भूकम्प जाँदा के गर्नुपर्छ, के गर्नु हुँदैन

म्यान्मारको म्यान्डलेमा आइतवार एक व्यक्तिलाई भवनको भग्नावशेषबाट जीवितै बाहिर निकाल्दै उद्धारकर्मीहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, म्यान्मारको म्यान्डलेमा आइतवार केही मानिसलाई भवनका भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ

संसारभरि प्रत्येक वर्ष सयौँ भूकम्पहरू जान्छन्। तिनका कारण धनजनको ठूलो क्षति हुन्छ।

गत मार्च २८ शुक्रवार म्यान्मारको मध्यभागमा केन्द्रबिन्दु हुँदै आएको शक्तिशाली भूकम्पका कारण म्यान्मार र छिमेकी देश थाईल्यान्डमा पनि धनजनको ठूलो क्षति पुगेको छ। म्यान्मारमा भूकम्पका कारण मृत्यु हुने मानिसको सङ्ख्या १,७०० नाघेको छ।

उक्त भूकम्पका कारण केन्द्रबिन्दुभन्दा १,००० भन्दा बढी किलोमिटर टाढा अवस्थित ब्याङ्ककमा भवनहरू भत्किएका छन्। दुवै देशमा भत्किएका भवनमुनि कैयौँ मानिस पुरिएको आशङ्का गरिएको छ।

म्यान्मारमा स्थानीय समयानुसार दिउँसो १२ः५० बजे आएको म्याग्निट्यूड ७.७ को भूकम्पको उद्गमस्थल जमिनभन्दा १० किलोमिटर तल भएको भूकम्पविद्हरूले बताएका छन्। त्यसको १२ मिनटपछि म्याग्निट्यूड ६.४ को अर्को शक्तिशाली भूकम्प गएको थियो।

अहिले पनि परकम्प आउने क्रम चलिरहेको छ। आइतवार गएको म्याग्निट्यूड ५.१ को भूकम्पले मानिसहरूमा भय अझ थपिदिएको छ।

एक महिनादेखि ग्रीक टापु सान्टोरिनीमा हजारौँ भूकम्प आइसकेका छन्।

विज्ञहरू त्यो क्रम कहिले रोकिन्छ भन्न सक्ने अवस्थामा छैनन्। गत ज्यानुअरीमा तिब्बतमा गएको म्याग्निट्यूड ७.१ को भूकम्पका कारण १२६ जनाको मृत्यु भएको थियो। नेपालमा पनि उक्त भूकम्पको धक्का महसुस भएको थियो।

ब्याङ्ककमा भत्किएको भवनमा खोजी गर्दै उद्धारकर्मीहरू

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, म्यान्मारको म्यान्डलेनजिकै केन्द्रबिन्दु भएर आएको भूकम्पका कारण ब्याङ्ककमा भवनहरू भत्किएका छन्

गत डिसेम्बर महिनामा भानुआटूमा म्याग्निट्यूड ७.३ को भूकम्पका कारण ठूलो क्षति पुग्यो भने क्यालिफोर्नियामा म्याग्निट्यूड ७.० को भूकम्प जाँदा सुनामीको चेतावनी जारी भयो।

फेब्रुअरी २०२३ मा टर्की र सिरियामा ७.८ म्याग्निट्यूड को भूकम्पलाई यो दशककै सबैभन्दा विनाशकारी मानिएको छ। उक्त भूकम्पमा परी ५९,००० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो।

टर्की विनाशकारी भूकम्पको जोखिमयुक्त क्षेत्रमा अवस्थित छ। सन् १९३९ देखि १९९९ सम्म त्यहाँ पाँचवटा ठूला भूकम्प गइसकेका थिए। सन् १९०० देखि २०२३ सम्म गएका ७६ वटा भूकम्पमा परी झन्डै एक लाख जनाले ज्यान गुमाएका थिए।

विगत दुई दशकमा अन्य ठूला घातक भूकम्प मध्ये २०२१ मा हाइटीमा २,२०० जनाभन्दा बढीको मृत्यु भएको थियो भने २०१८ मा इन्डोनेशियामा ४,३०० जनाभन्दा बढीको ज्यान गएको थियो।

इरानमा २०१७ को भूकम्पमा परी ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

नेपालमा सन् २०१५ मा गएको भूकम्पमा परेर झन्डै ९,००० जनाले ज्यान गुमाएका थिए।

भूकम्पको पूर्वानुमान सम्भव छ?

ग्रीसको सान्टोरिनी टापुमा ज्यानुअरीदेखि हजारौँ भूकम्प गएका छन्

तस्बिर स्रोत, /EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, ग्रीसको सान्टोरिनी टापुमा ज्यानुअरीदेखि हजारौँ भूकम्प गएका छन्

वैज्ञानिकहरूका अनुसार भूकम्प कहाँ जाने सम्भावना छ भन्ने थाहा भए पनि कहिले जान्छ भन्ने अनुमान गर्ने कुरामा हामी धेरै पछाडि छौँ।

त्यसोभए के भूकम्पको भविष्यवाणी गर्न सकिन्छ त?

