‘रिगल’लाई दिइएको माफी सर्वोच्चले बदर गरेपछि सरकार र राष्ट्रपतिमाथि उठ्यो प्रश्न, आदेशले दिएका सन्देश के हुन्?

भारती
तस्बिरको क्याप्शन, रिगललाई दिएको माफीलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि अदालत परिसरमा भावुक भएकी भारती

जन्मकैद पाएका एक जना व्यक्तिलाई दिइएको सजाय माफी मिनाहालाई सर्वोच्च अदालतले बदर गरिदिएपछि निर्णयकर्ता सरकार र माफी दिने राष्ट्रपतिमाथि धेरैले प्रश्न उठाइरहेका छन्।

संविधान तथा कानुनका विज्ञहरूले पनि सर्वोच्च अदालतको उक्त निर्णयले कार्यपालिकालाई भविष्यमा समेत माफी मिनाहा गर्दा के गर्न हुन्छ के हुँदैन भनेर “स्पष्ट चेतावनी दिएको” बताएका छन्।  

सर्वस्वसहित जन्मकैद पाएका बाँकेका 'रिगल' भनिने योगप्रसाद ढकाललाई सरकारको सिफारिसमा संविधान दिवसका दिन राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी मिनाहा गरिदिएका थिए।

बिहीवार सर्वोच्च अदालतले उक्त निर्णयलाई बदर गरिदिएको छ। सर्वोच्चको आदेशसँगै उनी पक्राउ परिसकेका छन्।

ढकालले हत्या गरेको भनिएका चेतन मानन्धरकी पत्नी भारतीले उक्त रिट निवेदन दर्ता गराएकी थिइन्।

रिगलले मानन्धरको हत्या गरेको पुष्टि भएको भन्दै जिल्ला र उच्च अदालतले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएका थिए। राष्ट्रपतिबाट माफी पाउनुअघिसम्म उनी जेलमै थिए।

दूरगामी प्रभाव

सर्वोच्च अदालतका एक जना पूर्व न्यायाधीश प्रकाश वस्तीले बिहीवार सर्वोच्च अदालतले गरेको निर्णय “दूरगामी प्रभावयुक्त” रहेको बताए।

उनले भने, “पीडित राहतशास्त्रका दृष्टिले हेर्दा त यो एउटा कोशेढुङ्गा हो र दूरगामी प्रभाव पर्ने नजिर हो।”

उनले सजाय माफी मिनाहा गर्ने चलन संसारभरि भए पनि नेपालमा निर्णयकर्ताले आफ्नो विवेकको दुरुपयोग गरेकाले त्यसमाथि प्रश्नहरू उठेका र त्यसको जवाफ अदालतले स्पष्टसँग दिएको बताए।

सर्वोच्च अदालत नेपाल

तस्बिर स्रोत, Getty Images

एक जना संविधानविद् पूर्णमान शाक्यका भनाइमा सर्वोच्च अदालतको निर्णयले पुन: एक पटक “कोही पनि कानुनभन्दा भाथि छैन” भन्ने पुष्टि गरिदिएको छ।

उनले भने, “माफी मिनाहा दिँदा पनि कार्यपालिकाले मनलाग्दो किसिमले निरङ्कुश ढङ्गले अधिकारको प्रयोग गर्न पाइँदैन। यसको प्रयोग गर्दा अति नै जिम्मेवार भएर र कानुनको परिधिभित्र रहेर न्याय निसाफका आधारमा प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिएको छ।”

त्यसका साथै कुनै पनि विषय न्यायिक पुनरवलोकन बाहिर नरहेको सन्देश पनि बिहीवारको आदेशले दिएको उनले बताए।

‘पीडितको राय मञ्जुरी लिनुपर्ने’

विज्ञहरूका भनाइमा बिहीवारको फैसलाले स्पष्ट रूपमा माफी मिनाहा दिँदा पीडित पक्षको मञ्जुरी लिएर मात्र दिइनुपर्ने कुरालाई स्पष्ट पारेको छ।

पूर्वन्यायाधीश वस्ती भन्छन्, “सबै प्रक्रिया पूरा गरेर पनि माफी मिनाहा दिँदा पीडितको मञ्जुरी लिएर मात्र गर्नुपर्छ भन्ने चेतावनी त्यसले (सर्वोच्च अदालतको निर्णयले) सरकारलाई दिएको छ।”

सर्वोच्चले आदेशमा “कैद कट्टी गर्ने/कम गर्ने, छोट्ट्याउने वा मिनाहा दिने जस्ता काम, कारबाही र निर्णय गर्दा कानुनद्वारा निर्धारित प्रतिशतको सीमा बन्देजका अतिरिक्त पीडितको हक संरक्षित रहने गरी निजको सहमति मन्जुरी समेत लिई” गर्नू भन्ने उल्लेख गरिएको छ।

भारती

त्यसले अन्यत्र चलनमा रहेको तर नेपालमा खासै अभ्यास नभएको उक्त विषयलाई स्पष्ट पारेर सरकारलाई चेतावनी पनि दिएको वस्ती बताउँछन्।

शाक्य पनि पीडितको कुरा सुनेर मात्र माफी मिनाहा दिन पाइने कुरा अहिलेको आदेशको एउटा मर्म भएकोमा जोड दिन्छन्।

“माफी दिन पाउने राज्यको असीमित अधिकार होइन त्यसलाई चुनौती पनि दिन सकिन्छ भन्ने यसले स्थापित गरेको छ,” उनले भने।

राजीनामाको माग

प्रधानमन्त्री र राष्ट्रपति

तस्बिर स्रोत, EPA

सर्वोच्च अदालतको आदेशपछि सामाजिक सञ्जालमा कैयौँले माफी मिनाहाको प्रक्रियामा सामेल सरकार तथा राष्ट्रपतिले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग पनि गरेका छन्।

उनीहरूले अदालतले सरकारको निर्णयलाई नै बदर गरिदिएपछि नैतिकताका आधारमा उनीहरू पदमा रहन उपयुक्त नहुने तर्क गरेका छन्।

वस्ती पनि उक्त निर्णय गर्नेहरूमाथि नैतिक प्रश्न तेर्सिएको तर राजीनामा गर्न भन्दा पनि अबका दिनमा यस्तै कार्य दोहोरिँदैन भन्ने सुनिश्चित गर्नुपर्ने बताउँछन्।

“नैतिक प्रश्न उठाउँदा चालचलन ठिक छ भनेर सिफारिस गर्ने जेलरदेखि माफी दिनेसम्ममा उठ्छ र यो घटनालाई हेरेर कुनै एक व्यक्तिलाई गरिने कारबाहीले मात्र यस्ता कार्य दोहोरिँदैनन् भन्ने सुनिश्चित हुँदैन,” उनले भने।

यस्ताखाले गतिविधिहरू फेरि नहोऊन् र पहिले गर्नेहरूको पनि नैतिकतामाथि प्रश्न खडा होस् भन्नका लागि सरकारले एउटा आयोग नै गठन गरेर त्यसबारे छानबिन गर्नुपर्ने सुझाव उनको छ।