चीन भूकम्प: मृतकको सङ्ख्या बढ्यो, जीवित व्यक्तिको खोजी र उद्धार टुङ्गिने क्रममा

तस्बिर स्रोत, GETTY IMAGES
- Author, फ्रान्सिस माओ
- Role, बीबीसी न्यूज
पश्चिमोत्तर चीनमा विनाशकारी भूकम्पपछि जीवित मानिसको उद्धार गर्ने काम सकिन लागेको अधिकारीहरूले बताएका छन्। सोमवार मध्यराति आएको भूकम्पमा कम्तीमा १३१ जनाको ज्यान गएको छ।
बुधवार अधिकारीहरूले खोजी तथा उद्धारकार्य बन्द गर्न लागिएको र अब आफ्नो ध्यान घाइतेको उपचार र घर गुमाएका मानिसलाई सहयोग गर्न केन्द्रित हुने जनाएका छन्।
गान्सु प्रान्तको एउटा ग्रामीण भेगनजिकै केन्द्रबिन्दु भएर ६.२ म्याग्निट्यूडको भूकम्प जाँदा उक्त पर्वतीय क्षेत्रमा झन्डै १,००० जना घाइते भएका थिए।
मौसमको चुनौती
चिनियाँ सञ्चारमाध्यमले मङ्गलवार प्रभावित स्थानमा तापक्रम झरेर माइनस १३ डिग्री सेल्सिअस पुगेको जनाएका छन्।
अहिले उत्तरी चीनको ठूलो भागमा शीतलहर चलेको छ। कैयौँ सहरमा अहिलेसम्मकै कम तापक्रम मापन भएको छ।
गान्सु प्रान्तमा हजारौँ सहायताकर्मीहरू शून्यभन्दा कम तापक्रम पुगेको स्थानमा कठ्याङ्ग्रिँदो जाडोमा खोज तथा उद्धारमा खटिएका थिए।

क्षति
गान्सुमा भूकम्पपछि गएको पहिरोले भवन तथा सडकमा क्षति पुगेको छ। उक्त प्रान्तमा सर्वाधिक क्षति बेहोरेको जिशिशान काउन्टीका स्थानीय अधिकारीहरूले त्यहाँ ५,००० वटाभन्दा बढी घरमा क्षति पुगेको जनाएका छन्।
गान्सुको दक्षिणपट्टि रहेको चिन्खाई प्रान्तमा १६ जना अझै सम्पर्कविहीन छन्।
अन्य प्रान्तहरूमा पनि भूकम्पले सुक्खा पहिरो निम्तिएपछि सडकहरूमा क्षति पुगेको छ।
उक्त क्षेत्रका तस्बिरहरूमा पूरा गाउँ नै भूकम्पले विभाजित भएको र घर तथा भवनहरू भत्किएको देख्न सकिन्छ।
घर छोड्न बाध्य भएकाहरूलाई आश्रय दिन हतारहतार बनाइएका शिविरमा मानिसहरू आगो तापेर बसिरहेको तस्बिर पनि देखिन्छ।