विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस नेपालमा, के छ स्वास्थ्यमन्त्रीको अजेन्डा

डा टेड्रस

तस्बिर स्रोत, AFP

भारत भ्रमण सकेर काठमाण्डू आइपुगेका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानम गेहब्रेयससले तीन दिनको नेपाल बसाइका बेला उठाउनुपर्ने विषयवस्तु तयार पारिएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बीबीसीलाई बताएका छन्।

यो अवसरलाई कोरोनाभाइरस महामारी नियन्त्रणमा भएका कामकारबाहीको समीक्षा गर्न पनि उपयोग गरिने उनले बताए।

सहयोगको समीक्षा

"नेपालको स्वास्थ्य क्षेत्रमा डब्ल्यूएचओको लामो समयदेखि योगदान छ। खोपदेखि लिएर प्राविधिक विषयहरूमा हामीले सहयोग पाएका छौँ। यिनै विषयमा समीक्षा हुनेछ," खतिवडाले भने।

आगामी दिनमा विश्व स्वास्थ्य सङ्गठन र नेपालबीच स्वास्थ्यमा हुन सक्ने साझेदारीका क्षेत्रबारे समेत कुराकानी हुने उनले बताए।

कतिपय जनस्वास्थ्य विज्ञहरूले चाहिँ उनको भ्रमणलाई केवल अहिले चाहिएका सरसहयोग माग्नमा मात्र सीमित नगरेर भविष्यका निम्ति आवश्यक विषयबारे पनि सहयोग खोज्न उपयोग गर्नुपर्ने सुझाव दिइरहेका छन्।

"खासगरी उपचारात्मक विषयहरूको सन्दर्भमा हामीले ग्रामीण भेगका स्वास्थ्यकेन्द्रहरूको स्तरोन्नति अनि अत्याधुनिक सुविधालाई राजधानीबाहिर विस्तार गर्न उसको प्राविधिक सहयोग लिन सक्छौँ," सङ्क्रामक रोग विशेषज्ञ प्राध्यापक डा. जनक कोइरालाले भने।

कोभिडकै सन्दर्भमा विगतमा नेपाललाई निकै परिमाणमा सघन उपचारका सामग्री, भेन्टिलेटर आदि प्राप्त भएका थिए।

"ती सामग्री गाउँगाउँमा पुर्‍याइएको भनिएको छ। तर तिनलाई चलाउन सक्ने जनशक्ति छैन। यस क्षेत्रमा हामीलाई डब्ल्यूएचओको सहयोग मूल्यवान् हुन सक्छ," उनले भने।

खोपमा सहयोग

कोरोनाभाइरस महामारीलगत्तै नेपालले अन्तर्राष्ट्रिय सहयोग सञ्जाल कोभ्याक्समार्फत् ठूलो परिमाणमा खोप सहयोग पाएको थियो।

खोप र उपचार प्रणालीजस्ता विषयमा डब्ल्यूएचओले पनि सहजीकरण गर्दै आएको छ।

महानिर्देशकको भ्रमणमा कोभिड खोप सहयोगबारे स्वाभाविक रूपमा कुराकानी हुने मन्त्री खतिवडाले जानकारी दिएका छन्।

हालसम्म नेपालमा पाँच करोड ३३ लाख मात्रा खोप भित्रिसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

कुल जनसङ्ख्याको दुईतिहाइले पूर्ण मात्रा खोप लगाइसकेको त्यसले देखाएको छ।

तर अझै १२ वर्षभन्दा मुनि उमेर समूहलाई खोप दिइएको छैन।

खोप

तस्बिर स्रोत, RSS

त्यसको लागि पैसा अपुग भएका जस्ता विवरणका माझ स्वास्थ्यमन्त्री खतिवडाले आगामी जुन महिनामा उक्त समूहका निम्ति खोपको जोहो भइसक्ने बताएका छन्।

"हामीले खोप सहयोगको खोजी गरिरहेका छौँ। तर आवश्यक परेको खण्डमा हामीसँग पैसा पनि छ र विश्व ब्याङ्कले सहयोग पनि दिन तयार छ," उनले भने।

डा. टेड्रोस नेपाल भ्रमणमा आउने डब्ल्यूएचओका पहिलो महानिर्देशक भने होइनन्।

यसअघि सन् २००९ मा क्षेत्रीय कार्यक्रममा भाग लिन तत्कालीन महानिर्देशक मार्गरेट चान नेपाल आएकी थिइन्।

तीनदिने भ्रमणका क्रममा डा. टेड्रोसले राष्ट्रपति, प्रधानमन्त्री एवं स्वास्थ्यमन्त्रीसँग भेटघाट गर्नेछन्।

साथै टाइफोइडविरुद्ध जारी खोप अभियानको पनि अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ।

यो पनि हेर्नुहोस्