कोभिड खोप बनाउने प्रविधिलाई नोबेल पुरस्कार

काटालिन कारिको र ड्रू भाइस्मान

तस्बिर स्रोत, EPA

यो वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड खोप निर्माण गर्न बाटो खोलिदिने प्रविधि विकास गर्ने दुई वैज्ञानिकले पाएका छन्।

ती वैज्ञानिक काटालिन कारिको र ड्रू भाइस्मान हुन्।

कोभिड महामारी फैलिनुअघि उक्त प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो। तर महामारी फैलिएपछि कोभिड खोप निर्माण गरी संसारभरि करोडौँ मानिसलाई दिइयो।

अहिले अरू रोग र क्यान्सरको उपचारका लागि सोही एमआरएनए प्रविधिको प्रयोग गर्न सकिन्छ कि भनी अनुसन्धान भइरहेको छ।

खोपले मानिसको प्रतिरक्षा प्रणालीलाई भाइरस वा ब्याक्टेरियाबाट हुने खतरा चिन्न र त्यसविरुद्ध लड्न तालिम दिन्छ।

काटालिन कारिको र ड्रू भाइस्मान

तस्बिर स्रोत, PENN MEDICINE/Reuters

परम्परागत खोप प्रविधिमा सङ्कक्रमण गराउने कीटाणुका मृत वा निष्क्रिय कोष वा कुनै अवयव प्रयोग गरिएको हुन्छ।

तर एमआरएनए प्रविधिले नितान्त भिन्न तरिका अवलम्बन गरी खोप निर्माण गर्छ।

एमआरएनए खोप प्रविधि

कोभिड महामारीका बेला मोडर्ना र फाइजर/बायोएन्टेकले एमआरएनए प्रविधि प्रयोग गरी खोप बनाएको थियो।

त्यस्ता खोप नेपालमा पनि प्रयोग भएका थियो।

नोबेल पुरस्कार समितिले भनेको छ: "पुरस्कार विजेताहरूले आधुनिक समयमा मानवस्वास्थ्यले सामना गरेको सबैभन्दा ठूलोमध्येको जोखिमका बेला अभूतपूर्व गतिमा गरिएको खोप विकासका लागि योगदान दिए।"

वैज्ञानिकद्वय कारिको र भाइस्मानको पहिलो भेट अमेरिकाको यूनिभर्सिटी अफ पेन्सल्भेनियामा काम गर्ने क्रममा सन् १९९० को दशकको सुरुतिर भएको थियो।

एमआरएनएमा उनीहरूको रुचि त्यस बेला वैज्ञानिक क्षेत्रको असामान्य काम थियो।

एआरएनए कोभिड खोप

तस्बिर स्रोत, Getty Images

यसअघि कसले पाएका थिए

सन् २०२२ - गत वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरेबापत स्वीडनका वैज्ञानिक स्वान्टे पाबोले पाएका थिए। पुरस्कार समितिले मानव जातिको विलुप्त तर मानवनिकट पूर्वज प्रजाति नीयान्डर्टालको आनुवंशिक कोड पत्ता लगाएर असम्भव देखिने काम गरेकाले उनलाई पुरस्कार दिइएको जनाएको थियो। 

  • २०२१ - डेभिड जुलिअस र आर्डम पाटपूटिअनलाई शरीरले स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियाबारे अनुसन्धान गरेकाले
  • २०२०- ब्रिटिश वैज्ञानिक माइकल हाउटन तथा दुई अमेरिकी अनुसन्धानकर्ता हार्भी अल्टर र चार्ल्स राइसलाई हेपाटाइटिस सी भाइरस पत्ता लगाएकाले
  • २०१९ - पिटर र्‍याट्क्लिफ र संयुक्त राज्य अमेरिकाका विलियम काएलिन एवम् ग्रेग सिमेन्जा। कोषहरूले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अङ्गीकार गर्छन् भन्ने पत्ता लगाएकाले
  • २०१८ - जेम्स पी एलिसन र तासुकु होन्जोको। शरीरको रोगप्रतिरोधी क्षमताको प्रयोग गरेर क्यान्सरको उपचारविधि पत्ता लगाएकाले
  • २०१७ - जेफ्री हल, माइकल रोस्ब्याश र माइकल यङ्। शरीरले कसरी सर्कीडीअन रिदम अर्थात् 'जैविक घडी' कायम राख्छ भन्ने अनुसन्धानका लागि
  • २०१६ - योशिनोरी ओहसुमी। विकार पुनर्प्रयोग गरेर कोषहरू कसरी स्वस्थ रहन्छन् भनेर पत्ता लगाउने अनुसन्धानका लागि
  • २०१५ - विलियम सी क्याम्पबेल, सातोशी ओमुरा र यूयू टू। परजीवी नियन्त्रण गर्ने औषधिका लागि २०१४: जन ओ'कीफ, मे-ब्रिट मोजर र एड्वार्ड मोजर। मस्तिष्कको परिगमन प्रणाली पत्ता लगाउने अनुसन्धानका लागि
  • २०१३ - जेम्स रथ्म्यान, र्‍यान्डी शेक्म्यान र थोमास स्युड्होफ। कोषले कसरी पदार्थहरू परिवहन गर्छन् भने अनुसन्धानका लागि
  • २०१२: जन गर्डन र शिन्या यामानाका। कोषलाई स्टेम सेल बनाउन सफल भएकोमा

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।