'गाजामा ट्रम्पले भने जस्तो हुँदैन': तर उनको घोषणाबाट कस्तो प्रभाव पर्ला

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
- Author, जेरमी बोअन
- Role, अन्तर्राष्ट्रिय सम्पादक
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गाजाको सन्दर्भमा अघि सारेको योजना कार्यान्वयन हुन सम्भव छैन। त्यो कार्यान्वयन गर्न अरब राष्ट्रहरूको समर्थन चाहिन्छ, तर तिनले त्यसो गर्न अस्वीकार गरिसकेका छन्।
गाजामा बस्ने प्यालेस्टिनीहरूलाई जोर्डन र इजिप्टले अङ्गीकार गरिदिऊन् भन्ने ट्रम्पको इच्छा छ। त्यसको खर्च चाहिँ साउदी अरबले बेहोरोस् भन्ने उनी चाहन्छन्।
अमेरिका र इजरेलका पश्चिमा सहयोगी राष्ट्रहरू पनि ट्रम्पको अवधारणाको विपक्षमा छन्।
अवसर पाउँदा धेरै प्यालेस्टिनीहरूले पलायन हुने इच्छा राखेका हुन सक्छन्। यदि १० लाख मानिसहरू मात्रै बाहिरिए भने पनि बाँकी १२ लाख प्यालेस्टिनी गाजामै रहने छन्।
ट्रम्पले गाजालाई मध्यपूर्वको बिदा मनाउन जाने लोकप्रिय थलो बनाउने उद्घोष गरे। उक्त थलोका मालिकहरूले प्यालेस्टिनीहरूलाई त्यहाँबाट हटाउन बल प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ।
सन् २००३ मा हस्तक्षेप गर्दा अमेरिकाले ठूलै क्षति बेहोर्नुपरेको थियो। त्यस परिप्रेक्ष्यमा ट्रम्पले अघि सारेको अहिलेको योजना अमेरिकामा निकै अलोकप्रिय बन्न सक्छ।
उनको योजनाले लामो समयदेखि जीवित रहेको "दुई राज्य" बनाएर समस्या समाधान गर्ने आशा पनि तुहिने छ। इजरेलजस्तै स्वतन्त्र प्यालेस्टाइन राष्ट्र बनाउने अपेक्षाका कारण एक शताब्दीदेखि द्वन्द्व चल्दै आएको छ।
इजरेलको नेतन्याहू सरकार यसको विपक्षमा छ।
दुई पक्षबीच भएका शान्तिवार्ताहरू वर्षौँदेखि निष्कर्षमा पुग्न विफल हुँदै आएका छन्। अनि "दुईथरी मानिसका लागि दुई राज्य" नारामा मात्रै सीमित भएको छ।
तर सन् १९९० को दशकको आरम्भदेखि यो अमेरिकी विदेशनीतिको प्रमुख विषय बनेको छ।
ट्रम्पको योजनाबाट अन्तर्राष्ट्रिय कानुनको पनि उल्लङ्घन हुन सक्छ।
नियममा आधारित अन्तर्राष्ट्रिय सुव्यवस्थामा विश्वास गर्ने अमेरिकी नारा पनि यसले अन्त्य गर्ने छ। यससँगै युक्रेनी भूमिमा रुसको महत्त्वाकाङ्क्षा र ताइवानमा चीनको दाबीमा पनि बल पुग्ने छ।
ट्रम्पको उद्घोषबाट मध्यपूर्वमा कस्तो प्रभाव

