तारा एअर: दुर्घटनापछि उड्डयन प्राधिकरणले ल्यायो नयाँ नियमहरू, 'दुर्घटना जाँच सुरु'

तस्बिर स्रोत, Indra Singh Sherchan
नेपालमा भीएफआर अर्थात् पाइलटले देखेका भरमा गरिने उडानहरू सुरक्षित पार्न केही नयाँ नियमहरू लागु गर्न लागेको उड्डयन नियामक निकायले जनाएको छ।
आइतवार पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटनामा पर्दा त्यसमा सवार सबै २२ जनाको मृत्यु भएको घटनाको पृष्ठभूमिमा प्राधिकरणले मङ्गलवार नयाँ नियमबारे बोलेको हो।
देशको जल तथा मौसम विज्ञान विभागले प्रतिकुल मौसमको अनुमानसहितका विवरण दिएका हकमा कुनै उडान क्षेत्रमा उडान रोक्नका लागि परिपत्र गरिने तथा वायुसेवा कम्पनीहरूले उडान योजना पेश गर्दा गन्तव्य तथा मार्गको मौसमी विवरण विभागबाट लिएर सो समेत पेश गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णद्वारा जारी विज्ञप्तिमा त्यस्ता मौसमी विवरण सङ्कलन, प्रस्तुत तथा तिनलाई स्विकृत गर्ने काम अनुमतिप्राप्त फ्लाइट अपरेसन अफिसरबाट हुनुपर्ने जनाइएको छ।
नेपालमा खासगरि पहाडी तथा हिमाली क्षेत्रमा उडान भर्ने साना हवाइजहाजहरू भीएफआर नियमका आधारमा चल्ने गर्छन्।
उक्त विज्ञप्तिमा एउटा इञ्जिन हुने हेलिकप्टरमा तोकिएका हकमा बाहेक दुईवटा पाइलट राख्न प्रस्ताव गरेर त्यसबारे अध्ययन गर्न एक प्राविधिक समिति समेत गठन गरिएको जनाएको छ।
'दुर्घटना जाँच सुरु'
मुस्ताङको दुर्गम भेगमा दुर्घटनाग्रस्त भएको तारा एअर विमानको ककपिट भोइरस रेकर्डर (सीभीआर) मङ्गलवार नै फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको यसअघि जनाएको थियो।
"दुर्घटनामा ज्यान गुमाउने सबै २२ जनाको शव र ब्ल्याक बक्स भेटिएको छ," नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले बीबीसीलाई बताए।
उक्त दुर्घटना जाँच आयोगका सदस्यसचिव रहेका बुद्धिसागर लामिछानेले मङ्गलवार जारी गरिएको एउटा छुट्टै विज्ञप्तिमा 'दुर्घटना जाँच कार्य' सुरु भइसकेको जनाइएको छ।
विमानमा सवार १९ यात्रु र चालक दलका तीन सदस्यको घटनास्थलमै मृत्यु भएको थियो।
पोखराबाट जोमसोमका लागि आइतवार उडेको ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका स्थित १४,५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा सोमवार बिहान फेला परेको थियो।
दुर्घटना जाँच आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार दुर्घटनाग्रस्त विमानको ककपिट भोइस रेकर्डर (सीभीआर) जिम्मामा लिई आईकाओको प्रावधानअनुसार दुर्घटनाको जाँच सुरु भइसकेको छ।
शव कहिले हस्तान्तरण
नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसी तथा दुर्घटना जाँच आयोगले मृतकहरूको शव परीक्षण गर्ने काम पनि सुरु भइसकेको बताएका छन्।
"त्रिवि शिक्षण अस्पतालमा शवहरूको फरेन्सिक परीक्षणपछि आवश्यक प्रक्रिया पूरा गरेर आफन्तहरूलाई हस्तान्तरण गरिनेछ," प्राधिकरणका प्रवक्ता कर्णले भने।
उद्धारमा संलग्न स्थानीय बासिन्दा इन्द्रसिंह शेरचनले विमान टुक्राटुक्रा अवस्थामा भेटिएको र शवहरू भीर र खोँचमा छरिएको अवस्थामा भेटिएको जानकारी दिए।
"शव कुनै भीरमा र कोही तल खोँचमा उछिट्टिएको अवस्थामा भेटिएको थियो," घटनास्थलमा पुगेका उनले भने।
पोखराबाट जोमसोम उडेको विमान सम्पर्कविहीन
एप्रिल १९, १९७९पहिलो उडान
२२ जना सवारदुई जर्मन, चार भारतीय र अन्य नेपाली नागरिक
DHC-6-300ट्विनअटर
१२,८२५ फीटयूटीसी ०४:२२ बजे (नेपाली समयानुसार बिहान १०ः०७ बजे) विमान त्यति उचाइमा पुगेपछि सम्पर्कविहीन
कहाँ भेटियो ब्ल्याक बक्स
इन्द्रसिंह शेरचनका अनुसार ब्ल्याक बक्स भीरमा अड्किएको प्लेनकै एउटा भागबाट "काटेर सुरक्षाकर्मी र माउन्टेन गाइडहरूले" निकालेका हुन्।
ककपिट भोइस रेकर्डर (ब्ल्याक बक्स) भेटिएसँगै विमान दुर्घटना छानबिनका लागि सरकारले सोमवार गठन गरेको समितिले काम अघि बढाउने भएको छ।
समितिका अध्यक्ष एरोनटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनले छानबिन समितिले काम सुरु गरिसकेको जानकारी दिए।
"हाम्रो काम सुरु भइसकेको छ। हामीले दुर्घटनास्थलमा अवलोकन गरेका नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूसँग कुराकानी गर्छौँ," उनले भने।
दुर्घटनामा परेको ट्विनअटर विमान ४३ वर्ष पुरानो भएको बताइएको छ।

