पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिमबारे विज्ञ यसो भन्छन्

जाजरकोटको लहँका हाँसिमाया कामीले निर्माण गरेको भूकम्प प्रतिरोधी घर

तस्बिर स्रोत, BADRI PANT

तस्बिरको क्याप्शन, जाजरकोटको लहँकी हाँसिमाया कामीले भूकम्पप्रतिरोधी घर निर्माण गरेकी छन्
  • Author, प्रकाश पन्त
  • Role, सुर्खेत

पश्चिम नेपालमा पर्ने जाजरकोट जिल्लाको बारेकोटलाई केन्द्र बनाएर डेढ वर्षअघि गएको ६.४ म्याग्निट्यूडको भूकम्पयता मात्रै त्यहाँ ८५३ वटा परकम्प गएका छन्।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार विसं २०८० साल कार्तिक १७ गतेदेखि २०८२ वैशाख ३ गतेसम्म जाजरकोट र त्यस आसपास केन्द्र बनाएर यी परकम्प गएका हुन्।

पाँचदेखि ६ म्याग्निट्यूडका ३ वटा, ४ देखि ५ सम्मका १२ वटा, ३ देखि ४ सम्मका ५७ वटा, २ देखि ३ म्याग्निट्यूडसम्मका ४३८ वटा र २ भन्दा साना ३४२ वटा परकम्प गएका छन् ।

यी परकम्पबाट जनधनको ठूलो क्षति नभए पनि त्यस क्षेत्रका मानिसहरू भने आफूहरू निरन्तरको डर र त्रासमा बाँचिरहेको बताउँछन्।

भूकम्पमा परेर जाजरकोट र रुकुम पश्चिममा गरी १५७ जनाको ज्यान गएको थियो भने करिब ४ सयजना घाइते भएका थिए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ३४ हजारभन्दा बढी निजी आवासमा क्षति पुगेको थियो।

भावी खतराहरू

भूकम्प प्रभावित क्षेत्रमा भूकम्प प्रतिरोधी घर निर्माण गर्दै सर्वसाधारण

तस्बिर स्रोत, BADRI PANT

तस्बिरको क्याप्शन, विगतमा परम्परागत घर निर्माण गर्ने गरेका सर्वसाधारणहरूले भूकम्पपछि भने प्राविधिकको सल्लाहमा भूकम्पप्रतिरोधी घर निर्माण गर्न थालेका छन्

विक्रम संवत् १५०५ सालमा मुस्ताङ जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको ८ दशमलव ५ म्याग्निट्यूडको भूकम्प नै नेपालमा अहिलेसम्म थाहा भएकामध्ये सबैभन्दा ठूलो भूकम्प भएको बताइन्छ।

त्यसपछि साढे पाँच सय वर्षदेखि नेपालको गोरखादेखि पश्चिमतर्फ र भारतको देहरादुनदेखि पूर्वतिरको भागमा महाभूकम्प नगएको विज्ञहरू बताउँछन्।

यो क्षेत्रभित्र यतिका वर्षसम्म ठृूलो भूकम्प नजानुको अर्थ यहाँ ८ म्याग्निट्यूडभन्दा माथिका भूकम्प जान सक्ने शक्ति जम्मा भइरकेको छ भन्ने बुझिने राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए।

उनका अनुसार बढी शक्ति सञ्चित भएको कारण गोरखादेखि देहरादुन बीचको क्षेत्रमा कुनै पनि बेला महाभूकम्प जान सक्छ।

"तर कहिले जान्छ भन्न सकिँदैन, जति बेला पनि जान सक्ने सम्भावना भने छ," अधिकारीले भने।

"पूर्वी नेपालमा विक्रम संवत् १२५५ पछि १९९० सालमा भूकम्प आउँदा ७ सय वर्ष लागेको थियो । त्यसै अवस्था अहिले पश्चिम नेपालमा छ।"

महाभूकम्प कति शक्तिशाली

जाजरकोट नलगाड कालिमाटीका सर्वसाधारणहरू भूकम्पपछि घरबाट बाहिर निस्किँदै
तस्बिरको क्याप्शन, गत चैत्र २२ गते तीन मिनेटको फरकमा गएका ५.२ र ५.५ म्याग्निट्यूडका दुईवटा परकम्प जाँदा घरबाट बाहिर निस्केका जाजरकोट नलगाड कालिमाटीका सर्वसाधारणहरू

साधारणता एक म्याग्निट्यूड फरकमा भूकम्प जाँदा प्रतिम्याग्निट्यूडमा ३४ गुण बढी शक्ति र १० गुणा बढी कम्पन हुन्छ।

जस्तो कि भूकम्पको शक्ति ६ को भन्दा ७ मा ३४ गुण बढी र ७ भन्दा ८ मा पनि ३४ गुण नै बढी हुन्छ।

भूकम्पविद् अधिकारीका अनुसार जाजरकोटमा गएको ६ दशमलव ४ म्याग्निट्यूडको भूकम्पलाई नै आधार मान्ने हो भने यदि ८ दशमलव ४ म्याग्निट्यूडको भूकम्प गयो भने त्यसमा एक हजार २४ गुणा बढी शक्ति हुने र त्यसले एक सय गुण बढी हल्लाउने छ।

दुई म्याग्निट्यूड मात्र फरक हुँदा भूकम्पको शक्ति हजार गुणाले र कम्पन सय गुणाले फरक पर्ने गर्छ ।

क्षति कम गर्न के गर्ने ?

कस्तो भूकम्प जाँदा कति क्षति हुन्छ भन्ने कुरा सबैले बुझ्नु पर्छ। अनि कहाँ कति जोखिम छ भन्ने कुरा पनि पत्ता लगाउनुपर्छ।

त्यसैले भूकम्पीय जोखिमलाई ध्यानमा राखेर घर तथा अन्य संरचना बनाउने हो भने क्षति कम गर्न सकिन्छ।

त्यसका लागि अब बनाउने नयाँ संरचनामा भूकम्पीय जोखिम थप्न नहुने र पहिला बनेका संरचनालाई पनि भूकम्पप्रतिरोधी बनाउनुपर्ने सुझाव भूकम्पविद्हरूको छ।

भूकम्पको जोखिमबारे एक दिन सिकाएर नहुने भन्दै उनीहरू स्थानीय तहले पाठ्यपुस्तकमा भूकम्पसम्बन्धी शिक्षा राख्नुपर्ने, भाडामा दिने घरहरू कमजोर बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने, भवन निर्माण आचारसंहिताको कडाइको साथ पालना गर्ने र गराउने, भूकम्पीय जोखिमको अध्ययन गर्ने, आमनागरिकले पनि आफ्नो जिम्मेवारी बोध गर्नेलगायत विषयमा ध्यान दिन सुझाउँछन्।

नागरिकसँगै राज्यले पनि भूकम्पबाट ठूलो क्षति बेहोर्नुपर्ने भएकोले सरकारले भइरहेको जोखिमलाई घटाउने र थप जोखिम हुन नदिनेतिर ध्यान दिनुपर्नेमा भूकम्पविद्हरूको जोड छ।