तस्बिर स्रोत, Getty Images
ट्रम्पका शब्दबाट बेन्जमिन नेतन्याहू प्रसन्न भएका छन्। तर ट्रम्पले वाशिङ्टनमा घोषणा गरे जसरी उक्त योजना व्यवहारमा लागु नहुने भएकाले त्यसबारे चिन्तित हुनु जरुरी छ त?
यसको उत्तर हो – अव्यावहारिक भए पनि ट्रम्पका टिप्पणीहरूले केही प्रभाव पार्न सक्छन्।
उनी समाचारमा देखा पर्न चाहने र राजनीतिक नेतृत्वमा पुग्ने सपना राख्ने सामान्य व्यक्ति नभई संसारको सबैभन्दा शक्तिशाली मानिने देश संयुक्त राज्य अमेरिकाका राष्ट्रपति हुन्।
तत्कालका लागि भन्नुपर्दा उनको घोषणाले गाजामा जारी युद्धविरामलाई कमजोर पारिदिन सक्छ। एक वरिष्ठ अरब स्रोतले मलाई ट्रम्पका शब्दहरू युद्धविराम अन्त्य गराइदिने "मृत्युनाद" बन्न सक्ने बताए।
गाजामा भविष्यमा कस्तो शासन हुन्छ भन्ने कुरा युद्धविराम सम्झौतामा समाविष्ट छैन।
स्वीकृत नभए पनि ट्रम्पको प्रस्तावमा त्यो कुरा परेको छ। प्यालेस्टिनी र इजरेलीहरूको मनमस्तिष्कमा त्यो कुरा आउने छ।

तस्बिर स्रोत, Reuters
यसले उग्रराष्ट्रवादी यहुदी चरमपन्थीहरूका योजना र चाहनालाई मलजल प्रदान गर्ने छ। उनीहरू भूमध्यसागर र जोर्डन नदीबीच पर्ने सबै भूमि र त्यसबाहेक सम्भवतः अरू ठाउँ पनि "ईश्वरले यहुदीहरूलाई दिएको" र त्यसमा आफ्नो "स्वामित्व भएको" मान्यता राख्छन्।
सरकारमा उनीहरूका नेताहरू पनि छन्। उनीहरूको सहयोगमा नेतन्याहू सत्तासीन छन्। त्यसैले उनीहरू उत्साहित देखिन्छन्। उनीहरू गाजाबाट प्यालेस्टिनीलाई हटाउने र त्यहाँ यहुदीहरूलाई स्थापित गर्ने दीर्घकालीन उद्देश्यसहित फेरि युद्ध होओस् भन्ने चाहना राख्छन्।
इजरेलका अर्थमन्त्री बेजालेल स्मोट्रिचका अनुसार अक्टोबर ७ मा भएको आक्रमणपछि नै ट्रम्पले गाजाको भविष्यबारे उत्तर दिइसकेका थिए।
"हाम्रो भूमिमा जसले बीभत्स नरसंहार गर्यो, उसले सदाका लागि आफ्नो भूमि पनि गुमाउने छ। अहिले हामी ईश्वरको सहयोगमा प्यालेस्टाइन राज्यको डरलाग्दो अवधारणालाई अन्ततः गाडिदिने कार्य गर्छौँ," आफ्नो वक्तव्यमा उनले भने।
इजरेलका मध्यमार्गी विपक्षी नेताहरू त्यति वाचाल देखिँदैनन्, सम्भवतः पछि समस्या उत्पन्न हुने डरले। तर उनीहरूले संयमित भएर ट्रम्पको योजनाको स्वागत गरेका छन्।
हमास र अन्य प्यालेस्टिनी सशस्त्र समूहहरूले इजरेलविरुद्ध कुनै खालको शक्ति प्रदर्शनसहित ट्रम्पलाई जबाफ दिनुपर्ने आवश्यकता महसुस भएको हुन सक्छ।
प्यालेस्टिनीहरूका लागि इजरेलसँगको द्वन्द्व भूमिच्युत हुनुको पीडा र उनीहरूले भन्दै आएको 'अल-नक्वा' अर्थात् विध्वंशको सम्झनाबाट प्रेरित छ। सन् १९४८ मा इजरेलले स्वतन्त्रताको युद्ध जितेपछि ठूलो सङ्ख्यामा प्यालेस्टिनीहरूको बहिर्गमन भएको थियो।

