नेपाल निर्वाचन: संसद्मा देखिन सक्छन् रवि लामिछाने, सिके राउत, ज्ञानेन्द्र शाही र रञ्जिता श्रेष्ठ

तस्बिर स्रोत, Getty Images/RSS/FB
प्रतिनिधिसभा निर्वाचनको सुरुवाती मतगणनाले संसद्मा रवि लामिछाने, सिके राउत, ज्ञानेन्द्र शाही र रञ्जिता श्रेष्ठजस्ता केही चर्चित नयाँ अनुहार देखिन सक्ने सङ्केत गरेको छ।
नयाँ संविधान जारी भएपछिको दोस्रो सङ्घीय निर्वाचनमा यसअघि संसदमा नपुगेका र राजनीतिमा कमै नाम सुनिएका फरक अनुहारहरूको केही ठाउँमा अग्रता देखिएको छ।
रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी

तस्बिर स्रोत, RSS
सञ्चारकर्मीको रूपमा उदाएका रवि लामिछानेले गत असारमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर त्यसको सभापति भएका हुन्।
टेलिभिजन कार्यक्रम मार्फत् समस्यामा परेका मानिसहरूका लागि सहयोग जुटाउने र अन्यायमा परेकाहरूको पक्षमा राज्य संयन्त्र तथा जिम्मेवार निकायमाथि प्रश्न गर्ने उनको शैलीले लामिछाने चर्चित भए।
केही समय अमेरिका बसेर फर्किएका लामिछानेले सबैभन्दा लामो समय टेलिभिजनमा अन्तरवार्ता गरेर विश्व रेकर्ड समेत राखेका छन्।
चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका लामिछानेले त्यहीँबाट दुई पटक सांसद बनिसकेका एमालेका कृष्णभक्त पोखरेल र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई पछि पारिरहेका छन्।
सिके राउत, जनमत पार्टी

तस्बिर स्रोत, CK Raut/FB
सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका चन्द्रकान्त (सिके) राउत अग्रस्थानमा देखिएका छन्। राजनीतिमा उनको नाम नौलो होइन तर राउतले प्रतिस्पर्धा गरेको यो पहिलो संसदीय निर्वाचन हो।
निर्वाचन आयोग नेपालले अद्यावधिक गरेको विवरण अनुसार हालसम्म उनले प्रतिद्वन्द्वी जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ७ हजार मत अन्तरले पछि पारेका छन्।
मधेश अभियन्ता राउत अध्ययनको हिसाबले इन्जिनियर हुन्। स्वतन्त्र मधेश राज्यको मागसहित आन्दोलन गर्दै आएकाले उनी लामो समय विवादमा रहे।
उनलाई सन् २०१८ को अन्त्यतिर राज्यविरुद्ध सङ्गठित अपराध गरेको अभियोगमा मुद्दा चलाइएको थियो।
त्यसअघि पनि उनी बारम्बार पक्राउ हुँदै र छुट्दै आएका थिए। आफ्नो आत्मकथा समेत सार्वजनिक गरिसकेका उनी प्रतिनिधिसभाको लागि नयाँ व्यक्तित्व हुनेछन्।
रञ्जिता श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टी

तस्बिर स्रोत, Ranjeeta Shrestha/FB
सञ्चारकर्मीको परिचय बनाएकी रञ्जिता श्रेष्ठका लागि राजनीतिक परिचय नयाँ हो।
कैलाली क्षेत्र नम्बर १ बाट अघिल्लो प्रतिनिधिसभामा निर्वाचित भएका रेशम चौधरी टिकापुर घटनामा दोषी ठहर भएपछि जेल चलान भए।
अहिले जेलबाटै चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीबाट यो क्षेत्रमा रेशमकी श्रीमती रञ्जिता उम्मेदवार बनेकी छिन्।
प्रारम्भिक मतगणना विवरणहरूमा उनी आफ्ना प्रतिस्पर्धीहरू भन्दा अघि छिन्।
एमालेका उपेन्द्र बहादुर रावल र पूर्व संविधानसभा सदस्य समेत रहिसकेका कांग्रेसका उम्मेदवार राम जनम चौधरी यो क्षेत्रमा रञ्जिता भन्दा पछि छन्।
ज्ञानेन्द्र शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी

जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले फराकिलो अग्रता कायम गरेका छन्।
शाहीले गठबन्धनका साझा उम्मेदवार माओवादीकी गोमा गौतम (कुँवर) लाई झन्डै तेब्बर मतले पछाडि पारेका छन्। शाहीले ४ हजार ९१ मत ल्याउँदा गौतमले एक हजार ४ सय ४९ मत प्राप्त गरेकी छन्।
भ्रस्टाचार विरोधी अभियानकर्मीको रूपमा उदाएका शाही गत फागुनमा राप्रपामा प्रवेश गरेका थिए।
उनी सामाजिक सञ्जालमा चर्चामा आइरहने व्यक्ति हुन्।
पत्रकारहरूलाई अपशब्द प्रयोग गरेको आरोपमा तीन वर्षअघि शाही पक्राउ परेका थिए। त्यस बेला उनलाई हिरासतमा निर्मम यातना दिइएको आरोप प्रहरीमाथि लागेको थियो।
*माथिको विवरण निर्वाचन आयोगको आधिकारिक घोषणाका आधारमा अद्यावधिक हुनेछ।