मूल्यवृद्धिको दर 'घट्दा' पनि उपभोक्ता किन परे महँगीको मारमा

खाद्यपदार्थ
  • Author, विष्णु पोखरेल
  • Role, बीबीसी न्यूज नेपाली

नेपाल राष्ट्र ब्याङ्कले प्रकाशित गरेको एउटा नयाँ प्रतिवेदनका अनुसार फागुन महिनाको 'वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति' पाँच प्रतिशतभन्दा कम देखिन्छ।

त्यसको सामान्य अर्थ हो - उपभोक्ताले प्रयोग गर्ने आधारभूत वस्तुहरूको मूल्यवृद्धि गत वर्षको फागुन महिनाका तुलनामा यसपालि कम देखिन्छ।

यस्तो मूल्यवृद्धि गत फागुनमा ७.४४ प्रतिशत थियो तर यो वर्षको फागुनमा ४.८४ प्रतिशत मात्र छ।

त्यसलाई आधार मानेर नेपालमा मूल्यवृद्धिदर गत वर्षभन्दा घटेको भन्न सकिने जानकारहरू बताउँछन्।

यद्यपि उपभोक्ताहरू भने "भाउ अचाक्ली बढेको र मूल्यवृद्धि कम नभएको" गुनासो गरिरहेका छन्।

उनीहरूका भनाइमा दैनिक उपभोग्य वस्तुको भाउ कम भएको महसुस गर्न सकिएको छैन।

सरकारी तथ्याङ्क र उपभोक्ताको अनुभवमा किन बेमेल छ भन्ने प्रश्नमा विज्ञहरूले विभिन्न कारण औँल्याएका छन्।

कसरी भइरहेको छ मूल्यवृद्धि

राष्ट्र ब्याङ्कका अनुसार फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत छ।

उक्त महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसलाको भाउ सबैभन्दा धेरै बढेको छ।

त्यस्ता वस्तुको भाउ २८.१७ प्रतिशत बढ्दा तरकारीको मूल्य १४.०७ प्रतिशतले र दाल तथा गेडागुडीको भाउ ११.२२ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले भाउ बढेको देखिन्छ।

तर उक्त अवधिमा घिउ तथा तेल मूल्य सूचकाङ्क ११.७९ प्रतिशतले घटेको राष्ट्र ब्याङ्कको प्रतिवेदनमा उल्लेख छ।

उक्त अवधिमा सेवा क्षेत्रमा यातायातको मूल्यवृद्धि १.१५ प्रतिशतले कम भएको विवरण पनि त्यसमा छ। अन्य किसिमका सेवाको भाउ भने बढेको छ।

उपभोक्ता मूल्यवृद्धि काठमाण्डू उपत्यकामा ४.८८ प्रतिशत, तराईमा ४.४२ प्रतिशत, पहाडमा ५.४९ प्रतिशत र हिमालमा ४.४२ प्रतिशत देखिएको छ।

गत वर्ष फागुनमा भने उपत्यकामा ७.९५ प्रतिशत, तराईमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत थियो।

गत वर्षका तुलनामा कतिपय वस्तु र सेवाको मूल्यवृद्धिदर कम भएकाले औसत मूल्यवृद्धिदर पनि पोहोरभन्दा कम देखिएको जानकारहरू बताउँछन्।

'तथ्याङ्कमा घटेको देखिन्छ तर बजारमा झन् महँगी'

औसतमा गत वर्षको तुलनामा फागुन महिनामा मूल्यवृद्धिदर कम देखिए पनि उपभोक्ताले त्यस्तो अनुभव नगरेको एकजना उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ बताउँछन्।

"मूल्यवृद्धि त दोहोरो अङ्कमै होला बजारको अनुभवले त त्यस्तै देखाउँछ तर कसरी पाँच प्रतिशत हाराहारी मात्र भएको विवरण आयो"चीन र पाकिस्तानको राष्ट्रिय झण्डा अगाडि उभिएर मुस्कुराउँदै पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ र चिनियाँ राष्ट्रपति सी जिन्पिङ हात मिलाउँदै " loading="lazy" width="871" height="490" style="aspect-ratio:871 / 490" class="bbc-139onq"/>