बर्खामा भारतलाई बिजुली बेचेको नेपालद्वारा जाडोमा फेरि किन्न शुरू

तस्बिर स्रोत, EPA
केही वर्षयता बर्खायाममा उल्लेख्य मात्रामा भारतलाई बिजुली बेच्न थालेको नेपालले फेरि त्यताबाट ठूलो मात्रामा आयात गर्न थालेको छ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ताका अनुसार हिउँदयाम शुरू भएसँगै यसै सातादेखि भारतबाट बिजुली किन्न थालिएको हो।
हाल बिजुली आयातको तुलनामा भारतलाई निर्यात चाहिँ “नाम मात्रको” रहेको प्रवक्ता सुरेशबहादुर अधिकारीले बीबीसीलाई बताए।
सुक्खायाममा नेपालले अपुग बिजुलीको ठूलो हिस्सा भारतबाट किन्नुपर्ने बाध्यता रहिआएको छ।
नेपालमा जलविद्युत्को जडित क्षमता झन्डै २,६६० मेगावाट रहेको र वर्षायाममा पूर्ण क्षमतामा उत्पादन हुनसक्ने बताइन्छ।
तर अधिकांश आयोजना नदीको जलप्रवाहमा आधारित रहेकाले सुक्खायाममा उत्पादन उल्लेख्य रूपमा घट्ने गर्छ।
कति आयात गर्नुपर्ला?
केही दिन अघिसम्म भारतलाई बिजुली बेचिरहेको अवस्था भए पनि अहिले आयातले निर्यातलाई जितिसकेको प्राधिकरणले जनाएको छ।
प्रवक्ता अधिकारीका अनुसार नेपालले जेठदेखि मङ्सिर तेस्रो सातासम्म साढे १५ अर्ब रुपैयाँ बराबरको बिजुली भारतलाई बेचेको तथ्याङ्क छ।
“त्यो अवधिमा चाहिँ नेपालबाट निर्यात मात्र गरिएको हो,” प्रवक्ता अधिकारीले बीबीसी न्यूज नेपालीसँग भने।
“अहिले चाहिँ हामीले औसतमा दैनिक करिब ३,५०० मेगावाट आवर बिजुली भारतबाट आयात गरिरहेका छौँ। निर्यात चाहिँ ५० देखि २०० मेगावाट आवर छ।”
यद्यपि माग अनुसार आयातको दैनिक परिमाण तलमाथि हुने गरेको उनी बताउँछन्।
“आर्थिक मन्दीबीच नेपालका अधिकांश कलकारखाना पूर्ण क्षमतामा सञ्चालनमा छैनन्। त्यो भएर कति माग हुन्छ र कति आयात गर्नुपर्छ भनेर भन्न सक्ने अवस्था छैन,” प्रवक्ता अधिकारीले थपे।

तस्बिर स्रोत, RSS
तर उद्योगहरू पूर्ण क्षमतामा सञ्चालनमा आएर माग गरेको खण्डमा पनि पूर्वाधारका कारण प्राधिकरणले चौबीसै घण्टा बिजुली दिन सक्ने अवस्था छैन।
“पीक आवरमा हामीले कटौती गर्नुपर्ने बाध्यता छ। हामीले ४०० केभी र २२० केभीका प्रसारणलाइन बनाउन सकेनौँ,” उनले भने।
ऊर्जा व्यवस्था गर्न सक्ने सम्भावना हुँदा हुँदै पूर्वाधार बनाउन नसक्नु नेपालका लागि विडम्बनाको विषय भएको अधिकारी बताउँछन्।
यसपालि प्राधिकरणको प्रणालीमा करिब दुई हजार मेगावाटको पीक आएको उनले बताए।
हाल भारतबाट शुरू भएको आयातको सिलसिला ६/७ महिनासम्म चल्न सक्ने प्राधिकरणको अनुमान छ।
“वैशाख/जेठसम्म यो आयातको क्रम चल्ला। त्यो पनि वर्षामा निर्भर गर्छ। यदि जेठको दोस्रो/तेस्रो हप्तादेखि राम्रो पानी परिदियो भने आयात बन्द होला,” प्रवक्ता अधिकारीले भने।
सुक्खामा ठूलो गिरावट
सुक्खायाममा नेपालका सबैजसो जलविद्युत् केन्द्रको उत्पादन क्षमता नदीको जलप्रवाह स्तरसँगै व्यापक रूपमा झर्ने गरेको छ।
विज्ञहरूका अनुसार दुई तिहाइसम्म गिरावट हुन सक्छ अर्थात् २,७०० मेगावाट कुल क्षमता छ भने चरम सुक्खायाममा ९०० मेगावाटमा झर्न सक्छ।
जलाशययुक्त आयोजनाहरूको निर्माणले मात्र त्यस्तो समस्याको सम्बोधन गर्न सक्ने जानकारहरू बताउँछन्।
हाल सञ्चालनमा रहेका विद्युत् केन्द्रमध्ये कुलेखानी मात्र जलाशययुक्त आयोजना हो। कुलेखानी (१, २, ३) गरी करिब १०६ मेगावाट बिजुली उत्पादन हुन्छ।

तस्बिर स्रोत, MOE
जलाशययुक्त आयोजनामा बाँध बनाएर जल सञ्चिति गरिन्छ र आवश्यकताअनुसार ऊर्जा उत्पादन गरिन्छ।
तर जलाशययुक्त आयोजना लागत एवं प्रविधिको हिसाबबाट पनि महँगो र जटिल हुने गर्छ।
हाल धेरै चर्चामा रहेको १,२०० मेगावाट क्षमताको बूढीगण्डकी आयोजना जलाशययुक्त आयोजना हो।
निर्माण खर्च तीन खर्ब रुपैयाँ लाग्ने यसको निर्माणको चर्चा चलेको वर्षौँ भए पनि शिलान्याससम्म भएको छैन।
अन्य चर्चित जलाशययुक्त आयोजनामध्ये १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना अहिले निर्माणाधीन छ भने ७५६ मेगावाटको तमोर अनि पश्चिम सेती प्लस एसआरसिक्स भनिने कुल १,२०० मेगावाटका आयोजनाहरू प्रारम्भिक चरणमै छन्।
प्रसारणलाइन निर्माण अवस्था
प्राधिकरणका अनुसार यो वर्षभित्र २२० केभीको कुश्मा-न्यू बुटवल र ४०० केभीको ढल्केवर-इनरुवा प्रसारणलाइन सञ्चालनमा आउन सक्छ।
त्यसैगरी अन्तरदेशीय विद्युत् व्यापारका लागि हाल ४०० केभी क्षमताका ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन प्रयोगमा रहेको छ।
सन् २०२९ भित्र थप चारवटा ४०० केभीकै प्रसारणलाइन थप्ने दुई देशका योजना रहेका छन्। ढल्केवर-सीतामणि प्रसारणलाइनको निर्माण कार्य भइरहेको छ।
त्यसबाहेक इनरुवा-पुर्णिया र लम्बी-दोधारा-बरेली अन्तर्देशीय प्रसारण लाइनको निर्माण क्रमशः सन् २०२७/०२८ र २०२८/०२९ सम्ममा सम्पन्न गर्ने योजना छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।