इजरेली प्रधानमन्त्री नेतन्याहूद्वारा आन्तरिक सुरक्षा तथा गुप्तचर निकायका प्रमुख बर्खास्त

तस्बिर स्रोत, Getty Images
- Author, एमेली एट्किन्सन
- Role, बीबीसी न्यूज
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणको पूर्वानुमान गर्न विफल भएको भन्दै देशको आन्तरिक सुरक्षा तथा गुप्तचर निकाय 'शिन बेट' का प्रमुखलाई पदमुक्त गरेका छन्।
बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले रोनेन बारलाई हटाउने औपचारिक निर्णय गरेको हो।
शिन बेट इजरेलको आन्तरिक गुप्तचर निकाय हो। युद्धमा यो निकायले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यसले गर्ने गतिविधि र यसमा संलग्न हुने व्यक्तिहरूलाई राज्यले गोप्य राख्छ।
प्रधानमन्त्रीका उच्च सहयोगीहरूले कतारको पक्षमा पैरवी गरिरहेको विषयमा शेन बेटको छानबिन गरिरहेको थियो।
सन् २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणको विषयमा नेतन्याहू र बारबीच गम्भीर मतभेद थियो। दुवैले एकअर्कालाई विफल भएको आरोप लगाउने गरेका छन्। यो निर्णयबाट बारलाई पदमुक्त गर्ने नेतन्याहूको योजनाको विरोध गरिरहेका प्रदर्शनकारीहरूलाई आक्रोशित तुल्याउने देखिन्छ।
बार सन् २०२१ को अक्टोबरमा पाँच वर्षका लागि उक्त पदमा नियुक्त भएका थिए।
नेतन्याहूले के भने?

तस्बिर स्रोत, EPA
आइतवार एउटा भिडिओ सन्देशमा नेतन्याहूले बारलाई पदमुक्त गर्ने आफ्नो उद्देश्य घोषणा गरेका थिए। उनले आफूहरूबीच "अविश्वास कायम" रहेको र "समयक्रममा त्यो अझ बढेको" बताए।
उक्त घोषणाले आक्रोश उत्पन्न गराएको थियो र जेरुसलेममा सरकारविरोधी प्रदर्शनहरू चर्किएका थिए। इजरेलले गाजामा गरेका ताजा आक्रमणको विरोध गर्दै हजारौँ मानिसहरू सडकमा भेला भएका थिए।
बारले आफूलाई पदमुक्त गर्ने निर्णय "राजनीतिक पूर्वाग्रहबाट प्रेरित" रहेको प्रतिक्रिया दिएका छन्।
मङ्गलवारदेखि इजरेलले प्यालेस्टाइनमा रहेको ठानिएका हमासका निसानाहरूमा चरणबद्ध आक्रमण गरिरहेको छ। उक्त कदमले दुई महिनादेखि चल्दै भएको युद्धविराम भङ्ग भएको छ।
कस्तो प्रतिक्रिया आएको छ?
नेतन्याहूकी कटु आलोचक मानिने इजरेलकी महान्यायाधिवक्ता गाली बहरभ-मिअराले उक्त कदमको कानुनी आधारको मूल्याङ्कन नभएसम्म बारलाई पदबाट हटाउन नमिल्ने तर्क गरेकी छन्। महान्यायाधिवक्ता स्वयंलाई पनि पदमुक्त गर्न प्रक्रिया अघि बढाइएको छ।
नेतान्याहूले मन्त्रिपरिषद्को बैठकअघि आफ्नो सरकारका सदस्यहरूलाई एउटा पत्र पठाउँदै आफू र बारबीच "निरन्तर व्यवसायिक र व्यक्तिगत विश्वासमा ह्रास" आएको जनाउ दिएका थिए।
पत्रमा बारको कार्यकाल एप्रिल २० मा अन्त्य हुने उल्लेख थियो।
"अक्टोबर ७ (२०२३) को कार्यगत विफलतापछि पनि युद्धको समयमा र हालैका महिनामा पेसागत विश्वासको कमी अझ बढेको छ," पत्रमा इजरेल-गाजा युद्ध निम्त्याउने गरी भएको हमास आक्रमणको सन्दर्भ उल्लेख गरिएको छ।
हमासले इजरेलमाथि गरेको आक्रमणमा झन्डै १,२०० जनाको ज्यान गएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।
इजरेलले त्यसको जबाफमा गरेको भीषण सैन्य आक्रमणमा ४८,५०० भन्दा बढी प्यालेस्टिनीहरू मारिएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।