उद्योगहरूमा लोडशेडिङ किन, अहिले कति विद्युत् उत्पादन हुन्छ

तस्बिर स्रोत, RSS
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
नेपालमा हिउँदमा बिजुलीको माग बढ्छ तर पूर्ण क्षमतामा उत्पादन भने हुँदैन। देशको सर्वाधिक क्षमताको जलविद्यु्त् आयोजनाको उत्पादन समेत अवरुद्ध हुँदा यो वर्ष अनपेक्षित ऊर्जा समस्या देखा परेको छ।
त्यसैले बिजुलीको सर्वाधिक माग र खपत हुने 'पीक आवर'मा औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने कुरा "यथार्थ" भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ताले बीबीसीलाई बताएका छन्। नेपालमा अपराह्ण ५ बजेदेखि राति ९ बजेसम्म बिजुलीको सर्वाधिक माग र खपत हुने गरेको छ।
नेपालमा झन्डै एक दशकअघि लोडशेडिङ हुन छाडेको भए पनि केही सातादेखि अहिले फेरि अघोषित रूपमै हुन थालेको भन्दै सर्वसाधारण उपभोक्ताहरूले गुनासो गर्न थालेका छन्।
दैनिक मुख्य माग हुने समयमा भारतबाट बिजुली आयात हुने अवस्था नरहेकाले माग सन्तुलन गर्न ठूला उद्योगहरूमा बिजुली काट्ने अवस्था आएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष बताउँछन्।
"विद्युत् भण्डारण गर्न सकिने कुरा होइन र हामी भारतबाट 'पीक आवर'मा मात्र बिजुली किन्छौँ भन्न सक्दैनौँ।"
"चौबिसै घण्टा किन्नुपर्ने अवस्था पनि आइसकेको छैन। त्यसैले उक्त अवधिमा माग कटौती गर्नुपरेको छ।"
उत्पादन घटेर एकतिहाइ मात्र
नेपालका धेरैजसो जलविद्युत् आयोजनाहरू नदीको जलप्रवाहमा आधारित रहेकाले सुक्खा याममा उत्पादन त्यसै पनि उल्लेख्य रूपमा घट्ने गर्छ।
नेपालको हाल जलविद्युत् जडान क्षमता झन्डै ३,४०३ मेगावाट पुगेको छ। तर विगतमा जस्तै यो वर्ष हिउँदमा कुल क्षमताको करिब एकतिहाइ मात्र विद्युत् उत्पादन हुन थालेको प्राधिकरणले जनाएको छ।
नेपालले भारतको प्रतिस्पर्धी विद्युत् बजारबाट ८०० मेगावाटसम्म विद्युत् किन्ने गरेको थियो। यो वर्ष पुसबाट थप ६५० मेगावाट बिजुली किन्न थाल्ने ऊर्जामन्त्री दीपक खड्काले सोमवार सार्वजनिक रूपमा बताएका थिए।
नेपालले भारतको उत्तर प्रदेश र बिहारबाट थप ६०० मेगावाट बिजुली आयातको प्रस्ताव गरेको थियो। तर भारतले त्यसबारे कुनै जबाफ नदिएको बुझिएको छ।
तामाकोशीको मार