तस्बिर स्रोत, NArendra Shahi
उक्त मोडलको विमानमा फ्लाइट डेटा रेकर्डर नहुने छानबिन समिति सदस्यसचिव समेत रहेका नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए।
"ब्ल्याक बक्समा ककपिट भोइस रेकर्डर र फ्लाइट डेटा रेकर्डर दुवै हुन्छन्। यो मोडलको विमानमा चाहिँ ककपिट डेटा रेकर्डर मात्रै हुन्छ र त्यो पनि ब्ल्याक बक्सकै एउटा भाग हो," उनले भने।
Nepal Aeroplane Accident
विमान ठोक्किएको ठाउँमा पहिरोजस्तो देखिन्छ: उद्धारकर्मी
खोजी र उद्धारमा खटिएका नरेन्द्र शाही नरेनका अनुसार विमान बजारिएको ठाउँ स्थानीयवासीले चौँरी चराउने लेक हो।
मानापाथी हिमालको तलतर्फ पर्ने ४,१०० मिटर उचाइमा रहेको दुर्घटनास्थलमा गाउँबाट पुग्न साढे चार घण्टाभन्दा बढी लाग्छ।
उनले विमान जोडले ठोक्किएको स्थानमा पहिरो गए जस्तो देखिएको जानकारी दिए।
"एकातर्फको पखेटा भुईइमा ठोक्किएछ। त्यो ठाउँ पहिरो गए जस्तै देखिन्छ। त्यसपछि बडी चाहिँ ५० मिटर पर पुगेर धसिएको रहेछ। बीचको भाग ठोक्किएर आधा एकातिर आधा अर्कोतिर पुगेको देखियो," उनले भने।
"प्लेनको पुच्छरतर्फको भाग भाँच्चिएर तल खोल्सामा खसेको थियो।"

तस्बिर स्रोत, Courtesy: Narendra Shahi
शाहीका अनुसार पाँच जनाको शव विमान बजारिएको भीरभन्दा झन्डै ६० मिटर तल खोल्सामा भेटिएको थियो।
विमान परिचारिकासहित पाँच जनाको शव खोल्साबाट निकालिएको उनले जानकारी दिए।
सोमवारै सबै जनाको शव देखिए पनि वर्षाका कारण खोल्सामा पानीको मात्रा बढेपछि माथि ल्याउन नसकिएको उनले जानकारी दिए।
उनका अनुसार सात जना माउन्टेन गाइडसहित १३ जनाको समूहले डोरीको सहायताले खोलाबाट शव र ब्ल्याक बक्स निकालेका थिए।
"अप्ठ्यारो भीर भएका कारण हामीले सेना र प्रहरीलाई उद्धारमा सहयोग गर्यौँ," उनले भने।
घटना के हो
चार जना भारतीय, दुई जर्मन र १६ जना नेपाली नागरिक रहेको उक्त ट्विनअटर 9NAET विमान आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उडेको थियो।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान १०:११ बजेपश्चात् जोमसोम टावरमा सम्पर्कमा आएन। त्यसअघि प्राधिकरणले विमानसँग अन्तिम पटक घोडेपानी भन्ने स्थानमा १०:०७ बजे जाँदा सम्पर्क भएको जनाएको थियो।

विमान तथा उडानको तथ्याङ्क राख्ने वेबसाइट फ्लाइटरेडार२४ का अनुसार सम्पर्क विच्छेद हुनुअघि उक्त विमान १२,८२५ फिटको उचाइमा थियो। अन्तिम सम्पर्क हुँदा विमान रहेको स्थानको ल्याटिट्यूड र लङ्गिट्यूड सार्वजनिक गरेको छ।
प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ र माथिल्लो मुस्ताङस्थित दामोदर कुण्ड जान स्वदेशी तथा विदेश तीर्थयात्री र पर्यटकहरू जोमसोमसम्म विमानमा जाने गरेका छन्।
जोमसोमबाट मुक्तिनाथ झन्डै २५ किलोमिटर टाढा छ।