहरूले बिहीवार दिनभरि पोटोम्याक नदीमा पसेर खोजी कार्य गरेका थिए। तर उनीहरूले वाशिङ्टनको समयानुसार बिहीवार साँझदेखि खोजी कार्य स्थगित गरेका छन्।
स्थानीय अग्निनियन्त्रक निकायका प्रमुख जोन डनेलीले विमान खसेको स्थानबाट कम्तीमा २८ वटा शव निकालिएको बताएका थिए।
त्यसमध्ये २७ वटा यात्रुवाहक विमानका रहेको र एक सैन्य हेलिकप्टरमा यात्रा गरिरहेका व्यक्तिको रहेको बताइएको छ।
ट्रम्पले के भने

तस्बिर स्रोत, EPA
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलन सुरु हुँदा मौनधारण थिए।
"तपाईँहरूले महसुस गरिरहनुभएको पीडालाई हामी कल्पना मात्र गर्न सक्छौँ। हाम्रो हृदय पनि तपाईँहरूको सँगसँगै छियाछिया भएको छ," उनले भने।
त्यसपछि ट्रम्पले विमान र हेलिकप्टर ठोकिनुको कारणबारे कुनै प्रमाणबिना अनुमान गरे। उनले आफूभन्दा अगाडिको डेमोक्र्याटिक पार्टीको प्रशासनले फेडरल एभिएशन एड्मिनिस्ट्रेशनमा एअर ट्राफिक कन्ट्रोलरहरू भर्ती गर्दा कमजोर र न्यून मापदण्ड अपनाइएको हुनाले दुर्घटना निम्तिएको हुन सक्ने आरोप लगाए।
बिहीवारै ट्रम्पले डीईआई (डाइभर्सिटी, इक्वालिटी एन्ड इन्क्ल्युजन) अर्थात् विविधता, समानता तथा समावेशी सिद्धान्तका आधारमा गरिने भर्तीसहितका कामहरू अन्त्य गर्ने एउटा आदेशमा हस्ताक्षर गरे।
डीईआई योजनाअन्तर्गत सामाजिक तथा आर्थिक रूपमा पछि पारिएका, शारीरिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूलाई विशेष सहुलियत दिइन्छ।
उनले एफएएमा नयाँ प्रमुख नियुक्त गर्ने एउटा कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।