तस्बिर स्रोत, Reuters
सात लाखभन्दा बढी प्यालेस्टिनीहरू भागेका थिए वा इजरेली फौजले उनीहरूलाई आफ्नो घर छोड्न बाध्य पारेको थियो। केही व्यक्तिबाहेक अरूलाई कहिल्यै आफ्नो भूमिमा फर्किन दिइएन। उनीहरूको सर्वस्व हरण गर्ने गरी बनाइएको कानुन अझै पनि इजरेलमा प्रचलनमा छ।
अहिले फेरि त्यसो हुन सक्छ भन्ने डर उत्पन्न भएको छ।
धेरै प्यालेस्टिनीहरू इजरेलले हमासविरुद्धको युद्धको नाममा गाजालाई ध्वस्त पार्न र प्यालेस्टिनीहरूलाई त्यहाँबाट धपाउन खोजेको मान्यता राख्छन्।
इजरेलले गाजामा नरसंहार गरिरहेको उनीहरूको आरोपमा यो कुरा पनि पर्छ। अहिले डोनल्ड ट्रम्पले इजरेली योजनालाई सघाउन खोजेको भान उनीहरूलाई पर्न सक्छ।
ट्रम्पको उद्देश्य के हुन सक्छ
ट्रम्पले कुनै कुरा भन्दैमा त्यो सत्य हुन्छ भन्ने छैन।
उनका वक्तव्यहरू संयुक्त राज्य अमेरिकाको स्थापित नीतिभन्दा पनि घरजग्गाको मोलमोलाइ गर्दा प्रायः सुरुमा भनिने कुराजस्ता हुन्छन्।
अर्को योजना बन्ने क्रममा रहेको बेला सम्भवतः उनले जानीजानी अन्योल फैलाउन खोजेको हुन सक्छ। उनमा नोबेल शान्ति पुरस्कारको लालसा रहेको ठानिन्छ।
मध्यपूर्वमा शान्ति स्थापना गर्न सफल नभए पनि केही वार्ताकारले नोबेल शान्ति पुरस्कार पाएका छन्।

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock
गाजासम्बन्धी घोषणा गरिसकेपछि ट्रम्पले आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल 'ट्रूथ सोशल'मा इरानसँग "पारमाणविक शान्ति सहमति" गर्ने इच्छा व्यक्त गर्दै एउटा पोस्ट गरे।
इरानको शासनसत्ताले परमाणुअस्त्र राख्न खोजेको अस्वीकार गर्दै आएको छ। तर अहिले जोखिम बढेकाले आफ्नो रक्षाका लागि परमाणुअस्त्र आवश्यक छ कि छैन भन्ने विषयमा तेहरानमा खुला बहस सुरु भएको छ।
वर्षौँदेखि बेन्जमिन नेतन्याहूले इजरेलको सहयोगमा अमेरिकाले इरानस्थित पारमाणविक परियोजनाका स्थानहरू ध्वस्त पारिदेओस् भन्ने चाहेका छन्। इरानसँग सहमति गर्नु उनको योजनामा पर्दैन।
ट्रम्पको पहिलो कार्यकालमा नेतन्याहूले बराक ओबामाको शासनकालमा अमेरिका र इरानबीच भएको पारमाणविक सहमतिबाट वाशिङ्टन डीसीलाई अलग्गिन मनाउन निकै लामो अभियान चलाए। त्यसमा उनी सफल पनि भए।
इजरेली अतिदक्षिणपन्थी पक्षलाई प्रसन्न इरानसँगको प्रसङ्ग निकालेका हुन् भने ट्रम्प त्यसो गर्न सफल भएका छन्।
तर उनले विश्वभरिको सर्वाधिक अशान्त क्षेत्रमा अन्योल र अस्थिरताको बीजारोपण गरिदिएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।