"दुःखको कुरा सकिँदैन," इम्पेरीअल कलेज लन्डनका भूकम्पविद् डा स्टीफन हिक्स भन्छन्।

"तर हामी भूकम्पको पूर्वानुमान गर्न सक्छौँ, सम्भावना देखाउन सक्छौँ। जस्तै - अमेरिकाको क्यालिफोर्निया र जापानमा भूकम्पको पूर्वानुमान धेरै नै गर्न सकिने हुँदै छ।"

त्यसोभए सुरक्षित रहन के गर्न सकिन्छ र के गर्नु हुँदैन?

तयारी अवस्थामा रहनुहोस्

तिब्बतको शिगात्सेमा घरको भग्नावशेषनजिकै मानिसहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, तिब्बतमा गत ज्यानुअरीमा गएको भूकम्पका कारण धनजनको क्षति भएको थियो

भूकम्प कहिले जान्छ भनेर अनुमान गर्न सजिलो नभए पनि विज्ञहरूका अनुसार हामी सधैँ तयार रहनुपर्छ अर्थात् भूकम्प जाने सम्भावनालाई हेरेर योजना तयार पारेर राख्नुपर्छ।

"यदि तपाईँ [धेरै भूकम्प जाने] क्षेत्रमा बस्नुहुन्छ भने आफ्नो घरमा आपत्कालीन अवस्थामा चाहिने कुरा राख्दा उपयोगी हुन्छ," डा हिक्स भन्छन्।

उनका अनुसार त्यस्ता कुरामा अतिरिक्त पानी, टर्च, प्राथमिक उपचार किट र केही खानेकुरा हुनुपर्छ।

रेडक्रसका अनुसार त्यस्ता कुरामा अतिरिक्त नगद र औषधिको सूची जस्ता महत्त्वपूर्ण व्यक्तिगत कागजपत्रहरूको प्रतिलिपि पनि हुनुपर्छ।

यदि तपाईँ बसेको भवन सुरक्षित छ भने अन्यत्र नजानुहोस्

भूकम्पले भत्किएको भवनमा मानिसहरू

तस्बिर स्रोत, Getty Images

अमेरिका सरकारको भौगर्भिक निकाय यूएसजीएसका अनुसार यदि तपाईँ जहाँ हुनुहुन्छ त्यहीँ बस्नुभयो भने तपाईँलाई चोटपटक लाग्ने सम्भावना कम हुन्छ।

त्यसैले भूकम्पको समयमा बाहिर वा अन्य कोठातिर भाग्ने प्रयास नगर्न उसले सुझाव दिएको छ।

"ड्रप, कभर र होल्ड अन" अर्थात् 'निहुरिनु, छेकिनु र रोकिनु' सुरक्षित रहन मूलमन्त्र भएको विशेषज्ञहरू बताउँछन्।

आफ्नो हातलाई तल पारेर घुँडा टेकेर बस्दा तपाईँ माथिबाट झर्ने वस्तुबाट जोगिन सक्नुहुन्छ। यदि नजिकै कुनै अन्य आश्रयस्थल नभएमा टेबल वा डेस्कमुनि बसेको बेला भूकम्प नरोकिँदासम्म समातेर बस्ने सल्लाह पनि दिइएको छ।

जोगिने प्रारम्भिक उपायमध्ये ढोकामुनि उभिनु पनि हो। तर विज्ञहरू भन्छन्- यदि तपाईँ तुलनात्मक रूपमा पुरानो घरमा बस्नुहुन्छ भने तपाईँ टेबलमुनि सुरक्षित हुनुहुनेछ।

घरका झ्याल र अग्रभाग प्रायः पहिलो चरणमै भत्किन्छन्। त्यसैले यस्ता खतरायुक्त क्षेत्रहरूबाट टाढा बस्न सल्लाह दिइन्छ।

भूकम्प

तस्बिर स्रोत, Reuters

बाहिर निस्किँदा सुरक्षित भइन्छ भन्ने छैन

एक पटक भूकम्प बन्द भएपछि भवन भत्किएको अवस्थामा खुला क्षेत्रमा बाहिर निस्कनु सामान्यतया सुरक्षित मानिन्छ।

यो तपाईँ भित्र भएका बेला भूकम्प जाँदाको कुरा भयो। तर तपाईँ बाहिर हुँदा भूकम्प गयो भने के गर्ने?

"तपाईँ जहाँ हुनुहुन्छ, त्यहीँ बस्नुहोस्," विज्ञहरू भन्छन्।

घर बाहिर हुँदा विद्युत् वा इन्टरनेटआदिका तार, इन्धन र ग्यास लाइनबाट टाढा जाँदा चोटपटकको जोखिम कम हुन्छ।

त्यस्तै रूख, टेलिफोनका पोल र भवनबाट टाढा खुला ठाउँमा जानु राम्रो हुन्छ।

भूकम्प

तस्बिर स्रोत, Reuters

खतराबाट टाढा रहनुहोस्

अर्थक्वेक कन्ट्री अलायन्सका अनुसार अधिकांश घाइते र मृत्युको कारण टेलिभिजन, बत्ती, गिलास र पुस्तक राख्ने दराजजस्ता वस्तुहरू खसेर वा उडेर लाग्दा हुने गरेको छ।

चोटपटकबाट बच्ने एउटा तरिका भनेको लचकदार फित्ताहरूले गह्रौँ फर्निचरहरूलाई बाँधेर सुरक्षित गर्नु हो।

अर्को सम्भावित खतरा भनेको भूकम्पपछि फुटेका पाइपबाट ग्यास चुहिनु हो।