अस्ट्रियामा मदिरा गोदाम सफा गर्न लाग्दा फेला परे म्यामथका हजारौँ वर्ष पुराना हड्डी

म्यामथको हड्डी उत्खनन गर्दै पुरातत्त्वविद्हरू

तस्बिर स्रोत, OeAW-OeAI/H.Parow-Souchon

अस्ट्रियाको एउटा ग्रामीण भेगमा मदिरा भण्डारण गरेर राख्ने 'सेलर' अर्थात् भूमिगत कोठा जीर्णोद्धार गर्ने क्रममा एक व्यक्तिले अद्भुत कुरा फेला पारे।

उनले त्यहाँ आफ्ना पूर्वजले राखेको मूल्यवान् मदिरा नभई प्रागैतिहासिक कालको विशाल जीव 'म्यामथ'का अवशेषहरू फेला पारेका थिए।

अस्ट्रियन अक्याडमी अफ साइअन्सेसअन्तर्गत रहेको अस्ट्रियाली पुरातत्त्व संस्थान 'ओईएडब्ल्यू'ले ती वस्तुलाई "पुरातात्त्विक सनसनी" मानेको छ।

भिएनाबाट पश्चिममा अवस्थित क्रेम्स जिल्लाको गोबेल्स्बर्ग गाउँमा मदिरा उत्पादक आन्ड्रियास प्यार्नेर्स्टोर्फरले आफ्नो भूमिगत गोदाममा निकै तल पुरिएका ठूलाठूला हड्डीहरू फेला पारेका थिए।

प्यार्नेर्स्टोर्फरले त्यसबारे स्थानीय अधिकारीहरूलाई जानकारी दिए। ती हड्डी पाषणयुगका र कम्तीमा तीनवटा भीमकाय म्यामथको भएको उनीहरूले पत्ता लगाए।

अस्ट्रियन ब्रोडकास्टिङ कर्पोरेशन (ओआरएफ) सँग कुरा गर्दै प्यार्नेर्स्टोर्फरले गोदाममा मर्मतको काम गर्दा हड्डीहरू फेला परेको बताए।

"पहिला त मलाई त्यो मेरा हजुरबुवाले छोडेको काठको टुक्रा हो कि जस्तो लाग्यो। तर त्यसपछि मैले अझ खनेँ," उनले भने।

हजुरबुवाले पहिला त्यहाँ दाँतहरू फेला परेको कुरा बताउनुभएको पनि मैले सम्झेँ। त्यसपछि मलाई झल्याँस्स त्यो म्यामथ हो जस्तो लाग्यो।"

अस्ट्रियाली पुरातत्त्व संस्थानका अनुसन्धानकर्ताहरूले मे महिनाको मध्यदेखि त्यहाँ उत्खनन थालेका हुन्।

म्यामथको हड्डी उत्खनन गर्दै पुरातत्त्वविद्हरू

तस्बिर स्रोत, OeAW-OeAI/H.Parow-Souchon

अवशेष कति पुराना?

पुरातत्त्वविद् थोमस आइन्भोइगेरर र हान्ना पारोभ-साउचोनका अनुसार त्यहाँ फेला परेका ढुङ्गाका पुरातात्त्विक वस्तु र अँगारले ती हड्डीहरू ३०,००० देखि ४०,००० वर्ष पुराना भएको सङ्केत गर्छन्।

ओईएडब्ल्यूले १५० वर्षअघि क्रेम्स जिल्लामै म्यामथका हड्डीहरू फेला पारेको थियो।

"त्यतिबेला उत्खनन गर्दा मदिराका भूमिगत गोदामहरू पूरै खोतलिएको थियो। अस्ट्रिया र छिमेकी देशहरूमा तुलना गर्न मिल्ने पुरातात्त्विक स्थलहरूमा कम्तीमा १०० वर्षअघि उत्खनन गरिएको थियो," उक्त संस्थानले एउटा विज्ञप्तिमा भनेको छ।

"ती स्थलहरू आधुनिक विधिबाट अनुसन्धान गर्न अहिले लगभग अनुपलब्ध छन्।

आधुनिक विधि प्रयोग गरेर आफूहरूले पहिलो पटक त्यस्ता पुरातात्त्विक वस्तुहरूबारे अनुसन्धान गर्न सकेको पारोभ-साउचोन बताउँछिन्।

'म्यामथको सिकार कसरी हुन्थ्यो");