तस्बिर स्रोत, UTKHPL
यो वर्ष आएको बाढीका कारण ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना नराम्ररी प्रभावित भयो। उक्त आयोजनाको 'हेडवर्क्स'मा असर परेपछि उक्त आयोजनाको उत्पादन अझै सुरु भएको छैन।
उक्त आयोजनालाई 'पीक आवर'को माग भरथेग गर्न सक्ने क्षमता भएको ठानिन्छ। तर यतिखेर त्यहाँबाट बिजुली उत्पादन हुन नसक्दा त्यसको प्रभाव विद्युत् आपूर्तिमा परेको प्राधिकरणका घोष स्वीकार गर्छन्।
"उक्त आयोजनामा हामी [माग नभएको समयमा] पानी थुनेर र माग हुँदा उत्पादन गर्न सक्थ्यौँ। त्यो सञ्चालन नहुँदासम्म हामीलाई कठिन अवस्था छ," घोषले भने।
"किनकि त्यसै पनि अन्य आयोजनाको उत्पादन क्षमता हिउँदमा घटिरहेको छ।"
अधिकारीहरूले कम्तीमा आउँदो बर्खाअघिदेखि उक्त आयोजना पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको बताउँदै आएका छन्।
प्राधिकरणले उक्त आयोजना आंशिक रूपमा यही हिउँददेखि नै सञ्चालनमा ल्याउने सकिने अपेक्षा गरेको छ। तर अधिकारीहरूले आफैँले तोकेको समयसीमा बारम्बार सार्दै आएका छन्। पछिल्लो पटक पुस १० देखि उक्त आयोजनाबाट केही विद्युत् उत्दान सुरु हुने प्राधिकरणले जनाएको छ।
बिजुलीको खपत बढ्दा थपिएको चुनौती

तस्बिर स्रोत, EPA
कुनै कडिकडाउ नगरीकन खपत गर्दाको अवस्थामा हिउँदमा बिजुलीको २,६०० देखि २,७०० मेगावाट पुग्ने अधिकारीहरू बताउँछन्।
तर केही नियन्त्रण गर्दा समेत एकदमै धेरै माग हुने घण्टाहरूमा झन्डै १,९०० मेगावाट बिजुली आपूर्ति गर्नुपर्ने चुनौती रहेको प्राधिकरणले जनाएको छ।
गत वर्ष मध्यजाडोका बेला 'पीक आवर'मा बिजुलीको माग २,३०० मेगावाटसम्म पुगेको थियो।
"पूर्वी नेपालतर्फ हामीले विद्युत् किन्नुपर्ने अवस्थाका लागि राम्रो प्रसारण प्रणाली बनाएका छौँ। तर ढल्केबर भन्दा पश्चिमतर्फका लागि प्रसारण लाइनहरू पर्याप्त छैनन्। विभिन्न अवरोधले ती विस्तार हुन सकेका छैनन्," घोष भन्छन्।
"घरेलु खपतमा असर नपरोस् भनेर हामीले आवश्यक पर्दा महँगोमै पनि बिजुली किनेर व्यवस्थापन गर्दै छौँ। 'पीक आवर'को व्यवस्थापनका लागि बिजुली पाउनु नै हिउँदमा ठूलो कुरा हो।"
उद्योगहरूमा लोडशेडिङ किन
सर्वसाधारण उपभोक्ताका घरमा हुने खपतमा कुनै पनि अवस्थामा लोडशेडिङ हुने अवस्था नआओस् भनेर औद्योगिक क्षेत्रमा कटौती गर्ने बाटो रोजिएको प्राधिकरणका अधिकारीहरूको तर्क छ।
ठूला उद्योगहरूसँग वैकल्पिक अवस्थाका लागि ऊर्जा जोहो गर्ने पूर्वाधारहरू समेत रहेकाले त्यसो गर्ने बाटो रोजिएको प्रवक्ता घोषले बताए।
"तर 'उद्योग' भन्दा हामीले केही 'ठूला उद्योग'लाई मात्र बुझ्नुपर्ने हुन्छ। नियमित विद्युत् लाइनबाटै ऊर्जा खपत गर्ने हजारौँ साना आकारका उद्योगहरूलाई त्यसको मार पर्ने छैन," घोषले भने।
चैत-वैशाखमा के होला
प्राधिकरणले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अवस्था सुधार नहुँदासम्म विद्युत् खपतमा परेको यस्तो चाप वैशाखसम्मै रहने चेतावनी दिएको छ।
घोषखा अनुसार चैत-वैशाखताका भारतबाट दिउँसो मात्रै विद्युत् आयात गर्न पाइने व्यवस्था रहेको छ।
"अहिले त साँझ ५ देखि ९ बजेसम्म मात्र बिजुली नहुने अवस्था हो। चैततिर त बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्मै बिजुली नहुने विकराल अवस्था बन्न सक्छ," उनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।