इरानः किन महिलाहरूले हिजाब जलाउन थालेका हुन्? त्यहाँको 'नैतिकता प्रहरी' ले के गर्छ?

तस्बिर स्रोत, Getty Images
इरानको तथाकथित आचार तथा व्यवहार निगरानी गर्ने प्रहरी निकायले हिरासतमा राखेकी २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि त्यहाँ आक्रोशपूर्ण प्रदर्शनहरू सुरु भएका छन्। उक्त इस्लामिक गणतन्त्रमा पोसाकसम्बन्धी कडा नियम र त्यसलाई लागु गर्नेहरूविरुद्धको विरोधमा महिलाहरूले आफ्नो टाउकोमा लगाउने स्कार्फ जलाएका छन्।
त्यहाँ गश्त-ए इर्शाद नामक 'नैतिकता प्रहरी' को विशेष एकाइलाई इस्लामिक आचरण सुनिश्चित गर्न र "अनुचित" लुगा लगाएका मानिसहरूलाई हिरासतमा राख्ने जिम्मा दिइएको छ।
शरियामा आधारित इरानी कानुनअनुसार महिलाहरू हिजाबले आफ्नो कपाल छोप्न र शरीर ढाक्न लामो तथा खुकुलो किसिमको लुगा लगाउन बाध्य छन्।
टाउको छोपेको स्कार्फमुनि केही कपाल देखिएको आरोपमा सेप्टेम्बर १३ मा अमिनीलाई आचार तथा व्यवहार निगरानी गर्ने प्रहरीले तेहरानमा गिरफ्तार गर्यो।
हिरासत कक्षमै अचेत भएपछि उनी कोमामा गइन् र त्यसको तीन दिनपछि अस्पतालमा उनको मृत्यु भयो। उनको टाउकोमा लट्ठी प्रहार गरिएको र प्रहरीको गाडीमा ठोक्काइएको विवरण सार्वजनिक भएको छ। यद्यपि अधिकारीहरूले उक्त त्यसको खण्डन गरेका छन्।

तस्बिर स्रोत, Mahsa Amini family
आफ्नो परिचय नखुलाउने सर्तमा बीबीसीलाई दुर्लभ अन्तर्वार्ता दिँदै प्रहरी अधिकारीले उक्त प्रहरी निकायमा काम गर्दाको आफ्नो अनुभव सुनाएका छन्।
"उनीहरूले हामीलाई नैतिकता निगरानी गर्ने प्रहरीको रूपमा काम गर्नुको प्रमुख उद्देश्य महिलाहरूको सुरक्षा भएको बताएका थिए," उनले भने।
"किनकि यदि महिलाहरूले उचित लुगा लगाएनन् भने पुरुषहरू उत्तेजित हुन सक्छन् र उनीहरूलाई हानि गर्न सक्छन्।"
उनका अनुसार त्यस्ता प्रहरीहरूको एउटा समूहमा चार पुरुष र दुई महिला हुन्छन्। उनीहरू पैदलयात्री भएको ठाउँमा र मानिसहरूको घुइँचो हुने ठाउँ केन्द्रित हुन्छन्।
"यो निकै अनौठो छ। यदि हामी मानिसहरूलाई मार्गदर्शन गर्दै छौँ भने हामीले किन व्यस्त ठाउँहरू रोज्नुपर्यो? यसको अर्थ त हामीले त्यहाँ धेरै मानिसहरूलाई पक्राउ गर्न सक्छौँ भन्ने हुन सक्छ।"
"यो प्रक्रिया हामी सिकार गर्नका लागि निस्किए जस्तै छ।"
कुनै पनि अधिकारीले लुगासम्बन्धी नियम उल्लङ्घन गर्ने उल्लेख्य मानिसहरू पहिचान नगरेको खण्डमा कमान्डरले गाली गर्ने राम्ररी काम नगरेको बताउने उनले सुनाए। मानिसहरूलाई पक्राउ गर्न नमान्नु निकै कठिन काम भएको उनको अनुभव छ।
"उनीहरू मानिसहरूलाई बलजफ्ती भ्यानभित्र ल्याइओस् भन्ने चाहन्छन्। तपाईँलाई थाहा छ त्यसो गर्दै गर्दा मैले कति पटक आँसु बगाएको थिएँ");